3 hours ago
December 16, 2025
भुपेन्द्र जि.सी.
नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने ।
पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले शेर मल्ललाई फुकुवा गर्ने निर्णय आश्चर्य थियो । तथ्याङ्कमा उनले जनकपुरबाट ७ खेलमा मात्रै १९.३ ओभर बलिङ गर्दै ७ विकेट लिएका थिए । तर उनले लिएको विकेट भन्दा क्षमता धेरै माथि थियो । जनकपुरले उनको प्रतिभा सही सदुपयोग गर्न नै सकेको थिएन ।
शेर गत संस्करणको अंक तालिका पुछार टोली लुम्बिनी लायन्समा पुग्दै च्याम्पियनको नायक बने । अनि साविक विजेता जनकपुर च्याम्पियनबाट पुछारमा पुग्यो ।
उच्चतम १० लाख मूल्यमा चार टोलीबीच प्रतिस्पर्धामा चिट्ठामा लुम्बिनी भाग्यमानी बन्यो । चिट्ठामा मात्रै होइन, मैदानमा पनि नतिजा त्यस्तै ठहरियो । संयोग भन्ने वा नियति, लगातार दुई एनपिएल जित्ने शेर पहिलो खेलाडी बने ।
टोलीलाई जति बेला आवश्यक पर्यो शेरले त्यतिबेला विकेट लिए । हरेक खेल जित्नै पर्ने दबाब, विपक्षी मजबुत टोली र विश्वस्तरीय ब्याटरविरुद्ध उनले बलिङबाट राम्रो शिकार गरे । ब्याटिङमा भने क्षमता अनुसार देखाउन पाएनन् ।
काठमाण्डुविरुद्ध लिगमा ३ छक्का हान्दै २७ रन जोेड्दै त्यो संकेत देखाएपनि अन्य खेलमा राम्रो गर्न सकेनन् । तर घरेलु क्रिकेटमा उनले बलमात्रै होइन ब्याटबाट पनि आफ्नो प्रभाव देखाउँदै आएका छन् । जे होस् लुम्बिनी जानु शेरलाई फलिफाप भयो ।

काठमाण्डुविरुद्ध लिगमा २७ रन बनाउनुको साथै २ विकेट लिएपनि हारेपछि शेरले भनेका थिए, टिमले जित्दैन भने व्यक्तिगत प्रदर्शनको अर्थ हुँदैन ।
हो उनको करिअरमा पनि ठ्याक्कै त्यस्तै भएको छ । शेरको यो प्रदर्शन धेरैलाई नौलो र अचम्म लाग्न सक्छ । तर उनले अवसर पाएको घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर सुदूरपरिश्चमले लगातार खराब नतिजा हात पार्दा ओझेलमा पर्दै आएका थिए ।
फाइनलमा सुदुरपश्चिम रोयल्सलाई ८५ रनमा अल आउट उनले १८ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले सुरुवात धरासयी बनेपछि जम्न खोजेका आरिफ शेख ६,ईशान पाण्डे ३३ र हरमित सिंहलाई १० रनमा आउट गर्दै सहज जितको आधार तय गरे ।
फाइनलमा मात्रै होइन प्लेअफमा पुग्न निर्णायक मानिएको विराटनगर किंग्सविरुद्ध उनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए । प्रतियोगिता सर्वाधिक सन्तुलित काठमाण्डु गोर्खाजलाई एलिमिनेटरमा हराउन शेर मल्लले पुन: तीन विकेट लिदै प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए ।
दोस्रो क्वालिफायरमा दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसलाई बोल्ड गर्दै खेल आफ्नो पक्षमा तान्न सफल भए । विश्व क्रिकेटका एक सफल ब्याटर डु प्लेसिसले उनको बललाई राम्रोसँग बुझ्न नपाउँदा बोल्ड हुनुपरेको थियो ।

‘लुम्बिनीमा आउनु अघि मेरो एउटा लक्ष्य थियो । त्यो पूरा गरें,’ उनले भने, ‘टिमलाई जिताएर अवार्ड पाउँदा एकदमै खुसी लाग्यो । यो मैले अवार्डको रुपमा पाएको यो पहिलो मोटरसाइकल हो ।’
च्याम्पियन बनेको क्षण उनले यसरी सम्झिए, ‘लगातार दोस्रो वर्ष च्याम्पियन हुँदा केही नर्भस थिए । गर्व पनि महसुस गरें । गत वर्ष भन्दा यो वर्ष उपाधि बढी विशेष रह्यो । किनभने कप्तान रोहितले मलाई टिमको प्रमुख बलर बनाएर दिएको विश्वासलाई न्याय गरे ।’
को हुन् शेर मल्ल ?
