default_image

7 years ago

June 28, 2017

जुडोले जिताएको जीवन

सुबास हुमागाईं काठमाडौँ चक्रपथको बालाजुबाट करिब ३ किलोमिटर भित्र गएपछि एकलटार भन्ने ठाउँमा बन्दी सहायता नियोग नामक एक संस्था रहेको छ। वि.सं. २०४८मा विष्णु कुमारी वाइबा (पारिजात)द्वारा स्थापित यस संस्थामा हाल ४ वर्ष देखि १८ वर्षसम्मका २५ जना बालबालिका रहेका छन्। अभिभावक जेलमा परेपछि अलपत्र परेका बालबालिकालाई आश्रय दिने यस संस्थाले स्थापनाकाल देखि अहिलेसम्मको यात्रामा विभिन्न […]

77 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौँ चक्रपथको बालाजुबाट करिब ३ किलोमिटर भित्र गएपछि एकलटार भन्ने ठाउँमा बन्दी सहायता नियोग नामक एक संस्था रहेको छ। वि.सं. २०४८मा विष्णु कुमारी वाइबा (पारिजात)द्वारा स्थापित यस संस्थामा हाल ४ वर्ष देखि १८ वर्षसम्मका २५ जना बालबालिका रहेका छन्। अभिभावक जेलमा परेपछि अलपत्र परेका बालबालिकालाई आश्रय दिने यस संस्थाले स्थापनाकाल देखि अहिलेसम्मको यात्रामा विभिन्न आरोह-अवरोहको सामना गर्नुपर्यो। धेरैजस्तो अवस्थामा बाबु जेल पर्दा आमा नयाँ विवाह गरेर छाड्ने त कतिपय अवस्थामा आमा जेल परेपछि बुवाले बेवास्ता गर्ने गरेको पाइएको छ। तर, ८ वर्षअघि संस्थाको हितका लागि गरेको एक निर्णयले सबै समस्याको हल त गर्यो नै, साथसाथै संस्थाले छुट्टै पहिचान बनाउन सफल रह्यो।

एकलटारमा रहेको पामको होस्टेल

 

‘२०४८ सालमा स्थापना भएको यस संस्था २०५९ सालतिर बन्दै गर्नुपर्ने अवस्थामा आइपुगिसकेको रहेछ। व्यवस्थापनमा समस्या र बालबालिकाहरुलाई अनुशासनमा राख्न कठिनाइ भएसँगै संस्थाको अस्तित्वनै धरापमा परिसकेको थियो। त्यसै समयमा समाजसेवी डाक्टर नारायण काजी श्रेष्ठले पामको जिम्मेवारी लिनुभयो।’, संस्थाका अध्यक्ष  सुर्य नारायण श्रेष्ठले सुनाए। जुडोका प्रशिक्षक समेत रहेका श्रेष्ठलेनै पाममा जुडो खेल भित्र्याएका थिए।

‘डा. श्रेष्ठले मलाई निकै आग्रह गरेपछि मैले पाममा ६ महिनाको लागि सहयोग गर्ने वचन दिएँ। तर, त्यस समय बच्चाहरुको व्यवहार देखेर मैले परिवर्तनका लागि केहि गर्नुपर्छ भन्ने सोच आयो। म यहाँ आउँदा बच्चाहरु एकदम बदमास थिए। हामीलाई समाजमा भिज्ने त परै जाओंस, आफ्नो ठाउँ बचाउन पनि धौ-धौ परेको थियो। यहाँ बस्ने बच्चाहरुले विद्यालय र वरपर एकदम दुख दिए। यो सबै सुल्झाउन हामीले जुडोको सहयोग लिने निर्णय गर्यौं।’, श्रेष्ठले बेलिबिस्तार लगाए।

‘सुरुवातमा त म आफैंलाई कठिन भयो। यहाँ रहेको बच्चाहरु मानसिक रुपमा केहि कमजोर रहेको पाएँ। त्यसैले मानसिक र शारीरिक रुपमा चुस्त बनाउने हिसाबले जुडो प्रशिक्षण दिने निर्णय लियौं। तर, जुडो प्रशिक्षण सुरु भएको केहि सातामै यहाँ धेरै परिवर्तन आउन थाल्यो। एकआपसमा मिलजुलको भावनादेखि आदर र माया देखेपछि मैले यहीं रहेर आफ्नो तर्फबाट सकेको गर्ने निर्णय लिएँ। समय बित्दै गयो र बच्चाहरुलाई अनुशासनमा राख्न खेलिएको यस जुडो खेल उनीहरुलाई जीवनको पाठ पढाउने माध्यम बन्न पुग्यो।’

खेलाडीहरु प्रशिक्षणका क्रममा

‘सुरुसुरुमा स्कुलबाट खबर आउँदा कसले के बिगार गरेछ भन्ने चिन्ता हुन्थ्यो तर पछिल्लो समयमा सायदै त्यस्तो सुन्नु पारेको छ। पढाइमा निकै प्रगति गरेका छन्। हाम्रा अधिकांश विधार्थीहरुलाई त पढाइकै आधारमा छात्रवृत्ति पनि मिलेको छ। ठुलाहरुले सानोलाई माया गर्ने र सानाले ठुलालाई आदर गर्ने बानी नै पर्यो।’

