default_image

6 months ago

June 13, 2025

एथलेटिक्समा बागमतीको दबदबा, अनिशाको‌ कीर्तिमान

674 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण पदक जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत र कर्णालीकी सरिता शाही कास्य पदक प्राप्त गरिन् ।

छात्रा ट्रिपलजम्पसहित छात्र/ छात्राको ४ गुणा १ सय मिटर रिलेमा गरी ३ कीर्तिमान बने । छात्र ४ गुणा १ सय मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, सन्त दराई, सुविन लामा र निरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जियो ।

बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारु, तुल्सीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन् । यसमा गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो बने ।

सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारु, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चदै कीर्तिमान स्थापित गरे । लुम्बिनीका निशा चौधरी, रेसु थारु, रामकुमारी थारु र सम्झना थारुको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।

तीनदिने एथलेटिक्समा जम्मा ९ कीर्तिमान बने । यसअघि छात्र १ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर (१०.७६ सेकेन्ड), छात्रा ४ सय मिटर दौडमा सुदूरपश्चिमकी संगीता विक (१ मिनेट ०१.१९ सेकेन्ड), छात्रा ८ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी (२ मिनेट १७.९ सेकेन्ड) र छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारु (५७.४० मिटर) ले कीर्तिमान स्थापित गरेका थिए ।

त्यस्तै, छात्र/छात्राको बागमती टोलीले ४ गुणा ४ सय मिटर रिलेमा पनि कीर्तिमान कायम गरे । छात्रमा प्रवीण राना मगर, निरज शाह, हस्त सुनार र सन्तबहादुर दराई तथा छात्रामा दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलले कीर्तिमान आफ्नो नाममा लेखाए ।

छात्र त्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढा पहिलो भए । उनले १३.७३ मिटर जम्प गरे । सुदूरपश्चिमकै विक्रम नाथ दोश्रो र बागमतीका अविनाश सुनार तेश्रो भए ।
छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो भए । उनले ९ मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गरे । कोशीका अमिर लिम्बू दोश्रो तथा लुम्बिनीका अर्विन्दकुमार यादव तेश्रो बने ।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी देवकी धामीले १० मिनेट ५२.९ सेकेन्डमा पूरा गर्दै स्वर्ण चुमिन् । बागमतीकी अस्मिता भुजेलले रजत तथा कर्णालीकी स्वस्तिका कठायतले कांस्य पदक जितिन् ।

छात्र २ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर पहिलो भए । उनले २२.४ सेकेन्ड समय खर्चे । लुम्बिनीका सुभम् वमरेल दोश्रो तथा गण्डकीका सुदीप भण्डारी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतीकी दिना गोपाली पहिलो भइन् । दिनाले २७.१ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी आरुषी भट्टराई दोश्रो तथा गण्डकीकी अनुष्का अधिकारी तेश्रो भए ।

बागमती च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा बागमती टिम च्याम्पियन बनेको छ । बागमतीले १२ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । त्यसमा बागमतीका लागि अनिशा थारु र प्रवीण राना मगरले समान ४ स्वर्ण पदक जिते।

प्रवीणले १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । अनिशा लङजम्प, ट्रिपलजम्प, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा पहिलो भइन् । अनिशाले ४ सय मिटर दौडमा थप १ रजत पनि हात पारिन् ।

सुदूरपश्चिम समान ७ स्वर्ण, रजत र कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले ३ स्वर्ण, ५ रजत र ६ कांस्य हात पार्यो ।

कर्णालीले ३ स्वर्ण, २ रजत र ५ कांस्य तथा लुम्बिनीले १ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जित्यो । स्वर्णविहीन कोशीले ३ रजत जित्दा मधेश पदकविहीन रह्यो ।

उसुमा बागमतीलाई ८ स्वर्ण

राष्ट्रपति रनिङ खेलकुदको उसुमा बागमती ८ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । बागमतीले थप २ रजत र १ कांस्य पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुमा सुदूरपश्चिम दोश्रो भयो । सुदूरपश्चिमले ३ स्वर्ण, ७ रजत र २ कांस्य पदक जित्यो । तेश्रो भएको लुम्बिनीले १ स्वर्ण र २ कांस्य पदक प्राप्त गर्यो । १२ स्पर्धा समावेश उसुमा बाँकी ४ प्रदेश स्वर्ण पदक विहीन बने ।

अन्तिम दिन ८ स्वर्णको टुंगो लाग्यो । थाइची छ्वानको छात्रमा ६.४८ अंकसाथ एनेक्स महर्जन तथा छात्रामा ६.७९ अंकसाथ सेरिना पराजुलीले स्वर्ण चुमे । दुवै बागमतीका हुन् ।

सान्सौंको पुरुष ४२ केजीमा लुम्बिनीका प्रदीप विष्ट, ४५ केजीमा बागमतीका रोशन थापा मगर र ४८ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी पहिलो भए । महिला ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सिर्जना विक र ४८ केजीमा बागमतीकी अनु मोक्तान शीर्ष स्थानमा रहे ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.