बुबा राम बहादुर र आमा कृष्ण मल्लबाट शेर दोस्रो सन्तानको रुपमा डोटीमा जन्मिएका हुन् । डोटीमा जन्मिपनि उनी पञ्जाबमा हुर्के बढे । उनको एक दिदी, भाई र बहिनी छन् । दुई वर्षकै उमेरमा शेर आमा बुबासँग भारत गएका थिए । बाबु आमा भारतमै जागिरे हुँदा उनी उतै बसेर पढाई गरे । बाल्यकाल भारतको पञ्जावमा बितेको थियो ।
सन् २०१० देखि क्रिकेट खेल्न थालेका उनलाई बुबाका साथीले आफ्नो छोरासँग क्रिकेट खेलेको देखेपछि एकेडेमीमा भर्ना गर्न सुझाव दिएका थिए । तर एकेडेमीमा भर्ना गरिहाल्ने अवस्था थिएन । आर्थिक अभावले प्रतिभालाई रोक्दैन भने जस्तै स्कुलबाट क्रिकेट खेल्दै गए । उनी स्कुल जादा किताब कापी भन्दा पनि झोलामा क्रिकेट खेल्ने कपडा लगेर जान्थे । घर फर्केर फेरि खेल्न जान नपाउने हुँदा उनी क्रिकेटर खेलेर नै फर्किने गर्दथे । घरमा क्रिकेट खेलेर बिग्रिन्छ र पढ्दैन भनेर गाली खानु पर्दथ्यो ।
७२ सालतिर उनी क्रिकेटदेखि टाढा जस्तै हुन पुगे । बुबा विरामी हुँदै अस्पतालमा भएपछि उनले एक वर्ष भन्दा बढि समय क्रिकेट खेल्न पाएनन् । जुन समय शेर क्रिकेट छोड्ने सोचमा पुगेका थिए । दुई पटक भएको हट्याट्याक(ह्दयघात) को कारण उनको बुबा प्यारालाइसिस रोगसँग लडि राखेका छन् । तरपनि नेपालबाट खेल्दै केही गर्ने सपनाका साथ दिनरात मिहिनेत गर्दै आएका छन् ।
सुवास शाहीको निमन्त्रणामा नेपाल
अंकल हर्क शाहीले धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीलाई उनको बारेमा बताएका थिए । शाहीकै आग्रहमा उनी २०७२ सालमा नेपाल आएको थिए । नेपालमा चिनजान गरेका निकै कम मान्छे छन् । घरको कमजोर आर्थिक अवस्था । बुबा बिरामी । आमाको कामले बल्लतल्ल चलेको घर । स्पष्ट नआउने नेपाली भाषा । वर्षमा एक दुई वटा हुने घरेलु प्रतियोगिता । त्यो पनि खेल्न जाने आउने भाडामे ठिक्क हुने भत्ता ।
धनगढीमा बस्न सहज थिएन । तर एकदिन राम्रो गरेर देखाउछु भन्ने सपनाले हरेक दिन नयाँ उर्जा दिइरह्यो । उनी पहिलो पटक २०७५ सालमा सुदूरपश्चिमबाट प्रधानमन्त्री कप खेल्ने टोलीमा परे । उक्त प्रधानमन्त्री कपमा राम्रो प्रभाव देखाएपछि तत्कालिन यू१९ का मुख्य प्रशिक्षक विनोद दास (हाल क्यानका क्रिकेट म्यानेजर) ले प्रशिक्षणमा बोलाएका थिए । उनी लगातार यू१९ बन्द प्रशिक्षणबाट बाहिरिएका थिए ।
दोस्रो संस्करणको प्रधानमन्त्री कप २०१८ मा उनले ४ खेलमा ११ विकेट लिए । आठौं राष्ट्रिय प्रतियोगितामा एपिएफसँग ३ विकेट, पुलिससँग ३ विकेट लिनुको साथै ४१ रन बनाएका थिए । सन् २०१९ को पिएम कपमा शेरले सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेका थिए । शेर प्रधानमन्त्री कपमा सर्वाधिक कम उमेर (१७ वर्ष) मा कप्तानी गर्ने खेलाडी समेत हुन् । उनले उक्त प्रतियोगितामा ११ विकेट सर्वाधिक विकेट लिने सूचिमा तेस्रो स्थानमा थिए ।