१५ छात्र र १० छात्रा रहेको यस गृहमा हाल केजी कक्षा देखि १० कक्षासम्म पढ्ने विधार्थी रहेका छन्। प्रत्यक ठुलो विधार्थीले आफूभन्दा सानो विधार्थीको जिम्मेवारी सुम्पिएको श्रेष्ठले जानकारी दिए। ‘यसले गर्दा सबैमा केहि जिम्मेवारी लिने क्षमता विकास हुन्छ र पढाइ पनि राम्रो रहन्छ।’

प्रशिक्षक सुर्य नारायण श्रेष्ठ

खेलमा लागेपछि खेल बाहिरको जीवनमा खुसीको तरङ्ग त आएकै थियो साथसाथै यसको नतिजा खेलमा पनि आश्चर्यजनक किसिमले आयो। स्थापनाकालको ८ वर्ष बित्दासम्म पामले राष्ट्रिय स्तरमा १४ पटक टिम च्याम्पियनको उपाधि जितिसकेको छ। यसक्रममा पामले राष्ट्रियस्तरमा ९२ ओटा स्वर्ण पदक हात पारेको छ भने अन्तर्राष्ट्रियस्तरमा २१ पदक भित्र्याइसकेको छ।

दक्षिण एसियाको खेलकुद महोत्सव सागमा पनि पामका २ खेलाडीले रजत पदक भित्र्याएका छन्। १६ वर्षको कलिलो उमेरमै मनिता श्रेष्ठ प्रधान र इन्द्र बहादुर श्रेष्ठले नेपालका लागि १२औं सागमा क्रमश: रजत र कास्य पदक जितेका थिए। हाल राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका यी दुई खेलाडीलाई जुडो खेलकै उदयमान खेलाडीको रुपमा हेरिएको छ। मनिताले गत महिना सम्पन्न भएको एसियन च्याम्पियनसिपमा पहिलो बाउट जित्दै इतिहास रचिसकेकी छिन्।

मनिताले सागमा जितेको रजत पदक

खेलाडीहरुले प्रतियोगिताहरुमा जितेका नगद पुरस्कार संस्थाले खेलाडीहरुकै नाममा बैंक खाता खोलेर जम्मा गरिदिने गरेको श्रेष्ठले बताए ‘मनिता र इन्द्रले सागमा पदक जिते बापत सरकारले सम्मान गरेको थियो उक्त पुरस्कार रकम उनीहरुकै नाममा बैंक खाता खोलेर जम्मा गरिदिएका छौँ अन्य सम्मानमा आएको पैसा पनि त्यसै खातामा जम्मा हुन्छ। यहाँबाट बाहिर गएपछि उनीहरुलाई जिन्दगि बिताउन गार्हो नहोस भनेर त्यसो गरेका हौँ। हामीले २०/२५ वार्स पुगेपछि मात्र उनिहरुलाई त्यो पैसा चलाउन दिनेछौँ। अहिले उनीहरुको सम्पूर्ण खर्च पामले नै व्यहोरेको छ।’

बन्दीहरुलाई सहयता दिने गृह एकाएक जुडो खेलको च्याम्पियन जन्माउने केन्द्र बनेकोमा प्रशिक्षक श्रेष्ठ निकै खुसि छन्। उनि यसको श्रेय खेलाडीहरुले गरेको मेहेनत र संस्थाप्रति उनीहरुको विश्वासलाई दिन चाहन्छन्। ‘हामीले जुडो भित्र्याउनुको मुख्य लक्ष्य यहाँ रहेका बच्चाहरुलाई अनुशासनमा राख्नु थियो। तर, उनीहरुको कडा मिहेनतले आज यस केन्द्रकै पहिचान बदलेको छ। उनीहरुले खेलको माध्यम बाट समाजमा आफ्नो छुट्टै पहिचान त बनाए नै, साथसाथै यस संस्थाको शिर पनि उचो बनाइदिएका छन्। जसरी परिवारका सदस्यलाई आफ्नो घरको चिन्ता हुन्छ, हाम्रो बच्चाहरुले आफ्नो घरको इज्जत उंचो पार्न सक्दो मेहेनत गरेका छन् र सफल पनि भएका छन्। कलिलै उमेरमा देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउनु जो कोहिको सपना हुन्छ। पाममा बसेर त्यस स्तरको प्रदर्शनले आउने पिढीमा पनि हौसला थपेको छ।’

पाममा रहेका बच्चाहरुको हेरचाहमा संस्था निकै समर्पित भएर लागेको छ उनीहरुको खाने-बस्नेको आधारभुत आवश्यकता सँगसँगै पढाई र खेलकुदमा पनि पामले उत्तिकै सहयोग गर्दै आएको छ ‘हामीले खेलाडीहरुको खानपिनकै लागि आफैं कुखुरा फार्म संचालन गर्दै आएका छौँ त्यस बाहेक उनीहरुको स्कुलको फि, खेलमा लाग्ने सामान, लाइब्रेरी लगायत अन्य कुरामा उत्तिकै ध्यान पुर्याएका छौँ।’, श्रेष्ठले थपे।

