काठमाडौं(हाम्रो खेलकुद)– कर्णाली प्रिमियर लिग (केपिएल) को दोस्रो संस्करणको विजेताले उपाधिसहित पाँच लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । त्यस्तै दोस्रो हुने टोलीले २ लाख रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने भएका छन् ।

आयोजक केपीएलले बुधबार सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका उत्कृष्ट बलर ब्याट्म्यानले समान २० हजार तथा हरेक खेलको म्यान अफ दी म्याचले ३ हजार ५ सय रुपैयाँ पाउने जानकारी दिएको छ ।
केपिएलको पहिलो संस्करणको विजेता त्रिभुवन आर्मी क्लबले ३ लाख र दोस्रो भएको रुपन्देही ११ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । यसपटकको प्रतियोगिता वैशाख १२ गते देखि सुर्खेतको वीरेन्द्रनगरमा वैशाख २१ गते सम्म चल्ने बताइएको छ ।
१० दिन सम्म चल्ने प्रतियोगितामा साविक विजेता आर्मी, ,नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी, लालिगुरास क्रिकेट एकेडमी झापा,मध्यपश्चिम क्रिकेट क्लब,कर्णाली ११ र हिमालयन क्रिकेट एकेडमी गरि ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आर्मीको बिनोद भण्डारी,एपिएफको बसन्त रेग्मी र पुलिसको मञ्जित श्रेष्ठले कप्तानी गर्ने छन् । त्यस्तै कर्णाली ११ को रविन्द्रजंग शाही,लालिगुरासको मेहबुब आलम,हिमालयन किक्रेट एकेडेमीको सुरेन्द्र चन्द,महेन्द्रनगरको सुशिल खड्का र मध्यपश्चिम किक्रेट एकेडेमीको कप्तानी अजय साहनीले गर्ने आयोजकले बताएको छ ।
एउटा टोलीले बढीमा दुई विदेशी खेलाडी राख्न सक्नेछन् । राउन्ड रोविन लिगपछि शीर्ष ४ टोली समिफाइनल पुग्नेछन् ।