एजेन्सी – एट्लेटिको म्याड्रिडविरुद्ध मंगलबार राती हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सीका रक्षक थिएगो सिल्भा टोलीका साथ रहने छैनन्।

तर, मिडफिल्डर काइ हार्भेटेज र क्रिस्टियन पुलिसिस फिट भएका छन् र रोमानियामा हुने एट्लेटिकोविरुद्धको खेल खेल्ने सम्भावना छ । खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ ।
अर्कोतर्फ एट्लेटिकोका जोसे गिमिनेज, सिमे भ्रास्लजको र यानिक कारास्को चोट र हेक्टर हेरेरा कोभिड १९ संक्रमित भएका कारण टोलीमा समावेश हुने छैनन् । तर लुइस सुआरेज र जाओ फिलिक्सले भने स्पेनिस ला लिगाको शीर्ष टोलीबाट सुरुवात गर्ने सम्भावना छ । प्रतिबन्धमा रहेका टोलीका फुलब्याक केरन ट्रिपरले पनि चेल्सीविरुद्धको खेल गुमाउनेछन् ।
जनवरीमा फ्रान्क लाम्पार्डको उत्तराधिकारीको रुपमा थोमस टुचेलले चेल्सी सम्हालेयता टोली सबै खाले प्रतियोगिताका ७ खेलमा अपराजित रहेको छ । तर कोभिडका कारण म्याड्रिडबाट बुखारेष्टमा खेल सर्नु एट्लेटिकाको लागि भने वेफाइदा हुन सक्छ । त्यसका वावजुद चेल्सीका प्रशिक्षक टुचेलले एट्लेटिकोविरुद्धको खेललाई चुनौतीपूर्ण भनेका छन् ।
‘यो हाम्रा लागि ठूलो परिक्षा हो । त्यो अनुभवी टोली हो । जो सँग त्यस्तै अनुभवी प्रशिक्षक छन् । त्यसअर्थ उनीहरुले हामीविरुद्ध आफ्नो उत्कृष्ट टोली उतार्नेछन्,’ उनले भने, ‘हामी आफ्नो तरिकाले खेल्छौं । उनीहरु आफ्नो ढंगमा खेल्नेछन् । यो प्रष्ट छ कि उनीहरु अनुवभी, जुझारु र बलियो मानसिकतामा उत्रनेछन् ।’
लिभरपुल र बार्सिलोनाका पूर्व स्टार सुआरेजविरुद्ध भने चेल्सीले खास सचेत रहनुपर्ने अवस्था छ । कारण ३४ वर्षे फरवार्ड बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेस्सीसँगै ला लिगाको उच्च गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । उरुग्वेली फरवार्डलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षक हुँदा लाने प्रयास गरेको चेल्सीका प्रशिक्षक टुचेलले बताएका छन् ।
‘उनी जन्म जात स्ट्राइकर हुन् । फरवार्डमा हुनु पर्ने निश्चित मानसिकता उनमा छ,’ उनले भने, ‘उनको मानसिकताले उनको चाहना प्रष्ट देखाउछ । उनी गोलका लागि भोका छन् । उनी गोल गेरर कहिल्यै सन्तुष्ट हुँदैनन् ।’ मंगलबार नै अन्तिम १६ को अर्को खेलमा साविक विजेता र लाजियोबीच प्रतिस्पर्धा हुँदैछ ।