5 years ago
October 25, 2019
भूपेन्द्र जी.सी, काठमाडौं
सुमन खतिवडा नेपाली क्रिकेटमा अघिल्लो सातासम्म निकै कमले सुनेको नाम थियो । चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) उपाधि जित्दा फाइनलको प्लेयर अफ द म्याच भएकी सुमनले प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गरिन् । उनको प्रदर्शन त लोभलाग्दो थियो नै, खेल्ने शैलीले पनि दर्शकहरुको मन जितेको छ ।
२० वर्षीय सुमनले राष्ट्रिय स्तरको क्रिकेट खेल्न थालेको ५ वर्ष भयो । प्रदेश ३ को क्रिकेट टोलीमा लगातार स्थान बनाउँदै आएकी सुमन हाल दक्षिण एसियाली खेलकुद (साग) का लागि घोषणा गरिएको २५ सदस्यीय टोलीमा पनि छिन् । चितवन राइनोजले बिहीबार डब्लूसीएल उपाधि जित्दा सुमनको अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण थियो । ब्याटिङतर्फ २५ बलमा ५ चौका सहित २९ रन जोड्दै टोलीलाई राम्रो योगफलसम्म डोर्याएकी उनले बलिङमा ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर प्रमुख ३ विकेट हात पारिन् ।
राष्ट्रिय टोलीमा हालसम्म नपरेकी सुमन डब्लूसीएल फाइनलमा दर्शकले हुटिङमा उनको नाम लिँदा विश्वास नै गर्न गाह्रो भएको बताइरहेकी थिइन् । नेपाली महिला क्रिकेटमा पहिलो पटक आयोजित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता युवा प्रतिभाका लागि आफ्नो कौशल देखाउने राम्रो माध्यम बन्ने धेरैको आशा थियो । सुमनले यसको भरपुर सदुपयोग गर्दै नेपाली क्रिकेटमा राम्रो सम्भावनाका रुपमा अगाडी दरिएकी छिन् । घरेलु क्रिकेटमा लामो समयदेखि प्रदेश ३ बाट खेल्दै आएकी उनले राष्ट्रिय टोलीमा पनि आफ्नो दावेदारी प्रस्तुत गरेकी छिन् ।
सुमनको क्रिकेट यात्रा ११ वर्षको हुँदा सुरु भएको थियो । उनले कक्षा ५ पढ्दादेखि नै क्रिकेट खेल्न थालेकी थिइन् । घरेलु क्रिकेटमा निरन्तर खेल्दै आएकी उनी हाल राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाउन संघर्षरत छिन् । मैदानभित्र उनले गर्ने मिहिनेतले उनको राष्ट्रिय टोलीको भविष्य निर्धारण गर्नेछ नै । क्रिकेट खेल्दाको सुरुवाती दिनमा उनले भोगेको एक दुर्घटनाले भने उनको क्रिकेट करीअर मात्र होइन, उनलाई जीवन-मरणकै संघारमा पुर्याएको थियो ।
२०७१ सालमा कक्षा १० मा पढ्दै गर्दा जनकपुरमा यू-१६ क्रिकेट प्रतियोगिता खेल्न जाने क्रममा सिस्नेरीमा उनी चढेको बस दुर्घटना भयो । दुर्घटनामा उनको कम्मरमा गम्भीर चोट लाग्यो । कम्मरको गेडि फुस्किएको कारण मासु पलाएर जोडीन मात्र एक महिना हस्पिटलमा बस्नु परेको उनी बताउँछिन् । एसएलसी परिक्षा दिनकै लागि परिक्षा सुरु हुनुभन्दा ३ दिनअघि उनलाई डिस्चार्ज गरिएको थियो ।
‘दुर्घटना भएको दुई तीन घण्टापछि सबै थाहा पाएको थिएँ,’ उनले भनिन्, ‘ पूर्ण होस आएपछि डाक्टरलाई क्रिकेटमा फर्कन सक्छु की सक्दिन भन्ने सोधेको पनि थिएँ । उनले के भने त याद छैन तर आफूमा क्रिकेट खेल्न फर्कन्छु भन्ने आत्माविश्वास थियो । दुर्घटनापछि पूर्ण रुपमा ठिक भएर फर्केपछि पहिलेजस्तै खेल्न सकिन । बलिङमा पेश र ब्याटिङमा हिटिङ घटेको अनुभव भयो । तर मैले लगातार मिहिनेत गरिरहें र पूर्ण रुपमा ले समात्न २ वर्ष लाग्यो ।’
