default_image

9 months ago

October 1, 2023

विदेश भ्रमण मोहले बदनाम नेपाली खेलकुद

4192 views

0 Bookmark

फेयर प्ले

प्रकाश तिमल्सिना, काठमाडौं

खेलकर्मीमा देखिने विदेश भ्रमण मोहका कारण नेपाली खेलकुद लामो समयदेखि बदनाम छ । खेल क्षेत्रमा आदर्शवादी मानिएकाहरु पनि विदेश घुम्ने मोहमा नराम्ररी चिप्लिएका थुप्रै उदाहारण छन् । अझ कति त खेल प्रतियोगितामा भाग लिन विदेश गएर वर्षौं नफर्केका पनि नेपाली खेलकुद वृत्तमा छन् । चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा पनि घुम्ने मोहको क्रम रोकिएको छैन ।

खेलाडी, प्रशिक्षकबाहेक विभिन्न वहाना र नाममा अनावश्यक व्यक्तिहरुको लर्को एसियाको खेल कुम्भमेलामा छ । एसियाडको वहानामा हाङ्गचौं पुगेपनि सामाजिक सन्जालमा आउने गरेका पोष्टहरुबाट खेलक्षेत्र भन्दा अन्यत्र ती व्यक्तिहरु व्यस्त रहेको प्रष्ट हुन्छ । कतिपय व्यक्ति नेपालको खेल हुने स्थलमा पुगेका छन् तर धेरैजसो एथ्लिट भिलेजको आवास सुविधा लिएर सहर घुम्न मस्त छन् ।

सामाजिक संजालमा यो साता खेलकुदका दुई स्थापित व्यक्तिको एसियाड सहभागिताका कारण खराब चर्चाको विषय बनेको छ । अधिकांश खेलमा नेपाली खेलाडीको निराशाजनक नतिजाले निरन्तरता पाउँदा आ आफ्नो खेलबाट देशलाई ठूला सफलता दिलाएका दुई दीपक (विष्ट र श्रेष्ठ) जसरी एसियाड पुगे त्यो धेरैलाई पचेको छैन । नेपाली खेलकुदसँग सरोकार राख्ने जो कोहिले भेटमा यो विषयमा चर्चा गर्न छुटाउँदैनन् । धेरैको समान धारण पाइन्छ, ‘उनीहरुलाई त्यसरी किन जानु पर्ने, आफ्नो नामको ख्याल त गर्नुपर्ने हो ।’

जब राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियाडका लागि तयार पारेको व्यवस्थापकहरुको नाम सार्वजनिक भयो त्यसपछि धेरै आश्चार्यमा परे । सम्बन्धित खेल संघलाई जानकारी समेत नदिई राखेपले आफ्ना कर्मचारी र सम्बन्धित खेल बाहिरका व्यक्ति व्यवस्थापकको भूमिकामा चीन पुर्याएको छ । नेपाली खेलकुदमा यो नयाँ विषय भने होइन । विगतकै परम्पराको निरन्तरता हो । तर विष्ट र श्रेष्ठको नाम पनि यसपटकबाट थपिएको छ ।

विष्ट गल्फ र श्रेष्ठ उसुको व्यवस्थापकका रुपमा हाङ्गचौं पुगेको खबरले उनीहरुको शुभचिन्तकलाई सबैभन्दा बढी निराश बनायो । हुन त दुबै आ आफ्ना खेलका राखेप प्रशिक्षक (कर्मचारी) हुन् । कर्मचारी भएकै नाताले अर्को खेलको व्यवस्थापक भएर उनीहरु त्यसरी जान राजी हुनुलाई राखेपको मात्र कमजोरी मान्न कोही तयार छैनन् ।

आ-आफ्नो खेलको ‘एक्रेडिटेसन कार्ड’ बनिसकेको अवस्थामा अर्कै खेलको व्यवस्थापक बन्न कम्तीमा उनीहरु जस्तो स्थापित खेलाडीलाई पटक्कै सुहाउँदै भन्ने तर्कमा दम छ । विष्ट आठौं देखि ११ औं सम्म दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तेक्वान्दोमा स्वर्ण जित्ने खेलाडी हुन् । त्यति मात्र होइन एसियाडकै १४ औं र १५ औं संस्करणका कास्य पदक विजेता हुन् । ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् ।

श्रेष्ठ आठौं र नवौं सागका स्वर्ण पदक विजेता हुन् । एसियाड खेलिसकेका उनले प्रशिक्षकको भूमिका निर्वाह पनि गरिसकेका थिए । यसपटक पनि उनले कराते टोलीलाई प्रशिक्षण दिएका थिए । करातेकै छनोटका दौरान महासंघका सदस्यसँगको झगडाका कारण उनी ३ महिनाको निलम्बनमा परेका थिए । त्यो घटना कारण श्रेष्ठ टोलीबाट बाहिरिनु पर्यो । अन्यथा उनी अहिले प्रशिक्षककै रुपमा कराते टोलीसँगै हुन्थे ।

