एजेन्सी – एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले भारतमाथि रोमान्चक जित निकाल्दै फाइनलमा पुगेको छ । बुधबार रोमान्चक खेलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।
जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा भारतले १ विकेट गुमाउँदै ४ रन मात्र बनाएपछि पाकिस्तान फाइनलमा पुगेको हो । पाकिस्तानले प्रस्तुत गरेको २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको भारत ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६४ रन मात्र बनाउन सक्यो ।
भारतका लागि सनबीर सिंहले ९० बलमा ५ चौका र १ छक्का सहित ७६ रनको योगदान दिए । त्यस्तै ओपनर बीआर शरथ ४७, अर्यान जुरेल १७, अरमान जफार ४६, यश राठोड १३ रनमा आउट भए । चिन्मय सुल्तार २८ रनमा अविजित रहे । पाकिस्तानका लागि मुहम्मद हसनैन, सैप बदरले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो । उसका ओपनर ओमायर युसुफले ९७ बलमा ३ चौका र २ छक्का सहित ६६ रनको योगदान दिए ।
त्यस्तै हैदर अली खान ४३, रोहेल नाजिर ३५, सैफ बदरले ४७ रनको योगदान दिए । भारतका लागि शिवम माभी, ऋतिक शोकेन र सौरभ दुबेले समान २ विकेट लिए ।
अव उपाधिको लागि पाकिस्तानले बंगलादेश र अफगानिस्तानसँगको विजेतासँग खेल्ने छ । फाइनल शनिवार हुने छ । नेपाल समुह चरणबाटै बाहिरिएको थियो ।
समुह बी मा रहेको नेपाल पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराएको थियो । तेस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित हुँदै समुह चरणबाट बाहिरिएको थियो ।