2 years ago
November 8, 2023
भुपेन्द्र जि.सी.
क्रिकेटमा असम्भव केहि छैन । अहिले काहिँ अविश्वसनीय प्रदर्शन हुन्छन् । टोलीलाई हारको मुखबाट फर्काउन खेलाडी सुपर हिरो बन्ने गर्दछन् । सुपर हिरो बन्न सामान्य प्रदर्शनले पर्याप्त हुँदैन । क्रिकेट इतिहासकै अद्भूत प्रदर्शन गर्नुपर्छ । जुन प्रदर्शन क्रिकेटले सधैं सम्झिने गर्दछ । त्यो प्रदर्शन हरेक क्रिकेटलाई प्रेरणाको स्रोत बन्ने गर्दछ ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेल आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध सुपरम्यान बने । एक समय अप्रत्याशित हार नजिक पुगेको अष्ट्रेलियालाई घाइते म्याक्सवेलले एक्लै खेल जिताए ।
मुम्बईको वानखडे स्टेडियमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९१ रन बनाको थियो । अष्ट्रेलियाले सोचे भन्दा धेरै राम्रो प्रदर्शन गरेको थियो । ओपनर इब्राहिम जद्रानले १ सय ४३ बलमा ८ चौका र ३ छक्कासहित १ सय २९ रनको इनिङ खेलेका थिए । राशिद खानले अन्तिममा १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोडेका थिए ।
उत्कृष्ट स्पिन आक्रामण भएको अफगानिस्तान सामु उक्त रन बनाउन कुनैपनि टोलीलाई सहज हुँदैन । अष्ट्रेलियाले दोस्रो ओभरमै ट्रविस हेडलाई गुमाएको थियो । अष्ट्रेलियाले अफगानिस्तानसँग सिरिज खेल्न अस्वीकार गर्दै आएको छ ।
त्यसैको कारण खेलको अघिल्लो दिन अफगानिस्तानका नविन उल हकले उक्त बदला लिने संकेत दिँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । सुरुवातमै वार्नर र राशिद खानबीच भनाभन भएको थियो ।
अष्ट्रेलिया अफगानिस्तानलाई दबाबमा राखेर खेल्न खोजेको थियो । मिचेल मार्शले आक्रामक इनिङको सुरुवात गरेका थिए । तर धेरै समय उनी टिक्न पाएनन् । मार्श ११ बलमा २ चौका र २ छक्कासहित २४ रनमा नविन उल हकको बलमा एलबीडब्लू आउट भए ।
त्यो समय अष्ट्रेलिया ५.४ ओभरमा ४३–२ को अवस्थामा थियो । आठौं ओभरमा युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईले पुरै खेल अफगानिस्तानको पक्षमा मोडेका थिए ।
पहिलो बलमा वार्नरलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा फस्ट स्लिपमा विकेटकिपर जोश इंग्लिस इब्राहिम जद्रानबाट क्याच आउट भएपछि अष्ट्रेलिया ८.२ ओभरमा ४९–४ को अवस्थामा थियो ।
इंग्लिसलाई आउट गर्न राशिद खानको योजना महत्वपूर्ण थियो । लगातार दुई विकेट गुमाएपछि अष्ट्रेलिया दबाबमा पर्यो । मार्नस लाबुसेन रन बनाउन संघर्ष गर्न थाले ।
तर उनी रनट आउट भए । मार्कस स्टोइनिस राशिद खानको बलमा स्पीप खेल्ने धुनमा ६ रनमा एलबीडब्लू आउट भए । राशिद खानको बलमा मिचेल स्टार्क क्याच आउट भएपछि अष्ट्रेलिया १८.३ ओभरमा ९१–७ को अवस्थामा पुगेको थियो । अष्ट्रेलियालाई जितको लागि २ सय १ रन चाहिँदा हातमा तीन विकेट थियो ।
