default_image

2 years ago

August 24, 2023

एसियाडमा पब्जीबाट पदकको आशा, तयारीमा निराशा

3023 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

एसियाको खेल क्षेत्रको महाकुम्भ एसियाली खेलकुदको १९ औं संस्करण सुरु हुन एक महिना बाँकी छ । नेपालबाट २ सय भन्दा खेलाडी एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न अन्तिम तयारीमा जुटेका छन् । पछिल्लो दुवै संस्करण १-१ पदकमा सिमित नेपालको यसपटक सबैभन्दा ठूलो आशा ई-स्पोर्ट्सको पब्जी खेलमा अडिएको छ । विश्व च्याम्पियनसिपकै उपविजेता बन्न सफल पब्जी टोलीको खेलाडी समेटेर बनेको राष्ट्रिय टोलीको एसियाली खेलकुदको तयारी भने सहभागी खेलमध्य सबैभन्दा कमजोर बनेको छ ।

नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्यता नपाउँदा पब्जीसँगै ई-स्पोर्ट्सबाट प्रतिस्पर्धा हुने ५ खेलका २३ खेलाडीले हालसम्म कुनै सुविधा पाएका छैनन् । अन्य खेलका खेलाडी दैनिक तयारी भत्ता र प्रशिक्षण सामग्रीसहित वैदेशिक प्रशिक्षण र विदेशी प्रशिक्षकसँग व्यस्त रहँदा ई-स्पोर्ट्सका खेलाडी भने आफ्नै खर्चमा राष्ट्रको लागि खेल्ने तयारी गरिरहेका छन् ।

ई-स्पोर्ट्समा पछिल्लो समय मुलधारको खेलभन्दा बढी व्यावसायिक लाभ देखिँदै आएको छ । नेपालले पदकको आशा राखेको पब्जीकै टोली द रियल सोल्जर्स (डिआरएस) पनि नेपाली खेलकुदमा पछिल्लो दुई वर्षमा सबैभन्दा बढी आम्दानी गर्ने खेलकुद टोली बनेको छ । छनोटबाट अघि बढेको डिआरएसकै टोलीले नेपालको राष्ट्रिय टोलीबाट खेल्दैछन् ।

आर्थिक पक्षमात्र हेर्ने हो भने डिआरएसका खेलाडीलाई एसियाली खेलकुदभन्दा पब्जीको कुनै प्रतियोगिता खेल्दा मनग्गे कमाउने अवसर हुन्छ । तर हाल टोलीले एसियाली खेलकुदकै लागि आफ्नो खर्चमा टोलीलाई तयार गर्ने प्रयास गरिरहेको छ ।

प्रयास यो अर्थमा, एसियाली खेलकुदमा खेलाइने पब्जीको पृथक भर्सन र खेल हुने मोबाइल डिभाइस टोलीसँग उपलब्ध छैन । व्यावसायिक रुपमा प्रतिस्पर्धा हुने पब्जी र एसियाली खेलकुदमा खेल हुने पब्जी फरक छन् । गत महिना नेसाको पहलमा टोलीले ‘रोड टु एसियन गेम्स’ नामको प्रतियोगितामा एसियाली खेलकुदमा प्रयोग हुने पब्जी खेल्न पाएको थियो ।

त्यहाँ गएर एसियाली खेलकुदमा खेलिने पब्जी खेल्न सिकेको टोलीको प्रदर्शन औसत रहयो । उक्त प्रतियोगितामा अन्य टोली प्रतिस्पर्धा गरिरहँदा नेपालको प्रतिनिधित्व गरिरहेको डिआरएसका खेलाडी भने खेल सिक्नमा बढी केन्द्रित थिए ।

मकाउमा भएको उक्त तयारी प्रतियोगितामा पनि नेसा र सहभागी टोलीले नै संयुक्त रुपमा खर्च बेहोरेका थिए । संघ राखेपमा दर्ता नहुँदा हालसम्म कुनै सुविधा खेलाडी र खेलले पाउन सकेका छैनन् । पाएपनि ई-स्पोर्ट्सका ५ खेलका २३ मध्य जम्मा ५ खेलाडीले पाउने तय छ ।

नेसाले प्रदर्शनका आधारमा पब्जी टोलीका ४ र फिफा अनलाइनका १ खेलाडीलाई त्यस कोटाका लागि सिफारिस गर्ने जानकारी दिएको छ । ई-स्पोर्ट्सका ५ खेल सहभागी हुने जानकारी राखेपले पाएपनि संघसँग राम्रो समन्वय हुन नसक्दा ५ खेलाडीको लागि मात्र राखेपले कोटा निर्धारण गर्यो । संघ नै दर्ता नभएको अवस्थामा अन्य विविध पक्षमा पनि जटिलता आएको छ ।

