default_image

3 hours ago

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन।

लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन।

शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपिएलको च्याम्पियन बन्यो।

क्वालिफायर–२ अघि हरेक खेलमा संघर्ष गर्नुपरेको लुम्बिनीका लागि च्याम्पियन यात्राकै सबैभन्दा सहज जित फाइनलमै आयो। १९.१ ओभरमा सुदूरपश्चिमलाई ८४ रनमै अलआउट गरेको लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

रोमान्चक फाइनलको अपेक्षा लिएर रंगशाला पुगेका दर्शकले भने प्रतिस्पर्धात्मक खेल देख्न पाएनन्। विराटनगर किङ्ससँगको लिग चरणको अन्तिम खेलबाहेक प्रतियोगिताभर दमदार प्रदर्शन गरेको सुदूरपश्चिम फाइनलमा यति एकतर्फी रूपमा पराजित होला भन्ने अनुमान कसैले गरेका थिएनन्।

एनपिएलमा टस जित्ने अधिकांश टोलीले पहिला फिल्डिङ रोज्ने चलन थियो। फाइनलमा कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ रोज्दा धेरै चकित परे। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका ओपनर विनोद भण्डारी फाइनलमा खाता नै नखोली आउट भए। इशान पाण्डे बाहेक अन्य कुनै पनि ब्याटर चल्न नसक्नु सुदूरपश्चिमका लागि दुर्भाग्य सावित भयो।

पहिलो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध १ सय ८४ रनको स्कोर डिफेन्ड गर्न नसकेको सुदूरपश्चिम यसपटक दोस्रो इनिङ सुरु हुनुअघि नै मानसिक रूपमा पराजित देखिन्थ्यो। पहिलो ओभरमै दीपेन्द्रले २७ रन खर्चिएसँगै बलिङकै भरमा जित्दै आएको सुदूरपश्चिमको झिनो आशा पनि समाप्त भयो।

लिग चरणका चार खेलपछि लुम्बिनी २ अंकमा सीमित रहँदा सुदूरपश्चिमले ८ अंक बटुलेर प्ले अफ लगभग सुनिश्चित गरिसकेको थियो। सुदूरपश्चिमले लगातार सुरुआती ६ खेल जित्दा लुम्बिनीले भने पछिल्ला ६ खेल जित्दै उपाधि उचाल्यो। दोस्रो क्वालिफायरसम्म एनपिएलको केन्द्रबिन्दुमा रहेको सुदूरपश्चिम फाइनल सकिँदा सबैभन्दा निराश टोली बन्यो, भने लुम्बिनीले पूरै माहोल आफ्नो पक्षमा पार्‍यो।

टोली च्याम्पियन बन्यो। कप्तान रोहित कुमार पौडेलले दोहोरो व्यक्तिगत पुरस्कार जिते। सबैभन्दा बढी रन बनाउँदै मोटरसाइकल र सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै गाडी प्राप्त गरे। सोही टोलीका निरन्तर प्रभावशाली बलर शेर मल्लले इमर्जिङ प्लेयर अवार्डसहित मोटरसाइकल जिते।

फर्केर हेर्दा लुम्बिनीको यो सफलता कुनै संयोग होइन, एउटा कथा जस्तै लाग्छ। लिग चरणमा पहिलो जितपछि लगातार तीन हार बेहोरेपछि टोलीले कडा आलोचना सामना गर्नुपरेको थियो। तेस्रो हारपछि टोलीका मालिक इश्वर जिसीले ‘अब पनि हार्ने हो र?’ भन्ने आशय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

टोलीकै सामाजिक सञ्जालबाट रोहितलाई हसिमजाककै रूपमा ‘टुकुटुकु’ उपनाम दिइएको भिडियो भाइरल भयो। सामाजिक सञ्जालमा चर्चा चले पनि रोहित र टोलीले त्यो रोस्टलाई आफूमाथि हाबी हुन दिएनन्।

पहिलो सिजनमा अंक तालिकाको पुछारमा रहेको लुम्बिनीले दोस्रो सिजनमा च्याम्पियनको रवाफ देखाउँदा सुदूरपश्चिमले भने फाइनलमा फेरि एकपटक कहिल्यै नबिर्सिने पीडा भोग्नुपर्‍यो। सायद त्यसैले क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ। एनपिएलका दुई संस्करणका फाइनलमा त्यो अनिश्चितताको सबैभन्दा ठूलो शिकार सुदूरपश्चिम बनेको छ।

च्याम्पियन बन्दै लुम्बिनीले विगतका सबै कमजोरी बिर्साइदिएको छ। आलोचनात्मक टिप्पणी गर्नेहरूलाई उसले शब्दले होइन, नतिजाबाट जवाफ दिएको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.