default_image

9 months ago

August 5, 2023

युगनायक ज्ञानेन्द्र

भुपेन्द्र जि.सी, काठमाडौं ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटले पाएको एक महान् ब्याटर हुन् । प्राविधिक रुपमा नेपालले हालसम्म पाएको सबैभन्दा उत्कृष्ट ब्याटर ज्ञानेन्द्रले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट बिदा लिए । उनको सन्न्यास लिने निर्णयमा आश्चर्य मान्नुपर्ने थिएन । तर ज्ञानेन्द्रको सन्न्यास अहिले नभएर अर्को महिना एसिया कपबाट हुनसक्ने धेरैको अनुमान थियो । भारत र पाकिस्तान जस्ता […]

1267 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटले पाएको एक महान् ब्याटर हुन् । प्राविधिक रुपमा नेपालले हालसम्म पाएको सबैभन्दा उत्कृष्ट ब्याटर ज्ञानेन्द्रले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट बिदा लिए । उनको सन्न्यास लिने निर्णयमा आश्चर्य मान्नुपर्ने थिएन । तर ज्ञानेन्द्रको सन्न्यास अहिले नभएर अर्को महिना एसिया कपबाट हुनसक्ने धेरैको अनुमान थियो ।

भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटको पावर हाउसविरुद्ध खेल्दै विश्राम लिने समर्थक र सुभचिन्तकले अपेक्षा गरेका थिए । तर ज्ञानेन्द्रले एसिया कप अघिनै सन्न्यास लिए । उनी निकै सालिन र शान्त स्वभावका खेलाडी थिए । बोल्न भन्दा मैदानमा ब्याट चलाउन बढी रुचाउँथे । पछिल्लो समय ज्ञानेन्द्रको ब्याटबाट अपेक्षा गरेअनुसार रन निस्केको थिएन । त्यसैले सन्न्यास लिँदै युवा खेलाडीलाई एसिया कपमा मौका दिने निर्णय लिए ।

सफल ब्याटर

नेपाली क्रिकेटमा सर्वाधिक सफल ब्याटरमा पारस खड्कापछि ज्ञानेन्द्रको नाम आउँछ । पारस र ज्ञानेन्द्रले २००६ देखि २०२१ सम्मसँगै क्रिकेट खेले । पारसको सबै कप्तानीमा ज्ञानेन्द्र एक दशकसम्म उपकप्तानको भूमिका निर्वाह गरेका थिए ।

नेपालले डिभिजन फाइभ देखी थ्री, टि२० विश्वकप र ओडिआई मान्यता पाउँदा लगायत सबै प्रमुख सफलतका महत्वपूर्ण हिंसा थिए । ज्ञानेन्द्र र पारसबीना नेपाली क्रिकेट कल्पना गर्न नसकिने अवस्था थियो । एक समय नेपाली ब्याटिङ धान्ने नै यी दुई खेलाडी थिए । ज्ञानेन्द्र र पारस नेपालको अधिकांश खेलमा रनको जिम्मेवारी बोकेका हुन्थे ।

अद्भूत क्लास

ज्ञानेन्द्र नेपाली क्रिकेटका सबैभन्दा उत्कृष्ट क्लास भएका खेलाडी हुन् । जब ज्ञानेन्द्र लयमा हुन्थे तब उनको ब्याटिङ दिनभर हेर्दा पनि हेरौं हेरौं जस्तो लाग्थ्यो । ब्याटिङ क्लासको कारण उनी एक सफल ब्याटर बने । उनको शैली विश्वस्तरीय खेलाडीको झल्को दिने खालको थियो । तर सुरुवातलाई ठूलो इनिङमा बदल्न नसक्दा पछिल्लो पाँच वर्षमा समर्थकबाट माया भन्दा बढी आलोचना खेप्नु पर्यो ।

उमेर समूहबाट उदय

काठमाडौंमा जन्मिएर उनी २००५ मै नेपालको यू-१५ टोलीबाट खेलेका थिए । यू-१५, यू-१७ हुँदै दुई पटक यू-१९ विश्वकप खेले । सन् २००६ को यू-१९ विश्वकपमा नेपालले प्लेट च्याम्पियन जित्दा उनको प्रदर्शन महत्वपूर्ण थियो । उक्त यू-१९ विश्वकपमा ज्ञानेन्द्रले ६ खेलमा १ सय ४५ रन बनाएका थिए ।

फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराउँदै नेपालले प्लेट च्याम्पियन जितेको थियो । त्यो नेपालको विश्वकपमा सबैभन्दा ठूलो उपलब्धि हो । युगान्डाविरुद्ध ज्ञानेन्द्रले ६४ रनको इनिङ खेलेका थिए । हुने विरुवाको त्यो चिल्लो पात भने जस्तै त्यो कलिलो उमेरमै १ सय २२ बल खेल्दा १ सय ३८ मिनेट क्रिजमा बिताउने धैर्यता देखाएका थिए ।

प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा ज्ञानेन्द्रले दक्षिण अफ्रिकालाई हराउन ७१ बलमा ६ चौकासहित ४६ रनको एक उत्कृष्ट इनिङ खेलेका थिए । २००८ को यू१९ विश्वकपमा पनि नेपालले प्लेट फाइनल खेलेको थियो । तर फाइनलमा वेस्टइन्डिजसँग ७ विकेटले पराजित भएको थियो । ज्ञानेन्द्र टोलीको सदस्य भएपनि प्रदर्शन त्यति राम्रो थिएन ।

नेपाली जर्सीमा ड्रिम डेब्यू

ज्ञानेन्द्रले सिनियर टोलीमा २००६ मै डेब्यू गरेका थिए । मलेसियामा सम्पन्न एसिसी ट्रफीमा कुवेतविरुद्ध डेब्यू गर्दै ७८ र अर्को खेलमा भुटानविरुद्ध ५२ रन बनाउँदै नेपाली क्रिकेटमा उदाएका थिए । सन् २००६ देखि २०२३ सम्म नेपालको प्रतिनिधित्व गरे । १७ वर्षसम्म उनी पहिलो रोजाईमा खेलेका थिए । २०२२/२३ मा भने उनी पहिलो रोजाईमा निरन्तर हुन सकेनन् । सुरुमा ज्ञानेन्द्र तल्लोक्रममा खेल्ने गर्दथे ।

एकै खेलमा ती दुई कीर्तिमान

२०१२ मा युएईमा सम्पन्न एसिसी इलिट ट्रफीमा ज्ञानेन्द्रले साउदी अरेवियाविरुद्ध दुई कीर्तिमान बनाए । साउदीका नदिम जावेदलाई एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए । नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा लगातार ६ चौका प्रहार गर्ने एक्लो क्रिकेटर हुन् । त्यसै खेलमा उनले १८ बलमै अर्धशतक पूरा गरेका थिए । कुनैपनि अन्तर्राष्ट्रिय खेलमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक हो ।

विश्वकपमा त्यो प्रदर्शन

२०१४ को टि२० विश्वकपमा ज्ञानेन्द्र मल्लले बंगलादेशमा उत्कृष्ट प्रदर्शन गरे । ज्ञानेन्द्रले डेब्यू विश्वकपको पहिलो खेलमा हङकङविरुद्ध ४१ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । बंगलादेशविरुद्ध ६ बलमा २ चौकासहित १३ र अफगानिस्तानविरुद्ध १३ बलमा ३ चौका र १ छक्कासहित २२ रन प्रहार गरेका थिए । आफ्नो क्लास विश्वलाई देखाएका थिए । पारससँगको साझेदारी त्यतिनै फापेको थियो ।

सिंगापुरविरुद्ध पहिलो शतक

२०१२ देखी २०१५ सम्म ज्ञानेन्द्र करिअरकै उत्कृष्ट लयमा थिए । २०१४ मा मलेसियामा सम्पन्न डी भिजन थ्रीको उपाधि जिताउन ज्ञानेन्द्रले महत्वपूर्ण प्रदर्शन गरेका थिए । ज्ञानेन्द्रले सिंगापुरविरुद्ध १ सय २५ बलमा १३ चौका र १ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यो उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक थियो । र त्यो नै ५० ओभरको खेलमा उनको एकमात्रै अन्तर्राष्ट्रिय शतक रह्यो । ज्ञानेन्द्रले २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डविरुद्ध ६४ र क्यानडासँग ८६ रनको इनिङ खेलेका थिए ।

ज्ञानेन्द्रले २०१५ मा डिभिजन २ मा केन्याविरुद्ध ९१ रनको इनिङ खेलेका थिए । त्यो नै उनको लिष्ट ए करिअरको उत्कृष्ट प्रदर्शन ।

Gyanendra Malla Nepal

ओपनर आगमनसँगै खस्किएको प्रदर्शन

ज्ञानेन्द्रले तल्लोक्रम, चौथो स्थान हुँदै ओपनिङ गरेका थिए । ओपनिङ जोडी राम्रो हुन नसकेको भन्दै नेपालले २०१६ टियु मैदानमा नामिबियासँग भएको दुई खेलबाट ज्ञानेन्द्रले ओपनिङमा खेलाउन सुरु गरेको थियो । तर ओपनिङ ज्ञानेन्द्रलाई फापेन ।

