default_image

3 years ago

September 19, 2020

सदस्य सचिवले मानपदवी पाउँदा सागका पदक विजेतालाई बेवास्ता

प्रकाश तिमल्सिना, काठमाडौं गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल संविधान दिवसका अवसरमा मान पदवी प्राप्त गर्ने सुचीमा समावेश गरिएका छन् । संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिन्छ । शनिबार घोषित […]

210 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल संविधान दिवसका अवसरमा मान पदवी प्राप्त गर्ने सुचीमा समावेश गरिएका छन् ।

संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिन्छ । शनिबार घोषित मानपदवीमा १३ औं साग आयोजनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिलवाललाई सुप्रवल जनसेवा श्री तृतिय दिने घोषणा भएको छ ।

१३ औं सागमा ऐतिहासिक सफलता दिलाउन उच्च प्रदर्शन खेलाडी भने मानपदवीबाट बञ्चित भएका छन् । मानपदवी प्राप्त गर्ने खेलाडी अन्य विभागबाट सिफारिस भईआएका बाहेक राखेपले सिफारिस गरेका कुनै पनि खेलाडीले पदक पाएनन् ।

ओलम्पियन संगिता वैद्य र १३ औं साग समारोह समितिका सचिव समेत रहेका राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा प्रवल जन सेवा श्री चतुर्थ पदक प्राप्त गर्ने भएका छन् । छनोट चरण पार गर्दै सन् २००४ को एथलेन्स ओलम्पिक खेलेकी तेक्वान्दोकी संगिना एसियन च्याम्पियनका साथै सागकी दोहोरो स्वर्ण पदक विजेता हुन् । उनी १३ औं सागमा प्रशिक्षक पनि थिइन् ।

राखेप कार्यकारी बोर्डका सचिव समेत रहेका थापा १३ औं सागको उद्घाटन र समापन समारोहका निर्देशक हुन् । त्यस्तै हङकङ राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक तुलसी गुरुङले पनि प्रवल जन सेवा श्री चतुर्थ पदकबाट विभूषित हुने भएका छन् ।

सागका पदक विजेतालाई वेवास्ता

३६ वर्ष लामो इतिहास बोकेको सागको १३ औं संस्करणमा नेपाललाई एतिहासिक सफलता दिलाउने खेलाडी भने मानवदीबाट बञ्चित भएका छन् । सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि कुल २ सय ७ पदक जित्दै नेपाल पदक तालिकामा दोस्रो भएको थियो ।

सागमा पदक तालिकामा दोस्रो पटक दोस्रो स्थानमा रहन सफल भएपनि पदकका हिसाबले यो सागमा नेपालको अहिले सम्मको सबै भन्दा ठूलो सफलता हो । सागमा पौडीकी गौरिका सिंहले ४, तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २ वटा स्वर्ण पदक जितेका थिए ।

फुटबल टोलीले स्वर्ण जितेको थियो भने बाँकी खेलाडीले समान १ स्वर्ण पदक विजेता थिए । तर राष्ट्रपतिबाट प्रदान गरिने मानपदवीमा भने खेलाडीमाथि वेवास्ता भएको छ । सागका स्वर्ण पदक विजेता मध्ये सम्बन्धित विभागको सिफारिसमा १५ खेलाडीले मानपदवी पाउने भएका छन् ।

राखेपले सिफारिस गरेका कुनै पनि खेलाडीले मानपदवी पाएनन् । राखेपले स्वर्ण पदक जित्ने सबै खेलाडी र सम्बन्धित खेलको प्रशिक्षकका लागि मानपदवी सिफारिस गरेको राखेप कार्यकारी समितिका सचिव समेत रहेका प्रवक्ता कुलबहादुर थापाले जानकारी दिए । ‘हामीले सागका स्वर्ण पदक विजेता र प्रशिक्षकलाई मानपदवीका लागि सिफारिस गरेका थियौं,’ उनले भने, ‘तर उहाँहरुको नाम परेन भन्ने जानकारी पाएँ ।’

सदस्य सचिव सिलवाल र आफ्नो मानपदवीको सिफारिस भने युवा तथा खेलकुद मन्त्रालयबाट भएको हुन सक्ने थापाले बताए । सबै क्षेत्रका व्यक्तित्वहरुलाई राष्ट्रपतिबाट विभूषित गर्दा सागका पदक विजेतालाई छुटाउँदा नमज्जा लागेको सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजीले बताए ।

मानपदवीको सिफारिसका लागि युवा तथा मन्त्रालयले राखेपमार्फत स्वर्ण पदक विजेताका लागि फारम भराएको स्मरण गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अहिले सुचि हेर्दा खेल क्षेत्रको अपमान भएको महसुस भएको बताए ।

‘खासमा मानपदवीका लागि फारम भर्नुपर्ने नै गलत परम्परा हो । यदि भर्ने नै हो भने स्वर्णसहित सबै पदक विजेताको भर्नुपर्छ भन्ने हाम्रो माग थियो’, श्रेष्ठले थपे, ‘त्यसमा स्वर्ण पदकको मात्र सिफारिस गरियो । अहिले सिफारिस भएको पनि सुचिमा नाम नहुँदा सम्मान त कता हो कता उल्टो अपमान भएको छ ।’

Success

Thank you for your time.