एजेन्सी – न्युजिल्यान्डसँगको तीन टेष्ट सिरिज घरेलु टोली अष्ट्रेलियाले क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टेष्ट खेलमा २ सय ७९ रनको फराकिलो जित निकाल्दै तीन टेष्ट सिरिज ३–० ले जितेको छ ।
पहिलो इनिङमा अष्ट्रेलियाले ४ सय ५४ रन जोडेको थियो । उसका युवा ब्याट्सम्यान मार्नस लाबुसेनले ३ सय ६३ बलमा १९ चौका र १ छक्का सहित २ सय १५ रन बनाएका थिए । उनको यो टेष्ट करिअरको पहिलो दोहोरो शतक थियो । ओपनर डेविड वार्नरले ४५, स्टिभ स्मिथले ६३ र कप्तान टिम पेनले ३५ रन जोडेका थिए । न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोम र निल वाग्ररले ३–३ विकेट लिए ।
न्युजिल्यान्ड पहिलो इनिङमा २ सय ५६ रनमा समेटिन पुग्यो । कप्तान टम लाथम ४९, ग्लेन फिलिफ्स ५२, टम ब्लन्डेल ३४, जीत राभल ३१, कोलिन डी ग्रान्डहोम २० र टोड एस्टलले २५ रन जोडका थिए । अष्ट्रेलियाका स्पिनर नाथन लायनले ५ र प्याट कमिन्सले ३ विकेट लिए । मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।
अष्ट्रेलियाले दोस्रो इनिङमा २ सय १७ रन बनाउन २ विकेट गुमाएको अवस्थामा इनिङ समाप्तीको घोषणा गरेको थियो । ओपनर डेविड वार्नर १ सय ११ रनमा अविजित रहे । मार्नस लाबुसेन ५९ र जो बर्न्स ४० रनमा आउट भए । न्युजिल्यान्ड दोस्रो इनिङमा ४७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भएपछि अष्ट्रेलियाले फराकिलो जित निकालेको हो । न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोम ५२, रस टेलर २२ र टोड एस्टल १७ रनमा आउट भए । नथान लायनले ५ विकेट र मिचेल स्टार्कले ३ विकेट लिए ।
तीनै खेलमा उत्कृष्ट प्रर्दशन गरेका मार्नस लाबुसेन प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित भए । अष्ट्रेलिया पहिलो खेलमा २ सय ९६ र दोस्रो खेलमा २ सय ४७ रनले विजयी भएको थियो ।