एजेन्सी – अलराउनडर दीपक हुडाको शतकमा भारतले दोस्रो टि२० आई खेलमा आयरल्यान्डलाई २ सय २६ रनको विशाल लक्ष्य दिएको छ ।

द भ्यालेज डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनायो । भारतका दीपक हुडाले ५७ बलमा ९ चौका र ६ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । हुडाले ५५ बलमा पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए ।
हुडा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने चौथो भारतीय टि२० आई खेलाडी हुन् । सञ्जु स्यामसन ४२ बलमा ९ चौका र ४ छक्कासहित ७७ रनमा मार्क आदिरको बलमा बोल्ड आउट भए । ओपनर ईशान किशन ३ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि स्यामसन र हुडाले १ सय ७६ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए ।

जुन टि२० आईको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि इंग्ल्यान्डका डेविड मलान र जस बटलरले दोस्रो विकेटका लागि २०२० मा दक्षिण अफ्रिकाविरुद्ध १ सय ६७ रनको अविजित शतकीय साझेदारी गरेका थिए । भारतको लागि पनि कुनैपनि विकेटको लागि टि२० आई गरेको उच्च साझेदारी हो । यसअघि २०१७ मा श्रीलंकाविरुद्ध इन्डोरमा पहिलो विकेटका लागि रोहित शर्मा र लोकेश राहुलले १ सय ६५ रनको साझेदारी गरेका थिए ।
सूर्य कुमार यादव १५, दीनेश कार्तिक, हर्षल पटेल र अक्षर पटेलले खाता खोल्न सकेनन् । हार्दिक ९ बलमा २ चौकासहित १५ रनमा अविजित रहे ।
आयरल्यान्डका मार्क आदिरले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । जोश लिटिलले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । क्रेग योंगले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । दुई टि२० आईको खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।