default_image

2 years ago

July 21, 2022

क्यान राष्ट्रिय टोलीमा व्यस्त, क्रिकेट अस्तव्यस्त

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो एक वर्षमा लगातार अन्तर्राष्ट्रिय खेल खेलेको छ । टि२० विश्वकप छनोट, विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज, अभ्यास र दुईपक्षीय सिरिजले नेपाली टोली व्यस्त रह्यो । यसबीचमा घरेलु क्रिकेटमा भने शून्यता नै रहयो । विश्वभर क्रिकेट प्राथमिकतामा रहने अन्य राष्ट्र हेर्ने हो भने अन्तर्राष्ट्रिय खेलको कारण घरेलु क्रिकेट रोकिदैन […]

161 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो एक वर्षमा लगातार अन्तर्राष्ट्रिय खेल खेलेको छ । टि२० विश्वकप छनोट, विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज, अभ्यास र दुईपक्षीय सिरिजले नेपाली टोली व्यस्त रह्यो । यसबीचमा घरेलु क्रिकेटमा भने शून्यता नै रहयो ।

विश्वभर क्रिकेट प्राथमिकतामा रहने अन्य राष्ट्र हेर्ने हो भने अन्तर्राष्ट्रिय खेलको कारण घरेलु क्रिकेट रोकिदैन । राष्ट्रिय टोलीलाई बलियो पार्ने हो भने अन्तर्राष्ट्रिय तालिका अनुसार घरेलु क्रिकेट रोक्नु पनि हुँदैन । नेपालमा क्यान नहुँदा विभिन्न प्राइभेट तथा स्थानीय आयोजकले प्रतियोगिता आयोजना गरेका थिए । ती प्रतियोगिताले खेलाडीलाई खेल्ने वातावरणका साथसाथै आर्थिक रुपमा पनि सबल बनाएका थिए ।

क्यानको आगमनसँगै घरेलु र ग्रासरुट क्रिकेट अब योजनावद्ध र व्यवस्थित रुपमा अघि बढ्ने आशा गरिएको थियो । तर अहिलेको अवस्था ठिक विपरित छ । क्यान आउनुअघि निजी क्षेत्रबाट हरेक वर्ष कम्तिना तीन फ्रेन्चाइज लिग, राखेपको प्रधानमन्त्री कप, मनोमहन मेमोरियल क्रिकेट प्रतियोगिता लगयात स्थानीय प्रतियोगितामा खेलाडी व्यस्त देखिन्थे ।

क्यानको आगमनपछि फ्रेन्चाइज लिग बन्द हुनु स्वभाविक हो । क्यान आफैंले त्यसको आयोजना गर्नुपर्ने दायित्व हो । सुरुका केही वर्ष कोरोना र त्यसपछि समय अभावको कारण क्यानले आफ्नो योजना अनुसार लिग गर्न सकेन ।

कुनैपनि देशमा क्रिकेटलाई बलियो बनाउने हो भने अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट दुबै चलायमान हुनुपर्छ । तर पछिल्लो एक वर्षमा क्यानले सिनियर टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेको देखाउँदै घरेलु क्रिकेट गरेको छैन । क्यानले गतवर्ष टि२० राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछि सिनियर घरेलु प्रतियोगिता हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर सिनियर राष्ट्रिय टोलीमा देखिन्छ ।

अघिल्लो महिना नेपाली क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न अमेरिका गयो । ओपनर कुशल भुर्तेल र आसिफ शेख पहिलो खेलमा चोटका कारण खेल्न नसक्ने भए । सबैलाई आश्चर्य पार्दै क्यानले सुवास खकुरेललाई अमेरिका बोलायो । जवकी पछिल्लो तीन वर्षमा सुवास स्वभाविक लयमा थिएनन् । उनको विकल्पमा युवा र लयमा खेलिरहेका खेलाडीलाई आकस्मिक बोलाउन सकिन्थ्यो । तर प्रतियोगिताको कमीका कारण र भिसा समस्याले गर्दा वैकल्पिक सुचिमा नरहेका उनी अमेरिका पुगे ।


सुवासले अमेरिका पुगेको पहिलो खेलमा नै अवसर पाए । तर ओमानसँग ३ रनमा आउट भएपछि पुन मौका पाएनन् । लगातार राम्रो घरेलु प्रतियोगिता भएको भए सुवासको स्थानमा लयमा रहेका र प्रदर्शन गरेको खेलाडी अमेरिका जान पाउँथे । प्रदर्शन राम्रो हुनसक्थ्यो र आसिफले चोटमा जोखिम लिन पर्ने बाध्यता नआउन सक्थ्यो । सुवासको खराब प्रदर्शनपछि आसिफले करिअरनै जोखिममा मोलेर खेल्नु पर्यो ।

