काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) डेब्युमा लाहोर कलन्दर्सको लागि मिश्रित प्रदर्शन गरेका छन् । मुल्तान सुल्तानविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर ३ विकेट लिए । मुल्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सयरन जोड्यो ।

मुल्तान सुल्तानले आक्रामक ब्याटिङ गरेपछि महँगा सावित भएका सन्दीपले टोलीका लागि सुरुवाती दुई विकेट लिएका थिए । सन्दीपले टोलीलाई पहिलो सफलता दिलाउने क्रममा ८४ रनमा खेलिरहेका जेम्स भिन्सलाई क्याच आउट गराएका थिए ।
पहिलो ओभरमा १८ रन खर्चेका सन्दीपले दोस्रो ओभरको पाँचौ बलमा भिन्सलाई पेभेलियन फर्काउँदै पहिलो विकेटका लागि भएको १ सय ३५ रनको साझेदारी तोडेका थिए । आफ्नो तेस्रो ओभरमा सुरुवाती तीन बलमा दुई छक्का खाएपनि उनले पाकिस्तानका पूर्व कप्तान शोएब मलिकलाई १० रनमा पेभेलियन फर्काए । त्यसअघि तेस्रो बलमा सिद्दिक ५० रनमा खेलिरहेको अवस्थामा क्याच ड्रप भएको थियो ।
चौथो ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेपनि सन्दीपले तेस्रो बलमा उनलाई आफ्नै बलमा क्याच गराउँदै बदला लिए । मुल्तानका लागि सिद्दिकले ५३ रन जोडेका थिए । लाहोरका लागि शाहिन अफ्रिदी र हरिस राउफले १-१ विकेट लिए ।