कुखुरा फार्मका बारे जानकारी दिंदै प्रशिक्षक श्रेष्ठ

संस्थाबाट यसै वर्ष एसइइ दिएका ५ बच्चाहरु आफ्नो घर फर्किएका छन्। झापाका ४ र बिरगंजका १ जनालाई परिवारले फिर्ता लग्ने भन्दै आएपछि संस्थाले उनीहरुलाई जिम्मा लगाएको थियो। ‘हामीले परिवारको स्थिति हेरेर मात्र बच्चाहरुलाई फिर्ता पठाउँछौँ। यदि कसैले फिर्ता लगेर हेरबिचार गर्न नसक्ने अथवा नराम्रो नियत राखेर निकाल्न खोज्छ भने हामीले उनलाई संस्थाबाट जान दिदैनौं।’ श्रेष्ठले प्रष्ट्याए।

हाल पामको मासिक खर्च रु. १ लाखको हाराहारीमा रहेको र सम्पूर्ण खर्च जर्मनीको जिएलएस नामक संस्था र समाजसेवी डाक्टर नारायणकाजी श्रेष्ठले व्यहोर्दै आएको उनले बताए। ‘डाक्टर श्रेष्ठ नहुनुभएको भए यो संस्थाको के हुन्थ्यो मा सोच्न पनि सक्दिन। उहाँलाई हामी यस संस्थाको भिष्म पितामहको रुपमा मान्दछौँ। सबै बच्चाहरु उहाँलाई निकै आदर गर्छन्।’

जुडो हल सानो भएकाले प्रशिक्षणमा केहि समस्या आएको प्रशिक्षक श्रेष्ठ स्वीकार्छन्। ‘पहिले बच्चाहरु संगै थिए तर उमेर बढेसँगै सबै जुडो खेल्न रुची राख्ने भएका छन्। हामीलाई एकैपटक २५ जनाले प्रशिक्षण गर्न हल निकै सानो भएको छ। यहाँ वरपरका अभिभावकले आफ्नो बच्चाहरुलाई आवद्ध गराउने इच्छा जताएपनि ठाउँ अभावका कारण हामीले राम्ररी त्यसलाई लिन सकेका छैनौँ। बाहिरी समाजमा बसोबास गर्ने बच्चाहरु यहाँ आएको खण्डमा खेलको विकास त हुन्छ नै, साथसाथै हाम्रा बच्चाहरुले पनि घुलमिल हुने अवसर पाउँथे।’

संस्थासँग हल बनाउन आफ्नो जग्गा पर्याप्त भएपनि आर्थिक अभावका कारण हल बनाउने कार्य अघि बढ्न सकेको छैन।’ हामीसँग जग्गा आफ्नै छ तर हल निर्माण गर्ने आर्थिक अवस्था छैन। निकट भविष्यमा आर्थिक सहयोगहरु आएको खण्डमा हामी अवश्य पनि त्यसलाई पहिलो प्राथमिकतामा राख्नेछौँ। यसले संस्थाको नामसँगै समग्र खेलकै विकासमा ठुलो टेवा पुग्ने विश्वास लिएका छौँ।’ हाल संस्थाले प्रयोग गरिररहेको म्याट जर्मनीको एक संस्थाबाट प्राप्त भएको हो भने खेलाडीले लगाउने गी जुडो संघले प्रदान गरेको हो।‘कसैले सानो भन्दा सानो सहयोग गर्ने इच्छा जाहेर गर्नुहुन्छ भने हामी उहाँलाई स्वागत गर्दछौं।’

वन्दीहरुको बालबालिकाको उत्थान गर्ने हेतुले खोलिएको यस संस्था अहिले जुडोमय बनेको छ। ४ वर्षका बिनोददेखि १८ वर्षकी मनितासम्ममा खेलको लागि उत्तिकै समर्पण देख्न सकिन्छ। परिवारको साथ नपाएर यस संस्थामा आएका यी बालबलिकाले आफैं एक परिवार बनाएका छन् जसले उनीहरुलाई जीवन जिउने नयाँ बाटो देखाएको छ। जुडोलाई जीवन जिउने माध्यम बनाएका यी खेलाडीहरुले संस्थाको परिभाषा त फेरे नै साथसाथै सानो उमेरदेखि आफ्नै पहिचान दिलाएका छन्। जितको लक्ष्य लिएर जुडो म्याटमा भित्र छिरेपछि बाहिर निस्कँदा खेलमा कहिलेकाहीं हार हुन सक्ला तर पाममा भित्र छिरेका यहाँका बच्चाहरुले जिन्दगीमा भने सधैंका लागि जित हात पारिसकेका छन्।

सामुहिक तस्बिर

Success

Thank you for your time.