default_image

2 years ago

March 2, 2022

चम्कने अवसर नै नपाएकी ‘ज्योति’

201 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल एपिएफ क्लबकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डे पछिल्लो समय घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । नेपाल एपिएफ क्लबले लगातार तीन घरेलु उपाधि जित्दा ज्योतिले उत्कृष्ट ब्याटिङ गरेकी छन् । पछिल्ला चार मध्य दुई घरेलु प्रतियोगितामा ज्योति सर्वोत्कृष्ट ब्याटरको अवार्ड जितेकी छन् ।

यसै साता ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा एपिएफ च्याम्पियन बन्दा ज्योतिले सर्वोत्कृष्ट खेलाडीसहित तीन अवार्ड जितिन् । प्रतियोगिताकै सर्वोत्कृष्टसँगै उनी ब्याटर र प्लेयर अफ द फाइनल चुनिन् । ज्योति ५ खेलमा १ अर्धशतक सहित १ सय ५५ रनका साथ सर्वाधिक रन बनाउने सूचिको शीर्ष स्थानमा रहिन् । उनीपछि प्रतियोगितामा एक सय रनको आंकडा पार गर्ने खेलाडीमा सुदूरकी विन्दु रावल मात्र थिइन् । उनले १ सय ४ रन बनाएकी थिइन् ।

पछिल्ला सबै घरेलु प्रतियोगितामा ज्योतिको प्रदर्शन उत्कृष्ट छ । तर सिनियर टोलीमा त्यो लय देखाउने पर्याप्त अवसर पाएकी छैनन् । नेपालले गत नोभेम्बरमा मलेसियामा सम्पन्न आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा प्रतिस्पर्धा गर्दा ज्योति टोलीमा थिइन् । तर भुटान, कुवेत र मलेसियासँग प्लेइङ–११ रहेपनि ब्याटिङ गर्ने अवसर पाइनन् ।

त्यसअघि नेपालले कतारसँग तीन टि२० आई वुमन्स सिरिज खेलेको थियो । अन्तिम खेलमा नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । ओपनर सिता रानामगर ७२ बलमा ७ चौकासहित सर्वाधिक ८२ रनको अविजित रहिन् । जुन कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेटरले बनाएको उच्च प्रदर्शन हो । ज्योतिले २० बलमा १ चौकासहित २४ रनको योगदान दिइन् ।

दोस्रो विकेटका लागि ज्योति र सिताले ६७ रनको बलियो साझेदारी गर्दै नेपाली महिला क्रिकेटको सर्वाधिक ठूलो योगफलको आधार तय गरे । घरेलु क्रिकेटमा एपिएफबाट सिता र ज्योतिले ओपनिङ गर्दै आएका छन् । घरेलु क्रिकेटमासँगै ओपनिङ गर्ने खेलाडीलाई निरन्तरता दिंदा खेल्न झनै सजिलो हुन्छ । क्लबमा पनि साथमा प्रशिक्षण र खेल खेल्ने हुनाले एक अर्काले राम्रोसँग बुझेका हुन्छन् । तर नेपालले ज्योतिलाई तेस्रो नम्बरमा उतार्यो । ओपनर काजोल श्रेष्ठ चाँडै आउट भएपछि क्रिजमा आएर ज्योतिले राम्रो साझेदारी बनाइन् ।

छनोट प्रतियोगितामा त ज्योतिले ब्याटिङ गर्ने अवसर नै पाइनन् । कतारविरुद्ध खेलेको चार दिनपछि अर्थात २२ नोभेम्बरमा हङकङविरुद्ध ज्योति र सितालाई ओपनिङ गराउने अनुमान गरिएको थियो । तर नेपालले ज्योतिलाई प्लेइङ–११ मै राखेन । सिता र कुविता कुँवरका साथ ओपनिङ गराउँदा काजललाई तेस्रो नम्बरमा खेलाएको थियो । ओपनर कविता शून्यमा आउट भइन् । तेस्रो नम्बरकी काजल २३ बलमा ४ रनमा आउट भइन् । नेपाल ६ विकेटले पराजित हुँदै ग्लोबल छनोटमा पुग्ने सम्भावना कठिन बनायो । कुवेतविरुद्ध रुविना र सिता तथा मलेसियासँग सिता र इन्दुले ओपनिङ गरे ।