कराते महासंघको कारवाहीमा परेपछि उनलाई राखेपले एसियाडको तयारी तथा अनुगमन समितिमा राख्यो । त्यसलाई धेरैले सम्मानका रुपमा हेरे । एसियाडमा प्रशिक्षण गरिरहेका खेलाडीहरुको अनुगमनमा श्रेष्ठ र विष्टसँगसँगै हुन्थे । अहिले धेरैलाई लागेको छ अनुगमन त चीन यात्राको टिकट पक्का गर्ने योजनाकै एउटा हिस्सा थियो ।

उनीहरु आफ्नो समयमा उत्कृष्ट खेलाडी मात्र होइनन् । अहिले पनि दुबै अलग अलग संस्थाको अध्यक्षका रुपमा खेलाडीहरुको नेतृत्व गरिरहेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको गत महिना भएको साधारण सभाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चुनेको थियो । खेलाडी संघको दुई कार्यकालको अध्यक्ष रहेका विष्ट अहिले नेपाल ओलम्पियन संघका अध्यक्ष हुन् । खेलकै कारण उनीहरुले संसारका धेरै देश घुमिसकेका छन् ।

२०६६ सालमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले युथ ओलम्पियकको सेभ द मिसनको बैठकमा भाग लिन बिष्टलाई सिगांपुर पठाउँदा राखेप र तेक्वान्दो संघले स्वीकृती विना गएको भन्दै कारवाहीको सिफारिस गर्दा उनलाई अन्याय गरियो भनेर मिडियाले साथ दिएको थियो । जसका कारण हरिबाबु चौधरीको नेतृत्वमा रहेको तत्काललिन राखेप कारवाही रोक्न बाध्य भएको थियो ।

मिडियाले त्यति बेला बिष्टले खेलकुदमा पुर्याएको‌ योगदान कै कारण साथ दिएको थियो। दुई बर्ष अघि जापानमा भएको टोकियो पारालिम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनसँगको टोलीमा विना भूमिका बिष्ट जाँदा पनि कम्तीमा तेक्वान्दोमा उनको योगदान छ भनेर मिडिया मौन बस्यो ।

अहिले सम्म खेलकुदमा दुई दीपकको भूमिकालाई मिडियाले ‘प्रेज’ नै गरेको थियो। तर यसपटक उनीहरु आफ्नै कारण आलोचना खेप्नुपर्ने अवस्थामा पुगेका छन् । व्यवस्थापक नै बन्दा पनि आ आफ्नो खेलको हुँदा सहज मान्न सकिन्थ्यो। तर राखेप कर्मचारी भएकै कारण व्यवस्थापक भएर जान वाध्यता पर्यो भन्ने तर्कसँग कम्तीमा नेपाली खेलकुद बुझेकाहरु सहमत हुन सक्दैनन् ।

विष्ट र श्रेष्ठ दुबैको अधिकांश समय खेलाडीहरुलाई परेको मर्का एवंम हक हितमा बोल्ने । खेलाडीहरुको सामाजिक सुरक्षाको ग्यारेन्टीका विषयमा ‘एडभोकेसी’ गर्नेका रुपमा परिचित छन् । त्यसको सबैले प्रशंसा र सन्चारमाध्यमले पनि सरहाना गर्दै आएको छ । त्यसअर्थ उनीहरुलाई खेलाडीले निर्विकल्प आफ्नो नेता मानेका छन् । खेलजगतले पनि उनीहरुलाई खेलाडी, प्रशिक्षक मात्र होइन खेलाडीहरुको आवाज भनेर चिन्छ । तर यो घटनाक्रमले उनीहरु व्यक्तिगत लाभमा वहकिन सक्ने देखाएको छ ।

एसियाडमा यसपटकको उनीहरुको व्यवहारले धेरैलाई दुःखी बनाएको छ । कतिपय यसलाई समान्य पनि मान्न सक्छन् । तर कसैले अगाडि नभन्नु, आलोचना नगर्नुको अर्थ हरेक काम र व्यवहारमा सहमति छ भन्ने पनि हुँदैन । गुरु प्रथा र नराम्रो मान्लान् भनेर पनि मान्छे हत्तपत्त मुख खोल्दैनन् । अझ खेलकुदमा त प्रष्ट तर्क राख्नेको कमी नै छ । खेलकुदको परम्परा त्यसरी नै विकसित हुँदै आएको छ । तै चुप मै चुप ।

