default_image

4 years ago

September 5, 2020

शरदचन्द्र शाह – नेपाली खेलकुदका पथ प्रदर्शक

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६ दशक भन्दा लामो इतिहासको सबै भन्दा आकर्षक र कार्यकारी पद त्यसको सदस्य सचिव नै हो । यो अवधिमा २० भन्दा बढी राखेप सदस्य सदस्य सचिव बनिसकेका छन् । सदस्य सचिव मध्ये अहिले पनि सबैभन्दा बढी सफल कसैलाई मानिन्छ भने ती हुन्, स्वर्गिय […]

271 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाली खेलकुदको अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६ दशक भन्दा लामो इतिहासको सबै भन्दा आकर्षक र कार्यकारी पद त्यसको सदस्य सचिव नै हो ।

राखेप पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाह । स्रोत : नेपाल ओलम्पिक संग्रहालय

यो अवधिमा २० भन्दा बढी राखेप सदस्य सदस्य सचिव बनिसकेका छन् । सदस्य सचिव मध्ये अहिले पनि सबैभन्दा बढी सफल कसैलाई मानिन्छ भने ती हुन्, स्वर्गिय शरद चन्द्र शाह । शाह राखेपबाट अलग भएको ३ दशक भन्दा बढी भइसकेको छ । उनको २०६९ असारमा ६६ वर्षेको उमेरमा निधन भएको थियो ।

तर, खेलकुदमा सफल कार्यकाल र सबै भन्दा प्रभावशाली सदस्य सचिवको नाम आउँदा शाहको नाम निर्विवाद पहिलो नम्बरमा आउँछ । यद्दपी दरबारसँग निकट र राजनीतिक कारणले उनी पटक विवादमा भने तानिएका थिए । तर, खेलकुद नेतृत्वमा उनको जस्तो उचाई अहिले सम्म अर्को कसैले बनाउँन नसकेको खेलकर्मीहरु नै बताउँछन् ।

चार वर्ष राखेपको सदस्य सचिवको भूमिका निर्वाह गरिसकेका युवराज लामाको भनाईमा सदस्य सचिवका रुपमा शाहको तुलना अरु कसै पनि हुँदैन । लामा भन्छन्, ‘आस्थाका आधारमा होइन । कामका आधारमा मुल्यांकन गरिनु पर्छ । राखेपको सदस्य सचिवको तुलना गर्दा हि इज द वान ।’

शाह राखेपको सदस्य सचिव हुँदा लामा कराते खेलाडी थिए । एउटा खेलाडीका रुपमा र पछि त्यहि पदमा आफु पुग्दा शाह बराबरको अरु कोहि नभएको स्वीकार्न उनी कत्ति पनि अप्ठेरो मान्दैनन् । सन् १९८३ मा नेपाली कराते टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन मलेसिया जाँदै थियो । १७ सदस्यीय टोलीमा लामा खेलाडी थिए । त्यती बेला विदाईका क्रममा शाहको बोलेका सबै शब्द त उनलाई याद छैन, तर त्यसको भाव अहिले पनि ताजै छ ।

पूर्व सदस्य सचिव युवराज लामा

३७ वर्षअघिको त्यो विदाईको क्षण सम्झदै भन्छन्, ‘खेलकुदप्रति इमान्दार,उहाँको हरेक अभिव्यक्तिमा राष्ट्रियता झल्किन्थ्यो । सिंगो राष्ट्रलाई खेलाडीले प्रतिनिधित्व गर्ने भएकाले अनुशासित हुन र देशवासीको साथ खेलाडीमा रहेको सन्देश दिनुभएको थियो । उहाँको त्यो जोस र भावुक सम्बोधनले एक खालको आँटले छाती फुल्थ्यो । अन्तिममा सबैका आँखामा आँसु थिए । हामी लडाईमा जान लागेको सिपाही जस्तो अनुभव गरेका थियौं । त्यसरी खेलाडीलाई हौसला र भावना बाढ्ने क्षमता खेलकुदमा अरु कसैको थिएन ।’

शाहको कार्यकाललाई नजिकबाट अनुभव र मुल्याङकन गरेकै आधारमा लामाको निष्कर्ष हुनुपर्छ, खेलाडी त धेरै हुन्छन् । च्याम्पियन एक जना हुन्छन् । शाह त्यस्तै च्याम्पियन हुन् । राखेपको इतिहासमा अहिले सम्ममा शाह नम्बर १ सदस्य सचिव हुन् । लामाकै यो भनाईलाई आधार मान्ने हो भने राखेप सदस्य सचिवको इतिहासमा दोस्रो नम्बरका लागि मात्र प्रतिस्पर्धा छ । पहिलो नम्बरमा शाहको नाममा विवाद छैन ।