नेपालले लगातार खेल खेलेको छ । तर सिनियर टोलीमा खेलाडी छनोट गर्न कुनै आधार छैन । एक प्रतियोगिताकै प्रदर्शनका आधारमा एक डेढ वर्षसम्म खेलाडी छनोट भएको छ । अहिले प्रदर्शन गरेको खेलाडीले छ महिनापछि नगर्न सक्छ । हो घरेलुमा राम्रो गर्दैमा अन्तर्राष्ट्रिय नगर्न सक्छ । तर त्यो प्रतिभा चिन्दै तयार पार्नुपर्छ । त्यसको लागि लामो समय र धेरै मिहिनेत गर्नुपर्छ ।

लगातार प्रतियोगिता गर्ने हो भने टोलीका एक प्रमुख खेलाडी घाइते हुँदा खासै फरक पर्दैन । त्यस्तो अवस्थामा निरन्तर क्रिकेट खेलिरहेका खेलाडी उपलब्ध हुन्छन् । म्याच एक्सपोजर नपाउने हो भने प्रशिक्षणकै भरमा टोली उत्रँदा कस्तो हुन्छ भन्ने पनि बुझ्न सकिन्छ ।

घरेलु प्रतियोगिता नहुँदा सबैभन्दा ठूलो मारमा युवा खेलाडी परेका छन् । कडा मिहिनेतका साथ सिनियर टोलीमा पर्न दावेदारी दिने खेलाडीको सूची लामो छ । तर प्रतिभा देखाउने पर्याप्त अवसर पाएका छैनन् । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी, घरेलु क्रिकेटमा सफल बलर नन्दन यादव, युवा विकेटकिपर अर्जुन साउद, विष्फोटक ब्याटर नारायण जोशी घरेलु प्रतियोगिता नहुँदाका मारमा परेका केहि उदाहरण हुन् । मध्यक्रमका ब्याटरद्वय भीम सार्की र सुमित महर्जन पनि सिनियर टोलीमा पर्ने आधार बनाउन प्रतियोगिता कुरिरहेका छन् ।

गतवर्ष प्रधानमन्त्री कप टि२० शैलीमा भएको थियो । तर नेपालले पछिल्लो समय लगातार एकदिवसिय प्रतियोगिता खेलेको छ । अझै लिग-२ मा आधा खेल खेल्न बाँकी छ । टि२० विश्वकप छनोट अघि भएको प्रतियोगिताको आधारमा हालसम्म एकदिवसिय टोली छनोट भएको छ ।

टोलीको नतिजाबाट सजिलै भन्न सकिन्छ टि२० सबै खेलाडी ओडिआई खेल्न सक्दैनन् । कुशल भुर्तेल अहिलेका राम्रा उदाहरण हुन् । टि२० क्रिकेटमा जमेका उनी एकदिवसीयमा भने संघर्ष गरिरहेका छन् ।

घरेलु क्रिकेटमा दुई वर्षदेखि एकदिवसिय प्रतियोगिता छैन । तर नेपालले पछिल्लो एक वर्षमा सबैभन्दा बढी एकदिवसीय खेल खेलेको छ । ओडिआई मान्यता रहेको देशमा ५० ओभरको खेल नहुनु जस्तो विडम्बना के होला ?

क्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो एक वर्षमा राष्ट्रिय टोलीलाई व्यस्त राख्न सक्दो प्रयास गरेको छ । भलै नतिजा आएको छैन । क्यानको यो कामलाई सबैले खुलेर प्रशंसा गर्नुपर्छ । तर सँगसँगै घरेलुमा क्रिकेटमा भने ध्यान दिएको छैन । सिनियर टोलीका सिमित खेलाडीमा मात्र लगानी गर्दा बाहिर रहेका सयौं अन्य खेलाडीप्रति भने क्यानले बेवास्ता गरेको छ ।

