default_image

5 years ago

April 16, 2021

शेख दाजुभाइ – घरको छतदेखि राष्ट्रिय टोलीसम्म सँगै

322 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

राष्ट्रिय टोलीबाट खेल्नु खेलाडीको सबैभन्दा ठूलो सपना हो । देशको जर्सी लगाएर एक साथ मैदान उत्रने अवसर सहोदर दाजुभाइले बिरलै पाउँछन् । शनिबारबाट सुरु हुने नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपाली टोलीमा आरिफ शेख र आसिफ शेख दाजुभाइले स्थान बनाएका छन् ।

शेख दाजुभाई सन् २०१७ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा पहिलो पटक परेका थिए । आरिफले २०१४ र आसिफले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेका थिए । आरिफ लगातार नेपाली टोलीबाट खेलि रहँदा आसिफ भने त्यसपछि टोलीमा परेनन् । गत माघमा काठमाडौंमा भएको प्रधानमन्त्री पुरुष राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता र काठमाडौं मेयर कपमा नेपाल एपिएफ क्लबबाट उच्च प्रदर्शन गरेपछि आसिफले पूनरागमन गरेका हुन् ।

‘पिएम र मेयर कप राम्रो भयो । मेरो काम राम्रो क्रिकेट खेल्ने हो । प्रशिक्षक डेभ ह्वाटमोर आएपछि नयाँ नयाँ कुरा सिक्न पाई राखेको छु । वहाँले मैदानभित्र मात्र नभएर बाहिर पनि सिकाउनु भएको छ । क्रिजमा जमिसकेपछि विकेट नगुमाउने बताउनुभएको छ’, आसिफले भने ।

आसिफ सुरुवात राम्रो गरेपनि अर्धशतक वरपर पुगेपछि भने विकेट गुमाउँदै आएका छन् । ‘अर्धशतक पछि आउट हुने कमजोरी सुधार गर्न चाहन्छु । क्रिकेटमा एक पटक प्रदर्शन गरेर हुँदैन । निरन्तर हुनुपर्छ । पहिला निरन्तर थिएन । धेरै मिहिनेत गरेपछि अहिले निरन्तर भइरहेको छ । त्यसको नतिजा पनि देखिन थालेको छ’, आसिफले भने ।

‘मेरो आफ्नै छुट्टै खेल छ । जहिले पनि सकरात्मक सोच राख्छु । मेरो रेन्ज (क्षेत्र) मा आएको बल मिस गर्दिन । आफ्नो खेल्ने शैली भने टोली कस्तो अवस्थामा छ त्यसले पनि निर्भर गर्छ,’ उनले थपे ।

आसिफले सन् २०१६ को एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा शतक प्रहार गरेपछिको चर्चा निकै बढेको थियो । २०१६ देखि २०१९ सम्म यू१९ प्रतियोगिता खेलेका आसिफको प्रदर्शनमा भने उतारचढाव आइरहयो । पछिल्ला प्रतियोगितामा आसिफ आक्रमक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

पहिला पनि खेल्ने शैली त्यहि नै भएपनि प्रदर्शन नदेखिएको उनी बताउँछन् । ‘पछिल्लो समय योजना अनुसार नै प्रदर्शन भएको छ । सट छनोट पनि भने अनुसार सफल भएको छु । उमेर समूहमा क्रिकेट खेल्न पाउँदा अहिले करिअरमा ठूलो सहयोग पुगेको छ । राम्रो खेलाडी आउने नै यू१९ बाट हो । टेष्ट राष्ट्र टोलीविरुद्ध खेलेर आएपछि आत्माविश्वास पनि फरक हुन्छ’, उनले भने ।

आसिफको बाल्यकाल

वीरगञ्जको मुरली चोकमा बाबा मोहम्मद सलाम शेख र आमा सम्मा प्रविनको कोखबाट २०५८ सालमा भएको हो । आरिफ उनको जेठा दाई हुन् । दुई दिदी बहिनी छन् । बाल्यकालमा आसिफ र आरिफ खाली भएको समयमा घरको छतमा क्रिकेट खेल्ने गर्दर्थे । आसिफले दाईबाट नै प्रभावित हुँदै क्रिकेट सिकेर हुर्के।

‘हामी घरको छतमा जहिल्यै क्रिकेट खेल्थ्यौं । खेल्दाखेल्दै बल वरपरको घरमा पस्थ्यो । त्यो बेलामा धेरै गाली खान्थ्यौं । धेरै पटक झगडा पनि भएको छ । त्यसपछि स्कुल क्रिकेट खेल्न थाल्यौं । स्कुलमा क्रिकेट खेल्न थालेपछि हामीले छात्रवृत्ति नै पायौं । विद्यासदन माध्यमिक विद्यालयमा पढेका थियौं’, आसिफले पुराना अनुभव सुनाए ।

‘मैले दाईलाई बलिङ गर्थें । बल फाल्थे । तर दाई मेरो पालो आएपछि दाइले छोडेर जाँदा मलाई रिस उठ्थ्यो । यसै कुरामा दाजुभाईबीच झगडा पनि पर्दथ्यो । बल अर्कोको घरमा गई सकेपछि त्यो लिन दाईले जहिल्यै दाईले मलाई पठाउनुहुन्थयो’, दाजु आरिफसँगको बाल्यकाल सम्झदै उनले भने ।

