default_image

7 years ago

January 29, 2019

ग्राउण्ड जिरो रिपोर्ट : यस्तो रहयो ओडीआईमा नेपालको पहिलो शतक

189 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

कप्तान पारस खड्कालाई यूएईविरुद्ध निर्णायक ओडीआईको अघिल्लो दिन नेपाली समर्थकले नेपालका लागि पहिलो ओडीआई शतक कहिले देख्न पाउँछन् भन्ने प्रश्न गरेको थिएँ । प्रश्न सुन्नेबितिक्कै मन्द मुस्कानसहित पारसले टोलीको ब्याटिङ राम्रो भइरहेकाले पहिलो शतकको लागि धेरै प्रतिक्षा गर्नु नपर्ने अभिव्यक्ति दिए । उनले सोमबारको निर्णायक खेलमा नै शतक बने उत्कृष्ट हुने पनि बताएका थिए ।

सोमबार यूएईले प्रस्तुत गरेको २ सय ५५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कप्तान पारस आफैंले शतक प्रहार गरे । खेलको नतिजा नेपालको पक्षमा पार्न १ सय १५ रनको योगदान दिएका पारसले १ सय ९ बलको सामना गर्दै १५ चौका र १ छक्का प्रहार गरे । उनी आउट हुँदा नेपाललाई ११.१ ओभरमा ४० रन आवश्यक थियो । टोलीलाई जितसम्म पुर्याउन नसक्दाको दुख उनले पेभेलियन फर्कंदा देखाएको हाउभाउले प्रष्ट देखाउँथ्यो ।

सोमबारको निर्णायक खेलको पहिलो इनिङसमा यूएईविरुद्ध १० ओभर बलिङ गरेका पारस दोस्रो इनिङसको पाँचौ ओभरमा नै क्रिजमा आएका थिए । फिल्डीङमा पनि मिड अफ पोजिसनमा रहने पारस खेलको अधिकांश समय मैदानमा नै रहे । ३० डिग्री सेल्सियस गर्मीमा लगातार खेल्दा ब्याटिङ गर्ने क्रममा पनि उनी थकित देखिन्थे ।

अर्धशतक बनाएपछि पटक पटक पारसले असहज महसुस गरे । एक पटक त फिजियोलाई नै मैदान बोलाएर केहीबेर खुट्टा तन्काए पनि । यसका बाबजुद उनले लगातार दुई रन कुदिरहे । उनी टोलीलाई जितसम्म पुर्याउन पूर्ण रुपमा केन्द्रित थिए । एक हिसाबले उनीमाथि टोलीलाई जितसम्म पुर्याउने दबाब पनि थियो ।

सामान्यतया अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याट्सम्यानहरु शतक नजिक पुगेपछि धैर्यतापूर्वक खेल्छन् । शतक बनाउनु आफैंमा कठिन कार्य हो, अझ विश्व क्रिकेटकै सर्वोच्च स्तरमा शतक बनाउनु नेपालजस्तो राष्ट्रको लागि चानचुने कार्य होइन । ९० रनको आँकडा पार गरेपछि धेरै ब्याट्सम्यान शतकसम्म पुग्न धैर्य गरेर खेल्ने भएकाले ९० माथिको स्कोरलाई नर्भस नाइन्टिज को रुपमा पनि चिनिन्छ । तर पारसले शतकसम्म पुग्न कुनै दबाब लिएनन् । सामान्य ब्याटिङ गर्दा भन्दा आक्रामक खेल्दै पारस शतकसम्म पुगे ।

सिरिजको पहिलो खेलमा पावोरप्लेको समयमा बाउन्सरमा लामो सट खेल्ने धुनमा एज लाग्दै बाउन्ड्रीनिर क्याच आउट भएका थिए । बाउन्सरविरुद्ध सोमबार पारसले निकै संयमतापूर्वक खेले । ब्याटिङ कन्सल्टेन्ट उमेश पटवालले आइतबार टोलीका केहि खेलाडीले मात्र प्रशिक्षण गरेको र पारसले विशेषगरि एक घण्टा सोहि किसिमको बल मात्र खेलेको बताए । खेलदौरान पारसले पटक पटक पुल सटमा बाउन्ड्री जोडे । उनले शतक बनाउने क्रममा पनि सोहि सटबाट चौका जोडेका थिए ।

अघिल्लो ओभरमा फिजियोबाट केहीबेर उपचार गराएका पारसले ३३ औं ओभरको पहिलो बलमा नै रोहित पौडेलको ब्याटिङमा तीन रन कुदे । सहज देखिएको दुई रनलाई दुवै ब्याट्सम्यानले तीन रनमा बदलेका थिए । त्यसपछि अर्को बलमा पारसले लङ अनको दिशामा निकै लामो छक्का प्रहार गरे । उक्त छक्का क्रिकेट मैदानको बाहिरी भागमा रहेको फुटबल पिचसम्म पुगेको थियो । लगत्तै एक रन लिएका पारसले अर्को एण्डमा रोहित पौडेलको साथ गुमाए ।