झापाको सैनिक मोडमा घर भएकी सुमनको जन्म २०५६ मा काठमाडौंमा कमल र शारदा खतिवडाको काखबाट पहिलो सन्तानको रुपमा भएको थियो । सुमनको एक बहिनी र भाई छन् । बुबा कमलको व्यापारी हुन् भने आमा आफ्नो जमानाकी एथ्लेटिक्स खेलाडी । आमा खेलाडी भएकै कारण पनि सुमनलाई क्रिकेटमा लाग्न सहज भयो । आमा काखमा खेलेर हुर्कने बेला तीन वर्षकै कलिलो उमेरमा सुमनलाई पढाईको लागि काठमाडौंमा होस्टेलमा राखियो । सुमन यता होस्टेलमा बस्दा परिवार भने झापामै थियो । सामाखुसीमा रहेको ग्रिनल्यान्ड चिल्ड्रेन्स स्कुलमा उनको शिक्षा र खेलकुद यात्रा अगाडि बढ्यो । उनले कक्षा १० सम्म यसै स्कुलबाट पास गरिन् । कक्षा १० पछि भने उनले परिवारसँगै रहेर झापाको कनकाई एजुकेशनबाट कक्षा १२ पास गरेर बसेकी छिन् ।
‘सानोमा स्कुलमा पढ्दा दाईहरु खेल्नुहुन्थ्यो,अनि खेल्न मन लाग्थ्यो’ ,सुमनले विगत सम्झदै भन्छिन्, ‘कक्षा ५ देखि क्रिकेट खेल्न थालें । खेल्न थालेको एक वर्षमै उमेर समूह राष्ट्रिय प्रतियोगिताको उनी काठमाडौंबाट छनोटमा गएँ । छनोटमा नाम पनि निस्कियो । त्यसपछि काठमाडौंबाट निरन्तर खेल्दै आएको छु । प्रदर्शन अपनी राम्रो भएपछि क्रिकेटमै भविष्य बनाउने सोच आयो ।’
होस्टेलमा बसेको कारण नै उनी खेलमा लाग्न पाएको उनको बुझाइ छ । ‘ होस्टेलमा रहँदा बाहिर निस्कने अनुमती थिएन । सबै कुरा होस्टेलमै गर्नु पर्थ्यो । स्कुलका प्रधानाध्यापक सुनिल प्रधान सर र क्रिकेट प्रशिक्षक बडेकुमार राईले पनि राम्रो सहयोग गर्नुभयो । परिक्षा आउँदा समय मिलाएर पढ्न लगाउनु हुन्थ्यो । नत्र क्रिकेट सिकाउनुहुन्थ्यो । कहिलेकाहिँ बिदाको समय टुडिखेलमा पनि लैजाउनु हुन्थ्यो’,उनले भनिन्, ‘ घरमा बसेको भए घरकै काम गर्नु पथ्र्याे होला । होस्टेलमा बसेर झन क्रिकेटमा ध्यान दिन पाए ।’
‘सुरुमा क्रिकेटमा लाग्छु भनेर भनेर चाहिँ खेलेको थिईंन । रमाइलोको लागि खेलेको थिएँ । पहिलो पटक छनोट भएपछि भने क्रिकेटमै लाग्ने सोच बनाएँ,’ उनले विगत सम्झिदै भन्छिन् ।
सुमनले राइजिङ क्रिकेट फर वुमेन (आरसीडब्लू) क्लवबाट अत्तरिया कप खेलेकी थिइन् । जुन सर्वाधिक धनराशी भएको महिला क्रिकेट प्रतियोगिता थियो । दुई वर्षअघि राइजिङ क्रिकेट फर वुमन क्लबबाटै बंगलादेश पनि गइन् । उक्त भ्रमणमा नतिजा राम्रो नआएपनि ४ खेलमा ५ विकेट लिँदै राम्रो अनुभव बटुलिन् । धनगढीमा भएको ७ प्रदेशबीचको मुख्यमन्त्री कपमा प्रदेश ३ बाट पनि ७ विकेट लिनुको साथै एक खेलमा अर्धशतक प्रहार गरेकी थिइन् । पीएम कपमा पनि प्रदेश ३ बाट प्रतिनिधित्व गर्दै राम्रो प्रर्दशन गरिन् । आठौं राष्ट्रिय खेलकुदमा पनि उनले सन्तोषजनक प्रर्दशन गरेकी थिइन् ।
आफ्नो क्रिकेट यात्रालाई अझ अगाडि बढाउन उनी हाल राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लद्वारा संचालित काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटिसी) बाट प्रशिक्षण लिइरहेकी छिन् । मल्लबाट उनले धेरै प्ररेणा र सहयोग मिलेको बताउँछिन् । आफ्नो क्रिकेट करीअरमा सुधार आउनुको कारक पनि उनले नियमित प्रशिक्षण र अथक मिहिनेतलाई मानेकी छिन् ।
चितवनलाई उपाधि दिलाएपछि हर्षित मुद्रामा देखिएकी सुमनले आफ्नो टोलीलाई च्याम्पियन बनाउँदा धेरै खुसी लागेको बताइन् । ‘ रुविना दिदी लयमा रहेको कारण सुरुमा त दबाब थियो । रुविना दिदी आउट भएपछि हामी जित्छौ भन्ने लाग्यो,’ उनलेले भनिन्, ‘ म हिजोदेखि नै मानसिक रुपमा तयार थिएँ । मेरो भूमिका हिटरको हो । २०, २५ रनको योगदान दिन्छु भन्ने सोचेको थिएँ र त्यसै भयो । बलिङ पनि राम्रै भयो । ओपनर भएको कारण एक-दुई विकेट लिन्छु र बल लाइनमा राख्छु भन्ने योजना थियो, ‘ उनले भनिन् ।
