काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । टोलीका सबै खेलाडी आज साँझसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टेलमा जम्मा हुनेछन् ।

नेपालले माघ १५ र १८ मा दशरथ रंगशालामा अफ्रिकी राष्ट मौरिससविरुद्ध खेल्दैछ । अफ्रिकी राष्ट्रविरुद्ध नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् । सुरुवातमा ३४ सदस्यीय टोली घोषणा भएपनि सन्तोष तामाङले चोट बोकेपछि उनको स्थानमा आर्मीकै जगजित श्रेष्ठ र च्यासलका आशिष राईलाई टोलीमा समेटिएको थियो ।
सोमबार एन्फामा रिपोर्ट गर्ने अधिकांश खेलाडीको पिसीआर परिक्षण सम्पन्न भएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । ‘हामीले सुरुवाती केहि दिन एन्फामै राखेर प्रशिक्षण गर्नेछौं । आज उपस्थित हुने अधिकांश खेलाडीको पिसिआर परिक्षण गरिएको छ । नतिजा नेगेटिभ पनि आएको छ । अब हिजो खेल्ने टोलीका र आज खेल हुने टोलीका खेलाडीको परिक्षण गर्न भने बाँकी रहेको छ,’ उनले जानकारी दिए ।

च्यासलका १९ खेलाडीमा संक्रमण देखिएपछि आइतबार हुने भनिएको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको थियो । च्यासलबाट राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा स्थान बनाएका एकमात्र खेलाडी आशिष भने संक्रमित नभएको च्यासलका व्यवस्थापक शंकर ब्यन्जनकारले जानकारी दिए । उनले आशिष राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुन एन्फा पुगिसकेको जानकारी दिए ।
यता राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले टोलीको छनोट प्रक्रियाबारे केहि दिनमा थाहा हुने बताए । ‘अहिले नै टोली कसरि छनोट हुने भन्ने थाहा छैन । आज खेलाडी आएपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र फिजियो आविष्कार पुडासैनीले खेलाडीको अवस्था हेर्नुहुनेछ । केहि खेलाडी चोट बोकेको भन्ने सुनिएको छ । रिकभर हुन कति समय लाग्छ, त्यो हेर्नेछौं,’ उपाध्यायले सुनाए ।

उपाध्यायले टोलीमा आवश्यक परे अन्य खेलाडी थप्न पनि सकिने जानकारी दिए । ‘अहिले नै यहि भन्ने अवस्था छैन । अब पोजिसन अनुसार खेलाडी बोलाएका छौं । कुनै पोजिसनमा आवश्यक पर्छ भने प्रशिक्षकको माग अनुसार खेलाडी थप्ने विकल्प पनि छ । त्यसका लागि खेलाडीको अवस्था हेरेर मात्र भन्न सकिन्छ,’ उनले थपे ।
३४ सदस्यीय प्रारम्भिक टोली:
गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा
डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, नविन गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई, आशिष राई, जगजित श्रेष्ठ
फरवार्ड : आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल, सुशील राई