लामा खेलाडी भएको टोलीको व्यवस्थापक विष्णुगोपाल श्रेष्ठ थिए । श्रेष्ठ तीन हुन् जो शाह ११ वर्ष सदस्य सचिव रहँदा राखेपको कोषाध्यक्ष थिए । राखेपको इतिहासमा शाह सबैभन्दा लामो समय राखेपको सदस्य सचिव रहे । शाह र श्रेष्ठले एकै पटक राखेप छाडेका थिए ।

विष्णुगोपाल श्रेष्ठ

२०४४ साल फागुन २९ मा दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ती जोद्धा क्लबबीच फुटबलको त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल चल्दै गर्दा हावाहुरीले भागदौड हुँदा ७३ जनाको मृत्यु भएको थियो । राखेपका तत्कालिन अध्यक्ष रहेका शिक्षा मन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । शाह सदस्य सचिव रहेको राखेप बोर्डलाई सरकारले पद मुक्त गराएको थियो ।

राखेपको इतिहासमा शाह अघि ३ जना राखेपमा सदस्य सचिव बनेका थिए । २०२१ सालमा राखेप गठन भएको थियो । त्यसअघि २०१५ सालमा राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद् गठन भएको इतिहास छ । त्यो परिषद्को पहिलो सदस्य सचिव होराप्रसाद जोशी थिए । त्यसपछि २०१७ देखि २०२४ सम्म सुशिल शम्सेर राणाले राखेपको बागडोर सम्हाले । त्यसपछि १० वर्ष (२०२४–२०३४) खड्गविक्रम शाह राखेपको सदस्य रहे । त्यसपछि सुरु भयो, शाहको कार्यकाल ।

त्यतिबेला राखेप पदाधिकारीको कार्यकाल २ वर्षको थियो । शाह र उनको टोलीले छैटौं कार्यकालका दौरानमा राखेप छाड्नु परेको थियो । शाहको नेतृत्वमा रहेको त्यो ११ वर्षमा नेपाली खेलकुदले गति लिएको थियो । भौतिक पूर्वाधार, प्रशिक्षक तयारी, खेलाडी उत्पादन, प्रशिक्षण र प्रतियोगिताको आधारण त्यहि समयमा तयार भएको थियो । त्यसैले शाहको त्यो समयलाई नोली खेलकुदलाई स्वर्णिम समय मानिन्छ ।

सामूहिक रुपमा नीतिगत निर्णय हुने गरेको स्मरण गर्दै तत्कालिन कोषाध्यक्ष श्रेष्ठ भन्छन्, ‘कार्यान्वयन गर्नेमा सदस्य सचिवको भूमिका बढी हुन्थ्यो । त्यसमा शाह अब्बल हुनुहुन्थ्यो ।’

श्रेष्ठ शाहलाई बहुआयामिक व्यक्तित्वका रुपमा स्मरण गर्छन् । ‘उहाँमा अद्भूत क्षमता थियो । बोल्न र सोच्न सक्ने । दुरुदृष्टी । जुन सुकै विषयमा घन्टौं बहस गर्न सक्ने’, श्रेष्ठले सम्झिए, ‘उहाँ सक्षम व्यक्तित्व । आटिलो । नेतृत्व क्षमता । दैनिक १२ देखि १४ घन्टा खट्न सक्ने । त्यो समयमा हामीले योजनाबद्ध रुपमा खेलकुदको विकासका लागि आधार तयार गरेका थियौं । त्यसको कार्यान्वयको नेतृत्व शाहले सफलतापूर्वक गर्नुभएको थियो ।’

त्यति बेला तत्कालिन राजा वीरेन्द्र विक्रम शाहले सदस्य सचिव शाह, श्रेष्ठलगायतको टोलीलाई नियुक्त गरेका थिए । खेलकुदमै आफ्नो अलग पहिचान बनाएका नेतृत्व गर्न सक्ने क्षमता भएकालाई राखेपको नेतृत्वको अवसर दिने गरेको नेपाल बक्सिङ संघ र नेपाल जुडो संघमा संस्थापक अध्यक्ष समेत रहेको श्रेष्ठ बताउँछन् ।

