4 days ago
December 1, 2025
रमेश पराजुली
काठमाडौं – नेपाली खेलकुदको परिदृश्य आज एउटा विचित्र विरोधाभासबिच बाँधिएको छ । एकातर्फ ठूला आर्थिक स्रोत र सम्भावनाले भरिपूर भएपनि संरचनात्मक कमजोरी, व्यवस्थित व्यवस्थापनको अभाव र दीर्घकालीन दृष्टिकोण नहुँदा लगातार पतनको मार्गमा अगाडि बढिरहेको फुटबल छ ।
अनि अर्कोतिर सीमित साधनका बाबजुद व्यवस्थित योजना, पारदर्शिता र उत्साही प्रशंसकको कारण अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै गरेको क्रिकेट र स्थानीय तहमै टुंगो लगाएर उठ्दै गरेको भलिबल छ । यो विरोधाभास नेपाली खेल जगतको सबैभन्दा कठोर र चुनौतीपूर्ण यथार्थ हो ।
स्रोतमा धनी र प्रदर्शनमा अति गरीब बनेको फुटबल
अखिल नेपाल फुटबल संघ (एन्फा) देशको सबैभन्दा ठूलो बजेट, फिफा र एएफसीजस्ता अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने भरपूर अनुदान र सरकारी प्राथमिकता पाउने संस्था हो । सन् २०२५ मा मात्र एन्फाले फुटबल विकास, प्रशिक्षण र प्रतियोगिताका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको तथ्यांक छ । फिफा र एएफसीबाट मात्र ३३ करोड भन्दा बढी अनुदान प्राप्त भएको थियो । यस्तो माहौलमा फिफाले राम्रो परियोजना भएमा एकै वर्षमा २५ मिलियन डलर अर्थात् साँढे तीन अर्ब नेपाली रुपैयाँसम्मको अनुदान दिन सक्ने सम्भावना छ ।

तर यति ठूलो आर्थिक स्रोत र अन्तर्राष्ट्रिय समर्थन हुँदाहुँदै पनि एउटा नियमित, प्रतिस्पर्धात्मक ए–डिभिजन लिग समेत सञ्चालन गर्न सक्ने स्थिति एन्फाको छैन ।
अन्तिम पटक लिग सन् २०२३ (२०७९) मा सम्पन्न भएको थियो र त्यसपछिका दुई सिजनभन्दा बढी समयदेखि देशमा कुनै पनि राष्ट्रियस्तरको प्रतियोगिता हुन सकेको छैन ।
यसले गर्दा फुटबलको राष्ट्रिय टोलीको तयारीमा गहिरो चोट पुगेको छ । फिफा वरीयता अनुसार नेपाली पुरुष राष्ट्रिय टोली हाल विश्वको १ सय ८२ औं स्थानमा छ । नियमित प्रतियोगिता नहुनु, प्रशिक्षित खेलाडीको अभाव, अनुभवको कमी र व्यवस्थापनको कमजोरीले प्रदर्शन निरन्तर खस्कँदै गएको छ ।
विगतमा जब नियमित लिग चल्थ्यो, दशरथ रंगशाला सधैं दर्शकले भरिन्थ्यो, राष्ट्रिय टोली नियमित रूपमा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी हुन्थ्यो र क्लब फुटबलका म्याचहरूमा स्थानीय तथा विदेशी फ्यानहरूको उत्साह देखिन्थ्यो ।
अहिले त्यो ऊर्जा, अवसर र सम्भावना लगभग गुमिसकेको छ । प्रश्न उठ्छ– प्राप्त बजेट र अनुदान कहाँ खर्च भयो ? रंगशाला र मैदानहरू किन खेल्न योग्य छैनन् ? क्लब फुटबल स्थिर नभएको अवस्थामा स्पन्सर, दर्शक र खेल–पर्यटन कसरी जीवन्त रहन्छ ? यी सबै प्रश्न अझै पनि अनुत्तरित छन् र एन्फाका तर्फबाट कुनै पारदर्शी जवाफ आएको छैन ।
क्रिकेट : सीमित स्रोतमा असीमित सफलताको कथा
फुटबलको वर्तमान दुरावस्थाको ठीक विपरीत नेपाली क्रिकेटले सीमित स्रोत र बजेटका बाबजुद आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक सशक्त खेलको रूपमा स्थापित गर्न सफल भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) ले यसको केन्द्रबिन्दुको रुपमा काम गरेको छ ।
एनपिएलले मात्रै हैन, घरेलु प्रतियोगिताहरू, युवा विकास कार्यक्रम र सुव्यवस्थित प्रबन्धनले गर्दा क्रिकेटले अन्तर्राष्ट्रिय मान्यता, प्रतियोगिताको स्तर र दर्शक आकर्षणमा ठूलो सुधार गरेको छ । यसले नेपाली क्रिकेटलाई विश्वको मानचित्रमा थप परिचित र शक्तिशाली बनाएको छ ।

