default_image

3 years ago

July 2, 2021

खेलकुद पत्रकार दिवस र थला परेको खेलकुद

सन्दर्भः विश्व खेलकुद पत्रकार दिवस–२०२१ सुमन अधिकारी आज जुलाई २ तारिख, विश्व खेलकुद पत्रकार दिवस । खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसायिकताको वकालत गर्दै विश्वभरि खेल क्षेत्रले यो दिवस मनाउने गर्दछ । सन् १९९४ बाट यो दिवस मनाउन थालिएको हो । इन्टरनेसनल स्पोर्टस् प्रेस एसोसिएसन स्थापना भएको दिनलाई सम्झेर सन् १९९४ देखि यो दिवस मनाउन […]

124 views

0 Bookmark

सन्दर्भः विश्व खेलकुद पत्रकार दिवस–२०२१

सुमन अधिकारी

आज जुलाई २ तारिख, विश्व खेलकुद पत्रकार दिवस । खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसायिकताको वकालत गर्दै विश्वभरि खेल क्षेत्रले यो दिवस मनाउने गर्दछ । सन् १९९४ बाट यो दिवस मनाउन थालिएको हो । इन्टरनेसनल स्पोर्टस् प्रेस एसोसिएसन स्थापना भएको दिनलाई सम्झेर सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो । यस अवसरमा सबै खेल पत्रकारहरुलाई हार्दिक शुभकामना ।

कोरोनाले समग्र नेपालको र रुपन्देहीको खेल क्षेत्रलाई शून्यप्रायः बनाएको छ । हुन त कोरोना नभएको अवस्थामा पनि नेपालको खेल क्षेत्र अपेक्षा र आवश्यक्ताअनुसार चलायमान थिएन । त्यसमा कोरोनाले नेपालको खेलकुदको विकासमा थप ठूलो क्षति पुर्याएको छ ।

नेपालको खेलकुद क्षेत्र एकअर्कालाई गाली गर्दै यहाँसम्म आएको छ । खेल क्षेत्रको विकासको लागि जिम्मा लिएका वा जिम्मेवारी पाएकाले आफ्नो भूमिका निभाउनु भन्दा अर्कालाई गाली र आरोप लगाएर खेलकुदमा आफ्नो रोटी सेक्ने प्रवृति अहिले पनि जारी छ ।

नेपालमा खेलकुद पत्रकारिता

नेपालमा खेलकुद पत्रकारिताको इतिहास त्यत्ति लामो छैन । समग्र नेपालको पत्रकारिताले १ शताब्दीभन्दा बढी समय व्यतीत गरेको अवस्थामा नेपालमा खेल पत्रकारिताको सुरुवात कहिलेबाट भयो भनेर किटानी गरेर भन्न सकिँदैन । नेपालको आम पत्रकारितासँगै खेलकुद पत्रकारिताले जग हालेको अनुमान गर्न सकिन्छ । पत्रकारितामा छुट्टै विटको सुरुवात गर्ने हेतुले भन्दा पनि खेलकुदका गतिविधि भएपछि त्यसलाई सञ्चार माध्यम विशेष गरी छापा माध्यममा समेट्ने गरी लेखिने गरिएका समाचार नै नेपालमा खेल पत्रकारिताको सुरुवाती चरण हुन् ।

नेपालमा खेलकुद पत्रकारिताको सुरुआत कहिलेदेखि सुरु भयो, स्पष्ट रुपमा भन्न नसकिए पनि नेपालको सबैभन्दा लामो इतिहास बोकेको पत्रिका गोरखापत्रको प्रकाशनसँगै नेपालमा खेलकुद समाचार र खेल पत्रकारिताको थालनी भएको हो भन्ने गरिएको छ । खेलकुद पत्रकारिता आम पत्रकारिताका अन्य विधा जस्तो सामाजिक अभियान वा सामाजिक उत्तरदायित्वले डोर्याउने पत्रकारिता नभएका कारण यसको विकास पनि त्यही रुपमा अगाडि बढेको भेटिन्छ र भएको छ भन्दा हुन्छ ।

