fbpx
default_image

14 hours ago

December 24, 2025

एसियाली खेलकुदमा भाग लिने राखेपको निर्णय

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को वर्ष जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदमा भाग लिने निर्णय गरेको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको राखेपको १ सय २४औं बोर्ड बैठकले एसियाली खेलकुदमा भाग लिने निर्णय गरेको हो।

अघिल्लो सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको विवादका कारण नेपालको एसियाली खेलकुद अन्यौलमा थियो।

अन्तर्राष्ट्रिय मान्यताका एनओसी हुँदा हुँदै चौधरीको पालामा राष्ट्रिय मान्यता प्राप्त एनओसी अस्तित्वमा आएपछि विवादका कारण एसियाली खेलकुदमा खेलाडीको सहभागिता अन्यौलमा थियो।

राखेपले लामो समय देखि विभिन्न खेलका खेलाडीलाई सम्मिलित गर्दै मिसन २०२६ सन्चालन गरिरहेको छ। जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले ३० खेलको सहभागिताका लागि एसियाली खेलकुद आयोजकलाई सूची पठाएको थियो।

राखेपको पछिल्लो निर्णयले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी केही ढुक्क भएका छन्।
२०औं एसियाली खेलकुद २०८३ असोज ३ देखि १८ गते (२०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ ) सम्म हुनेछ। राखेप बोर्ड बैठकले अन्य विषयमा पनि निर्णय गरेको छ।

निर्णयहरु

  • बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित ।
  • दशौं राष्ट्रिय खेलकुद संगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने ।
  • परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय पारित ।
  • अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा ‘जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने तथा त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने ।
  • २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने ।

बैठकमा परिषद्का उपाध्यक्ष ध्रुव आर्चाय, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्य सचिव राम चरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो ।

Success

Thank you for your time.