त्यो अवधिमा तत्कालिन अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाह राखेपको संरक्षक थिए । खेलकुद विकासमा संरक्षक सधै सकारात्मक रहेका कारण पनि त्यो समय विकास सम्भव भएको श्रेष्ठ बताउँछन् । पञ्चायतको समयमा राजपरिवारकै सदस्य राखेपको संरक्षक हुने व्यवस्थाले पनि खेलकुदमा राजपरिवारको चासोलाई बुझ्न सकिन्छ ।

शाह सदस्य सचिव भएकै बेला पूर्वदेखि पश्चिम भौतिक पूर्वाधार निर्माण भएका थिए । वीरगन्ज, पोखरालगायत रंगशाला त्यति बेला तयार भएको बताइन्छ । ‘कति जिल्लामा कभर्ड हल तयार भएको थियो । भौतिक पूर्वाधार निर्माणका सामग्रीमा १ प्रतिशत कर खेलकुदलाई लागि उठाउने हाम्रो समयमा सुरु भएको हो’, श्रेष्ठले भने, ‘त्यति बेला खेलकुद विकासका लागि अन्चलाधिशहरुलाई परिचालित गरिएको थियो । त्यो मोडल खेलकुदमा सफल भएको थियो ।’

श्रेष्ठ शाह अघिका सदस्य सचिव सुशिल सम्शेर राणा र खड्ग विक्रम शाहले पनि खेलकुद विकासको केहि सुरुवात गरेको स्मरण गर्छन् । ‘त्यो समयमा नेपाली सेनाले भोग चलन गर्दै आएको दशरथ रंगशालाको स्वामित्व राखेपमा ल्याएको थियो । सुशिल सम्शेरको कार्यकालको अन्त्य र खड्ग विक्रम शाहको सुरुवातको समयमा तत्कालिन राजा महेन्द्र वीर विक्रम शाहले सेनाबाट लिएर राखेपलाई दशरथ रंगशाला दिने निर्णयमा लालमोहर लगाइएको थियो’, श्रेष्ठले सम्झिए, ‘त्यहिबाट खेलकुद विकासको एउटा यात्रा सुरु भएको हो । हाम्रो समयमा खेलकुद विकासले गति लिएको मान्दा सहि हुन्छ ।’

शाहपछि राखेपमा धेरैले बागडोर सम्हालेका छन् । प्रजातन्त्र पछि राखेपको नेतृत्व चयन फरक ढंगले हुन थाल्यो । खेलकुद विकास ऐन २०४८ लागु भयो । तर, नाम नयाँ दिएपनि ऐनमा पुरानै व्यवस्थाको निरन्तरता थियो । राखेप सदस्य सचिव, अन्य पदाधिकारी र सदस्यको कार्यकाल भने ४ वर्षेको भयो । शाह पछि कति सदस्य सचिव नियुक्त भए र गए त्यसमध्ये थोरैले मात्र सम्झन लायक काम गरेका छन् । सदस्य सचिवका बारेमा चर्चा गर्दा शाहपछि औलामा गन्न सकिनेले मात्र केहि छाप छाडेको देखिन्छ ।

२०४८ पछि नियुक्त भएका सदस्य सचिवलाई सम्रगतामा पूर्ण भन्दा पनि आंशिक रुपमा सफल मानिन्छन् । तीमध्ये केशव स्थापित, जीवनराम श्रेष्ठ, विनोदशंकर पाखिले, युवराज लामालाई खास खास विषयलाई लिएर स्मरण गरिन्छ । प्रजातन्त्र प्राप्ती पछि रुक्मशम्सेर राणा, जीवनराम श्रेष्ठ र रमेश सिलवाल दुई पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।

स्रोत : नेपाल ओलम्पिक संग्रहालय

सिलवाल अहिले दोस्रो कार्यकालका लागि साउन १२ गते पुनः सदस्य सचिव नियुक्त भएका छन् । तर, राणा र श्रेष्ठले दुवै पटक ४ वर्षे कार्यकाल भने पुरा गर्न पाएनन् । सरकार परिवर्तन पछि राखेप सदस्य सचिव परिवर्तनलाई स्वभाविक मानिन्थ्यो । पहिला शिक्षा मन्त्रालय अन्तर्गत नै रहेको खेलकुदको पछि अलग्गै खेलकुद मन्त्रालय गठन भएको थियो ।

