default_image

5 years ago

June 17, 2019

कीर्तिमानी अजित र सोम राष्ट्रिय टोलीमा अटाएनन् !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्स र ट्रयाक एन्ड फिल्डका कीर्तिमानी खेलाडीद्वय अजित कुमार यादव र सोम बहादुर कुमाल आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि राष्ट्रिय टोलीबाटै बाहिरिएका छन् । सोम र अजित आ–आफ्नो विधाका कीर्तिमानी खेलाडी हुन् । नेपाल एथलेटिक्स संघले १३औं सागको लागि छनोट गरेको २६ सदस्यीय खेलाडीमा सोम र अजित […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्स र ट्रयाक एन्ड फिल्डका कीर्तिमानी खेलाडीद्वय अजित कुमार यादव र सोम बहादुर कुमाल आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि राष्ट्रिय टोलीबाटै बाहिरिएका छन् । सोम र अजित आ–आफ्नो विधाका कीर्तिमानी खेलाडी हुन् ।

नेपाल एथलेटिक्स संघले १३औं सागको लागि छनोट गरेको २६ सदस्यीय खेलाडीमा सोम र अजित स्थान बनाउन असफल भएका हुन् । संघले प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा नखेलेको कारण देखाउदै सोम र अजितलाई राष्ट्रिय टोलीबाट बाहिरै राखेको हो । तर, सोम र अजितले संघकै सिफारिसमा आठौं राष्ट्रिय खेलकुदलाई त्याग्दै कतारको दोहामा सम्पन्न एसियाली एथलेटिक्समा भाग लिएका थिए ।

सोम र अजितले राष्ट्रिय खेलकुद परिषद (राखेप) नेपाल एथलेटिक्स संघ र सम्बन्धित संघकै सिफारिसमा एसियन एथलेटिक्स खेल्न जान लागेको बताउदै आठौं राष्ट्रिय खेलकुद खेलेनन् । राखेपले मंसिरमा आयोजना हुने १३औं सागको लागि जेठ २७ बाट एथलेटिक्सको विशेष प्रशिक्षण शुरु गराइसकेको छ । विशेष प्रशिक्षण शुरु हुदा यी दुई खेलाडी राष्ट्रिय टोलीमा नपर्ने हो कि भन्ने चिन्तामा छ ।

‘हामी संघकै सिफारिसमा कतारमा खेल्न गएका थियौं । आठौंमा हामीले हाम्रो विधामा पक्कै पनि स्वर्ण नै जित्ने थियौं । संघले हामीलाई एसियन एथटिक्स सहभागी जनाउन आग्रह गर्दै १३औं सागको लागि विशेष प्रशिक्षणमा पनि राख्ने आश्वासन दिएको थियो । तर, विशेष प्रशिक्षण शुरु भैसक्दा पनि हामीले प्रशिक्षण गर्न पाएका छैनौ ’ । ‘विशेष प्रशिक्षणमै नपर्दा हामीलाई संघले झुक्याएको हो कि भन्ने आशंका बढेको छ । यस्तो नियत थाहा भएको भए हामी एसियन होइन आठौं नै खेल्ने थियौं । स्वर्णको माया त हामीलाई पनि थियो । तर, हामीले राष्ट्रको प्रतिनिधित्व गर्दै कतार गएर खेल्नुको के अर्थ । राष्ट्रिय टोलीबाटै बाहिर ।’

एथ्लेटिक्सका मुख्य प्रशिक्षक विक्रमजंग थापाले सोम र अजितको केही प्रक्रिया नपुग्दा ढिलाई भएको उल्लेख गर्दै सोमबार सम्ममा विशेष प्रशिक्षणमा सामेल हुने बताएपनि उनीहरु विशेष प्रशिक्षणमा सामेल हुन पाएनन् । प्रशिक्षक थापाले यो विषयमा संघ नै गम्भीर हुनुपर्ने बताएका छन् । ‘उनीहरु नेपाललाई पदक दिलाउन सक्ने सम्भावना भएका खेलाडी हुन् । उनीहरु राष्ट्रिय टोलीको क्याम्पबाट बाहिर जानु नेपाली एथ्लेटिक्सलाई नै घाटा हो,’ प्रशिक्षक थापाले भने, ‘विशेष प्रशिक्षणमा बजेट अभाव भएर पनि उनीहरुलाई समावेश गर्न नसकिएको होला । तर, उनीहरु दोस्रो चरणमा पक्कै पनि विशेष प्रशिक्षणमा समावेश हुनेमा म विश्वस्त छु ।’

राखेपले सागमा समावेश २७ खेलमध्ये १८ खेलको विशेष प्रशिक्षण सुरु गरिसकेको छ । सोम ट्रयाक एन्ड फिल्डका ४००, ८०० र १५०० मिटरको च्याम्पियन हुन् । सोमले ८०० मिटरमा धनीराम चौधरीको नाममा रहेको २३ वर्षअघिको कीर्तिमा तोडेका थिए । चौधरीले ८ सय मिटर दौड १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो । सोमले गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा १ मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए ।

अजितले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्णपदक जित्दै ४५ वर्षपछि ऐतिहासिक पदक दिलाएका थिए । पुरुष ३ हजार मिटर दौडमा अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए । अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन् ।

यसैवर्ष राखेपले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।

Success

Thank you for your time.