‘संघ दर्ता प्रक्रिया पूरा हुने बितिक्कै सुविधा दिन्छौं’ – राखेप

राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माका अनुसार राखेपमा दर्ता नभएका कारण नै ई-स्पोर्ट्सले सुविधा पाउन नसकेको हो । उनले ई-स्पोर्ट्सका लागि सबै सुविधा छुट्याएको र संघ दर्ता हुने बितिक्कै सबै सुविधा पाउने बताए ।

‘राखेपमा दर्ता नभएको कारण नै बाधा आएको हो । हामीले प्रशिक्षणको सुरुवात देखिकै सुविधा छुट्टयाएका छौं । राखेपमा दर्ता नभई हामीले बजेट निकासा गर्न पनि मिल्दैन । आशा छ चाडैं दर्ता प्रक्रिया पूरा हुनेछ,’ उनले भने ।

शर्माले ई-स्पोर्ट्सकै लागि दर्ता प्रक्रियामा विशेष व्यवस्था गरिएको पनि बताए । ‘एसियाली खेलकुदमा पदक आशा गरिएको खेल हो । हामीले अन्य दर्ता खुला नगरेपनि वहाँहरुलाई प्रक्रिया पूरा गर्न भनेका छौं । खेलकुद ऐनअनुसार संघ गठन प्रक्रिया पूरा हुन्छ भने हामी भोलिपल्ट नै सुविधा वितरण गर्छौं । हामी यस विषयमा सकारात्मक छौं ।’

‘५ वर्षसम्म पनि दर्ता हुन सकेन’

नेपाल ई-स्पोर्ट्स संघले ५ वर्षअघि नै राखेपमा दर्ताका लागि प्रक्रिया सुरु गरेको थियो । तर त्यसबेला नयाँ संघ दर्तामा रोक्का भएका कारण प्रक्रिया रोकिएको थियो । सन् २०१८ को एसियाली खेलकुदमा ई-स्पोर्ट्सका लागि भएको छनोटबाट नै बाहिरिंदा त्यसबेला ई-स्पोर्ट्स १८ औं एसियाली खेलकुदमा सहभागी भएको थिएन । तर नेसाले राखेपमा दर्ता हुन प्रयास भने जारी राखेको थियो ।

अर्को महिना सुरु हुने एसियाली खेलकुदमा ई-स्पोर्ट्सको पब्जी खेल पदक दिलाउने बलियो सम्भावना बोकेको टोलीको रुपमा हेरिएको छ । राखेपले त्यसका लागि नेसालाई मान्यता दिन केहि सहज वातावारण पनि सिर्जना गरिदिने बताएको छ । तर संघको स्थापना खेलकुद ऐन अनुसार नभएका कारण राखेपमा दर्ता हुन सकेको छैन ।

नेसाका अध्यक्ष सुरज डंगोलले प्रदेशमा दर्ता हुने प्रक्रियाकै कारण हालसम्म संघ राखेपमा दर्ता हुन नसकेको बताए । ‘हामी राखेपसँग निरन्तर छलफल गरिरहेका छौं । विगतमा नयाँ दर्ता बन्द भएको कारण संघ दर्ता भएको थिएन । अहिले ई-स्पोर्ट्सलाई समावेश गर्ने भन्नुभएको छ । तर प्रदेशमा दर्ता गर्ने विषयमा समस्या देखिएको छ,’ उनले भने ।

‘हामीले खेलकुद ऐन अनुसार प्रदेशमा पनि गठन गर्नुपर्ने देखिन्छ । अब संघले त्यहाँ जान केहि समय लाग्न सक्छ । एसियाली खेलकुदको तयारीमा रहेकाले केहि ढिलाई भएको छ । चाडैं निकास पाउने आशा छ,’ उनले भने ।

नेसाले ई-स्पोर्ट्सले हालसम्म कुनै सुविधा नपाएपनि सहभागी टोली र खेलाडीसँग समन्वय गरेर तयारी गरिरहेको बताए । ‘हामीले प्रायोजकको साथ लिएर हाललाई तयारी बढाएका छौं । अब कतिपय अवस्थामा खेलाडीले नै पनि पैसा हाल्नुपर्ने अवस्था छ । सकेसम्म प्रायोजनबाट नै व्यवस्था गर्ने प्रयास हुनेछ,’ डंगोलले भने ।