खेल पत्रकारिताका लागि खेल गतिविधि हुनु जरुरी छ । खेल गतिविधिविना खेल पत्रकारिता असम्भव प्रायः नै छ । त्यसैले नेपालमा खेल पत्रकारिताको सुरुवात र विकाससँग नेपालको खेलकुद क्षेत्रको विकास र गतिविधि जोडिएको छ ।

नेपालमा खेलकुद र समाचार

नेपालमा खेलकुदको संस्थागत विकासको सुरुवात तत्कालीन राणा शासन कालदेखि भएको हो । भारतमा अध्ययनका लागि गएका राणा परिवारका सदस्यहरुले बिदामा नेपाल आउँदा ल्याएका खेलकुद सामग्रीबाटै नेपालमा खेलकुदको जग बसेको हो । त्यसैले नेपालमा खेलकुदको जननी राणा शासन र तीनका परिवार नै हुन् । यो त्यो बेलाको परिवेशको उपज थियो भनेर हामीले बुझ्नु जरुरी छ ।

राणा परिवारको पर्खालभित्र रहेको नेपालको खेलकुद त्यो पर्खाल नाघेर आम सर्वसाधारण नागरिकका लागि बन्न केही समय लागेको छ । खेल पत्रकारिताका लागि खेल गतिविधिहरु हुनुपर्ने तर त्यो समयमा खेल गतिविधिहरु नहुने अवस्था, यसले नेपालको खेल पत्रकारिताको विधालाई संस्थागत गर्ने वा चलायमान बनाउने कुरामा समस्या थियो । त्यसैले पनि नेपालमा खेल पत्रकारिता संस्थागत भएको इतिहास लामो छैन ।

नेपाली खेलकुदको विकास नभएससम्म खेल पत्रकारको पनि विकास हुन सक्दो रहेनछ भन्ने कुरा हाम्रो खेल पत्रकारिताको इतिहासले स्पष्ट गरेको छ । पत्रकारिता आफैमा एक चुनौतीपूर्ण पेशा हो । त्यसमा पनि खेल पत्रकारिताका लागि विशेष किसिमको क्षमता र अवस्था आवश्यक हुन्छ । एक्सन ओरिएन्टेड पत्रकारिता हुने भएका कारण खेल पत्रकारिता बचाउन र विकास गर्न खेलकुदकै विकास गर्नु जरुरी हुन्छ ।

यसरी हेर्दा हामी कमजोर अवस्थामा छौं भन्दा हुन्छ । समग्र नेपालको खेलकुद क्षेत्रको विकास र विस्तार चिन्ताजनक छ । खेलका गतिविधि केही संख्यात्मक हिसाबले भएको देखिएको भए पनि त्यसको खास व्यवसायिकताको लयलाई भने राम्रोसँग पक्रन सकिरहेको छैन । खेलकुदमा जबसम्म व्यवसायिक विकास हुँदैन तबसम्म नेपालको खेलकुद पत्रकारिता पनि संस्थागत हुन सक्दैन ।

हुन त पछिल्लो समयमा प्रविधि र ज्ञानका कारण नेपालको खेलकुद पत्रकारिताले धेरै फड्को मारेको छ । नेपालमा खेलकुद गतिविधि नभए पनि अन्तर्राष्ट्रिय रुपमा हुने गतिविधिमा नेपाली खेलकुद पत्रकारहरुले कलम चलाएर पेशालाई व्यवस्थित र चलायमान बनाएका छन् । यो खेल पत्रकारहरुको आफ्नो क्षमता र सक्रियताले सम्भव भएको हो ।