खेलकुद मन्त्री जुन पार्टीको नियुक्त हुन्थे उनकै विश्वास पात्र वा पार्टीका कार्यकर्ता राखेप सदस्य सचिव हुने परम्परा नै स्थापित भएको थियो । २०४८ यता विनोदशंकर पालिखे, युवराज लामा र केशवकुमार विष्टले मात्र ४ वर्षे कार्यकाल पुरा गरे । कांग्रेसको समयमा सदस्य सचिव बनेका पालिखेले ४ वर्षे कार्यकाल पुरा गरे ।

लामा तत्कालिन माओवादीको कोटामा सदस्य सचिव नियुक्त भएका थिए । पछि सरकार परिवर्तन भएपछि तत्कालिन एमालेका नेता पुरुषोत्तम पौडेल खेलकुद मन्त्री बने । उनले लामालाई राखेप सदस्य सचिवबाट बर्खास्त गरे । लामाले सर्वोच्चमा मुद्दा दर्ता गराउँदै परम्परालाई चुनौती दिए ।

पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल

सर्वोच्चले पनि ४ वर्षे कार्यकाललाई पुरा गर्न दिनुपर्ने निर्णय गरेसँगै त्यसपछि सरकार परिवर्तनमा पनि राखेप सदस्य सचिव फर्ने कसरतमा मन्त्रीहरु लाग्न छाडेको इतिहास छ । लामाले त्यति बेला बहालवाला मन्त्रीका विरुद्धमा चालेको त्यो कदमले त्यसपछिका सदस्य सचिवले भने कार्यकाल पुरा गर्ने परिस्थिति बन्यो । उहि ऐनबाट नियुक्त भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक फरक हुन सक्छ । तर, मुल्याङ्कनको आधार भने काम नै हुनुपर्दछ ।

पन्चायतकाल देखि प्रजातन्त्र, लोकतन्त्र, संघिय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा शब्दमा केहि फरक भएपनि राखेपलाई सञ्चालन गर्न बनेको ऐनले सदस्य सचिवलाई खेलकुदको केन्द्रमा राखेको थियो । दुई महिना अघि आएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयपछि भने राखेपका सदस्य सचिवको अधिकारलाई संकुचित पारिएको छ ।

राखेपको पुरानो ऐनले मन्त्रालयको भूमिका कमजोर पारेको बुझाईबाट मन्त्रालयलाई बढी अधिकार सम्पन्न बनाउने उद्देश्यका साथ नयाँ ऐन आएको बुझ्नेको पनि खेलकुदमा कमी छैन । सदस्य सचिवको अधिकार विगतमा भन्दा कमजोर बनाउने काम नयाँ ऐनले गरेको मान्नेहरु खेलकुदमा छन् ।

पूर्व सदस्य सचिव शाहकै पहलमा नेसनल ट्रेडिङको जागिर छाडेर राखेपमा आबद्ध अवकाश प्राप्त राखेपका अधिकृत रमेश खनालले ३ दशकभन्दा लामो आफ्नो सेवा अवधिमा ११ सदस्य सचिवसँग काम गर्ने अवसर पाए । उनको नजरमा पनि शाह जत्तिको सदस्य सचिव अहिले सम्म आउन नसकेको बताउन कत्ति पनि समय लगाउँदैनन् ।

‘योजना बनाउन सक्ने, नेतृत्व क्षेमता, चुनौती स्वकार गर्न सक्ने, कन्फिन्सिङ पावर उहाँको जस्तो खेलकुद नेतृत्वमा आउने अरु कसैको देखेको छैन’, उनले भने, ‘खेलकुद विकासका लागि खर्च कसरी जुटाउने भन्ने उहाँसँग प्रष्ट योजना थियो । त्यसैका आधारमा त्यो सभयमा खेलकुद पूर्वाधार बनेको हो ।’

भौतिक पूर्वाधार निर्माण, प्रशिक्षणको मास्टर प्लान, प्रशिक्षक तयार पार्ने उद्देश्यका साथ भारतको पटियाला पठाउने संंख्यामा बृद्धि, खेलकुदमा प्राथमिकता तोक्नेमा शाहको प्रष्ट बुझाई थियो । संघले हरेक वर्ष राष्ट्रिय च्याम्पियनसिप गर्नुपर्ने र राखेपले दुई वर्षमा एकपटक राष्ट्रिय खेलकुद आयोजना गर्ने परम्परा २०३८ सालमा सुरु भएको थियो ।

