default_image

5 years ago

May 8, 2021

तनावपुर्ण खेलमा विराटनगरलाई हराउँदै ललितपुर प्ले अफमा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तनावपुर्ण बनेको खेलमा विराटनगर सिटी एफसीलाई पराजित गर्दै ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा प्ले अफमा स्थान पक्का गरेको छ ।

कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले दुई तथा बिमल राना र नुर्लान नोभ्रुजोभ जाहिदले समान एक गोल गरेपछि ललितपुरले विराटनगरलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । योसँगै प्ले अफ पुग्ने ४ मध्ये ३ टोलीको टुंगो लागेको छ । धनगढी एफसी र काठमाडौं रेजर्स यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।

रेफ्रीको निर्णयमा बारम्बार आपत्ती जनाएको विराटनगरले दोस्रो गोल खाएपछि मैदान छाड्दा ७ मिनेट खेल रोकिएको थियो । आफूले पटक दुई पेनाल्टीमा रेफ्रीले वेवास्ता गरेको भन्दा विराटनगरका प्रशिक्षक र व्यवस्थापन टोलीले खेलाडीलाई मैदान बाहिर निस्किन भनेका थिए । विदेशी खेलाडी पेड्रो मान्जी बाहेक सबै खेलाडीले मैदान छाडेका थिए ।

पछि विराटनगरका खेलाडी मैदान भित्र प्रवेश गरेपछि पुनः खेल सुरु भएको थियो । एनएसएलको सबैभन्दा विवादस्पद बनेको खेलमा विराटनगर १० खेलाडीमा सिमिति भएको थियो । दोस्रो हाफमा मैदान पसेका विजय धिमाल दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि विराटनगरमा १ खेलाडी कम भएको थियो ।

ललितपुरको जितमा कप्तान समेत रहेका मार्की खेलाडी अन्जन विष्ट नायक बने । उनले २ गोल गर्नुका साथै अर्को गोलमा एसिस्ट गरेका थिए ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको सातौ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा भिलिम पोसिन्कोभिकको वान टच प्रहारले साइड नेट गर्दा ललितपुर सिटी एफसी अग्रता लिनबाट चुक्यो ।

२७औं मिनेटमा सन्तोष तामाङको पेनाल्टी बक्सबाहिरको फितलो प्रहारलाई गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए । ३५औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई गोलरक्षक किशोर गिरीले पहिलो बारमा उत्कृष्ट बचाउ गरे । ३६औं मिनेटमा मिक्चेन तामाङको कर्नरमा बिमल रानाको हेडर प्रयासलाई गोलरक्षक किशोर गिरीले बचाउदा रिवाउन्डमा अन्जन विष्टले हाफ भलीमा सुन्दर गोल गर्दै अग्रता दिलाए । गोल लाइनमा दिवाकर चौधरीले बचाउने प्रयास गरेपनि सफल भएन ।

५७औं मिनेटमा सुनिल बलको कर्नरमा मनिष डाँगीको हेडरलाई गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए । ६३औं मिनेटमा बिमल रानाले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारे । डोना थापाले दिएको पासलाई अन्जन विष्टले नियन्त्रणमा लिदै गोलरक्षक किशोर गिरीलाई बिट गर्दै दिएको पासलाई बिमल रानाले खाली पोस्टमा गोल गर्न सफल भएका थिए ।

ललितपुरले दोस्रो गोल गरेलगत्तै विराटनगरका खेलाडीले मैदान छाड्दा खेल झन्डै ७ मिनेट केहीबेर रोकिएको थियो । ७८औं मिनेटमा पेड्रो मान्जीको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले नियन्त्रणमा लिन नसकेपनि फ्रेममा नपर्दा विराटनगर गोलअन्तर कम गर्नबाट चुक्यो ।

८१औं मिनेटमा अन्जन विष्टले हेडमार्फत सुन्दर गोल गर्दै ललितपुरलाई ३–० ले अघि बढाए । विक्रम धिमालले बिमल रानालाई लडाएपछि झन्डै ४० यार्डबाट कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा अन्जत विष्टले फ्रि हेडर मार्फत गोल गर्न सफल भएका थिए । ८५औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटियो । बिमल रानालाई फल गरेपछि विक्रम धिमाल दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए ।

उनी ७०औं मिनेटमा रन्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नुर्लान नोभ्रुजोभ जाहिदले गोल गर्दै ललितपुरलाई ४–० को फराकिलो जित दिलाए । ललितपुरका डोना थाप इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरकै कप्तान तथा मार्की खेलाडी अन्जन विष्ट प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे ।

जितपछि ललितपुरको ६ खेलबाट ९ अंक पुगेको छ । ललितपुरसँग हार बेहोरेसँगै विराटनगर प्ले अफमा पुग्न असफल भएको छ । अब पोखरा थन्डर्स र बुटवल लुम्विनी मध्ये एक टोली प्ले अफमा पुग्नेछ । बुटवल लुम्विनीलाई प्ले अफमा पुग्न धनगढीविरुद्ध निश्चित जितको खाँचो छ । बराबरी या हारले पोखराले प्ले अफमा स्थान पक्का गर्दा बुटवल लुम्विनी बाहिरिनेछ ।

धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.