सीमित स्रोतमा पनि राष्ट्रिय टोलीको प्रदर्शन, विश्वकपमा क्वालिफाइङ सहभागिता र युवा खेलाडीहरूको विकासले क्रिकेटले ‘नेपालमा खेलबाट पनि भविष्य बनाइन्छ’ भन्ने सशक्त सन्देश दिएको छ ।
यसले गर्दा नयाँ पुस्ताका लाखौँ नेपाली युवाहरूमा क्रिकेटप्रतिको अभूतपूर्व आकर्षण र विश्वास जागेको छ । क्रिकेटको यो सफलताको मूल आधार भनेको यसको व्यवस्थापनमा रहेको पारदर्शिता, दीर्घकालीन योजना र कार्यान्वयनको ईमानदारी हो ।
उठ्दै गरेको भलिबल
क्रिकेटजस्तै भलिबलले पनि सीमित बजेट र स्रोतभए तापनि आफ्नो अस्तित्व र गतिशीलता कायम राखेको छ । भलिबलको सबैभन्दा ठूलो शक्ति भनेको यसको स्थानीय तहमा रहेको सक्रियता नै हो । स्थानीय क्लब, विद्यालय, महिला र युवा स्तरसम्म
नियमित टूर्नामेन्ट, प्रशिक्षण र सहभागिताले यस खेललाई सञ्जीवनी दिइरहेको छ ।
यसले भलिबललाई ‘उठ्न थालेको खेल’ बनाएको छ र समुदायस्तरमा उत्साह, सहभागिता र विश्वास कायम राखेको छ । यो खेल सधैँ सामुदायिक सहकार्य र सहभागिताबाट ऊर्जा लिन सफल भएको छ, जसले गर्दा यसले आफ्नो मर्म र जीवन्तता कायम राख्न सकेको छ ।

समस्या स्रोतमा होइन, व्यवस्थापन कमजोर बन्यो आजको यथार्थ यस्तो छ कि नेपाली खेलकुदमा विभाजन केवल स्रोत र लोकप्रियताको आधारमा होइन, व्यवस्थापन, पारदर्शिता, दीर्घकालीन योजना र कार्यान्वयनको आधारमा छ ।
फुटबलमा भएको संकट र क्रिकेट र भलिबलले पाएको सापेक्ष सफलताले यो कुरो स्पष्ट पार्छ कि खेलको विकासको लागि रकमभन्दा पनि राम्रो संचालन र दूरदृष्टि नै ठूलो कुरा हो । अझै पनि एन्फा सुध्रिँदैन भने, एन्फा विघटन गरेर राज्यले एन्फामा गर्ने लगानी अन्य खेलमा पो गर्ने हो कि भनेर समेत प्रश्नहरू समाजमा उठिरहेका छन् ।
कहाँ र किन चुके ?
शिथिल फुटबल र जागेको क्रिकेटसँगै भलिबल पनि बिस्तारै बामे सर्दैछ । अझ भन्दा क्रिकेट दौडको धेरै अगाडि पुगिसकेको छ भने भलिबल एक तह अगाडि बढेर टुकु टुकु हिँड्न थालिसकेको छ ।
प्रश्न अब यही हो कि स्रोत पाएको फुटबल कहिले उठ्छ ? के नेपालमा फुटबल लीग फेरि सुरु हुन्छ ? हुन्छ भने कहिले हुन्छ ? नेपाली खेलप्रेमीको हृदयमा यही एउटा प्रश्न ठूलो रूपमा खटिरहेको छ, र यसको उत्तर पाउनु नै आजको समयको सबैभन्दा ठूलो अपेक्षा हो ।
–लेखक पराजुली रुप्से होलिडेज प्रालिका संस्थापक तथा एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली ललितपुर क्विन्सका मालिक हुन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]