राखेपका पूर्व अधिकृत रमेश खनाल

३ दशक भन्दा लामो इतिहास बोकेको तत्कालिन साफ (दक्षिण एसियाली महासंघिय खेलकुद) अहिलेको साग (दक्षिण एसियाली खेलकुद) को अवधारणा तयार पार्ने टोलीमा शाहको भूमिका महत्वपूर्ण मानिन्छ । शाह नै सदस्य सचिव हुँदा नेपालले १९८४ मा पहिलो साफ आयोजना गरेको थियो । खनाल भन्छन्, ‘शाह सदस्य सचिव भएकै कारण नेपालले साफ आयोजना गर्न सकेको हो ।’

अर्को शाहकै समयमा कर्पोरेट हाउसेसलाई खेलकुदमा आबद्ध गराउनुपर्ने भन्ने अवधारण सुरु भएको खनाल स्मरण गर्छन । सरकारले खेलाडीलाई नियमित पारिश्रमिक दिन नसक्ने भएकै कारण जनकपुर चुरोट कारखाना, विद्युत प्राधिकरण, शाही औषधी लिमिटेडमा विभिन्न खेलका टोली र खेलाडी राख्ने अवधारणाको विकास गराइएको थियो । जसले गर्दा खेलाडीको रोजी रोटीको ग्यारेन्टी हुने थियो भने कर्पोरेट खेलकुदमा पनि प्रतिस्पर्धा हुन्थ्यो ।

दोस्रोका लागि प्रतिस्पर्धा

खनालको नजरमा शाह पछि केशव स्थापितले छोटो समयमा पनि खेलकुदमा प्रभाव छाडेका थिए । ‘उहाँ भिजन भएको मान्छे । ठूलो हृदय, गरेर देखाउनुपर्छ भन्ने उर्जाशिल व्यक्तित्व हो’, उनले सम्झिए, ‘आठौं साफका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि सातदोबाटोको जग्गा प्राप्ती उहाँकै पहलमा भएको थियो । राष्ट्र बैंकलाई अर्को ठाँउमा जग्गा उपलब्ध गराएर त्यो जग्गा लिएको थियो ।’

२०५१–२०५२ सालका सदस्य सचिव केशव स्थापितलाई पूर्व सदस्य सचिव लामा पनि राजनीतिक भन्दा माथि उठ्ने व्यक्तिका रुपमा बुझ्छन् । ‘उनी करातेमा मेरो चेला हुन् । छोटो समयमा पनि उनले राखेपमा प्रभाव छाडेका थिए’, लामाले सम्झिए, ‘उनकै पालमा २ सय ५० खेलाडीले एकै पटक प्रशिक्षक बन्ने अवसर पाएका थिए । त्यो खेलकुद विकासका लागि ठूलो कदम थियो ।’

पूर्व सदस्य सचिव केशव स्थापित

लामा साग आयोजना र सफलताका हिसाबले पालिखे र रमेश सिलवाललाई सम्झनु पर्ने मान्छन् । पालिखे सदस्य सचिव हुँदा नेपालले १९९९ मा आठौं साग र सिलवालको नेतृत्वमा गत वर्ष नेपालले १३ औं साग आयोजना भएको थियो । नेपालले आठौंमा ३१ स्वर्ण र १३ औंमा ५१ स्वर्ण पदकसहित पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो ।

भारतको दबदबा रहने साग इतिहासमा नेपाल त्यहि दुई पटक दोस्रो हुन सफल भएको थियो । यद्दपी आफ्नो समयदेखि नै राष्ट्रिय टोलीको नियमित प्रशिक्षण सुरु गरेकोले त्यसकै निरन्तरता केशव विष्टको समयमा पनि भएको १३ औं सागमा त्यसको सफलता आधार तयार पारेको मान्छन् ।

रमेशकुमार सिलवाल र केशव विष्ट

राखेपका पूर्व कोषाध्यक्ष श्रेष्ठ र पूर्व अधिकृत खनालको नजरमा केशव स्थापित, पालिखे, जीवनराम श्रेष्ठ र युवराज लामालाई केहि प्रभाव छाड्न सफल भएको मान्छन् । लामो समय सम्म स्थगित राष्ट्रिय खेलकुदलाई जीवनराम श्रेष्ठ दोस्रो पटक सदस्य सचिव हुँदा २०६५ सालमा आयोजना भएको थियो ।

