चितवन – चितवनको भरतपुरमा जारी दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार जित हासिल गर्दै कालभैरव भेट्रान्स हेटौंडा, कैलाली, बुटवल उपमहानगरपालिका र चावहिल भेट्रान्स काठमाडौं सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दिनको पहिलो क्वाटरफाइनलमा काल भैरहवा हेटौंडाले चितवन भेट्रान्स निलोलाई २–१ ले हरायो । खेलको सातौं मिनेटमा रमेश थापाले गोल गर्दै चितवनलाई अग्रता दिलाए । ११ औं मिनेटमा हेटौंडा खेलमा फर्कियो । १९ औं मिनेटमा सुन्दर गोल गर्दै हेटौंडाले २–१ को अग्रता लियो र नतिजा आफ्नो पक्षमा पार्यो ।
फाइनल प्रवेशका लागि हेटौंडाले शुक्रबार चावहिल काठमाडौंको सामना गर्नेछ । चावहिलले देहरादुन भेट्रान्स भारतलाई २–१ ले हराएको थियो । १५ औं मिनेटमा प्राप्त फ्रि किकलाई गोलमा परिणत गराउदै देहरादुनले अग्रता बनाएको थियो । २१ औं मिनेटमा निमा लामाले गोल गर्दै चावहिललाई खेलमा फर्काए । त्यसको दुई मिनेट लगत्तै दोस्रो गोल गर्दै चावहिलले २–१ को जित सुनिश्चित गरेको हो ।
त्यसअघि दोस्रो खेलमा चितवन भेट्रान्स रातोलाई पराजित गर्दै कैलाली सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलमा कैलालीले चितवन रातोलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरी तथा टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको थियो ।
कैलालीले फाइनल प्रवेशमा बुटवलको सामना गर्नेछ । बुटवलले खेलमा मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) आई एक्स भेट्रान्सलाई हराएको थियो । बुटवलले मनाङलाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । २७ औं मिनेटमा बुटवलले खेलमा अग्रता लिएको थियो । ४७ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो ।
शुक्रबार बुटवल र कैलाली तथा कालभैरव र चावहिलबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ । चितवन भेट्रान्स क्लबले आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५१ हजार र दोस्रो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।