‘प्रतियोगिता भर उत्कृष्ट प्रर्दशन रह्यो । मनोबल पनि उच्च छ । अब यो प्रर्दशनलाई निरन्तरता दिँदै राष्ट्रिय टोलीमा पर्ने आशा छ, ‘ सुमनले भनिन् । डब्लूसिएलमा चितवन राइनोजलाई अपराजित रहँदै दिलाउन सुमनको प्रर्दशन महत्वूर्ण रह्यो । सुमनको प्रर्दशनलाई लिएर राष्ट्रिय टोलीका पूर्वकप्तान कप्तान पारस खड्का लगायतले खुलेर प्रशंसा गर्दै आएका छन् । सुमनले तीव्र गतिको बलिङसँगै ठूला सट प्रहार गर्दै आफ्नो छवि बनाएकी छिन् । जुन डब्लूसिएलमा पनि प्रमणित गरिन् ।
सुमनले डब्लूसिएलको डेब्यू खेलमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको टोली क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले निराश बनाउन २३ बलमा ४ चौका सहित २९ रन जोडीन् । दोस्रो खेलमा चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गर्यो । जसमा उनले ब्याटिङ गर्ने मौका पाइनन् । बलिङतर्फ भने ३ ओभरमा १ मेडन सहित ७ रन खर्चेर १ विकेट लिइन् । पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दा उनले ४ ओभरमा २५ रन खर्चिन् । विराटनगरलाई ५३ रनले हराउँदा १० रन जोड्नुको साथै २ महत्वपूर्ण विकेट हात पारेकी थिइन् । उनले हिटर डोली भट्टलाई २१ र सोनु खड्कालाई ६ रनमा पेभिलिएन फर्काउँदै चितवनको सहज जित पक्का गरिन् ।
‘ सम्रगमा प्रर्दशन राम्रो भयो । सिनियर दिदीबाट धेरै कुरा सिक्न पाएँ,बलिङ र ब्याटिङमा बराबर आफ्नो टिमलाई योगदान दिएजस्तो लाग्छ’ ,सुमनले भनिन, ‘ प्रर्दशन त आफ्नो ठाउँमा छ । यो खेलले आगामी सागमा देश र मेरो लागि धेरै सहयोग गर्ने छ,’उनले भनिन् । घरेलु क्रिकेट प्रतियोगितामा उच्च प्रर्दशन गरेकै कारण उनी मंसिरमा हुने १३ औं दक्षिण एसियाली (साग)बन्द प्रशिक्षणमा परेकी हुन् ।
बन्द प्रशिक्षणमा राम्रो हुँदा अहिले डब्लूसिएलमा उनीसँगै अन्यले पनि राम्रो प्रर्दशन गरेको उनको बुझाई छ । यद्यपि नियमित प्रतियोगिता नहुँदा खेलाडी मारमा परेको उनी बताउँछिन् । ‘घरेलु प्रतियोगिता नहुँदा युवा खेलाडीलाई ठूलो क्षति पुगेको छ । अहिले क्यान निलम्बन फुकुवा भएको छ अब केहि हुन्छ की भन्ने आशा जागेको छ,’ उनले भनिन् ।
सुमनलाई नेपाली खेलाडीमा इन्दु वर्मा, ज्ञानेन्द्र मल्ल र पारस खड्का तथा अन्तर्राष्ट्रिय खेलाडीमा भारतीय अलराउन्डर हार्दिक पाण्डेर अष्ट्रेलियन अलराउन्डर एलिस पेरी मनपर्छ । डब्लूसीएलको प्रदर्शनलाई निरन्तरता दिँदै राष्ट्रिय टोलीमा पर्ने उनको लक्ष्य छ । ‘ अहिले पूर्णरुपमा फिट छु । अब लगातार मिहिनेत गर्नेछु । नेपाली महिला टोलीलाई पनि विश्वकप पुर्याउने सपना छ । यसका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन तल्लिन छु,’ उनले थपिन् ।
भर्खर २० वर्षीय उनको शारिरीक बनोट खेलाडीलाई साथ दिने छ । सागको बन्द प्रशिक्षणमा अन्तिम २५ भित्र रहेकी सुमनकोे डब्लूसिएलको प्रर्दशन हेर्ने हो भने उनलाई नेपालको जर्सिमा हेर्न लामो समय लाग्ने छैन । घरेलु प्रतियोगिताकै प्रर्दशन हेर्ने हो भने पनि सुमनले नेपाली महिला क्रिकेट टोलीमा लामो यात्रा गर्ने छनक देखाएकी छिन् । शारीरिक रुपमा फिट उनले प्राविधिक रुपमा पनि निपुण रहेको प्रमाणित गरेकी छिन् । अब बन्द प्रशिक्षणमा लय कायम राखे सुमनको यात्रा अगाडि बढ्ने निश्चित छ ।
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]
December 15, 2024
एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]