नेपालगञ्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणको सबै तयारी पुरा भएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ । ६ टोलीको सहभागितामा शनिबार देखी फागुन १८ गतेसम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा साविक विजेता रेलवे इन्डिया, भारतको अर्को टोली कोलकत्ता स्पोर्टस एकेडेमी, नेपालको नम्बर एक टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र आयोजक मध्यपश्चिम टिमले प्रतिस्पर्धा गर्नेछन् ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।
भारतीय टोलीको सहभागिताले प्रतियोगिताले हरेक वर्ष लोकप्रियता हासिल गर्दै भएको अध्यक्ष ठकुरीको ठम्माई छ । ‘प्रतियोगिताको तयारी पुरा भएको छ । हामी खुसी छौं प्रतियोगितामा भारतीय राष्ट्रिय टोलीका खेलाडी पनि सहभागी हुदैछन्,’ उनले भने, ‘ नेपाल र भारतको सिमावर्ती शहरमा हुने महिला भलिबलले दुइ देशबिच सद्भाव कायम राख्न सहयोग गर्ने विश्वास छ ।’
प्रतियोगितामा रेलवे टिमबाट भारतीय राष्ट्रिय टोलीका खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ । अन्तराष्ट्रिय भलिबलको नियमका आधारमा हुने प्रतियोगिता रवर म्याटमा खेलाइनेछ । प्रतियोतिगामा सहभागी हुन भारतको कोलकाताको टोली बिहीबार नै नेपालगन्ज आइपुगेको छ । यसैगरी प्रतियोगिताको चौथो संस्करणबाट स्थानीय टोलीले पनि प्रतिस्पर्धा गर्दैछन । लाल बहादुर मल्ल र भिम डाँगीको प्रशिक्षणमा स्थानीय टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको उद्घाटन समारोहलाई भव्य बनाउन झाकी, पञ्चेबाजा, मयुर नृत्य, थारु संस्कृती झल्कने प्रस्तुती, सिगाँरु नृत्य, जय बागेश्वर स्कुलका विद्यार्थीले ब्यान्ड सहितको ड्रिल प्रदर्शन गर्ने तयारी भैरहेको सचिवालय प्रमुख एवम बाँके जिल्ला भलिबल संघका सचिव यामनारायण महतोले बताए ।
‘स्थानीय स्तरमा अन्तराष्ट्रिय प्रतियोगिता गर्न थुप्रै चुनौति छन । तर हामीले हरेक प्रतियोगितालाई स्तरीय बनाउने लक्ष्यका साथ अगाडी बढेको छौं । प्रतियोगिता आर्थिक रुपमा धेरै पुरस्कार राशी राखेर मात्र भव्य हुदैन,’ सचिव महतोले भने, ‘स्तरीय टिमको सहभागिता र सुविधाले खेलको विकासमा सहयोग गर्छ । हामी प्रतियोगिताको माध्यमबाट मध्यपश्चिमबाट नयां प्रतिभावान खेलाडी उत्पादन गर्दै नेपाली भलिबलको विकासमा योगदान गर्ने लक्ष्य लिएको छौं ।’
यसैगरी आयोजक बाँके जिल्ला भलिबलले नेपाल क्रिकेटका चर्चित खेलाडी राष्ट्रिय टोलीको ओपनर ब्याटसम्यानको रुपमा योगदान दिइसकेका नेपालगन्ज निवासी महेश क्षेत्रीलाई प्रधानमन्त्री कप चौथो संस्करणको सद्भावना दुत मनोनयन गरेको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको यस प्रतियोगितामा नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गर्दै आएका छन् भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग रहँदै आएको छ ।
नेपाल ओलम्पिक कमिटी र नेपाल भलिबल संघबाट मान्यता प्राप्त यस प्रतियोगितामा साझेदारी र सहयोगका लागि ढोका खुल्ला रहेको आयोजकले जनाएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गर्ने प्रतियोगिताका समापन राष्टिय खेलकुद परिषदका सदस्यसचिव केशव बिष्टले गर्ने आयोजक संघले जानकारी दिएको छ ।