राखेपमा दर्ता नभएका कारण विभिन्न पक्षमा समन्वय अभाव रहेको उनले स्वीकारे । ‘हामी राखेपको सदस्य संघ छैनौं । अब ई-स्पोर्ट्सबाट ५ खेल सहभागी भएकोमा ५ खेलाडी मात्र कोटा रहेको छ । हाम्रो २३ खेलाडी हाल अन्तिम तयारीमा छन्, ।’

‘अन्य खेलमा प्रशिक्षण सामग्री र प्रशिक्षक पाउँदा हामी त्यसबाट बन्चित भएका छौं । हामीलाई खेल अनुसार मोबाइल, कम्प्युटर र सफ्टवेयर चाहिन्छ, त्यो पाइरहेका छैनौं । प्रशिक्षकको हकमा पनि हामीले एक अमेरिकी संस्थासँग आफैं सहकार्यको प्रयास गरेका छौं । खेल विशेष भन्दापनि खेलाडीको प्रशिक्षण तालिका, मानसिक तयारी र मनोबल बढाउन सहयोग पुग्ने आशा छ,’ डंगोलले भने ।

करोडौं पुरस्कार जित्नुभन्दा देशको लागि पदक ठूलो

एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्न लागेको टोली डिआरएसका खेलाडीले गत वर्ष करोडौं पुरस्कार रकम प्राप्त गरे । पब्जीको विश्व च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गर्दै इतिहास रचेको टोलीलाई पदकको दावेदारको रुपमा हेरिएको छ । तर डिआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल टोलीको तयारी हेर्दा सतही आशाअनुसार प्रदर्शन गर्न सकिनेमा सशंकित छन् ।

पौडेलका अनुसार व्यावसायिक प्रतिस्पर्धामा खेलिने पब्जीभन्दा एसियाली खेलकुदमा हुने पब्जी फरक छन् । नेपाली टोलीले गत महिना मकाउमा भएको तयारी प्रतियोगितामा सिकेको खेल फेरी खेल्न पाएको छैन । तर चीन, दक्षिण कोरिया, जापान लगायत राष्ट्रले ७ महिनादेखि उक्त खेलमै तयारी गरिरहेका छन् । दक्षिण एसियाकै श्रीलंकाले पनि विगत २ महिनादेखि टोलीलाई तयारीमा राखेको छ ।

डिआरएस आफैंले एसियाली खेलकुदमा सहभागी हुने टोलीलाई आफ्नो सुविधा दिएर राखेको छ । आफैं नियमित तलब र सुविधा दिएर प्रतिस्पर्धा गर्ने डिआरएसले एसियाली खेलकुदका लागि पनि आफैं खर्च गरेर टोलीलाई तयारी गराइरहेको छ । तर खेल हुने मोबाइल र खेल भर्जन नहुँदा हालको तयारी बालुवामा पानी हालेजस्तो भएको पौडेल बताउँछन् ।

‘राष्ट्रबाट त सहयोग भएन, हामी आफैंले खर्च गरेर भएपनि एसियाली खेलकुदको तयारी गरेका छौं । तर खेल हुने डिभाइस र खेल भर्जन हाम्रो पहुँचमा नहुँदा तयारी गरे-नगरे बराबर छ । अब एक महिना समय बाँकी हुँदासम्म केहि पाइएको छैन । बाहिर सबैले पदकको आशा छ भन्दा अझ दबाब थपिएको छ,’ पौडेलले सुनाए ।

डिआरएसले विगतमा पनि प्रतियोगिता अनुसार फरक मोबाइल डिभाइस हुने हुँदा सास्ती खेप्दै आएको थियो । प्रतियोगिता अनुसार खेल हुने उपकरण परिवर्तन हुने र नेपालमा मगाएर प्रशिक्षण गर्न अनेक झन्झट खेप्नुपर्छ । एसियाली खेलकुदको हकमा त बजारमा आफैं किन्न खोजेपनि उपकरण नपाइएको गुनासो पौडेलको छ ।

‘विगतमा हामीले व्यावसायिक प्रतियोगिताका लागि सामग्री ल्याउँदा भन्सार लगायत थुप्रै सास्ती भोग्नुपर्यो । यसपटक आफैं खर्च गरेर भनेपनि किन्न खोजेको, समान नै पाइएन । अब संघ दर्ता नभएको कारण खेलाडीले सुविधा त पाएनन्, हामीले त्यो व्यवस्था गरेका छौं । खेल प्रशिक्षक र सामग्री नहुँदा भने त्यसको परिपूर्ति हुन सकेको छैन,’ पौडेलले दुख पोखे ।