व्यावसायिक बन्दै खेल पत्रकारिता

नेपालमा आम पत्रकारिता क्षेत्रमा व्यवसायिकताको कुरा उठेको ३० दशक भएको छ । २०४६ सालको जनआन्दोलनपछि नाराको रुपमा अगाडि आएको व्यवसायिक पत्रकारिता कति सफल वा जिम्मेवार बनेको छ त्यो अर्को छलफलको विषय हो । नेपाली पत्रकारितामा व्यवसायिकताका नाममा व्यापारिकरण मात्र होइन समग्र पत्रकारितामा नै विकृति बढेको छ । त्यसमा सत्यता पनि भेटिन्छ । यस कुराले नेपालको पत्रकारितामा अझै सुधार, संस्कार र जिम्मेवारीबोध जरुरी छ भन्ने संकेत गर्दछ ।

यत्ति हुँदाहुँदै पनि पछिल्लो समयमा नेपाली पत्रकारितामा जबरजस्त रुपमा स्थापित भएको मान्यता भनेको विट अर्थात विधागत पत्रकारिता हो । राजनीतिक तथा समाजिक अधिकार प्राप्तिका लागि सोलोडोलो रुपमा सुरुवाती अवस्थामा गरिएको पत्रकारिता मात्र अहिले छैन । अहिलेको यो विट (विधागत) पत्रकारिताले अति आफ्नो मूल्य मान्यतालाई आत्मसात् गरेर पस्कने गरिएको छ, त्यसमा समीक्षा जरुरी होला तर यसलाई सकारात्मक रुपमा लिनु पर्दछ ।

नेपालमा पछिल्लो समयमा आएर पत्रकारितामा विविध विधाहरुमध्ये उल्लेख्यनीय प्रगति र आकर्षण बढेको क्षेत्रमा खेल पत्रकारिता अग्रस्थानमा आउँछ । खेल र खेल पत्रकारिताको महत्व स्वीकार गर्दै छापा तथा विद्युतीय सञ्चार माध्यमले खेल समाचारहरु बिकाउ (पाठक र दर्शकको खोजीको रुपमा) समाचार हुन् भन्ने महशुस गरेका छन् ।

निजी क्षेत्रबाट सञ्चारमा लगानी भएको र सञ्चार माध्यमहरु खुल्न र चल्न थालेपछि खेल पत्रकारिताको महत्व, आवश्यक्ता एवं चासो ह्वातै बढेको हो । विश्वमै खेलकुदले गरेको विकासले खेल समाचारको आवश्यक्तालाई स्वीकार गरेको मानिन्छ । यसै क्रममा नेपालमा पनि पत्रिकाहरुले खेल समाचारका लागि छुट्टै पेज, विद्युतीय सञ्चार माध्यमले खेल समाचारका लागि छुट्टै समय दिने परम्पराको थालनी भएको छ । यो नेपाली खेल पत्रकारिता व्यवसायिक बन्दै गएको भन्ने प्रमाण हो ।

खेलकुद पत्रकारिताका जटिलता

खेलकुदको कुनै देश या भाषा हुँदैन । खेलकुद पत्रकारिताको अवस्था पनि त्यही हो । विश्वभर खेलिने र खेलाइने खेलको एउटै नियम हुन्छ । अन्य विधाका समाचारका विषय देशअनुसारका नियम, विधि र प्रक्रियामा हुन्छन् । तर खेल समाचारमा खेलका नियम र विधि सबै देशमा एउटै लागु हुन्छ । त्यसैले खेलकुदको क्षेत्रमा कलम चलाउने पत्रकारले विश्वको भाषा बुझ्न सक्नु पर्दछ ।

विट पत्रकारिताको आवश्यक्तासँगै नेपालमा खेलकुद पत्रकारिता संस्थागत बन्दै गएको हो । विट पत्रकारितामा विधाअनुसार अर्थात विटका विषयअनुसार त्यसका समाचार लेख्ने आफ्नै विधि र शैलीहरु हुन्छन् । त्यसैले विट पत्रकारिता सुन्दा जति सजिलो लाग्छ तर व्यवहारमा त्यसमा धेरै जटिलता पनि रहेका छन् ।