अफगानिस्तानले सहज रुपमा जित्ने अनुमान नगर्ने सायद विरलै थिए होला । फराकिलो जितले अफगानिस्तान अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्दा पनि सेमिफाइनल खेल्ने सम्भावना उच्च बन्ने थियो । तर अफगानिस्तानको उक्त सपना ग्लेन म्याक्सवेलले बज्रपात गराए । दुई जीवन, एक रिभ्यु, शतकपछि घाइते तरपनि उनी खेलको सुपर हिरो बने ।
म्याक्सवेलको तिलस्मी प्रदर्शन
म्याक्सवेल छैटौं नम्बरमा ओमरजाईको नवौं ओभरको तेस्रो ह्याट्रिक बल सामना गर्न आएका थिए । अफगानिस्तानले म्याक्सवेलको रिभ्यु लिएको थियो । तर बल ब्याटमा लागेर गएको थियो ।
अफगानिस्तानले लगातार दबाबमा राखेको थियो । २२ औं ओभरको पहिलो बलमा स्पिनर नुर अहमदको बलमा म्याक्सवेललाई अम्पायरले एलबीडब्लू आउट दिए । म्याक्सवेलले झिनो आशाका साथ रिभ्यु लिए । म्याक्सवेल आफैं पेभेलिएनतर्फ फर्किन लागेका थिए । तर बल थोरैले हाइट भएपछि बचेका थिए ।
त्यसै ओभरको पाँचौं बलमा मुजिब उर रहमानले सर्ट लेगमा म्याक्सवेलको सहज क्याच ३३ रनमा क्याच छाड्न पुगे । मुजिबलाई उक्त क्याच छाड्नुको पछुतो जीवनभर हुनेछ । त्यसअघि कप्तान हश्मातुल्लाह शाहिदीले पनि म्याक्सवेललाई जीवनदान दिएका थिए । यी दुई जीवनदान नै अफगानिस्तानको हारको कारण बन्यो ।
त्यसपछि म्याक्सवेलले आफ्नो लय समाए । म्याक्सवेल वर्तमान समयमा स्पिन उत्कृष्ट खेल्ने ब्याटरमा पर्दछन् । स्विच हिट, क्लिन हिट र अद्भूत सर्ट हान्दै सहज जित दिलाए ।
म्याक्सवेलले आफ्नो लय समाएपछि उनलाई रोक्न विश्वका सबै बलरलाई मुश्किल पर्छ । यसै विश्वकपमा म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्ध ४० बलमा शतक प्रहार गरेका थिए । कप्तान प्याट कमिन्सले एक एन्डबाट पुरै विकेट बचाएर राखेका थिए । अर्को एन्डबाट म्याक्सवेल आक्रामक रुपमा प्रस्तुत भएका थिए । म्याक्सवेल विष्फोटक र कमिन्स टेस्ट शैली अपनाए ।
२९ औं ओभरको सुरुवाती दुई बल नुर अहमदलाई म्याक्सवेलले छक्का हानेका थिए । ३२ औं ओभरमा म्याक्सवेलले मुजिब उर रहमानलाई एक चौका र छक्का हानेपछि शतक नजिक पुगेका थिए । म्याक्सवेलले ७६ बलमा शतक पूरा गरेका थिए ।
तर शतकपछि म्याक्सवेल ब्याक पेन र खुट्टामा समस्याको कारण दौडिन सकेनन् । मैदानमा आएर फिजियोले लगातार उनको उपचार गर्नु परेको थियो । म्याक्सवेल ३४ ओभरपछि निकै संघर्ष गरेका थिए । हरेक बलमा उनलाई कठिन भएको थियो ।
उनको खुट्टा पनि राम्रोसँग चलेको थिएन । खेलको समयमा बेला बेला म्याक्सवेलले विश्राम लिएका थिए । अफगानी खेलाडी र प्रशिक्षकले उनको विराध गर्न थाले । तर पनि म्याक्सवेलले मैदान छाड्ने निर्णय लिएनन् । बरु चौका र छक्का मात्रै प्रहार गर्ने सोच बनाए ।
क्रिकेटमा खुट्टाको चालमा कुनैपनि ब्याटरको प्रदर्शन भरपर्छ । तर म्याक्सवेल खुट्टा राम्रोसँग चलाउन पनि सकेका थिएनन् । ३९ औं ओभरमा म्याक्सवेलको खुट्टामा थप समस्या देखिएको थियो । खुट्टामा समस्या देखेपछि म्याक्सवेल मैदानमै लडेका थिए । फिजियोको उपचारपछि उनी फेरि खेलेका थिए ।
