2 years ago
April 26, 2024
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ ।
विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा गरेको थियो । सिनियर टोली भारतमा बरोडा र गुजरातसँग त्रिकोणात्मक सिरिजमा व्यस्त रहँदा नेपाल ‘ए’ टोलीले आयरल्यान्ड वल्भ्ससँग टि२० सिरिज खेल्यो । अपेक्षा थियो भारतमा भएको प्रदर्शन र नेपाल ‘ए’ का लागि गरेको प्रदर्शनलाई आधार मानेर ओमानमा हुने प्रिमियर कपका लागि टोली छनोट हुनेछ । तर त्यसो भएन ।
भारत पुगेको टोलीकै १५ खेलाडी ओमान प्रस्थान गरे । एसीसी प्रिमियर कपमा १४ खेलाडी मात्र टोलीमा राख्न पाइने हुनाले युवा बलर आकाश चन्दले वैकल्पिक खेलाडीको रुपमा ओमान भ्रमण गरे । नेपालले प्रतियोगिताका ६ खेलमा आफ्नो प्लेइङ-११ मा बिरलै परिवर्तन गर्यो । कतारविरुद्ध करण केसीको स्थानमा विवेक यादव तथा साउदीविरुद्ध ८ ओभरको खेलमा सोमपाल कामीको स्थानमा प्रतिश जिसीले स्थान बनाए । अनिल शाह प्रतियोगिता अवधिभर बेन्चमै रहे ।
यसले पनि नेपालको प्लेइङ-११ विश्वकपका लागि सेट भएको अनुमान गर्न सकिन्थ्यो । विशेषगरी ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको जोडीले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा अन्तिम खेलमा परिवर्तनको अपेक्षा थियो । तर त्यसो हुन सकेन । आफ्नो मुख्य प्लेइङ-११ मा विश्वास गर्ने प्रशिक्षण टोलीको निर्णयलाई खेलाडीले न्याय गर्न सकेनन् ।
प्रिमियर कपपछि नेपालमा हुने वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिजका लागि नेपाल ‘ए’ मा उच्च प्रदर्शन गरेका खेलाडीले स्थान पाउने आँकलन गरिएको थियो । तर विहीबार नेपालले ओमान प्रस्थान गरेको टोलीमा आरिफ शेखको नाम थप्दै १६ सदस्यीय टोली घोषणा गर्यो । त्यसको २४ घण्टा नबित्दै सिरिज सुरु हुने अघिल्लो दिन क्यानका सचिव पारस खड्काले नेपाल ‘ए’ बाट ४ खेलाडी टोलीमा थपिएको जानकारी दिए ।
सिरिजमा उच्च प्रदर्शन गरेका आरिफ यसअघि समावेश भइसकेका थिए भने कमल सिंह ऐरी र लोकेश बम पनि टोलीमा थपिए । यसबाहेक औसत प्रदर्शन गरेका बायाँ हाते स्पिनर सागर ढकाल र लयमा नरहेका विनोद भण्डारी पनि टोलीमा समेटिए । तर प्रशिक्षण टोलीलाई भने यसबारे जानकारी नै नरहेको अनुमान लगाउन सकिन्छ ।
एक, खेलको अघिल्लो दिन भएको प्रशिक्षणमा यी ४ खेलाडीको उपस्थिति थिएन । र पत्रकार सम्मेलनमा प्रशिक्षक देशाइले बोल्दाबोल्दै बिचमा सचिव खड्कालाई नाम सुनाउन अनुरोध गरेका थिए । उपस्थित पत्रकारबाट टोली निर्माणबारे प्रश्न आउन लागेपछि देशाइले टोलीमा भएको परिवर्तनबारे सुनाउन खड्कालाई अनुरोध गरेका थिए । यस क्रममा उनको अनुहारको भाव पनि एक्कासी परिवर्तन भएको थियो ।
हेर्नुहोस भिडियोमा:
विश्वकपका लागि सहभागी टोलीले मे १ (वैशाख १९ बुधबार) सम्म आफ्नो १५ सदस्यीय टोली बुझाउनु पर्ने कार्यक्रम रहेको छ । नेपालले वेस्ट इन्डिजविरुद्ध शनिबार, आइतबार र बुधबार खेलेपछि टोली बुझाउनु पर्नेछ । यस अवस्थाबारे प्रश्न गर्दा प्रशिक्षक देशाइले खुलेर कुरा गर्न चाहेनन् र हरेक खेलमा ध्यान दिने अभिव्यक्ति दिए ।
यता सचिव खड्काले भने अघिल्लो दिन घोषणा भएको टोलीबारे छलफल गरेर ४ खेलाडी थपिएको जानकारी दिए । उनले विश्वकपअघि धेरै भन्दा धेरै अवसर दिने लक्ष्यसहित ती नाम थपिएको बताए ।
क्यानका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले योजना अनुसार अगाडी नै २० खेलाडीको छनोट भएको जानकारी दिए । ‘हामीले पहिला नै वैकल्पिकसहित २० खेलाडी छनोट गरिसकेका थियौं । तर सिरिजका लागि पहिला १६ खेलाडी घोषणा हुँदै आएकोमा त्यसै अनुसार यो नाम सार्वजनिक गर्यौं । विहिबारमात्र क्यान अध्यक्ष, सचिव, मुख्य प्रशिक्षक र छनोट समिति एकसाथ बस्यौं । वैकल्पिक खेलाडी टोलीमा समेट्न बोर्डको निर्णय पनि चाहिने हुनाले शुक्रबार मात्र ४ खेलाडीको नाम थपिएको हो,’ चौधरीले भने ।
त्यसो त विश्वकपको नियम अनुसार मे २५ तारिख सम्म १५ सदस्यीय टोलीमा बिना कुनै कारण परिवर्तन गर्न पाइन्छ । त्यसपछि भने आइसीसीको प्राविधिक समितिको स्वीकृतिपछि मात्र खेलाडी परिवर्तन गर्ने प्रावधान छ । नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्दा १५ या १६ खेलाडी पठाउनेछ । त्यसका लागि वेस्ट इन्डिज ‘ए’ विरुद्धको सुरुवाती ३ खेल निर्णायक हुनेछ ।
अन्य राष्ट्रले विश्वकपको लागि टोलीमा खेलाडी संख्या घटाउँदै लग्दा नेपालले भने अझैपनि प्रयोग गर्ने नाममा खेलाडी थप्दै गएको छ । दशकपछि फर्किएको विश्वकपका लागि अब ३ खेलमा २० खेलाडी प्रयोग गर्नुपर्ने बाध्यता नेपालसामु छ । त्यसैले यी खेलमा टोलीमा पक्का पर्ने खेलाडी बाहिर राखेर टोलीमा पर्न प्रयासरत खेलाडी प्रयोग हुने अनुमान गर्न सकिन्छ । समग्रमा सिरिजको सुरुवाती खेलमा नेपालले नतिजाभन्दा विश्वकपमा बेन्च स्ट्रेन्थ बलियो बनाउन खेलाडीको भूमिका नाप्नेछ ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]