विशेष गरी हाम्रो नेपालका चलनचल्तीको पत्रकारिता सोख र प्यासनको पत्रकारिता हो । घिसेपिटे रुपमा सबैको पत्रकार बनेर काम गरिरहेको र चलिरहेको पत्रकारिताबाट कुनै पनि विट पत्रकारिता गर्नु हुँदैन, चलाउन चाहिँ सकिन्छ । अहिलेको अवस्था यही हो, यसमा सुधार आफै पत्रकारहरुबाटै गर्नु जरुरी छ ।

पत्रकारिता गतिशीलताको अर्को पाटो हो । पत्रकारिताको गतिशीलता पत्रकार गतिशील नभएमा हुन सक्दैन । यो आम पत्रकारिताको मान्यताभित्र पर्दछ । खेल पत्रकारिता अझ बढी गतिशील हुनु जरुरी हुन्छ । खेल नै गतिबाट सुरु भएर गति र निश्चित समयमा सकिएको हुन्छ भने त्यसको समाचार सम्प्रेषण पनि त्यही गतिमा हुनु पर्दछ । त्यसैले खेलकुद पत्रकारितामा खेलसँग दौड्न सक्ने क्षमताको आवश्यक्ता छ ।

पत्रकारिता पेशामात्र नभएर ज्ञानको सागर पनि हो । त्यसैले यो अध्ययनको विधा पनि हो । नयाँ ज्ञानले पुरानो ज्ञानलाई विस्थापन गर्दै गएको पनि छ । यसले पत्रकारिता क्षेत्रमा नयाँ नयाँ विधा र शिल्प–शैली जन्माएको छ । यी तमाम कारणले खेल पत्रकारितामा निरन्तर रूपमा चुनौती र परिवर्तन आइरहेका छन् । आजको पत्रकारिताको स्वरूप भोलि झनै फरक हुने प्रबल सम्भावना छ । यसमा खेल पत्रकार खेल्न र वहन सक्नु पर्दछ ।

अर्कोतर्फ खेल क्षेत्रमा आफ्ना छुट्टै प्राविधिक शब्दहरु बढी प्रयोग हुने हुनाले बाहिरबाट हेर्दा सजिलो देखिए पनि यथार्थमा खेल पत्रकारिता अन्यभन्दा कठिन छ । खेलकुद पत्रकारिताका ती प्राविधिक शब्दको सही प्रयोग गर्न सकिएन भने पत्रकारिता हुन सक्दैन । खेल हेर्न जाँदैमा र खेल रमाइलो लाग्दैमा खेल पत्रकारिता गरिएको वा खेल पत्रकार भएको हुन सक्दैन भन्ने कुराको जानकारी हुनै पर्दछ ।

खेलकुदको बजार ठूलो छ तर सञ्चार माध्यम र तिनका सञ्चालकहरुका लागि त्यो सानो गणनामा परिरहेको अवस्था छ । खेलकुदलाई मात्रै विषयवस्तु बनाएर प्रकाशित हुने छापा माध्यम नगन्य छन् भने भएका पनि निरन्तरताको चुनौतीमा छन् । यसबाट खेलकुद नै विधा लिएर लागेका खेल पत्रकारहरुको क्रियाशीलतामा अड्चन आउने गरेको छ । अहिले पनि अधिकांश मिडिया राजनैतिक गतिविधि र उच्च पदस्थहरुको दिनचर्यामा सीमित रहेकाले खेलकुद प्राथमिकतामा नपर्ने गरेको यथार्थ हो ।

खेलकुदको विकास

पछिल्लो समय नेपाली खेल जगत् क्रमशः कछुवा गतिमा व्यावसायिक बन्दै गएको छ । खेल क्षेत्रमा व्यावसायिकता वृद्धिसँगै व्यावसायिक खेलाडीहरूको संख्या पनि बढेको छ । खेल क्षेत्रमा नै रहेर आफ्नो जीवन जिउन सकिन्छ भन्ने सपना बोकेकाहरु यसमा रमाएका छन् । तर समस्याहरु बाँकी छन् । खेलकुदमै लागेर पनि भविष्य बन्छ भनेर विश्वास बोकेका व्यक्तिहरु पलायन भएका कथाहरु हाम्रो खेलकुदमा प्रशस्त भेटिने हुँदा अझै नेपालमा खेलकुदको ठोस विकास भएको छैन भन्नुपर्ने हुन्छ ।