मलेसियासँग ९३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । तर पनि ज्योतिले अवसर पाइनन् । ओपनरले चार विकेट गुम्दा सम्म मौका नपाउनुले ब्याटिङ क्रममा प्रश्न उठेको थियो । अन्तिम खेलमा नेपालले युएईसँग ज्योतिलाई प्लेइङ ११ मा राखेन । कुनैपनि खेलाडीलाई प्लेइङ ११ बाट बाहिर पछिल्लो खेलको प्रदर्शनको आधारमा राख्ने गरिन्छ । तर उनलाई कुनै अवसर नदिई राखेको थियो । त्यसैले ज्योतिले मौका नपाउँदा टिम म्यानेजमेन्ट, कप्तान र प्रशिक्षकमाथि प्रश्न उठेको थियो । जुन घरेलु प्रदर्शन र लय अनुसार स्वभाविक थियो ।

उक्त प्रतियोगितामा सिता बाहेक अन्य ब्याटरको प्रदर्शन पनि राम्रो थिएन । ओपनर नचल्दा पनि प्रमुख खेलाडीले ब्याटिङको अवसर पाइनन् । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दापनि सिनियर टोलीमा अवसर किन नपाएको ज्योतिसँग जवाफ छैन । ज्योतिले सायद प्रशिक्षक र कप्तानको विश्वास जित्न नसकेको बताउँछिन् ।

‘बन्द प्रशिक्षणमा खेलाडी चल्यो भने यो उत्कृष्ट ब्याटर हो भन्ने मान्यता अझै पनि छ । प्रशिक्षकको म माथि अझैं विश्वास नभएर होला । टोलीको निर्णय कप्तान र प्रशिक्षकको हातमा हुन्छ । वहाँले मलाई कतिसम्म विश्वास गर्न सक्नुहुन्छ भन्ने हो । मौका किन पाएन मलाई थाहा छैन तर हुनसक्छ वहाँले अहिले सम्म विश्वास गर्न नसकेर होला’, ज्योतिले भनिन् ।

त्यसैमा उनले थपिन्, ‘म आफू योग्य छु जस्तो लाग्छ । तर मौका नपाउनुको कारण मलाई पनि थाहा छैन । मैले सोध्ने कुरा पनि हुँदैन । कप्तान र प्रशिक्षकको निर्णयलाई पालना र सम्मान गर्नुपर्छ ।’

नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा पनि ज्योतिले सिनियर टोलीमा अवसर नपाउनुमा ठ्याक्कै कारण बताउन सक्दैनन् ।
‘टिमको एउटा सन्तुलनको कुरा हुन्छ । ज्योति क्षमता भएको खेलाडी हुन् भन्नेमा कुनै शंका छैन । टि२० खेलमा विपक्षीलाई हेरेर रन बनाउनु पर्छ । उसको प्रदर्शन राम्रो छ । त्यहि अनुसार टोलीमा परेको हो । तर खेलमा रनको कुरा आउँछ । अहिले खेलेको तरिकाले म खुसी छु । अरु चाहिँ सुधार गर्नुपर्छ’, टमाटाले मौका नपाउनु बारे भने ।

‘म ज्योतिको कमजोरी त भन्दिन । उसले आफ्नो स्ट्राइक रेटलाई अझै राम्रो गराउन पर्यो । अहिले पनि राम्रो छ । अझै राम्रो गराउन पर्यो ।सबभन्दा ठूलो कुरा फिटनेस लेभललाई बढाउन पर्यो,’ उनले भने ।