‘कक्षामा हामी जुनियर सिनियर थियौं । म त्यति बेला २-३ मा पढ्थें । दाईले आफ्नो खेल हुँदा मलाई बोलाएर लैजानुहुन्थ्यो । फिल्डर पुगेन भने मलाई खेलाउनु हुन्थ्यो । दाई जहाँ गएपनि मलाई लगेर जानुहुन्थयो । दाईसँग हिँड्दा, बल फाल्दा, फिल्डिङ गर्दा दाईको खेल हेर्दाहेदै मैले पनि सिके । यसरी नै खेल्दै गएपछि स्कुल स्तरमा आफ्नो खेल पन्नी राम्रो हुँदै गयो । त्यसपछि खेल्न सकिन्छ भन्ने विश्वास बढ्यो,’ आसिफले थपे ।

दुवैले खेल्ने निर्णय लिएपनि घरको आर्थिक अवस्था भने त्यति राम्रो थिएन । ‘बुबा वर्कशपमा काम गर्नुहुन्छ । तर क्रिकेट भनेपछि हुरुक्कै हुने । बुबाले हामीलाई जसरी त्यसरी पढाउनु भयो । चाहिँने ब्याट, बल सामग्री किन्दिनु भयो । कतै खेल खेल्न जानु पर्यो भने लिन आउनुहुन्थ्यो । हाम्रो खेल हेर्न कामनै छोडेर हेर्न आउनुहुथ्यो । हामी यो स्तरमा आउँदा बुबाहो हात निकै ठूलो छ,’ उनले भने ।

आसिफको क्रिकेट यात्रा

आसिफले नेपाली यू१६ टोलीदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । २०१२ मा वीरगञ्ज जिल्ला छनोट राम्रो गर्दै नेपालको यू१६ टोलीबाट प्रतिनिधित्व गरेका थिए । मलेसियामा भएको यू१६ इलिट कप २०१२ को फाइनलमा नेपाल मलेसियासँग नेपाल १ विकेटले पराजित हुन पुगेको थियो । जुन नेपालले मलेसियासँग उमेर समूहमा हारेको पहिलो हार थियो । आसिफ उक्त फाइनलमा ७ रनमा आउट भएका थिए ।

आसिफ २०१४ मा मलेसियामानै भएको यू१६ प्रिमियर लिग प्रतियोगिता खेले । नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्दा आसिफ उपकप्तान थिए । प्रदर्शन भने औसत थियो । त्यो बेला नेपालको कप्तानी सुमित महर्जनले गरेका थिए ।

फ्रेन्चाइज लिगमा शतक

आसिफले २०१६ मा नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज टि२० लिग इपिएलमा पञ्चकन्या तेजबाट खेल्दै कलिलो उमेरमै राम्रो प्रभाव छाडेका थिए । आसिफले फाइनलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको कलर्स एक्सफ्याक्टर्सविरुद्ध ६४ बलमा ७ चौका र ८ छक्का सहित १ सय ११ रनको शतकीय अविजित इनिङ खेलेपछि पञ्चकन्या च्याम्पियन बनेको थियो ।

आसिफले आफ्नो दाई आरिफसँग चौथो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । आसिफ उक्त प्रतियोगितामा ६ खेलमा २ सय २० रनका साथ शीर्ष स्थानमा थिए । उक्त उच्च प्रदर्शन पछि आसिफ पहिलो पटक यू१९ टोलीमा पर्दै एसिया कप खेल्न श्रीलंका गएका थिए ।

आसिफले श्रीलंकाविरुद्ध डेब्यू गर्दा १ रनमा आउट हुन पुगे । दोस्रो खेलमा भारतविरुद्ध १८ र मलेसियाविरुद्ध १ रनमै आउन हुन पुगे । त्यसपछि धनगढी प्रिमियर लिग (डिपिएल) मा आसिफलाई शरद भेषावकर कप्तान रहेको विराटनगर किंग्सलेनै टोलीमा अनुबन्ध गरेको थियो । आरिफ पारस खड्का कप्तान रहेको धनगढी टिम चौराहबाट खेले । आसिफले लगातार यू१९ क्रिकेट खेल्दै गए । विश्वकप छनोट, एसिया कप, एसिसीका प्रतियोगिता, यू१९ भ्रमणमा आसिफ पहिलो रोजाईमा खेलि रहे ।

पोखरा प्रिमियर लिगमा आसिफलाई शरदको कप्तानीमा रहेको पोखरा पल्टनले अनुबन्ध गर्यो । आरिफ पारसको चितवन राइनोजबाट खेले । आसिफले २०१८ मा भारतको लखनउमा नेपाल, भारत र अफगानिस्तानबीच भएको यू१९ टोलीमा कप्तानी गरेका थिए । २०१८ मा एसिया कपमा पनि आसिफलेनै कप्तानी गरेका थिए । अन्तिम पटक २०१९ मा श्रीलंकमा भएको यू१९ एसिया कप खेलेका थिए । आरिफ दाजु भाई समग्र फ्रेन्चाइज लिगमा बढी विपक्ष्यका रुपमा खेलेका छन् ।

