5 years ago
May 8, 2021
काठमाडौं – नेपाली फुटबलमा पूर्व क्षेत्रलाई उर्वर भूमि मानिन्छ । खेलाडी होस् या प्रशिक्षक, अझैपनि पूर्वबाट आएको भनेपछि फुटबलको संस्कार राम्रै रहेको पहिलो छाप बस्छ । नेपाल सुपर लिगमा पनि पूर्व क्षेत्रको प्रतिनिधित्व पक्कै आवश्यक थियो, र त्यो विराटनगर सिटी फुटबल क्लबले गरेको थियो ।

यहाँसम्म की क्लबका प्रमुख कार्यकारी अधिकृत सुभाशिष कोइरालाले मार्की खेलाडी सार्वजानिक कार्यक्रममा आफ्नो क्लबको लक्ष्य एक सिजन मात्र नभएर दीर्घकालीन रुपमा नेपाली फुटबलको विकासमा सहयोग गर्ने बताएका थिए । उनले विशेषगरी पूर्व क्षेत्रको फुटबलमा केहि योगदान गर्ने बताएका थिए । यसबारे थप प्रष्ट्याउन अनुरोध गर्दा उनले आउने समयले नै उनको भनाइ प्रष्ट पार्ने बताए ।
पछि अक्सनमा अधिकांश पूर्वका खेलाडी अनुबन्ध गर्नुले उनको भनाइलाई केहि पुष्टि गरेको मान्न सकिन्छ । तर त्यसपछि एनएसएलको अन्तिम खेलमा जे गर्यो, त्यसले पूर्व मात्र नभएर नेपाली फुटबलमा नै राम्रो छाप छोडेको छैन । विराटनगरले ललितपुरविरुद्ध खेलमा गरेको व्यवहारले क्लबले प्रतिनिधित्व गरेको पूर्वका समर्थक त लज्जित हुन्छन् नै, सुपर लिगले बिस्तारै पाएको फ्यान फलोइङमा पनि असर पर्न सक्छ । पूर्व क्षेत्रकै फुटबल संस्कारमा पनि प्रश्न नउठ्ला भन्न सकिन्न । यसैपनि पछिल्लो समय स्थानीय खेलमा रेफ्रीमाथि हातपातकै खबर आइरहेको पूर्वबाट यो अपेक्षा राष्ट्रिय स्तरमा थिएन ।
विराटनगर र रेफ्रीविरुद्ध आक्रोश नयाँ थिएन । प्रशिक्षक यान लले बुटवलविरुद्ध २-२ को बराबरीपछि रेफ्रीको आलोचना गरेका थिए । यसक्रममा उनले नेपाली फुटबलको विकास नै रेफ्रीले गर्दा रोकिएको भन्नेसम्म प्रश्न गरेका थिए । त्यसपछिको खेल उनले रेफ्रीको निर्णय एकदम राम्रो रहेको बताए । उक्त खेल विराटनगरले २-० ले जितेको थियो भने विपक्षी टोलीका प्रशिक्षकले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएका थिए । त्यसपछिको खेलमा उनले रेफ्रीबारे प्रतिक्रिया दिनु आवश्यक नरहेको अभिव्यक्ति दिए ।

शनिबार ललितपुरविरुद्ध खेलमा विराटनगरलाई प्लेअफ पुग्न जित आवश्यक थियो । त्यसैले पनि होला टोलीले खेल सुरु हुनुअघि देखि नै रेफ्रीविरुद्ध दबाब बनाइरहेको थियो । पहिलो मिनेटदेखि नै रेफ्रीका हरेक निर्णयमा टोलीका अफिसियल र वैकल्पिक खेलाडी आक्रोशमा आएका थिए । सानो सानो फाउलमा पनि रेफ्रीविरुद्ध आक्रामक प्रस्तुति थियो । कतिपय अवस्थामा रेफ्रीलाई अपशब्द समेत प्रयोग भयो । यसमा टोलीका अफिसियल र वैकल्पिक गोलरक्षक सूर्य अधिकारी अगाडि थिए ।
खेल अघि बढ्दै जाँदा ललितपुरले अग्रता लियो । त्यसलगत्तै अर्कोतर्फ विराटनगरका पेड्रो मान्जीले बल अगाडी बढाउँदा ललितपुरका डिफेन्डर पिटर सेगुनको हातमा लागेको भन्दै विराटनगरका खेलाडीले पेनाल्टी मागे । मान्जी आफैंले पनि ह्यान्ड भएपछि आएको बल प्रहार गरेर मात्र रेफ्रीसँग विरोध गरे । तर रेफ्रीले आफूले नदेखेको भन्दै निर्णय दिएनन् ।
यता विराटनगरको बेन्च यसै आक्रोशित, अझ भिडियो रिप्ले हेरेपछि त्यो आक्रोश रिसमा परिणत भयो । त्यसको केहीबेरमा नै पेनाल्टी क्षेत्रभित्र अन्जन विष्टले सुनिल बलविरुद्ध गरेको ट्याकल पेनाल्टी भएको भन्दै विराटनगरको बेन्च नै मैदानभित्र पस्यो । रेफ्री आफ्नो निर्णयमा अडिग रहे । तर माहोल निकै फरक भयो ।