देशभरका २० खेलाडीलाई मात्र व्यस्त राखेर पक्कै खेलको विकास हुँदैन । क्यानले यू-१९ राष्ट्रिय प्रतियोगिता लिग पद्दतिमा गर्दै राम्रो संकेत दिएको थियो । तर विश्वकप खेल्न नपाएपछि क्यानले यू१९ टोलीलाई व्यस्त राख्न कुनै कार्यक्रम ल्याएन । यू-१९ महिला विश्वकप एसिया छनोटमा नेपाल युएईसँग ८ रनमा अल आउट भयो । २०१४ पछि पहिलो पटक धनगढीमा यू१९ प्रतियोगिता गरेको थियो ।

क्यानले काम गर्दै नगरेको होईन । तर जुन रुपमा गर्नुपर्ने हो त्यो भने गर्न सकेको छैन । क्लब क्रिकेट, एकेडेमी, यू१५, यू१६ नभएको धेरै भइसक्यो । नयाँ प्रतिभा देखिने सबैभन्दा ठूलो आधार स्कुल क्रिकेट लोप भइसकेको अवस्था छ ।

टोलीमा भित्रिन मात्र होइन, यहाँबाट बाहिरिएपछि फर्कने पनि कुनै आधार पनि छैन । पछिल्लो समय टोलीबाट बाहिर रहेका ज्ञानेन्द्र मल्ल, लोकेश बम, कुशल मल्ल, सागर ढकाल, साहब आलम, विवेक यादव, भीम सार्की जस्ता खेलाडी पूनरागमन गर्ने आधार खोई त ?

गत वर्ष ओपनर डोम सिब्लेले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न नसकेपछि आत्माविश्वास फर्काउन घरेलु क्रिकेटमा पठाएको थियो । टेस्टमा सिनियर टोलीबाट राम्रो खेल्न नसके घरेलु क्रिकेटमा सानदार प्रदर्शनका साथ फर्कनुपर्ने हुन्छ । र प्रतियोगिता चालु रहँदा लयमा रहेका खेलाडी टोलीमा समावेश गर्न सकिन्छ ।

तर नेपालमा वर्षमा एउटा प्रतियोगिता हुन्छ । एक खेल खराब गर्दा राष्ट्रिय टोलीबाट बाहिर हुनुपर्छ । अर्को मौका एक वर्ष कुर्नुपर्ने अवस्था छ । के थाहा त्यो बेलासम्म खेलाडी फेरि टोलीमा नपर्न सक्छ । यसरी धेरै खेलाडीको करिअरमा पूर्णविराम पनि लागेको अवस्था छ । राष्ट्रिय टोलीमा पक्कैपनि जोकोही पुगेका हुँदैनन् । एकपटक बाहिरिएपछि फर्कने आधार क्यानले दिनु पर्दैन र ?

क्यान आएको तीन वर्ष पुगिसकेको छ । सुरुवाती दुई वर्ष कोरोना, क्यान पूर्ण रुपमा फुकुवा नहुनु र आर्थिक अभाव देखाएपनि पछिल्लो एक वर्ष काम गर्न पर्याप्त समय थियो ।

राष्ट्रिय प्रतियोगिता राउन्ड रोबिन हुँदै लिग, डे क्रिकेट, युवा प्रतिभालाई विदेश प्रशिक्षण, नेपाल ए टिमको निर्माण, बलिया टोलीसँग अभ्यास, नेशनल क्रिकेट एकेडेमी, ग्रासरुटको विकास, लगातार उमेर समूहको प्रतियोगिता र सक्रिय घरेलु क्रिकेट क्यानले गर्न सक्नुपर्ने थियो । अझ यू-१९ र सिनियर टोलीको दुरी कम गर्न यु२३ टोली वा नेपाल ए को अवधारणा हुनपर्ने हो ।

नेपाललाई अहिले अनुभवी ब्याटर, विकेटकिपर, बायाँ हाते बलर र बायाँ हाते ब्याटरको खाँचो छ । तर विना प्रतियोगिता ल्याउने कसलाई ?

क्यानमा क्रिकेट म्यानेजर विनोद दास सबैभन्दा ठूलो आशा र अपेक्षा राखेका व्यक्ति हुन् । खेलाडी र प्रशिक्षकमा उनको इतिहास राम्रो छ । वर्तमान सिनियर टोलीमा दास युवा टोलीको मुख्य प्रशिक्षक हुँदा तयार पारेका खेलाडी हाबी छन् । उनी आफैं पूर्व कप्तान भएको नाताले पनि खेलाडी र प्रशिक्षकलाई के खाँचो छ भन्ने राम्रो बुझेका छन् ।