नेपालले ओपनरको रुपमा ज्योति, काजल र सितालाई लगेको थियो । तर काजलले कुनैपनि खेलमा दोहोरो अंकमा रन बनाउन सकिनन् । फरक ओपनर प्रयोग गर्यो । तर प्रमुख ओपनर ज्योतिलाई अवसर नै दिएन ।

गत वर्ष पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा एपिएफ प्रदेश १ सँग ६ रनले स्तब्ध भयो । ज्योति ५ खेलमा १ सय ५१ रन बनाउँदै प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिइन् । त्यसपछि चैतमा ज्योतिले ललितपुर मेयर वुमन्स च्याम्पिनसिप टि२० प्रतियोगितामा ५ खेलमा १ सय ३२ रनका साथ सर्वाधिक रन जोड्ने खेलाडी सुचिमा दोस्रो स्थानमा रहिन् । दुई महिना अघि धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कपमा एपिएफलाई उपाधि जिताउन ज्योति ५ खेलमा १ सय ४ रनका साथ सर्वाधिक रन बनाउने सूचिमा चौथो स्थानमा रहिन् ।

लगातार राम्रो प्रदर्शन हुनुमा ज्योति समर्पण, रुचि र मिहिनेतको प्रतिफल पाएको बताउँछिन् । ‘यो सबै मेरो समर्पण हो । त्यसकारण यो सब पूरा भएको हो । जति खेलेपनि म सन्तुष्ट हुन्न । म झनै राम्रो गर्न चाहन्छु । जे कुराको लागि पनि रुचि हुनुपर्ने रहेछ । रुचि भयो त्यो काममा बढी ध्यान केन्द्रित हुन्छ । मलाई पनि क्रिकेटमा धेरै रुचि छ । मलाई पनि धेरै खेल्न मन लाग्छ’, ज्योतिले त्यसैमा थपिन्, ‘धेरै ध्यान केन्द्रित भएको हुँदा हरेक दिन राम्रो हुँदै गएको छ । लकडाउन अघि मैले डबल ट्रेनिङ गर्थे । त्यसपछि बिचमा छाडे ।’

ज्योतिको तथ्यांक मात्र हेर्दा पनि उनी घरेलु क्रिकेटमा पछिल्लो दुई वर्ष भएको प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले रन जोड्ने क्रममा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीलाई पनि पछि पारेकी छिन् । घरेलु क्रिकेटमा रुविनाको पनि प्रदर्शन गजबको छ । राष्ट्रिय टोलीमा पनि उनले त्यसै अनुसार खेलेकी छिन् । तर ज्योतिले भने निरन्तर राम्रो खेल्दा पनि अवसर पाएकी छैनन् ।

ज्योति एपिएफको टोलीबाट लगातार खेल्दै आएकी छिन् । पूर्वाञ्चलबाट राम्रो गर्दै उनी एपिएफको पहिलो टोलीमै परेकी थिइन् । विराटनगरकी ज्योतिले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी छिन् । सुरुवातमा ज्योतिलाई एपिएफको प्लेइङ–११ मा पर्न कठिन पर्दथ्यो । तर पछिल्लो समय उनी टोलीको मुख्य खेलाडीको रुपमा नै स्थापित भएकी छिन् । एपिएफकी कप्तान सिता रानामगर पनि ज्योतिले जिम्मेवारी वहन गर्दा टोलीलाई सहज भएको बताउँछिन् ।

‘ज्योतिको प्रदर्शन एकपछि अर्को राम्रो भएको छ । मलाई एकदमै खुसी लागेको छ । एपिएफलाई राम्रो योगफलमा पुर्याउनको उसको प्रदर्शन महत्वपूर्ण छ । प्रदर्शनमा उसले निरन्तरता देखाएकी छिन्’, एपिएफकी कप्तान तथा ओपनर सिताले भनिन् ।