दोस्रो हाफमा पनि रेफ्रीविरुद्ध बेन्चको आक्रोश जारी नै रहयो । जब ललितपुरले दोस्रो गोल थप्यो, विराटनगरका प्रशिक्षक लले आफ्ना खेलाडीलै मैदान छाड्न भने । सबै खेलाडी बाहिर आए तर स्पेनी फरवार्ड पेड्रो मान्जी बीच भागमा बलसँगै रहे । प्रशिक्षकले पटक पटक मैदान छाड्न भनेपनि उनले मैदानमा नै रहे । एकातर्फ विराटनगरका प्रशिक्षक र बेन्चका अफिसियल आयोजकविरुद्ध खनिए । एन्फाका पदाधिकारी लगायत आयोजकले खेलाडीलाई मैदान फर्कन आग्रह गरिरहँदा विराटनगरको बेन्चले भने रेफ्रीविरुद्ध आफ्नो आक्रोश जारी नै राख्यो ।
केहिबेरमा सन्तोष तामाङ पनि पेड्रोसँग मैदानको बीच भागमा गए । एन्फा पदाधिकारीको आग्रहपछि नेपाली खेलाडी मैदान छिर्न खोजेका मात्र थिए, प्रशिक्षक यान फेरी कड्किए र मैदान छाड्न भने । केहिबेरमा अन्य अफिसियलले पनि भनेपछि खेलाडी मैदान छिरे । प्रशिक्षक यान खुसी थिएनन् । उनी केहिबेर टचलाइनमा पनि गएनन् । पछि आइस बक्स टचलाइनमा लगेर त्यहिं बसे ।

खेल सकिएपछि प्रशिक्षक यानले रेफ्रीको कारण नै आफ्नो टोली हार्नपुगेको अभिव्यक्ति दिए । उनले ललितपुरको खेलमा ललितपुरकै बासिन्दा रेफ्रीले खेलाउनु उचित नरहेको बताए । उनले नेपालको रेफ्रीको स्तर भारतमा विद्यालय स्तरमा भन्दा कमजोर रहेको समेत बताए । आफ्नो खेलाडीलाई रेफ्रीको निर्णय असन्तुष्टि हुँदा निर्णयपछि नभएर दोस्रो गोल खाएपछि किन निकालियो भन्ने प्रश्नमा यानले मानसिक रुपमा पहिला देखि दबाब रहेको र गोलले थप असर गर्ने हुँदा निकालेको बताए ।
प्रशिक्षक यान र उनको व्यवहारले विराटनगरका समर्थक पनि सामाजिक संजालमा खुसी थिएनन् । यानले त केहि समर्थकलाई आफ्नो सामाजिक संजालबाट ब्लक गर्न पनि भ्याए । सुरुवाती खेलमा जितपछि निकै शालीन देखिएका उनी दोस्रो खेलमा हार बेहोरेपछि भने केहि परिवर्तित देखिए । सधैं आफ्नो खेलाडीको बचाउ गर्दै आएका उनले अन्तिम खेलमा ४-० को हार बेहोर्दा पनि आफ्नो टोलीको प्रशंसा गर्न छाडेनन् । उनको अनुसार नेपाली खेलाडी, विदेशी खेलाडी, टोलीका मालिक सबैको राम्रो भूमिका थियो, तर रेफ्रीकै कारण विराटनगर हार्न पुग्यो ।