२०१९ को अन्तिममा मेरिलेबोन क्रिकेट क्लबसँग राष्ट्रिय यू१९ ए ले एक दिवसिय अभ्यास खेलमा आक्रामक ब्याटिङ गरेका विल रोड्सलाई ९३ रनमा क्याच गराउदै शतक बनाउन बाधक बनेका थिए । उक्त खेलमा दुई विकेट लिनुको साथै २८ रन जोडेका थिए । पोखरा प्रिमियर लिग (पिपिएल) मा सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सबाट नेपाली फ्रेन्चाइजमा डेब्यू गरे ।

२०२० को सुरुवातमा सुनसरीमा सम्पन्न मन मोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सेमिफाइनल सम्म पुर्याउन शेरले ३ खेलमा १० विकेट लिदै महत्वपूर्ण प्रर्दशन गरे । एमएम कपमा शेरले मलेसिया राष्ट्रिय टोलीलाई ४९ रनमा अल आउट गर्न १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ५ विकेट लिएका थिए ।
माथिल्लो मुलपानी क्रिकेटमा २०२० मा आईसीसी विश्वकप लिग त्रिकोणात्मक एक दिवसिय सिरिजमा नेपाल ए बाट प्रतिनिधित्व गर्दै शेर मल्लले ७.२ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिएका थिए । शेरको उक्त प्रदर्शनमा १ सय १२ रनको सामान्य लक्ष्य पक्ष्याएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट भएको थियो । त्यसपछि थाईल्यान्डमा सम्पन्न इस्टर्न रिजन प्रतियोगितालाई निर्माण गर्ने नेपालको टोलीमा पहिलो पटक परे । तर अन्तिम १४ टोलीमा स्थान बनाउन सकेनन् । त्यसपछि २०२१ को ईपिएलमा उनलाई काठमाडौं किंग्स ११ ले उनलाई टोलीमा राखेको थियो ।
२०२४ को प्रधानमन्त्री कपमा उनले ९ खेलमा २४ विकेट लिदै दोस्रो स्थानमा (सूर्य तामाङ ३० विकेट शीर्ष) स्थानमा थिए । उक्त प्रदर्शनपछि उनले नेपाल ए टोलीमा परेका थिए । आयरल्यान्ड ए विरुद्ध प्रशिक्षणमा रहेपनि खेल्ने मौका पाएनन् । तर क्यानडा ए विरुद्ध राम्रो प्रदर्शन गर्न सफल भएका थिए । पर्दै २०२५ को पिएमकपमा उनले ९ खेलमा १८ विकेट लिएका थिए । केही महिना अघि नेपाल ए भारतमा गएर प्रशिक्षण गर्दा उनी टोलीमा थिए ।

पछिल्ला दुई संस्करणमा पिएमकपमा गज्जवको प्रदर्शन गरेपनि सुदूरको खराब नतिजाले जति चर्चा पाउनु पर्ने हो त्यति पाउन सकेका थिएनन् । खेल नहुँदा उनी भारतमा सिक्न गइहाल्छन् । अनि आईपीएल स्टारसँग अभ्यास गर्ने गर्दछन् ।
चक्रवर्तीसँगको त्यो भेट
भारतीय स्पिनर वरुण चक्रवर्तीको विश्व क्रिकेटमा हाल राज छ । त्यसको मुख्य कारण विपक्षी ब्याटरले एक्शन बुझ्न निकै कठिन पर्नु हो । शेरले बरुणसँगै अभ्यास पनि गरेका छन् ।
नयाँ दिल्लीमा रहेको प्रदीप साहुको (पिएससिए) क्रिकेट एकेडेमीमा पछिल्लो तीन वर्षदेखि अभ्यास गर्दै आएका छन् । पूर्व लेगस्पिनर प्रदीप साहुले अष्ट्रेलिया, पञ्जाब र राजस्थान रोयल्समा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । डेढ वर्षअघि उनको एकेडेमीमा भारतीय मिस्ट्रि स्पिनर वरुण चक्रवर्ती पनि आएका थिए । झण्डै २० दिनसँगै अभ्यास गर्ने अवसर पाएपछि उनलाई थप फाइदा भयो ।

