खेलाडीसँग १२-२७ कुरा
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै डेढ बर्षअघि जुडो खेलाडी फुपु ल्हामु खत्रीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । जुडोमा नेपालले दुई दशक भन्दा लामो समयपछि त्यत्ति ठूलो सफलता हात पारेको थियो । त्यसमाथि पनि सागमा जुडोमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन्।
एसियाली जुनियर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी उनले विश्व च्याम्पियनसिपदेखि ओलम्पिक सम्मको यात्रा तय गरिसकेकी छिन्। सधै हसमुख रहने यी फुपुका आफ्नै पीडा छन् । सानै उमेरमा बुबा गुमाइसकेकी उनको आँट भन्ने गज्जबकै छ । जुडोलाई संसार मान्ने उनी यही खेलमा रमाउन चाहन्छिन। तर, घरको अवस्था र आर्थिक कारणले उनलाई यसै अघि बढ्न दिन्छकी दिंदैन भन्नेमा चिन्तित छिन् । आफैंले आम्दानी नगर्दा सम्म खेल जीवन अघि बढ्नेमा शंका गर्ने फुपुलाई सेनाको करार सेवाले पनि केही भर थेग गरेको छ।
उनै चुलबुले तर गम्भिर फुपुसँग हाम्रो खेलकुद डटकमका दिपेश तिमलसिनाले यसपटक १२–२७ कुरा गरेका छन् ।
१. कहिलेबाट खेल्न सुरु गर्नु भयो?
२०६३/२०६४ सालमा १२ बर्षको उमेर हुँदा। त्यसबेला म कक्षा ६मा पढ्थें।
२. पहिलोपटक मेडल जित्दा कस्तो महसुस भयो?
एमएमसी हल नयाँ बजारमा भएको नेवा: राज्य प्रतियोगितामा पहिलो मेडल जितेको थिए। खेल्न सुरुआत गरेको केही महिनामै खुसी पदक जित्दा निकै खुशी लागेको थियो।
३. जुडोमा कसरी लाग्नु भयो?
पहिला बुबाले होटल चलाउनु हुन्थ्यो। नजिकै प्रशिक्षण केन्द्र भएकोले गुरुहरु आउनुहुन्थ्यो। गुरुहरुले बुबालाई छोरीलाई खेलाउन पर्छ भनेपछि म यस खेलमा आवद्ध भए।
४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य?
आइफोन ७ प्लस। हङकङ जाँदा किनेको, मूल्य चाहिँ ९७,०००/- रुपैयाँ।
५. कुन स्कुटर चढ्नु हुन्छ र मूल्य?
एभिएटर, मूल्य १,८४,०००/- रुपैयाँ।
६. बार्षिक कति कमाउनु हुन्छ?
आर्मीको तलब र अन्य भत्ता समेत गरेर वार्षिक डेढ लाख जति पुग्छ।
७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला?
धेरै गर्ने रहर थियो। सायद एयर होस्टेस अथवा खेल पत्रकार हुन्थें कि।
८. शैक्षिक योग्यता कति छ?
बिबिएस तेश्रो बर्षमा अध्यनरत छु।
९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पल्ट हेरेको फिल्म?
खेलकुदसंग सम्बन्धित फ्लिम हेर्छु। पछिल्लो पटक हेरेको चाहिँ ट्युबलाईट।
१०. सबै भन्दा मन पर्ने नायक र नायिका?
सलमान खान र सोनाक्षी सिन्हा।
११. सबैभन्दा मन पर्ने गायक र गायिका?
आतिफ अस्लम/ अरिजित सिंह मनपर्छ। गायिकामा चाहीं ठ्याक्क यहि भन्ने छैन।
१२. सबैभन्दा धेरै पल्ट सुनेको गीत?
समय अनुसार हुन्छ, अहिले चाहिँ ‘काले दाई’।
१३. सिंगल हुनुहुन्छ?
अSS! सिंगलनै छु।
१४. किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पल्ट पढेको किताब?
खासै पढ्दिन, पछिल्लोपटक पढेको किताब विजय कुमारको खुसी।
१५. अहिलेसम्म कति देश घुम्नु भयो? सबैभन्दा मन परेको देश?
१०-१२ देश घुमेको छु। वर्ल्ड च्याम्पियनसिप खेल्दा पुगेको फ्रान्स सबैभन्दा राम्रो लाग्यो।
१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
पोखरा, मुस्ताङ र जन्मथलो ताप्लेजुङ।
१७. सबैभन्दा मनपर्ने खानेकुरा?
मासु-भात।
१८. खाना बनाउनु हुन्छ? आफैले पकाको सबैभन्दा मिठो के लाग्छ?
पकाउँछु। मैले पकाएको कुखुराको मासु गज्जबको हुन्छ। जसले खान्छ दंग पर्छ।
१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउछ?
नियमित चलाइरहेको हुन्छु। प्रेम प्रस्ताव आउलाजस्तो लाग्ने बितिक्कै दाई-भाईको नाता जोडीदिन्छु।
२०. पहिलो कमाई के गर्नु भयो?
बच्चा बेला पाएको त चकलेट खाने, खेलौना किन्ने गर्थे। हिजोआज त आफ्नो खर्चबाट बचेको घरमा दिन्छु।
२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण?
दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा निकै खुसी र भावुक भएको थिए।
२२. फुर्सदको समयमा के गर्नु हुन्छ?
सुत्छु, टिभी हेर्छु।
२३. आफुले चाहेर पनि गर्न नसकेको काम?
बुबासँग सगरमाथा चढ्ने ठुलो रहर थियो, जुन अब कहिल्यै पुरा हुनसक्दैन। (भावुक हुँदै)
२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथी?
म सबैसँग मिलनसार छु। सबैभन्दा कुरा मिल्ने जुडोकै सुनिता महर्जन।
२५. सबैभन्दा मनपर्ने अन्तर्राष्ट्रिय खेलाडी?
कायला ह्यारिसन। उनले पछिल्लो दुई ओलम्पिकमा स्वर्ण पदक जितेकी थिइन्।
२६. नेपाली खेलकुदको स्तर के गरेर बढ्ला?
नेपाली खेलकुदको स्तर अन्तर्राष्ट्रिय स्तरभन्दा निकै तल छ। एउटा कुराले गर्दामात्र पछि परेको हैन। खेलाडीको हिसाबले भन्नु पार्दा आयश्रोत छैन। राष्ट्रिय खेलाडीहरुले न्युनतम स्वास्थ बिमा पाउनुपर्छ। तत्काल सुबिधा नदिएपनि खेलाडीहरुलाई जागिरको अवसर सिर्जना गर्नुपर्छ।
२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ?
तपाईंहरुको हौसला र साथले यहाँ आइपुगेको छु। सधैं देशको लागि गर्यौ भनेर सम्मान गर्नु हुन्छ। जित्दामात्र हैन हार्दा पनि समर्थन गरिदिनुहोस्। अहिलेसम्म मलाई तपाईंहरुको माया र हौसाला प्रदान गरिदिनु भएकोमा धन्यवाद।