हुन पनि रेफ्रीको निर्णयलाई लिएर अन्य प्रशिक्षकले पनि आलोचना गरेका छन् । रेफ्रीको प्रदर्शन केहि कमजोर भएको पक्कै हो । विगतका खेलमा पनि अन्य टोलीले गोलको अवसरबाट बन्चित भएका छन् । गलत निर्णयले गोल नै पनि मान्य भएको छैन । तर विराटनगरको जस्तो व्यवहार कुनै टोलीले गरेन । ललितपुरका अन्जन विष्ट एक्लैको दुई गोल अफसाइडका कारण देखाउँदै मान्य भएन, तर उनको टोलीले सामान्य विरोध गर्नबाहेक केहि गरेन । अन्जनले विराटनगरविरुद्ध पहिलो गोल गरेपछि त्यसै मान्यता नपाएका दुई गोलको संकेत गर्दै गोलको खुसी नै मनाए ।
काठमाडौंले विराटनगरविरुद्ध नै दोस्रो गोल खाँदा आक्रामक रुपमा प्रस्तुत हुँदै रेफ्रीविरुद्ध अपशब्द प्रयोग गरेको थियो । तर आफ्नो खेलाडीलाई खेलमा फर्कन मनोबल भने बढाइरहयो । प्रशिक्षक बालगोपाल महर्जनले उक्त खेलपछि भनेका थिए, ‘रेफ्रीको निर्णयलाई लिएर हामी खुसी थिएनौं । हामीले केहि आवेगमा आएर आक्रोश व्यक्त गरेपनि खेलाडीलाई भित्र सम्झाइरह्यौं । त्यसैले पनि होला खेलाडीले नियमित मिहनेत गरेर खेलमा फर्काए,’ महर्जनले भनेका थिए ।
विराटनगरले खेलको सुरुवातदेखि नै बेन्चबाट रेफ्रीविरुद्ध निरन्तर बोल्नु, खेलकै क्रममा खेलाडीलाई मैदानबाट फर्काउनु र अपशब्द बोल्नु सबै बन्द रंगशालामा भयो । तर प्रत्यक्ष प्रसारण भएको उक्त खेल यसै सकिनेछैन । सुपर लिगको आगमनले नेपाली फुटबलमा केहि सुधारको अपेक्षा गरीएको थियो । खेल स्तरमा केहि सुधार भएपनि पछिल्ला केहि घटनाले फेरी त्यसमा प्रश्न खडा गरेको छ ।

स्तरीय विदेशी खेलाडी ल्याएको विराटनगरले स्तरीय प्रशिक्षक पनि ल्याएको भान भएको थियो । भारतमा यसअघि पनि दुई क्लबमा व्यवस्थापनसँग खटपट परेपछि क्लब छाडेका यानले नेपालमा पनि आफ्नो ‘छवी’ सुधार्न सकेनन् ।
एक सातामा उनको यो प्रस्तुतिले खेलाडी प्राविधिक रुपमा कस्तो होलान् थाहा भएन, तर अनुशासनमा भने निकै असर पर्ने देखिन्छ । बेन्चमा रहेका युवा गोलरक्षक सूर्य अधिकारी खेलको सुरुवातदेखि नै आक्रोशमा आउनुले उनले भविष्यमा के सिक्छन् त्यो टोलीले राम्रोसँग बुझेको होला । प्राविधिक रुपमा ३ सातामा यानले के परिवर्तन ल्याए त्यो टोलीले समिक्षा गर्ला, तर अनुशासनमा उनीबाट अपेक्षित परिवर्तन भने यो थिएन ।
विराटनगरले खेल सकिएको झन्डै ४ घण्टापछि खेलाडीको बचाउ गर्दै मैदान छाड्ने निर्णय क्लब व्यवस्थापनको रहेको जनाएको छ । क्लबले आम फुटबल समर्थकमाझ माफी माग्दै क्लबको खेलको मर्ममा प्रहार गर्ने कुनै नियत नरहेको प्रष्ट पारेको छ । रेफ्रीको निर्णयमा पटक पटक आलोचना हुँदापनि क्लबले भिडियोसहित ध्यानाकर्षण लेख्दा आयोजकले सुने नसुनेझैँ गरेको समेत उल्लेख गरेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]