‘चक्रवर्तीले पिएससिए एकेडेमीमा अभ्यास गर्दा मलाई धेरै सम्झाउनु भयो । मैले सिमित आफ्नो बलमा थप काम गरे । त्यसले गर्दा धेरै राम्रो भयो’, शेरले भने । उक्त एकेडेमीमा उनले नितिश राणा र आयुश बदोनी जस्ता खेलाडीलाई नेटमा अभ्यास गर्ने अवसर समेत पाएका थिए ।
‘प्रदीप सर स्पिनर हुनुन्छ । वहाँले मलाई धेरै सहयोग गर्नु भएको छ । त्यसले पनि मलाई फाइदा भएको छ’, शेरले भने ।
सिनियरको सम्भावना मजबुत
आगमी फेब्रुअरी मार्चमा भारत र श्रीलंकामा आईसीसी टी ट्वान्टी विश्वकप हुँदैछ । नेपालका सबै खेल मुम्बईमा रहेको वानखडे स्टेडियममा हुनेछन् । एनपिएल सकिएलगत्तै अव नेपाल विश्वकप खेल्ने टोली निर्माणमा ध्यान दिनेछ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले एनपीएलमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने स्पष्ट पारेका छन् ।
‘शेर मात्रै होइन अन्य टिमबाट राम्रो गरेका खेलाडीलाई हामी प्रशिक्षणमा बोलाउँछौं । त्यसपछि प्रशिक्षणको प्रदर्शनपछि विश्वकप टोलीमा पर्ने नपर्ने थाहा हुन्छ’, रोहितले भने ।
रोहितले लुम्बिनीको सफलतामा शेरको मुख्य भूमिका रहेको बताउँछन् । ‘शेर हाम्रो प्रमुख बलर हुन् । लुम्बिनी यहाँसम्म आईपुग्नुमा शेरको प्रदर्शन महत्वपूर्ण छ । अझ भन्दा उनी हाम्रो एक्का नै हुन्’, रोहितले भने ।
शेरको बलिङ एक्सन बुझ्न निकै कठिन पर्दछ । विश्व क्रिकेटमा मिस्ट्रि स्पिनर निकै कम छन् । भारतीय क्रिकेटमा पछिल्लो समय वरुण चक्रवर्ती निर्णायक बन्दै आएका छन् । शेरको उस्तै क्षमता कारण इन्डियन प्रिमियर लिग(आईपीएल)को अक्सनमा शेर नेपालबाट पर्न सक्ने खेलाडीको रुपमा चर्चा पनि चलेको थियो । तर आईपीएल अक्सनको लिष्टमै उनको नाम परेन । भारतीय चर्चित कमेन्टर आकाश चोपराले भविष्यमा शेर मल्लले आईपीएल खेल्न सक्ने सम्भावना भएको बताएका थिए ।

नेपाली घरेलु क्रिकेटमा बायाँ हाते लगातार उत्पादन हुँदै आएका छन् । अफस्पिन निकै कम खेलाडी देखिने गर्दछन् । शेर नेपाली घरेलु क्रिकेटमा बिरलै देखिने म्रिस्ट्रि स्पिनर हुन् । मिस्ट्रि स्पिनर विश्वमै विरलै पाइन्छ । विपक्षी ब्याटरलाई बुझ्न कठिन पर्ने क्यारम बल उनको अर्को खुबी हो । त्यसैले उनीलाई नेपालले सही समयमा सदुपयोग गर्न सके आगमी दिनमा नेपालको स्टार बन्न सक्छन् ।
नेपालको सिनियर टोलीमा सन्दीप लामिछाने र ललित राजवंशी खेल्दै आएका छन् । तर त्यसलाई शेर बदल्न चाहन्छन् । शेरको जुन लय छ, त्यसले उनलाई नेपालको जर्सीसम्म यात्रा गराउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । त्यसको लागि उनले बन्द प्रशिक्षणमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । एनपिएलको प्रदर्शन र विगतको इतिहासले उनी बन्द प्रशिक्षणमा पर्नेमा भने दुविधा सायदै होला ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]