‘ओपनिङ गर्न जानुअघि हामी दुवैले कुरा गर्छौं । जिम्मेवारी बढी हामीमा नै छ । हामीले पावर प्लेको फाइदा लियौं । विकेट नदिने र बल अनुसार खेल्नुपर्छ भन्ने सल्लाह हुन्छ,’ उनले सुनाइन् ।

ज्योतिले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गर्दै ८ रन जोडेकी थिइन् । दोस्रो खेलमा नेपाल श्रीलंकासँग २३ रनमा अल आउट भयो । ज्योतिले ३९ बलमा १६ रन जोडेकी थिइन् । सिता ४ र रुविना १ रनमा आउट हुँदा अन्यले खाता खोल्न सकेनन् ।

ज्योति आफूले खेल्ने हरेक प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ नै मिहिनेत गर्ने बताउँछिन् । ‘म हरेक प्रतियोगितामा रन बनाउन आत्माविश्वासी छु । पछिल्लो भ्रमणमा दुर्भाग्यपूर्ण मैले ब्याटिङको अवसर पाइँन । मैले आफूलाई देखाउने मौका पाएको छैन । २०१६ मा नेपाली टोलीमा डेब्यू गरे । त्यसपछि खासै अवसर पाएको छैन,’ उनले भनिन् ।

सन् २०१६ देखि २०१८ सम्म उनले नेपाली टोलीबाट खेलिन् । सन् २०१९ जनवरीमा थाईल्यान्ड वुमन्स टि२० साम्स खेल्नुअघि एपिएफमा फुटसल खेल्नेक्रममा बायाँ हात भाँचिएको थियो । त्यसैले उनले टि२० विश्वकप एसिया क्षेत्र छनोट गुमाएकी थिइन् । २०१९ डिसेम्बरमा पोखरामा भएको १३ औं सागको महिला क्रिकेट टोलीमा नि वैकल्पिक सूचिमा थिइन् । टोलीसँग पोखरा भने गएकी थिइन् ।

अवसर नपाउँदा हरेक खेलाडीमा झन् राम्रो प्रदर्शन गर्ने इख हुन्छ । ज्योतिले बोल्न भन्दा पनि ब्याटिङमा देखाउनु पर्ने बताउँछिन् । ‘मुख भन्दा पनि ब्याटले बोल्नु पर्यो । जति अरुले भन्छ त्यतिनै राम्रो गर्न मन लाग्छ । म हरेक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिन चाहन्छु’, उनले भनिन् ।

‘ब्याटिङ गर्दा रन लिन सक्नुपर्यो । २० ओभर खेल्न सक्नुपर्यो । यदि मान्छेमा त्यो क्षमता छ भने खेल्न किन योग्य छैन ?,’ ज्योतिले भनिन, ‘शारीरिक रुपमा तुलना गर्नु मलाई गलत लाग्छ । मैले त एउटा उदाहरण तयार गरेको छु जस्तो लाग्छ । मान्छेहरुमा मोटो मान्छेले केहि गर्न सक्दैन भन्ने भ्रम छ । मैले शरीर मोटो भएपनि खेल्न सक्छ भन्ने उदाहारण प्रस्तुत गरेको छु ।’

कुनैपनि खेलाडीको लय सधैं स्थिर हुन्छ भन्ने हुँदैन । त्यो लयको समयमा नै खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा मापन गर्नुपर्छ । ज्योतिले घरेलु क्रिकेटमा गरेको प्रदर्शन हेर्दा सिनियर टोलीको दाबेदार हुन् । एकातर्फ ज्योतिको लगातारको उत्कृष्ट प्रदर्शन र अर्कोतर्फ नेपालको ब्याटिङमै समस्या हुँदा पनि आफ्नो प्रदर्शन देखाउने अवसर नदिनु न्यायपूर्ण पक्कै होइन ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.