टोलीले उनलाई अन्याय जस्तै गरेको थियो । लगातार खराब प्रदर्शनमा पनि ओपनरबाट हटाएन र तेस्रो खेलमा पनि मौका दिएन । टोलीको माग र आवश्यकता भन्दै निरन्तर खेलाइरह्यो ।

२०१७ मा पारस एपेन्डिसक्सका कारण टियुमा केन्यासँग खेल्न सकेनन् । उक्त खेलमा ज्ञानेन्द्रले नेपाली टोलीमा पहिलो पटक कप्तानी गर्ने अवसर पाएका थिए । दोस्रो खेलमा ज्ञानेन्द्रले ६४ रन बनाएका थिए । ज्ञानेन्द्रले हरेक खेलमा राम्रो सुरुवात दिलाएपनि ठूलो इनिङ खेल्न सकेनन् । ज्ञानेन्द्रलाई ओपनिङमा ल्याएर नेपालले ठूलो अन्याय भएको क्रिकेट फ्यानहरु बताउँथे ।

२० बलमै अर्धशतक

टि२० क्रिकेटमा ज्ञानेन्द्रले प्रदर्शन राम्रो गर्न सकेका थिएनन् । उनलाई टि२० टोलीबाट नै हटाउनु पर्ने माग उठेको थियो । त्यो समय प्रदर्शन अनुसार अन्यथा पनि थिएन । एसिया टि२० विश्वकप एसिया क्षेत्र छनोटमा ज्ञानेन्द्रले मलेसियाविरुद्ध २० बलमै अर्धशतक प्रहार गर्दै आलोचकको मुख बन्द गरेका थिए । टि२० आईमा उनी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी बनेका थिए ।

टियुमा शतक

ज्ञानेन्द्रले टि२० आईमा २०१९ मा भुटानविरुद्ध शतक प्रहार गरेका थिए । २०१९ को १३ औं सागमा उनले भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । टियुमा टि२० आईमा शतक हान्ने पहिलो खेलाडी समेत बनेका थिए । ज्ञानेन्द्र उक्त प्रतियोगितामा उत्कृष्ट ब्याटर बनेका थिए ।

कप्तानमा नियुक्त

पारसले २०१९ अक्टोबर २०१९ अक्टोबर १५ मा अप्रत्याशित कप्तानबाट राजीनामा दिए । क्यानले अक्टोबर ३० मा ज्ञानेन्द्रलाई नेपालको कप्तानमा नियुक्त गरेको थियो । ज्ञानेन्द्रले १२ टि२० आई खेलमा ९ मा जित र ३ मा हार दिलाएका थिए । १० ओडिआई खेलमा ६ मा जित र ४ मा हार व्यहोरेका थिए ।

ऐतिहासिक ओडिआईमा ज्ञानेन्द्रको अर्धशतक

नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेको थियो । उक्त खेलमा ज्ञानेन्द्रले ६१ बलमा ८ चौकासहित ५१ रन बनाएका थिए । ओडिआईमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेपनि अन्यले राम्रो गर्न नसक्दा टोली पराजित भएको थियो ।

खेलाडी विवाद र कप्तानी वर्खास्त

तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीले क्यानले ग्रेड सार्वजनिक नगर्दै एक मिडियामा त्यसबारे विरोध जनाएपछि सुरु भएको विवादले ठूलो रुप लिएको थियो । आरोप-प्रत्यारोप र स्पष्टीकरणको दोहोरो युद्ध लगायतले ठूलो रुप लिएको थियो ।

खेलाडीको माग मध्य एक रोहित पौडेललाई ग्रेडमा नराखेको भन्दै ज्ञानेन्द्रले आवज उठाएका थिए । क्यानले त्यसैको कारण ज्ञानेन्द्रलाई २०२१ डिसेम्बर १० मा ज्ञानेन्द्र र दीपेन्द्र दुवैलाई जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो ।

यसैको कारण सुरुवाती समय ज्ञानेन्द्रसहित १० भन्दा बढी खेलाडी टि२० विश्वकपको लागि सुरुवाती समय विश्वकप छनोटमा गएका थिएनन् । पछि क्यान र खेलाडीबीच सहमती भएपछि प्रशिक्षणमा फर्किएका थिए । ज्ञानेन्द्रको लागि यो करिअरको एक खराब र नराम्रो क्षण थियो । क्यानले व्यक्तिगत रिस पोखेको समेत आरोप लागेको थियो ।