पौडेलले चीन र श्रीलंकाको उदाहरण दिँदै सरकारबाट पनि अब ई-स्पोर्ट्सलाई चासो दिनुपर्ने बताए । ‘चीनमा मासिक १० हजार डलर आर्जन गर्ने खेलाडीलाई ७ महिनादेखि व्यावसायिक खेल्न नदिएर सोही सुविधा दिएर राष्ट्रिय टोलीमा राखिएको छ । उनीहरुले प्रतियोगिताकै उपकरणमा लगातार तयारी र मैत्रीपूर्ण खेल पनि खेलेका छन् । जापान र दक्षिण कोरियामा पनि त्यस्तै अवस्था छ । हाम्रै नजिकको श्रीलंकाले पनि २ महिनादेखि तयारी गरेको छ,’ उनले बताए ।

विश्व च्याम्पियनसिपमा टर्कीको टोली उपाधि जित्दा डिआरएस दोस्रो भएको थियो । यसले पनि नेपालको पदक जित्ने सम्भावना प्रष्ट पार्छ । तर खेलको तयारीमा आवश्यक न्युनतम खेल र सामग्री नै नहुँदा पदकको आशा तुषारापात हुने सम्भावना बढ्दो छ ।

पब्जीमै अन्य टोली लामो तयारी र प्रतिस्पर्धाबाट आउँदा नेपाल भने राम्रोसँग सिक्न नपाइ प्रतिस्पर्धामा उत्रँदैछ । आफ्नो खेलाडीले अबको ३० दिन राम्रो प्रशिक्षण गरेपनि पदक जित्ने मनस्थिति बनाएको पौडेल बताउँछन् ।

‘हाम्रो टोली एकसाथ खेल्ने हुनाले टिमवर्क राम्रो छ । मकाउमा भएको तयारीमा पनि सिक्दै खेल्दै गर्दा राम्रो चुनौती दिएका थियौं । लगातार नयाँ भर्जन खेलेका टोलीलाई दबाबमा राखेका थियौं । हाम्रो खेलाडी २०-३० दिन मात्र तयारी गर्न पाएपनि राम्रो नतिजा आउनेमा आशावादी छन् । अब चाडैं राखेप र संघको समन्वयबाट समाधान निस्कने अपेक्षा छ ।’

पौडेलले हाललाई अन्य प्रतियोगिता थाँती राखेर भएपनि एसियाली खेलकुदलाई टोलीले प्राथमिकतामा राखेको बताए । ‘हामीले राम्रो तयारीको वातावरण भए मुख्य टोलीलाई त्यता लगेर अर्को टोलीलाई व्यावसायिक प्रतिस्पर्धा गराउने सोच बनाएका थियौं । तर उपकरण र तयारीको वातावारण नहुँदा प्रतिस्पर्धाको अनुभव लिन भएपनि व्यावसायिक खेल खेलिरहेका छौं ।’

‘देशको प्रतिनिधित्व गर्ने अवसर यसै आउँदैन । खेलाडीले पनि राष्ट्रको नाम उँचो पार्न आफ्नो ठाउँबाट सक्दो मिहिनेत गरेका छन् । हाम्रो लागि पनि गर्वको कुरा हो । हाम्रो पक्षबाट प्रशिक्षणमा कुनै कमी भएको छैन । आशा छ सुखद नतिजा आउनेछ,’ पौडेलले टुंग्याए ।

२०१८ को प्याराग्लाइडीङ बन्ला पब्जी ?

सन् २०१८ को एसियाली खेलकुदमा नेपालले एकमात्र पदक प्याराग्लाइडीङबाट हासिल गरेको थियो । त्यसबेला नेपालमा नियमित हुने भएकाले नै स्वर्ण पदकको नजिक पुगेर टोली दोस्रो स्थानमा सिमित भएको थियो । एसियाली खेलकुदअघि खास चर्चा नभएपनि त्यसपछि भने टोलीको प्रशंसा भएको थियो । यसपटक पदक आश गरीएको पब्जीले नीतिगत समस्याका कारण टोलीले सरकारको प्रत्यक्ष सहयोग पाउन सकेको छैन ।

अन्य खेलबाट पदक आउने सम्भावना न्यून रहँदा पब्जी पदक आउने खेलको रुपमा हेरिएको निर्देशक शर्मा बताउँछन् । ‘कराते, तेक्वान्दो र बक्सिङबाट सधैंजस्तो पदक ल्याउने आशा गरेका छौं । इतिहास हेर्दा पनि यी खेल हावी छन् । यसपटक ईस्पोर्ट्सको पब्जी पनि पदकको दावेदार हो । गल्फ र क्यानोइङ पनि पदकको सम्भावना बोकेका खेल हुन्,’ शर्माले टुंग्याए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.