खेलकुदमा पछिल्लो समयमा व्यवसायिक घरानाहरु (उद्योग÷प्रतिष्ठान) को सहभागिताले खेल व्यावसायिकता वृद्धिसँगै विभिन्न खेलकुद प्रतियोगिता, खेलाडी र खेलकुद क्लबहरूका प्रायोजन भएको पनि देखिन्छ । यसलाई सकारात्मक मान्नुपर्छ । त्यसैगरी अर्कोतर्फ जुनजुन खेल संघसंस्थाहरु सक्रिय छन्, ती खेलहरुको विकास पनि भएको छ ।

खेलकुद क्षेत्रको विकासमा राज्य उदासिन छ । जसले गर्दा अधिकांश खेल संघ र खेलाडीले बारम्बार पीडित हुनुपर्ने स्थिति छ । खेलकुद परिषद्सँग आबद्ध खेल संघ नै चुस्त र प्रस्ट नीतिमा छैनन् । अधिकांश खेल संघलाई खेलकुदका नाममा विदेश जान पाइने लोभमा काम गरिरहेको र खेल क्षेत्रमा भ्रष्टाचार निकै मौलाएको आरोप छ ।

यति हुँदाहुदै पनि मुलुकको खेलकुद विकासका प्रशस्त सम्भावना छन् । मुलुकको खेलकुद क्षेत्र क्रमशः व्यावसायिक पनि बन्दै गएको छ । राजनीतिक छायामा परेको हुनाले हाम्रो खेल क्षेत्रले बाटो बिराउने गरेको छ । यसलाई उकास्ने दिशातर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ । सरकार फेरिएपिच्छे खेलकुदको नेतृत्व परिवर्तन हुने रोग मुलुकको खेलकुद विकासमा तगारोका रूपमा रहेको बिर्सन सकिन्न ।

राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न पनि खेलकुदको विकास अपरिहार्य छ । खेलकुदमार्फत् नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्ने छ । विश्व भाइचारासँगै विश्वमा परिचित गराउने एक मात्र माध्यम खेलकुद हो । विश्वमा द्वन्द्व र लडाइँमा रहेका मुलुक पनि एक अर्काबीच खेलको मैदानमा सद्भाव दूत भएर उत्रेका हुन्छन् ।

खेल पत्रकारको भूमिका

खेलकुदको विकासमा खेल पत्रकारहरुले सीमित स्रोत, लगानी र विना प्रोत्साहन योगदान गर्दै आएका छन् । आज विश्व खेलकुद पत्रकार दिवसका अवसरमा खेल पत्रकारहरुले पुर्याएको योगदानको हामी स्मरण गर्न चाहन्छौं ।

हरेक जोखिमलाई मोलेर मैदानमा उभिएर जे देखेको हो, त्यही कुरा सम्प्रेषण गर्दै खेलकुदका गतिविधिलाई आम खेलप्रेमी माझ पुर्याउने जिम्मेवारी खेल पत्रकारहरुले पूरा गर्दै आएका छन् । आज खेल पत्रकारहरुका कारण खेलप्रेमीहरुले घरमा बसेर विश्वभरको खेल हेर्ने, पढ्न र सुन्न पाएका छन् । तर खेल पत्रकारितालाई राज्यले सञ्चार गृहहरुले पत्रकारिताका अन्य क्षेत्रलाई जस्तो प्राथमिकतामा राखेको वा महत्व दिएको अनुभव छैन ।

सीमित स्रोत साधनका बाबजुत पनि नेपाली खेल पत्रकारले गरिरहेको काम आफैमा कमी छैन । सञ्चार माध्यमहरुमा खेलकुदको समाचार राख्न लडाइँ गर्नुपर्ने अवस्थाबाट बिस्तारै माथि उठ्दै गरेका नेपाली खेल पत्रकार सीमित स्रोत साधनमा धेरै काम गर्नु ठुलो चुनौती छ ।

