3 years ago
November 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेख र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युएईसँग तीन ओडिआई खेलको सिरिज उपाधि जितेको छ ।

नेपालले अन्तिम तथा तेस्रो ओडिआई खेलमा युएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेख १ सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे । आसिफले रोहन मुस्तफालाई विजयी चौका प्रहार गर्दै खेल सकाए । ज्ञानेन्द्र मल्ल ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनमा आउट भए । आसिफ र ज्ञानेन्द्र दुबैको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । ज्ञानेन्द्रको यो ओडिआई करिअरको उच्च प्रदर्शन पर्दछ ।
ज्ञानेन्द्रले दुई वर्षअघि ओमानविरुद्ध टियु मैदानमै ५६ रनको इनिङ खेलेका थिए । जुन ओडिआईमा उच्च प्रदर्शन रहँदै आएको थियो । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय २२ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरे ।

यो नेपालबाट ओडिआई क्रिकेटमा भएको दोस्रो ठूलो साझेदारी हो । गतवर्ष पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागी देव खनाल र दीपेन्द्रसिंह ऐरीले १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए । दोस्रो विकेटका लागि नेपालबाट भएको यो उच्च साझेदारी हो ।
यी दुई ब्याटरले आफ्नो कीर्तिमान नै तोडेका हुन् । दोस्रो विकेटका लागि गतवर्ष ओमानविरुद्ध ज्ञानेन्द्र र आसिफले ९५ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल स्पिनर आयन खानको ३४ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट भए । कप्तान रोहित पौडेल १७ बलमा १ चौकासहित १० रनमा रन आउट भए ।
सानदार इनिङ खेलेका आसिफले दुई महत्वपूर्ण जीवनदानको भरपूर्ण फाइदा उठाए । तीव्र गतिका बलर जहुर खानको दोस्रो ओभरको अन्तिम बलमा एज लागे आसिफले ब्यक्तिगत ४ रनमा जीवनदा पाए । युएईका फिल्डर रोहन मुस्तफा र बासिल हामिदमा क्याच कसले लिने अलमल हुँदा आसिफको क्याच छुट्न पुगेको थियो ।

आसिफले ब्यक्तिगत १० रनमा पुन जीवनदान पाए । स्पिनर आयन खानको सातौं ओभरको पहिलो बलमा बासिल हामीले प्वाइन्टमा आसिफको क्याच छोड्न पुगेका थिए ।
तीव्र गतिका बलर हजरत बिलालले दशौं ओभरको अन्तिम बलमा अर्जुन साउदलाई ९ रनमा विकेटकिपर वृत्य अरविन्दबाट क्याच गराए । एज लागेर आउट हुनुअघि अर्जुनले ३३ बल खेल्दै १ चौका प्रहार गरे । युएईका आयन खान र हजरत बिलालले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । युएई एक समय ३१.१ ओभरमा ९३.९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । नवौं विकेट जादा आयन एक रनमा क्रिजमा थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहे । यो ओडिआई इतिहासको अन्तिम विकेटका लागि भएको चौथो ठूलो साझेदारी हो ।
युएईको तर्फबाट अन्तिम विकेटका लागि भएको उच्च साझेदारी हो । ओडिआईमा अन्तिम विकेटका लागि वेस्टइन्डिजका भिभियन रिचर्ड्स र माइकल होल्डिङले १९८४ मा इंग्ल्यान्डविरुद्ध १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । जुन ओडिआई क्रिकेट इतिहासमा अन्तिम विकेटका लागि भएको उच्च साझेदारी हो ।
युएईका एलिशान शराफुले ६९ बलमा ४ चौकासहित ३३ रन बनाए । एक समय युएई २३.१ ओभरमा ७९–३ को अवस्थामा थियो । त्यसपछि नेपाली स्पिन सामू निरिह बन्दै १४ रन जोड्न ६ विकेट गुमाएपछि युएई ३१.१ ओभरमा ९३–९ को दयनीय अवस्थामा पुगेको थियो ।

नेपाललाई तीव्र गतिका बलरले सानदार सुरुवात दिलाए । तीव्र गतिका बलर गुलशन झाले दोस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद वासिमलाई ११ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । चोभार एण्डबाट आएका गुलशनको बलमा एज लागेर आउट हुनुअघि उनले ८ बलमा १ चौका र १ छक्का हाने । त्यसअघिको बलमा वासिमले गुलशनलाई छक्का हानेका थिए ।
टियु एण्डबाट आएका सोमपाल कामीले युवा ओपनर वृत्य अरविन्दलाई शून्यमा बोल्ड गरे । सोमपालको इन स्वींग बल वृत्यले रिड गर्न सकेनन् । गुलशन झाले चौथो ओभरको पहिलो बलमै कप्तान सिपी रिजवानलाई ४ रनमा आसिफ शेखबाट क्याच गराउँदै १६–३ को सानदार सुरुवात दिलाए ।
त्यसपछि चौथो विकेटका लागि अलिशान शराफु र रोहन मुस्तफाले ६३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मुस्तफा दीपेन्द्रसिंह ऐरी बलमा २४ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । मुस्तफाले ५६ बलमा २ चौका प्रहार गरे । मुस्तफाको विकेटपछि युएईका ब्याटर क्रिजमा टिक्न सकेनन् । लगातार खराब सट खेल्दै आउट भए ।

लेग स्पिनर कुशल भुर्तेलले शराफुलाई बोल्ड गरे । विष्णुु सुकुमारन एज लागेर दीपेन्द्रको बलमा आसिफ शेखबाट २ रनमा क्याच आउट भए । स्पिनर ललित नारायण राजवंशीले प्रमुख हिटर बासिल हामीदलाई ८ रनमा क्याच गराए । कुशलले नै अहमद राजालाई शून्यमा क्याच गराएपछि युएई ९३–८ को दयनीय अवस्थामा पुगेको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा तीन विकेटले विजयी भएको थियो । नेपालले अव आइसिसी विश्वकप लिग-२ को लागि नामिबिया भ्रमण गर्नेछ । नामिबिया, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले पहिलो खेल २ डिसेम्बरमा नामिबियासँग खेल्नेछ । ४ डिसेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । ७ डिसेम्बरमा नामिबिया र ८ डिसेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]