दासले केही गर्दै नगरेको पनि होइन । पहिलो संस्करणको काठमाडौं मेयर्स कप, घरेलु मैदानमा दुई त्रिकोणात्मक सिरिज, जिम्बावे ए सँगको सिरिज, क्यानाडा र अमेरिका भ्रमणमा अभ्यासको आदि कार्यक्रम व्यवस्थापनमा दासको भूमिका महत्त्वपूर्ण थियो । तर उनीबाट ग्रासरुट क्रिकेट र घरेलु प्रतियोगितामा अझ ठूलो अपेक्षा गरिएको थियो । दासमाथि क्रिकेट राजनीतिमा बढी होमिएको आरोप पनि छ ।

दासमाथि आफ्नो क्षेत्रको खेलाडीलाई प्राथमिकतामा राख्न खोजेको आरोप पनि छ । तर प्रशिक्षक दासानायकेले खेलाडी छनोटमा आफ्नो निर्णय हुने प्रष्ट पारेका छन् । दासले क्यानमा आफ्नो योजना अनुसार काम गर्न नपाएका पनि होइनन् । क्यानमा उनलाई काम गर्न सहज हुने समूहकै बाहुल्यता छ । दासले चाहने हो भने क्यानमा उनको योजनाको विपक्षमा उभिने सायदै कोही हुन्छ । तर आफू प्रशिक्षक हुँदा जुन म्याच एक्स्पोजर लगायत माग गर्थे, अहिले आफैं त्यस स्थानमा हुँदा व्यवस्थापन गर्न सकेका छैनन् ।

जिल्ला र प्रदेशमा राजनीतिले नेपाली क्रिकेट झनै बिग्रिएको छ । राम्रो प्रतिभा माथि आउन मुश्किल छ । खेलाडी छनोटमा खुलेआम राजनीति देखिन्छ । अझ नेपालमा प्राविधिक पक्षको अवस्था त्यस्तै दयनीय छ । हरेक प्रतियोगितामा अम्पायरको निर्णयलाई लिएर विवाद उत्पन्न हुन्छ । पुराना अम्पयारलाई पुनर्ताजगी कोर्ष होस् या नयाँलाई प्रशिक्षण, क्यानबाट पहलकदमी भएको छैन ।

पूर्वाधारकै कुरा गर्दा पनि स्थिति निकै नाजुक छ । मुलपानी मैदानको कुरा कोट्याउने हो भने निराशाबाहेक सायदै केही सुनिन्छ । टियुलाई छाड्ने हो भने उपलब्ध अन्य सबै मैदानका पिच खेत जस्ता छन् । त्यस्ता पिचबाट उम्दा खेलाडी आउँछन् भन्ने कसरि आशा गर्ने ?

राष्ट्रिय टोलीमा रहेका सिमित खेलाडीमा मात्र लगानी गरेर खासै उपलब्धी हुँदैन । अहिलेको नतिजाले पनि त्यो स्पष्ट पार्छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द खेलाडीले विश्रामनै नपाउँदा घरेलु प्रतियोगिता गर्न नसकेको बताउँछन् । ‘टिमले कहिले पनि विश्राम नै पाएको छैन । टि२० प्रधानमन्त्री कप खेल्यौंं । टि२० विश्वकप छनोटमा गयौं । टिमले त्यसपछि विश्राम पाएको दिननै छैन । वानडे नभएको कारण प्रदर्शन खस्किएको भने होइन’, चन्दले भने ।

‘काठमाडौंमा सिरिज भयो । अरुपनि प्रतियोगिता हुँदा मैदानको पनि अभाव रह्यो । अव चाहिँ राष्ट्रिय टोली खेल्दा घरेलु प्रतियोगिता रोकिदैन । यू–१६ पुरुष र महिला दुवैतर्फ गर्छौं । यू–१९ गत वर्षदेखि सुरु गरेका छौं । दुई दिवसीय प्रतियोगिता गर्न नेपाली अल स्टार्सले २१ लाख सहयोग गरेको छ । १० टिम नभएर तीन-चार टोलीको गर्छौं’, उनले भने ।

चन्दले भनेजस्तै समय र विश्राम नै नपाएको होईन । क्यानले आफ्नो समय र तालिका मिलाउन नसकेको हो ।

‘मलाई लाग्छ शीर्ष २० खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामै व्यस्त राख्नु भएको छ । घरेलु क्रिकेट अब सुरु हुनेवाला छ । हेरौं के कसरी हुन्छ । हाम्रो त चाहना नै त्यहि हुन्छ । जति धेरै खेल हुन्छ । हामी अन्तर्राष्ट्रिय खेल्दा अर्को टोली तयार भइरहेको हुनुपर्छ’, कप्तान सन्दीपले भने ।

