3 months ago
September 17, 2025
एजेन्सी – बंगलादेशले एसीसी टी-२० एसिया कपमा अफगानिस्तानमाथि ८ रनको रोमान्चक जित हात पारेकोछ । योसँगै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच सुपर फोरमा पुग्न रोमाञ्चक समिकरण बनेकोछ ।
जित्नलाई १ सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १ सय ४६ रनमा अल आउट भयो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ र आजमतुल्लाह ओमरजाईले ३० रन बनाउँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन ।
स्पिनर नासुम अहमदले इनिङ पहिलो बलमै राम्रो लयमा भएका सेदिकउल्लाह अटल लाई एलबीडब्लू आउट गर्दै बंगलादेशलाई चाहेजस्तो सुरुवात दिलाए । नासुमले अर्को ओभरमा इब्राहिम जर्दानलाई ५ रनमा एलबीडब्लू आउट गरेपछि पावर प्लेमा बंगलादेश हाबी बनेको थियो । रिसाद हसनले गुलबदिन नाइबलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए ।

खराब लयबाट गुज्रिएका ओपनर रहमानउल्लाह गुरबाज ३१ बलमा समान दुई चौका र छक्कासहित ३५ रनमा आउट भएपछि अफगानिस्तानलाई जित मुश्किल देखिएको थियो । एक समय १३ ओभरमा ७७-५ को अवस्थामा पुगेको अफगानिस्तानलाई आजमतुल्लाह ओमरजाईले १४ औं ओभरमा पार्टटाइम स्पिनर सैफ हसनलाई दुई छक्का र १ चौकासहित कुल २० रन प्रहार गरेपछि खेलमा फर्किएको थियो ।
तर तीव्र गतिका बलर तस्किन अहमदले उनलाई १६ औं ओभरको चौथो बलमा ३० रनमा क्याच आउट गराएपछि बंगलादेश पुन खेलमा फर्कियो । उनले १६ बलमा १ चौका र ३ छक्का हाने । त्यसपछि अन्तिम आशाको रुपमा करिम जन्नत र राशिद खान थिए । राशिद खानसँग तालमेल नमिल्दा जन्नत १८ औं ओभरको पहिलो बलमा रन आउट भए ।
अफगानिस्तानलाई अन्तिम १२ बलमा २७ रन चाहिँदा अनुभवी बलर मुश्ताफिजुर रहमान १९ औं ओभर बलिंग गर्न आएका थिए । राशिद खानले पहिलो बलमा चौका हानेपनि दोस्रो बलमा तस्किन अहमदबाट राशिद खानलाई २० रनमा क्याच गराएपछि बंगलादेशको जितलगभग पक्कापक्की बनेको थियो ।
बंगलादेशका मुश्ताफिजुर रहमानले सर्वाधिक ३, रिसाद हसन, नासुम अहमद र तस्किन अहमदले २-२ विकेट लिए ।
त्यसअघि आबुधावीमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५४ रन बनाएको थियो । बंगलादेशका ओपनर तान्जिद हसनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । अर्का ओपनर सैफ हसनले २८ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए ।

ओपनर परिवर्तन गर्ने निर्णयलाई सहि सावित गर्दै जान्जिद र सैफले ६.४ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । तर पावरप्लेपछी अफगानिस्तानको स्पिनसामु भने राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान लिटन दास ९, तिव्हिद हिर्दोय २६ र शमिम हुसेन ११, जाकेर अली र नुरुल हसनले १२-१२ रन बनाए ।
अफगानिस्तानका राशिद खान र नुर अहमदले २-२ विकेट लिए । समान ४ ओभर बलिङ गर्दा राशिदले २६ र नुरले २३ रन दिदै बंगलादेशलाई विशाल योगफल बनाउनबाट रोकेका थिए । त्यस्तै आजमतुल्लाह ओमरजाईले १ विकेट लिए ।
समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा श्रीलंका विजयी भएमा अपराजित रहँदै समूह विजेताको रुपमा सुपर फोरमा पुग्नेछ । श्रीलंका विजयी हुँदा बंगलादेश पनि ४ अंकका साथ सुपर फोरमा पुग्नेछ ।
तर अन्तिम खेलमा अफगानिस्तान विजयी भएमा भने श्रीलंका, बंगलादेश र अफगानिस्तानको समान ४-४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहने दुई टोली सुपर फोरमा पुग्नेछन् । हाल श्रीलंकाको नेटरनरेट प्लस १.५४६, बंगलादेशको माइनस ०.२७० र अफगानिस्तानको प्लस २.१५० छ ।
बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमाछ । अफगानिस्तान २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।
समूह ए बाट भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगि सकेको छ । बुधबार युएई र पाकिस्तानबीचको विजेता पनि सुपर फोरमा पुग्नेछ । सुपर फोरमा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]