लगत्तै अर्को ओभरको पहिलो बल डिफेन्स गरेका पारसले दोस्रो बलमा दुई रन लिए । तेस्रो बललाई पुल गर्दै मिड विकेटको दिशामा चौका प्रहार गर्दै पारसले आफ्नो शतक पूरा गरे । तर शतक पुरा गरेका पारसले कुनै खुसीको हाउभाउ देखाएनन् । उनले पेभेलियनतर्फ ब्याट उठाउने औपचारिकता पूरा गर्न पनि केहि समय लिए ।

शतक बनाएपछि कप्तान पारस खड्का

नेपालले ओडीआई क्रिकेटमा बनाएको पहिलो शतक भएपनि पारसले देखाएको हाउभाउ भने बेग्लै थियो । सामान्य रुपमा ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा पनि ब्याट उठाउने र अर्को एण्डमा भएका साथिसँग अंकमाल गर्दै दर्शकतर्फ ब्याट उठाउँछन् । शतक प्रहार गर्दा हेल्मेट खोलेर पेभेलियन, दर्शक हुँदै मिडिया रहेको तर्फ तस्बिरका लागि पोज दिने गर्छन् । नेपालको पहिलो ओडीआई शतक, त्यसमाथि कप्तान पारस खड्का आफैं र जिततर्फ अग्रसर देखिएकाले सबै उत्साहित थियौं पनि । अघिल्लो दिनको प्रश्न र पारस आफैंको उत्तरले अझै रोमान्च थपेको थियो । तर उनको हाउभाउले शतकको रोमान्च फिका भयो ।

खेल जिताउने लक्ष्य लिएका पारसले शतकभन्दा खेल जिताउने जिम्मेवारी महत्त्वपूर्ण रहेको खेलपछि बोल्नेक्रममा बताए । पारसले यसो भनिरहँदा पनि पहिलो शतकको उन्माद नरहनुले उनको व्यक्तित्व प्रष्ट झल्काउँथ्यो । विगतमा पारसले शतक प्रहार गर्दा पनि टोलीले जित दर्ता गर्न नसकेको उदाहरण थियो नै । त्यसैले उनले टोलीलाई जितसम्म पुर्याएर खुसी मनाउने लक्ष्य राखेको बताए ।

निराश मुद्रामा पेभेलियन फर्कंदै कप्तान पारस खड्का

तर १ सय १५ रनको स्थितिमा छँदा पारस एलबीडब्लु आउट भए । पछिल्लो खेलमा पनि पारस स्विप प्रहार गर्ने धुनमा एलबीडब्लु शिकार भएका थिए । विगतमा पारस यस्तै स्थितिमा आउट हुँदा टोली पराजित भएको क्षणहरु पनि भएकाले पारस पेभेलियन फर्कंदा निकै दुखि देखिन्थे । तर सोमबार सोमपाल कामी र आरिफ शेखले नेपाललाई सहजै जित दिलाए ।

नेपालको पहिलो ओडीआई सिरिज जित ऐतिहासिक महत्त्वको रहयो । यसै सिरिजमा नेपालले नयाँ कीर्तिमान पनि बनायो । २ सय ५५ रनको लक्ष्य पछ्याउनु नेपाली ब्याटिङका लागि आफैंमा एक उपलब्धि हो । यसले नेपाली टोलीले पछिल्लो समय गरेको प्रगतिलाई नतिजामार्फत प्रष्ट पारेको छ । व्यक्तिगत प्रदर्शन हेर्दा पनि एकै बलरले ५ विकेट लिनु, नियमित रुपमा अर्धशतक बन्नु र ठूलो साझेदारी बन्नु राम्रो पक्ष हो ।

म्यान अफ द म्याच र म्यान अफ द सिरिज उपाधिसहित पारस खड्का

खेलपछि कप्तान पारस खेलको म्यान अफ द म्याच उपाधि लिन अगाडी सरे । लगत्तै उनलाई नै म्यान अफ द सिरिजको उपाधि पनि प्रदान गरियो । पहिलो ओडीआई सिरिज जितमा कप्तान पारसले शतकसहित व्यक्तिगत उपाधि पनि हात पारे । एक सफल कप्तान र कुशल खेलाडीका रुपमा पारसले फेरी एकपटक आफूलाई प्रमाणित गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च स्तरमा पारसले विश्वसामु आफ्नो प्रभाव छाडेका छन् । तर उनी आफैं यहिं रोकिने पक्षमा छैनन् । उनी भन्छन्, ‘हामीले नियमित राम्रो क्रिकेट खेल्दै जानुपर्छ । नेपालले अब खेल्ने सबै खेल विश्व क्रिकेटले हेर्नेछ । अहिलेको ओडीआई मान्यता भनेको चार वर्षको लागि हो, त्यसलाई दीर्घकालीन बनाउने हाम्रो लक्ष्य हुनेछ ।’

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.