यद्दपी तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको पार्टीको पिएलएल स्पोर्टसलाई छैटौं खेलकुदका केहि खेलमा खेलाउन जीवनराम बाध्य भएका थिए । पिएलएलाई सहभागी गराएको खेलमा नेपाली सेनाले भने भाग नलिँदा सरकारलाई नै चुनौती थियो । त्यो कारणले पनि जीवनरामको आलोचना हुने गरेको छ ।

जीवनराम श्रेष्ठ

अर्कोतर्फ २०५४ पछि आयोजना हुन नसकेको राष्ट्रिय खेलकुदको सिलसिला २०६५ मा जोडिएको थियो । केशव विष्टलाई भने दुई पटक २०७३ र २०७५-२०७६ मा राष्ट्रिय खेलकुद आयोजना गरेका कारण स्मरण गरिन्छ ।

लामालाई विधि र भौतिक पूर्वाधार निर्माणका लागि अहिले पनि खेलकुदमा स्मरण गरिन्छ । लामाको समयमा २०६८ मा सुदूरपश्चिमा छैटौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो । शाहकै प्रभावका कारण आफुले नियमित प्रशिक्षण र प्रशिक्षणलाई केन्द्रमा राखेको लामा बताउँछन् ।

‘खेलकुद विकासका लागि भौतिक पूर्वाधार र प्रशिक्षणसँग सँगै लानुपर्छ भन्नेमा म प्रष्ट थिएँ’, लामाले भने, ‘हाम्रो समयमा पूर्व पश्चिम भौतिक पूर्वाधार मा जोड दियौं । मिनी कभर्ड हलको कन्सेप्ट त्यहि बेलाको हो । अर्को राष्ट्रिय टोलीलाई नियमित प्रशिक्षण । सागमा त्यसले सहयोग पुग्यो भन्ने लाग्छ ।’

नीतिगत रुपमा खेलाडीलाई दिइने पुरस्कारको नियमावली पनि लामाकै समयमा पास भएको थियो । पन्चायतकालमा राजदरबारको खेलकुदमा प्रत्यक्ष चासो रहन्थ्यो । प्रजातन्त्र पछि भने सरकारको प्रत्यक्ष निगरानीमा खेलकुद रहने अवस्था बन्यो । प्रजातन्त्रपछिको समयमा राखेप पार्टीका लागि राखेप कार्यकर्ता भर्ती केन्द्र बन्यो ।

लामा भन्छन्, ‘त्यति बेला ठूलो संख्यामा राखेपमा कार्यकर्तालाई भर्ती गर्ने काम भयो । ती अधिकांश जागिर खान गएका थिए । खेलकुदको सट्टा अर्को ठाँउमा जागिर खुवाउँदा पनि ती व्यक्तिलाई फरक पर्ने थिएन । प्रजातन्त्र अघि भने खेलकुदसँग सरकार राख्ने , पूर्व खेलाडीलाई नै बढी महत्व दिइन्थ्यो । नियमित कामकाजका लागि मात्र राखेपका सदस्य सचिव सम्झिन्न । जसका कारण खेलकुदमा केहि सकारात्मक परिवर्तन भएको छ भने उनीहरुको चर्चा लामो समय सम्म हुनु स्वभाविक नै हो ।’

६ दशक पछि असार १८ गतेबाट राष्ट्रिय खेलकुद ऐन २०७७ लागु भएको छ । सदस्य सचिवको वरिपरि घुम्ने राखेपको नयाँ ऐन लागु भएसँगै भूमिका खुम्चिएको मानिएको छ । एक वर्ष पुरानो ऐनमा टेकेर सदस्य सचिवको पद सम्हालेका रमेश सिलवाल नयाँ ऐनका आधारमा पुनः सदस्य सचिव बनेका छन् ।

सिलवालले पुरानै ऐनको धङ्धङ्गी राखेप चलाउँछन् वा नयाँ ऐनले सिमित पारेको भूमिकामा खुम्चिएर खेलकुदलाई नेतृत्व दिन्छन् त्यसैका आधारमा आउने दिनमा सदस्य सचिवको मुल्याङ्कन हुनेछ ।

April 27, 2024

राष्ट्रिय महिला भलिबलमा निरुता सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]

April 27, 2024

पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ समग्रमा छैटौंपल्ट च्याम्पियन बनेको हो । वर्ष २०८१ मा एपिएफको यो पहिलो उपाधि हो । एपिएफले गत वर्ष २०८० […]

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

Success

Thank you for your time.