काठमाडौं (हाम्रो खेलकुद)– सप्तरीका सन्तोष कटुवाल दोश्रो राजन स्मृती अन्तर लिकर ब्याडमिन्टन २०७३ मा दोहोरो सफलता हासिल गरेका छन् । सन्तोषले पुरुष एकल र युगल दुवैमा पहिलो स्थान प्राप्त गरेका हुन् ।
पुरुष एकलको फाइनलमा काठमाण्डौका पेम्बा शेर्पालाई २१–१८, १३–२१ र २१–१९ ल हराएका सन्तोष्ले युगलमा सुनिल परियारसंग मिलेर ललितपुरका कभि बस्नेत र प्रल्हाद के.सी.को जोडीलाई २१–१६, १४ –२१ र २१–१५ ले हराए ।
नेपाल मदिरा ब्यवसायी महासंघको आयोजनामा बसुन्धारास्थित बुल्स जिमको हलमा भएको प्रतियोगिताको भेट्रान्स एकल तर्फ सागर डिस्टिलरीका किशोर भट्टराईले जावलाखेल ग्रुप अफ कम्पनीका प्रनेश श्रेष्ठलाई २१–५ र २३–२१ ले हराए । किशोर पहिलो संस्करणका विजेता समेत हुन् ।
नेपाल मदिरा ब्यवसायी महासंघका तत्कालिन केन्द्रिय सदस्य स्व. राजन सापकोटाको सम्झनामा आयोजित दुई दिने प्रतियोगिता विजेतालाई नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, जावलाखेल ग्रुप अफ कम्पनीका सिओएम प्रविर कुमार नागले विजेता खेलाडीलाई पुरस्कृत गरे । प्रतियोगितामा देशका झन्डै १ सय ५० मदिरा ब्यवसायसंग सम्वन्धित खेलाडीको सहभागिता थियो ।
थापा सम्मानित
रियो ओलम्पिकमा ब्याडमिन्टनमा लाइन जजको भूमिका निर्वाह गरेका दीपक थापा समापनका अवसरमा सम्मानित भएका छन् । थापालाई अन्तराष्ट्रिय स्तरमा निर्णायकको भूमिका निर्वाह गरि नेपालको नामलाई परिचित गराउन सफल भएकोमा त्यसको कदर गर्दै सम्मान गरिएको हो ।
ओलम्पिकमा नेपालीले निर्णायकको भूमिका निर्वाह गरेको त्यो नै पहिलो थियो । एबिसीका अम्पायर समेत रहेका पूर्व खेलाडी थापा नेपाल ब्याडमिनटन संघका केन्दिय सदस्य एवंम् काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हुन् ।