अन्तर्राष्ट्रिय खेलको कारण घरेलु क्रिकेट रोक्न नहुनेमा सन्दीप पनि स्वीकार गर्दछन् । ‘पक्कैपनि घरेलु क्रिकेट रोक्नु हुँदैन । जति धेरै क्रिकेट खेल्नुहुन्छ त्यतिनै प्रमाणित हुने हो । खेलहरु बुझ्दै जानुपर्छ । जति धेरै क्रिकेट भयो त्यतिनै राम्रो हो’, उनले भने ।

विकेटकिपर पछिल्लो समय नेपाली क्रिकेटलाई आवश्यक पद हो । सुदूरपश्चिम प्रदेशका युवा ब्याटर अर्जुन साउद घरेलु क्रिकेटमा विकेटकिपरको रुपमा सर्वाधिक आशा गरिएका खेलाडी हुन् । हाल १९ औं एसियाडको पहिलो चरणको बन्द प्रशिक्षण सकेका अर्जुन पनि नेपाल टि२० मा अवसरको आशा गरेर बसेको बताउँछन् ।

‘मैले राम्रो क्रिकेट खेल्नुपर्छ । त्यो देखाएपछि मात्र माथि आउने हो । खेलमा मौका पाएपछि आफ्नो उत्कृष्ट देखाउनुपर्छ । अब नेपाल टि२० प्रतियोगिता हुँदैछ । मेरो तयारी त्यसैको लागि छ’, अर्जुनले भने ।

बायाँ हाते तीव्र गतिका बलर नेपाली घरेलु क्रिकेटमै कमै छन् । यू१६ र यू१९ खेल्दै सिनियर टोलीको ढोका ढक्ढक्याइ रहेका बागमती प्रदेशका युवा स्टार प्रतिश जिसीले पनि आफ्नो कमजोरी सुधार गर्न खेल हुनुपर्ने बताउँछन् ।

‘अभ्यास नियमित गर्छौं । तर जबसम्म खेलमा त्यसलाई प्रयोग गर्न पाइन्न, के कुरामा सुधार गर्ने थाहा हुँदैन । नेटमा सधैं समय बिताएका हुन्छौं । आफ्नो कमजोरी खेलमा गएपछि थाहा हुन्छ । हामीसँग अभ्यास धेरै हुन्छ । तर खेल्न नै पाइएको छैन’, प्रतिषले भने ।

त्यसैमा उनले थपे, ‘घरेलु प्रतियोगिता पनि १-२ खेलले भविष्य निर्धारण गर्छ । छोटो प्रतियोगिता भएकाले १-२ खेलको प्रदर्शनलाई आधार मान्नुपर्ने अवस्था छ । त्यसैले अलिकति लामो घरेलु प्रतियोगिता हुँदा खेलाडीको स्तर थाहा हुन्छ ।’

अर्को सिजनदेखि क्यानले सबै राष्ट्रिय प्रतियोगिता सिंगल राउन्ड रोविनको आधारमा गर्ने बताउँदै आएको छ । जुन नेपाली क्रिकेटको लागि अतिनै आवश्यक र महत्त्वपूर्ण छ । राष्ट्रिय प्रतियोगिताको रुपमा टेस्टसँगै शीर्ष एसोसियट देशमा तीन घरेलु प्रतियोगिता टि२०, एकदिवसिय र डे क्रिकेट हुनुपर्छ । कम्तिमा यी तीन प्रतियोगितामा १० टोली सहभागी हुनुपर्छ । जतिधेरै खेलाडीले मौका पाउँछन् नयाँ प्रतिभा त्यति नै निखारिने हुन् ।

नेपाली क्रिकेट विकास गर्ने हो भने घरेलु प्रतियोगिता र संरचनामा क्रान्तिकारी परिवर्तन ल्याउनुको विकल्प छैन । घर कति बलियो हुने जगमा भरपर्छ । नेपाली क्रिकेटको जग ग्रासरुट र घरेलु क्रिकेट हो । यो विकास विना नेपालले अर्को स्तरमा फड्को मार्ने सम्भावना अहिलेको अवस्थामा सोच्न पनि सकिदैन । अन्तर्राष्ट्रिय खेलको कारण यी कार्यक्रम कहिल्यै रोकिनु हुँदैन ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.