आसिफको सिनियर डेब्यू

आसिफले सन् २०१७ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा हङकङविरुद्ध डेब्यू गरेका थिए । आसिफ डेब्यू खेलमा १२ रनमा आउट भएका थिए । त्यसपछि निरन्तर यू१९, राष्ट्रिय प्रतियोगिता र फ्रेन्चाइज लिग खेल्दै आसिफले सिनियर टोलीमा आफ्नो दावेदारी प्रस्तुत गरिरहे ।

आसिफ टि२० आई टोलीमा भने पहिलो पटक परेका हुन् । उनी एपिएफसँग जोडिएको पाँच वर्ष भइसकेको छ । एपिएफमा आसिफले यसै महिना स्थायी रुपमै नाम निकालेका छन् । फ्रेन्चाइज लिग बाहेक अन्य सबै आसिफले एपिएफ र आरिफले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्छन् ।

आरिफको प्रेरणा, माया र साथ

‘दाईसँग खेलमा राम्रो भएपनि नभए पनि कुरा गरिरहेको हुन्छु । दाईले राम्रो प्रदर्शन नहुँदा भेटेर सम्झाउनु हुन्छ । राम्रो प्रर्दशन नभएपछि मलाई केहि समय चाहिन्छ । म केहि समय एक्लै बस्छु । वहाँलाई पनि त्यो कुरा थाहा छ । गल्ती भयो भने सम्झाउनु हुन्छ’,आसिफले बताए ।

‘कडा मिहिनेत गरिरहेको थिएँ । मेरो समय आउँछ भन्ने सकरात्मक सोचले आफूलाई फिट राखें । दाईले आफूले संघर्ष गर्नुभयो । तर मलाई कहिल्यै पनि कुनै कुरा कमी हुन दिनु भएन । वहाँलेनै सामाग्री सबै जहाँबाट भएपनि मलाई ल्याइदिनुहुन्थ्यो । आफ्नो खर्च काटेरै भएपनि मलाई पैसा र चाहिने सामग्री दिनुहुन्थ्यो’, उनले भने ।

आसिफ दाईसँग खेल्दा त्यतिनै मज्जा आउने बताउँछन् । ‘साँच्चै भन्ने हो भने मलाई आरिफ दाईसँग खेल्न एकदमै मज्जा आउँछ । सँगै देशका लागि खेल्दाको क्षणको अनुभव गर्दा नै निकै आनन्द आउँछ । नेपालको लागि सँगै खेल्यौं भने पनि त्यो निकै विशेष हुनेछ । आरिफ दाईले मलाई र मैले आरिफ दाईलाई बुझ्दा खेल्न पनि निकै सहज हुन्छ’, उनले भने ।

आसिफको सपना नेपाललाई टेष्ट राष्ट्र बनाउने ठूलो रहर छ । आसिफ पाएको मौकालाई सदुपयाग गर्ने सोच बाहेक अन्य केहि पनि सोचेका छैनन् । नेपालमा शरद भेषावकर र भारतीय ओपनर लोकेश राहुल उनका आदर्श खेलाडी हुन् ।

आसिफले घरेलु र फ्रेन्चाइज लिग निरन्तर शरदको कप्तानीमा खेल्दै आएका छन् । नेपाली घरेलु क्रिकेटमा एक सफल कप्तान तथा ब्याट्सम्यान शरदको कप्तानीमा खेल्दा छुट्टै स्वतन्त्र र मज्जा आउने आसिफ बताउँछन् । ‘मलाई यो स्तरमा ल्याउनेनै शरद दाईले हो । मलाई त्यो इपिएलमा नल्याएको भए सायद कसैले चिन्दन थियो होला । वहाँको कप्तानीमा खेल्दा आनन्द र मज्जा छुट्टै हुन्छ, उनले भने ।

ओपनिङ नेपाली क्रिकेटको सबैभन्दा अस्थिर भूमिका हो । टोलीमा स्थान बनाउन भन्दा टिक्न धेरै कठिन छ । पछिल्लो समय एकपछि अर्को प्रतियोगितामा ओपनर परिवर्तन हुँदै आएको छन् । नेपाल स्थायी ओपनरको खोजीमा छ । आसिफ त्यसको दीर्घकालीन समाधान बन्ने लक्ष्यसहित अघि बढेका छन् ।

आसिफलाई घरेलु मैदानमा उच्च प्रदर्शनका साथ लामो यात्रा गर्ने एउटा राम्रो अवसर छ । घरेलु मैदानबारे राम्रोसँग जानकार हुँदा पनि आसिफलाई केहि फाइदा छ । नेपाली क्रिकेटमा विकेटकिपर र ओपनर दुवै भूमिकामा राम्रो सम्भावना देखाएका आसिफबाट घरेलु क्रिकेटमा जस्तै राष्ट्रिय टोलीमा पनि सोहि प्रदर्शनको अपेक्षा गरिएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.