उनीहरु एसियाड जाने नहुने हो त भन्ने प्रश्न पनि उठ्न सक्छन् । होइन, पटक्कै होइन । उनीहरु एसियाड, ओलम्पिक, साग वा अन्य कुनै पनि खेलकुद प्रतियोगितामा जान मिल्छ, हुन्छ । तर, त्यसमा कुन भूमिकामा जाने भन्ने प्रष्ट हुनुपर्दछ । आफ्नै खेलको प्रशिक्षक,व्यवस्थापक, टोली नेता , सेभ द मिसन वा सुहाउँदो भूमिकामा जान मिल्छ । तर यहाँ त्यस्तो भएन ।

सम्बन्धित खेलको ज्ञान भएकाहरुको व्यवस्थापक बन्ने हक खोसिएको छ । उनीहरु कसरी अर्काको भाग खोस्न तयार भए ? प्रश्न यो हो । गल्फ संघका सदस्य एवं युवा परियोजनाका निर्देशक दीपक आचार्यले विष्ट गल्फको व्यवस्थापकको रुपमा गएको सुन्दा अच्चम मात्र होइन दुःख व्यक्त गरे । उसु महासंघले खेलाडीको नेता भएका श्रेष्ठ व्यवस्थापक बनेकोमा विज्ञप्ती जारी गरेर विरोध गर्यो । दुई दीपकबाट खेल क्षेत्रले यस्तै अपेक्षा गरेको होला त ? जसरी पनि नगई नहुने केहि थियो र ? ‘एक्रेडिटेसन कार्ड’ बनाएका सबै चीन पुगेकै छन् र ?

यदि राखेपले उनीहरुको खेलकुद प्रतिको योगदानको कदर गरेर लान खोजेको हो भने अनेक भूमिका हुन सक्थ्यो । आफू सेभ द मिसन बनेका राखेप सदस्य सचिव टंकलाल घिसिङले दुई दीपकलाई डेपुटी सेभ द मिसनका रुपमा एनओसीलाई प्रस्ताव गरेर शानका साथ लान सक्थ्यो । नयाँ खेलाडीलाई उदाहरण दिन देशलाई योगदान गरेका खेलाडी राज्यले यस्तो सम्मान दिन्छ भन्ने परम्परा स्थापित गर्न भिआईपी पाहुनाका रुपमा लाने व्यवस्था गर्न सक्थ्ये । तर घिसिङ किन त्यस्तो गर्थे ?

उनी दुई दीपकलाई गुण लगाउने चक्करमा संघहरुलाई व्यवस्थापक लान सकिदैन भन्दै उर्दी जारी गर्नु नै आफ्नो जिम्मेवारी सम्झनमा मस्त रहे । राखेपका सदस्यहरुमा देखिने गैर जिम्मेवारीपनाको नमुना घिसिङले पनि दिएका छन् । झन् श्रेष्ठले आफ्नो चीन यात्राका विषयमा महासंघका अध्यक्ष र राखेपका पूर्व सदस्य सचिव युवराज लामासँग फेसबुकमा गरेको जुहारीले उनको कद बढाएको छैन ।

हामी मात्र त्यसरी गएका हौ र ? राखेप र ओलम्पिकका अन्य कर्मचारी, सेना प्रहरीका जिम्मेवारी व्यक्ति पनि त गएका छन् भन्ने तर्क हो भने त्यो झन् बढी लाजमर्दो विषय हो । जति ठूलो नाम उति नै बढी जिम्मेवारी हुन आवश्यक छ । दीपकहरुको हकमा त्यहि हो । अरुलाई देखाएर उम्कन छुट छैन । शानका साथ देशको प्रतिनिधित्व गर्नुपर्ने ठाँउमा कमजोर छिद्र प्रयोग गरेर आफूलाई विदेश मोहका लागि जे गर्दा नि हुन्छ भन्नेको भिडमा उभ्याउन सुहाउँछ ?

एसियाड पुग्दा उनीहरुको कद बढेको छैन । आफू कहाँ र कुन भूमिकामा जाँदैछु भन्ने हेक्का हुनपर्छ । गच्छे अनुसार सरकारले उनीहरुलाई पर्याप्त सुविधा र मान सम्मान पनि दिएकै छ । त्यसमाथि एसियाडको यो सुविधा त्यो पनि गैर खेलको व्यवस्थापक बनेर लिनै पर्ने थियो र ? गहिरो गरि सोचौं त ।

एसियाडको नवौं दिन सम्म आइपुग्दा एथलेटिक्सका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान बनाउनु,सरकारी लगानी विना पब्जी सेमिफाइनल सम्म पुग्नु र क्रिकेट टोली क्वार्टरफाइनल पुग्नुबाहेक अन्य खेलको नतिजाबाट उत्साहित हुने अवस्था छैन । एसियाडमा कति र कसरी सहभागी हुने भन्ने विषयमा गम्भिर समिक्षा जरुरी थियो । हाम्रो जस्तो तयारीले २९ खेलमा भाग लिनु कत्तिको उपयुक्त ठहरियो यसमा बहस आवश्यक देखिन्छ । तर, त्यसमा जिम्मेवारहरुको ध्यान कमै जाने गरेको इतिहास छ ।

राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी बास्केबल, विभागीय टोली पुलिसका रुकेश तण्डुकार सुटिङ, एपिएफका सुधिर सुवेदी कुस्ती र आर्मीका मुनाल बस्नेत एथलेटिक्सको व्यवस्थापक बनेर पुगेका छन् । बस्नेतसँगै एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीको नाम पनि व्यवस्थापकमा छ । कर्मचारी संघका महासचिव कुमार बस्नेत क्यानोइङमा, कर्मचारी डिल्ली राम काफ्ले कबड्डीमा र संघकै पूर्व महासचिव फणिन्द्र पौडेललाई डान्स स्पोर्टको व्यवस्थापक बनाइएको छ।

यि केहि उदाहरण मात्रै हुन् । राखेप र एनओसीको जम्बो टोलीसहित थुप्रै त्यस्ता व्यक्ति चीन पुगेका छन् । जसको खासै कुनै जिम्मेवारी छैन । देश हेर्ने र मुख फर्ने बाहेक नगइ नहुने कारण छैन । उनीहरु गएर प्रदर्शन सुधारिने पनि होइन, नगएको भए जनताले तिरेको करको केहि रकम भने पक्कै जोगिन्थ्यो । अरुले जवाफ नदिए पनि टर्ला तर दुई दीपक माथि भविष्यमा पनि बारम्बार प्रश्न उठ्ने सम्भावना रहन्छ । किन कि खेलकुदसँग उनीहरुको जीवन जोडिएको छ ।

सदस्य सचिव घिसिङले संघले नै व्यवस्थापकमा नाम दर्ता नगरेको कारण रिक्त रहेको ठाँउमा राखेपले कर्मचारीको नाम सिफारिस गरेको कमजोर तर्क गरेका छन् । जब कि उनी आफैले कतिपय संघलाई व्यवस्थापक लान नसक्ने जवाफ दिएका थिए । घिसिङले आफू संस्थापक अध्यक्ष रहेको रग्बीलाई हाइ पर्फमेन्स कमिटीबाट सिफारिस गराएर जसरी एसियाडमा पुर्याएर लज्जास्पद हार बेर्होर्ने अवस्था बन्यो त्यसमा के भन्नु छ कि ?

धेरै खेलाडी, ठूलो टोली लानु र आफूप्रति ‘लोयल’ हुनेहरुलाई विदेश सेयर गराउनु मात्र एसियाडको सफलता मान्ने हो भने सदस्य सचिव घिसिङसँग भन्नु केहि छैन । होइन भने तपाईको नेतृत्वबाट पनि खेलकुदले अपेक्षा गर्ने ठाँउ खासै देखिएन । तर्क संगत जवाफ लिएर फर्कनु होला ।

June 14, 2024

सुटिङकी सुष्मिताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सुटिङ खेलाडी सुष्मिता नेपालले पेरिस ओलम्पिक २०२४ मा भाग लिने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार पेरिस ओलम्पिकका लागि सुष्मिताको वाल्र्ड कार्डमार्फत खेल्ने भएकी हुन् । छनोट चरण पार गर्न नसक्ने देशका खेलाडीका लागि वाल्र्ड कार्डमार्फत सहभागी गराइन्छ । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या […]

June 11, 2024

अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्पर्धामा २५ वटा विद्यालयका कूल ३ सय ५४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ। बृहत् विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा युवा-९, युवा -११, युवा-१३ र युवा -१३ वर्ष माथिका खेलाडीहरुले उ खेल प्रदर्शन गरेका छन्। छात्र तथा छात्रा खेलाडीबीच ८ विधामा […]

June 10, 2024

अष्ट्रेलियामा स्यान्टुलाई टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकका लागि छनोट भइसकेका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा मेलवर्न मेट्रोपोलिटियन ओपन च्याम्पियनसिपको उपाधि जितेका छन् । कोवर्ग टेबल टेनिस बाट खेलेका स्यान्टुले सोमबार भएको फाइनलमा चाइ हङ एलेक्सलाई ४-२ ले हराएका छन् । स्यान्टु ४-११,११-६,८-११,१२-१०,११-५,११-७ ले खेल जितेका हुन्। त्यसअघि सेमिफाइनलमा उनले एन्स्टी जाचेरीलाई ३-० ले हराएको थिए। त्यसअघि […]

Success

Thank you for your time.