उनलाई अष्ट्रेलियाको टोलीले पनि बोलाउन चाहेको थियो । स्पिनर एडम जाम्पा उनको स्थानमा ब्याटिङ गर्न मैदान आएका थिए । जाम्पा त्यसअघि दुई पटक आएर फर्किएका थिए । तर यो पटक बाउन्ड्रीमा आएर जाम्पा मैदान छिर्नै लागेका थिए । तर म्याक्सवेलले खेल्ने निर्णय लिए ।
अफगानिस्तका मुख्य प्रशिक्षक जोनाथन ट्रटले म्याक्सवेलले लगातार उपचारमा लिएको समयको विरोध गर्दै रिजर्भ अम्पायरलाई बताएका थिए । रिजर्भ अम्पायरले फिल्डका अम्पायरलाई निरन्तर सोधेका थिए । तर म्याक्सवेलले काउन्टर अट्याक सुरु गरे । त्यसपछि म्याक्सवेलको हरेक चौका र छक्काले अष्ट्रेलियालाई जिततर्फ अघि बढाएको थियो ।
म्याक्सवेलले संघर्ष गर्न थालेपछि अफगानिस्तानले तीव्र गतिका बलर हकलाई बलिङमा लगाएको थियो । खुट्टामा समस्या हुँदा हकले त्यहिँ केन्द्रित बल गर्न लागेका थिए । तर म्याक्सवेलको अघि उनको केहि लागेन । ४१ औं ओभरमा म्याक्सेवल पुन मैदानमा लडे । त्यो समय उनको खुट्टामा निकै समस्या परेको थियो ।
४० औं ओभरमा म्याक्सवेलले हकलाई दुई चौका हानेका थिए । घाइते म्याक्सवेलले पुरै माहोल आफ्नो पक्षमा फर्काएका थिए । अन्तिम ६० बलमा ६० रन चाहिँएको थियो ।
ड्रेसिङ रुममा घाइते म्याक्सवेलको चौका र छक्का देखेर अष्ट्रेलियाका खेलाडीले खुशी मनाएका थिए । ४४ औं ओभरमा म्याक्सवेलले ओमरजाईलाई दुई चौका र एक छक्कासहित कुल १५ रन बटुलेका थिए । ४५ औं ओभरको पहिलो बलमा हकलाई पुन छक्का हाने ।
अष्ट्रेलियालाई जितको लागि अन्तिम २४ बलमा २१ रन चाहिँएको थियो । म्याक्सवेल १ सय ७९ रनमा क्रिजमा थिए । ४७ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का हानेका थिए । चौथो बलमा चौका र पाँचौं बलमा छक्का हान्दै खेल सकाए ।
म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा नट आउट रहे ।
प्याट कमिन्स ६८ बलमा १ चौकासहित १२ रनमा अविजित रहे । आठौं विकेटका लागि यी दुई खेलाडीले १ सय ७० बलमा २ सय २ रनको साझेदारी गरेका थिए ।
अफगानिस्तानविरुद्ध विरुद्ध म्याक्सवेलले जुन प्रदर्शन गरे त्यो फिल्ममा देखाईने कथा भन्दा बढी रोमान्चक थियो । यस्तो प्रदर्शन लाखौंमा एक पटक देख्न पाइन्छ । ९१–७ बाट दोहोरो शतक प्रहार गर्दै जित दिलाउनु यो जादुमयी प्रदर्शन थियो ।
अष्ट्रेलियाको ७ विकेट गुमेपछि अफगानी खेलाडी जितको खुसी मनाउन थालेका थिए । तर म्याक्सवेल अफगानिस्तानको भिलेन र अष्टेलिया सुपर हिरो बने । जिताएर नै फर्किए । अधिकाम्स पूर्व क्रिकेटरहरु म्याक्सवेलको यस इनिङलाई इतिहासकै सर्वोत्कृष्ट प्रदर्शन बताएका छन् । क्रिकेट जगतमा उनको मात्रै चर्चा छ । विश्वकप जितेभन्दा बढी चर्चा र प्रसंशा अहिले म्याक्सवेलको भएको छ ।
विजयी छक्का हानेपछि म्याक्सवेलले सबै पिडा भुले । विजयी रनपछि उनको सेलेब्रेसन र अनुहारमा हाँसो अझ हेर्न लायक थियो । एक समय जितको ५ मात्रै प्रतिशतबाट उनले खेल जिताएका थिए । जितपछि ड्रेसिङ रुममा डेविड वार्नर र एडम जाम्पाले पनि राम्रो सेलेब्रेसन गरे । तीन पटक ब्याटिङका लागि तयार भएका जाम्पाको खुसी भिन्दै थियो ।
