default_image

4 years ago

May 26, 2022

अनसोल्ड पाटिदारले दिएको ‘शतकीय पार्टी’

216 views

0 Bookmark

बुधबार राती रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुग्यो । त्यसका नायक शीर्षक्रमका ब्याटर रजत पाटिदार बने । इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो ।

पाटिदारले ५४ बलमा १२ चौका र ७ छक्कासहित १ सय १२ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले । उक्त यादगार शतकीय इनिङले बेंगलोरलाई फाइनल पुग्नबाट एक कदम नजिक पुर्यायो । तर शतकधारी पाटिदार मेगा अक्सनमा न्यूनतम २० लाख रुपैयाँमा‌ पनि विक्री भएका थिएनन् ।

बेंगलोरका विश्व स्टार ब्याटर फाफ डु प्लेसिस गोल्डेन डक, विराट कोहली २५ र ग्लेन म्याक्सवेल ९ रनमा आउट हुँदा एक समय बेंगलोर समस्यामा परेको थियो । इडेन गार्डेनको ब्याटिङ सहयोगी पिचमा २ सय भन्दा कमको योगफल सुरक्षित मानिदैन । पहिलो ओभरको पाँचौं बलमा डु प्लेसिस मोहसिन खानको बलमा एज लागेर आउट भएपछि पाटिदार मैदान छिरेका थिए ।

त्यसपछि उनले अन्तिमसम्म खेल्दै बेंगलोरलाई सुरक्षित योगफलमा पुर्याए । उनी यस सिजन सर्वाधिक छिटो (४९ बलमा) शतक प्रहार गर्ने खेलाडी बने । यस सिजनमा यसअघि जस बटलरले तीन, लोकेश राहुलले दुई र क्विन्टन डि ककले एक शतक प्रहार गरेका थिए ।

सुरुवाती समय पाटिदार १३ बलमा १४ रन बनाएर खेलिरहेका थिए । विराट कोहलीले पनि रन बनाउन संघर्ष गर्दै १६ बलमा १७ रन बनाउँदै खेलेका थिए । छैटौं ओभरमा भारतीय अनुभवी बलर क्रुनाल पान्ड्यालाई पाटिदारले एकै ओभरमा तीन चौका र एक छक्कासहित कुल २० रन जोडे । उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए ।

पाटिदार १५ औं ओभरमा ३९ बलमा ६६ रन बनाएर खेलिरहेका थिए । बेंगलोरले ४ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । त्यसपछि बाँकी १० बलमा उनले ३४ रन प्रहार गर्दै ४९ बलमै शतक हाने । आइपिएलको नकआउट वा प्लेअफमा शतक प्रहार गर्ने उनी पहिलो अनक्याप्ड खेलाडी (राष्ट्रिय टोलीबाट नखेलेको खेलाडी) बन्न पुगे ।

लामो समय क्रिजमा बिताएका उनले पिच र विपक्षी बलरलाई राम्रोसँग बुझिसकेका थिए । त्यसैले उनलाई अन्त्यतिर आक्रामक ब्याटिङ गर्न आवश्यक थियो । उनले १६ औं ओभरमा लेग स्पिनर रवि विश्रोईलाई तीन छक्का र दुई चौकासहित कुल २७ रन जोड्दै लखनऊलाई पूरै दबाबमा राखे ।

व्यक्तिगत ७२ रनमा दीपक हुडाले क्याच ड्रप गर्दै ठूलो जीवनदान दिए । १८ औं ओभरको चौथो बलमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेका मोहसिन खानलाई ओभर मिडविकेटमा छक्का प्रहार गर्दै आइपिएल र टि२० करिअरको पहिलो शतक पूरा गरे । दीनेश कार्तिक र पाटिदार मिलेर अन्तिम ५ ओभरमा ८४ रन जोड्दै विशाल योगफलमा पुर्याएका थिए ।

मोहसिन खान, आवेश खान र दुश्मन्था चामिरा जस्ता तीव्र गतिका बलरलाई पन्छाउँदै उनले एक यादगार शतक प्रहार गरे । २ सय माथिको योगफल पूरा गर्न विपक्षी टोलीलाई पनि मानिसक रुपमा त्यति नै दबाब पर्दछ । दबाबले विकेटको अवसर बढी दिने गर्दछ ।