ओडिआई शतक अधुरै

ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआई खेलमा ७ अर्धशतकसहित कुल ८ सय ७६ रन बनाए । तर ज्ञानेन्द्रले ओडिआई करिअरमा शतक बनाउन सकेनन् । गतवर्ष नामिबियाविरुद्ध बनाएको ७५ रन नै ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन रह्यो । नेपालका एक सफल ब्याटर हुँदा ओडिआई शतक धेरैको लागि अपेक्षा थियो ।

मैदान बाहिर पनि योगदान

आइसिसी विश्वकप लिग-२ मा लगातार कमजोर प्रदर्शनपछि नेपालले गत फागुनमा युएई भ्रमणमा उनलाई बेन्चमा राख्ने निर्णय लियो । उक्त तेस्रो नम्बरको भूमिकामा भीम सार्कीले राम्रो प्रभाव छाडे । त्यसपछि ज्ञानेन्द्र अधिकाम्स खेलमा बेन्चमा बसे । विश्वकप लिग २ का अन्तिम त्रिकोणात्मक सिरिज युएई र पपुवना न्युगिनीसँग उनी बेन्चमा बसेका थिए ।

बेन्चमा बसेपनि ज्ञानेन्द्रले प्रशिक्षक मोन्टी देशाईको सन्देश खेलाडीलाई राम्रोसँग प्रभाव गरेका थिए । युएईसँगको अन्तिम खेलमा दर्शकले बोतल हान्न थालेपछि हात जोडेर त्यसो नगर्न आग्रह गरेका थिए । आइसिसी विश्वकप छनोटमा २०२३ जुलाई ४ मा आयरल्यान्डसँगको खेल नै उनको लागि अन्तिम बन्यो ।

यस्तो रह्यो प्रदर्शन

उनले नेपालबाट ३७ ओडिआई, ४५ टि२० आई, १ प्रथम श्रेणी, ७७ लिष्ट ए र ६८ टि२० क्रिकेट खेलेका छन् । टि२० आईमा १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका छन् । लिष्ट ए मा ११ अर्धशतकसहित कुल १८ सय २ रन बनाएका छन् ।

टि२० क्रिकेटमा १ हजार २ सय ६७ रन बनाएका छन् । उनले नेपालबाट सबै संरचनमा कुल १ सय ४६ खेल खेले । घरेलु क्रिकेट नेपाल एपिएफ क्लब र बागमती प्रदेशबाट खेलेका थिए । दोस्रो संस्करणको पिपिएलमा काठमाडौंबाट ३७ बलमै शतक धनगढीविरुद्ध शतक हानेका थिए । नेपाली घरेलु क्रिकेटमा त्यो नै सर्वाधिक छिटो शतक समेत हो ।

टिम खेलाडी

ज्ञानेन्द्र आक्रामक र संयमित दुबै टिमको आवश्यकता अनुसार खेल्थे । टिमको लागि बोल्न कहिल्यै डराएनन् । सधैं शान्त, अनुशासित र नम्र स्वभावमा प्रस्तुत भए ।

र ज्ञानेन्द्र युगको अन्त्य

ओडिआई मान्यता र टि२० विश्वकप उपलब्धी सबैभन्दा करिअरका ठूला उपलब्धि हुन् । कुनै समय विश्वमा नेपाली क्रिकेट छ भन्नेबाट अव टेस्ट मान्यताको दाबेदारमा पुर्याएर छाडे ।

डिभिजन पाँचबाट एसोसिएटको प्रमुख टोली, खेलेर बाँच्न सकिँदैन भन्ने समयबाट क्रिकेट नै आर्थिकको राम्रो आधार बन्न सक्छ है भन्ने स्थिती तथा टिभीमा हेर्ने भारत पाकिस्तान लगायत विश्वका महान् खेलाडीसँग प्रतिस्पर्धा गर्ने स्तरमा पुर्याएर बिदा भए ।

क्रिकेट खेल्दा गाली खाने समाजबाट आमा-बुबाले नै छोराछोरीलाई एकेडेमीमा सिकाउन ल्याउने अवस्थामा छाडेका छन् । सिमित स्रोत र साधनका बाबजुद उनले नेपाली क्रिकेटमा युद्धस्तरमा परिवर्तन गरेर छाडेका छन् ।

ज्ञानेन्द्रलाई नेपाली क्रिकेटले सधैं सम्झिनेछ । उनी बिना नेपाली क्रिकेट पक्कै अधुरो हुनेछ । उनको योगदान र प्रदर्शन सधैं नेपाली क्रिकेटले याद गरिरहनेछ । तर खेलाडीको रुपमा नेपाली क्रिकेटमा अब ज्ञानेन्द्र युगको भने अन्त्य भएको छ ।

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

Success

Thank you for your time.