उनको यस प्रदर्शनलाई बर्णन गर्ने कुनै शब्द छैन । उनको क्षमता, सर्ट छनोट, प्रहार, धैर्यता र देश प्रतिको मायालाई जति बर्णन गरेपनि कम हुन्छ । उनको यो प्रदर्शन विश्व क्रिकेटमा सधैं प्रेरणाको स्रोतको रुपमा बन्नेछ ।
जव टोलीले खराब सुरुवात गर्छन् तव कोही म्याक्सवेल जस्तै बनेर जिताई हाल्छन् की भन्ने आशा सधैं राख्नेछन् । युवा पुस्ताका खेलाडीलाई एक्लै खेल जिताउन सकिन्छ भन्ने राम्रो प्रेरणा पनि मिल्नेछ ।
ओडिआई क्रिकेट इतिहासमा लक्ष्य पछ्याउँदा दोहोरो शतक हान्ने पहिलो खेलाडी हुन् । ओपनर बाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो शतक हानेका थिएनन् । तर म्याक्सवेलले छैटौं नम्बरमा आएर दोहोरो शतक हाने । अष्ट्रेलियाबाट ओडिआईमा दोहोरो शतक हान्ने पहिलो खेलाडी पनि हुन् ।
‘आज मैले गर्मीमा बढी फिल्डिङ गरे । यस्तो गर्मीमा मैले धेरै कसरत गरेको छैन । टोली ९१-७ को अवस्थामा थियो । म रहँदा यो सम्भव थियो’, जितपछि म्याक्सवेलले भने । त्यसैमा उनले भने, ‘सुरुवाती दुई हारपछि मानिसहरु हामीलाई सेमिफाइनलबाट हटाउन थाले । तर टिममा सधैं विश्वास थियो ।’
विश्वका अधिकाम्स क्रिकेटरहरु आफूले देखेको उत्कृष्ट प्रदर्शन बताएका छन् । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो जीवनमा देखेको उत्कृष्ट प्रदर्शन बताएका छन् । यो तिलस्मी (असम्भव, अनपत्यार र जादुगरी) काम भएको थियो । यो इनिङलाई विश्व क्रिकेटले सधैंभर सम्झि राख्नेछ ।
May 18, 2025
सुमन अधिकारी, बुटवल बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप विधालयस्तरिय क्रिकेट प्रतियोगिता आइतवार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल न्यु होराईजनले गार्गी एकेडेमीलाई १ सय ११ रनले हराएको छ। शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजनले टस जितेर पहिले ब्याटिङ गर्दै १४.३ ओभरमा १ सय ४६ रन बनाएको थियो । न्यु होराइजनका […]
May 18, 2025
एजेन्सी – रिकी पोन्टिङले अवरुद्ध सिजनको चुनौतीको सामना कसरी गर्नुपर्दछ भन्ने राम्ररी बुझेका छन् । सन् २०२१ मा जब उनी दिल्ली क्यापिटल्समा थिए । उनले टोलीलाई तालिकाको शीर्षमा पुर्याएका थिए। त्यसपछि कोभिडका कारण सिजनबीचमा खेल स्थगित भएको थियो । आइपिएल फेरि सुरु हुँदा दिल्लीले आफ्नो लय कायम राख्दै शीर्ष दुईमा स्थान बनाएको थियो। तर प्लेअफमा […]
May 17, 2025
एजेन्सी – साविक विजेता कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनबाट बाहिरिएको छ। रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग शनिवारको खेल वर्षाका रद्द भएसँगै कोलकाता आइपिएलबाट बाहिरिएको हो। वर्षाका कारण टस पनि नभई खेल रद्द भएको हो । रद्दपछि दुबै टोलीले समान १ अंक बाँडेका थिए । १३ खेलमा १२ अंक छोडेपनि कोलकाता […]