मेगा अक्सनमा अनसोल्ड

आइपिएल २०२२ को मेगा अक्सनमा पाटिदारलाई कुनैपनि टोलीले किनेनन् । गतवर्ष बेंगलोरबाट नै उनले आइपिएलमा डेब्यू गरेका थिए । तर यसपटक न्यूनतम २० लाख भारुमा पनि कुनै पनि टोलीले रुचि देखाएनन् । युवा ब्याटर लुभनिथ सिसोदिया घाइते भएपछि बेंगलोरले पाटिदारलाई न्यूनतम मूल्यमा उनको स्थानमा भित्र्याएको थियो ।

यस सिजनमा पाटिदार सुरुमा बेन्चमा थिए । ओपनर अनुज रावतले कमजोर प्रदर्शन गरेपछि बेंगलोरले पाटिदारलाई ३९ औं खेलमा राजस्थान रोयल्सविरुद्ध मैदान उतारेको थियो । रावतको स्थानमा विराट कोहलीले ओपनिङ गर्दा पाटिदारले तेस्रो नम्बरमा अवसर पाए ।

गुजरात टाइटन्सविरुद्ध ३२ बलमा ५२ रन जोडेका थिए । सोहि खेलमा कोहलीले ५३ बलमा ५८ रन बनाएका थिए । बेंगलोरलाई जित्नै पर्ने खेलमा उनले हैदराबादविरुद्ध ४८ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

पाटिदारको जन्म सन् १९९३ मा जुन १ मा मध्य प्रदेशको इन्दोरमा भएको हो । उनले मध्य प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । २८ वर्षीय उनले ३९ प्रथम श्रेणीमा ७ शतक र १४ अर्धशतक सहित २ हजार ५ सय ८८ रन बनाएका छन् । लिष्ट ए मा तीन शतक र ५ अर्धशतक प्रहार गरेका छन् ।

‘मलाई विश्वास थियो एउटा राम्रो साझेदारी गर्न सकें भने टोलीलाई राम्रो योगफलमा पुर्याउन सक्छु’, उनले विराट कोहलीसँग खेलपछि भनेका छन् । उनले कोहलीसँग मिलेर दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । कोहली उनलाई सुरुमै आत्माविश्वासी देखेको बताउँछन् ।

‘मैले अहिले सम्म आइपिएलमा जति इनिङ खेलें त्यो १४-१५ ओभर सम्म थियो । मेरो लक्ष्य एकतर्फबाट टोलीलाई कसरी बलियो योगफलमा पुर्याउँ भन्ने थियो’, उनले भने । उनको शतकमा कोहलीको खुसी डगआउटमा देखिन्थ्यो ।

‘ लोकेश राहुल खेल्दा मलाई डर थियो । यदि राहुल अन्तिम सम्म खेले भने खेल हातबाट निक्लिन सक्छ । जसरी हुन्छ राहुललाई आउट गर्ने सोच थियो । राउल आउट हुँदा जित पक्का थियो’, पाटिदारले भने ।

‘२०२१ को आइपिएलपछि म घरेलु क्रिकेट खेल्न व्यस्त थिएँ । तर मलाई अक्सनमा कसैले पनि किनेनन् । त्यो मेरो नियन्त्रणमा पनि थिएन’, उनले अनसोल्ड हुनुबारे भने ।

बेंगलोरका कप्तान फाफ डु प्लेसिसले आइपिएलमा आफूले देखेको मध्य एक उत्कृष्ट शतक बताए । लखनऊका कप्तान लोकेश राहुलले पाटिदारले यस्तो शैलीमा खेल्नु फरक रहेको बताउँछन् । पाटिदारको शतकलाई लिएर विश्वभर चौतर्फी चर्चा भएको छ । भारतीय पूर्व महान् क्रिकेटर सचिन तेन्दुलकरले पाटिदारले आक्रामक ब्याटिङ साच्चै गम्भीर रहेको ट्वीट गरेका छन् ।

हो उनले भने जस्तै अक्सन उनको हातमा थिएन । तर पाएको अवसरमा प्रदर्शन गर्नेनै सबैभन्दा राम्रो प्रमाणित हो । त्यो पाटिदारले गरेका छन् । अक्नसमा भलै अन्य खेलाडीलाई जसरी मूल्य लागेन । तर करोडौं मूल्य पाएका खेलाडी होईन अनसोल्ड पाटिदारले बेंगलोर र उनका समर्थकलाई एलिमिनेटरमा सर्वाधिक धेरै खुसी दिए । यस खेल यो अर्थमा पनि महत्वपूर्ण थियो, पछिल्लो दुवै सिजन बेंगलोर एलिमिनेटरबाट अघि बढ्न सकेको थिएन ।

(एजेन्सीको सहयोगमा भूपेन्द्र जिसीको प्रस्तुति)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.