काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ प्रदर्शनलाई निरन्तरता दिएको छ ।

सिरिजको चौथो खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपाल ३५.३ ओभरमा मात्र १ सय १९ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । रोहितले ५७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । उनी २६ औं ओभरमा आठौं विकेटका रुपमा पेभेलियन फर्केका थिए ।
खेलको तेस्रो बलमै अर्जुन साउदलाई गुमाएको नेपालका लागि अर्का ओपनर आसिफ शेख पनि चौथो ओभरमा पेभेलियन फर्किए । ज्ञानेन्द्र मल्ल १६ बलम ९ रन जोड्दै आउट भएपछि नेपाल १६-३ को दयनीय अवस्थामा पुगेको थियो ।
त्यसपछि दीपेन्द्रसिंह ऐरी २१ बलमा १४ रन जोड्दै आउट भए । मध्यक्रममा आरिफ शेखले १६ बलमा ६ रन जोड्दा हरिशंकर शाहले १ रन मात्र बनाए । लगातार विकेट पतनसँगै नेपाललाई १ सय रन पार गराउन सोमपाल कमीले १६ र ललित राजवंशीले ११ रनको योगदान दिए ।
स्कटल्यान्डका ब्रेन्डन म्क्कुलेन, सफ्यान सरिफ र मार्क वाटले २-२ तथा क्रिस सोल, क्रिस्टोफर मक्ब्राइड र क्रिस ग्रिभ्सले १-१ विकेट लिए । जारी सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा पछिल्ला दुई खेलमा नेपाल पराजित भएको छ । सिरिजको कुनै खेलमा नेपालले २ सय रन पार गरेको छैन ।