खेल पत्रकारिताविना खेलकुद अघि बढ्न सक्दै भने खेलकुदविना खेल पत्रकारिता रहँदैन भन्ने कुरालाई खेल क्षेत्रमा रहेका व्यक्ति र संस्थाहरुले बुझ्नु जरुरी छ । खेल पत्रकारले खेल आयोजना गर्ने, खेलाडी जन्माउने, खेल गतिविधि गर्ने अवश्य होइन तर आयोजना गर्ने– गराउने, खेलाडी चिनाउने र नीति नियम बनाउने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।

यसै परिपेक्षमा खेल क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरुलाई संगठिन गर्दै खेलकुद पत्रकारितालाई स्तरीय र गुणात्मकरुपमा अगाडि बढाउन नेपाली खेलकुद पत्रकारहरुको एक साझा संस्थाका रुपमा २०५२ सालमा काठमाडौंमा नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको हो । नेपालमा खेलकुद पत्रकारिता क्षेत्रलाई निष्पक्ष, स्तरीय, गुणात्मक रुपमा अघि बढाउन संस्थागत रुपमा योगदान पु¥याउने मूल अभिप्रायले प्रेरित भई खेलकुद पत्रकारहरुको पहलमा मञ्च स्थापना गरिएको थियो ।

स्थापनाको २६ वर्ष पार गरेको यो मञ्चले आफ्नो यात्रामा विभिन्न गतिविधि गर्दै आएको छ । यसै क्रममा रुपन्देही जिल्लामा पनि मञ्चको जिल्ला शाखा गठन गरी विभिन्न कार्यक्रम गरिँदै आएको छ । मञ्चको गठनसँंगै रुपन्देहीमा पनि खेल पत्रकारिताले संस्थागत मान्यता पाएको सत्य हो । रुपन्देहीमा खेल क्षेत्रमा कलम चलाएर खेल पत्रकारका रुपमा चिनिएको समय भनेकै २०५१–५२ सालबाट हो । त्यो भन्दा अगाडि खेलकुदका समाचार औपचारिकतामा मात्र छापिने गरेको खेल समाचारका रुपमा चिनिने अवस्थामा रहेको भेटिँदैन । मलगायत केही साथीहरुले रुपन्देहीमा संस्थागत गरेको खेल पत्रकारितालाई अझै व्यवस्थित र मर्यादित बनाउनु आवश्यक छ ।

अहिलेको समयको मागअनुसार आफूलाई नयाँ प्रविधिको प्रयोगसँंगै अघि बढाउने र सीमित स्रोत र साधनका बाबजुद पनि खेलकुद पत्रकारितालाई अझै प्रभावकारी कसरी बनाउन सकिन्छ तथा खेलकुदका गतिविधिलाई आम खेलप्रेमी माझ पुर्याउने जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ । दिवसका अवसरमा फेरि पनि सबैमा शुभकामना ।

अधिकारी नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही समन्वय शाखाका अध्यक्ष हुन् ।

March 19, 2024

भलिबल च्याम्पिनसिप – महिलामा आर्मीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबको महिला टोलीले आठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबार आर्मीले कोशी प्रदेशलाई ३-० ले हराएको हो । आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी‌ भएको हो । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि […]

March 18, 2024

पहिलो जितबाट एपिएफ क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले जितबाट आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगिताको सोमबार अन्तिम खेलमा एपिएफले जावलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले २५–१८,२५–१७,२५–१४ को सहज जित निकालेको थियो । समूह बीमा एपिएफ […]

March 18, 2024

आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको समूह चरणको खेलमा आर्मीले न्युटन क्लबलाई ३-० ले हराएको छ। आर्मी २५-१५, २५-१२, २५-२० ले विजयी भएको हो। आर्मीका दुर्गा महतो प्लेयर अफ दि म्याच बने […]

Success

Thank you for your time.