default_image

3 years ago

March 13, 2022

फुटबलमै पाँच दशक, उदाहरण र प्रेरणाका श्रोत

257 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

सम्मान माग्ने होइन, आर्जन गर्ने हो । कुनैपनि क्षेत्रमा आफ्नो योगदानकै आधारमा सम्मान आर्जन गर्न त्यति सजिलो भने पक्कै छैन । कुनै विशेष क्षेत्रमा निरन्तर साधना र लगावले मात्र कुनै व्यक्ति सम्मानको हकदार दरिन्छ ।

हाम्रो समाजमा सम्मान आर्जन गर्ने थुप्रै व्यक्तित्व छन् । आ आफ्नो क्षेत्रमा पुर्याएको योगदानका कामकै आधारमा उनीहरुले सम्मान आर्जन गरेका छन् । सम्मान आर्जन गर्न जति कठिन छ, त्यसलाई जोगाइ राख्न उत्तिकै चुनौतीपूर्ण छ, वा भनौं अझ बढी ।

नेपाली फुटबलमा त्यस्तै सम्मान आर्जन गर्ने एक पात्र हुन्, श्रीराम रञ्जितकार । उमेर अनुसार फरक फरक जिम्मेवारी निर्वाह गरेका रञ्जितकारको फुटबलमा संलग्नता रहेको ५० वर्ष अर्थात् आधा शताब्दी पुगिसकेको छ । कुनै पनि क्षेत्रमा लगातार आफूलाई आबद्ध गराइराख्नु चानचुने विषय होइन । त्यो पनि हाम्रो जस्तो देश जहाँ फुटबल अर्धव्यावसायिक रुपमा अघि बढ्न थालेको पनि धेरै भएको छैन ।

फुटबल खेलाडी, फिफा सहायक रेफ्री, रेफ्री, रेफ्री इन्स्ट्रक्टर हुँदै रेफ्री एसेसरका रुपमा मैदानमा आफूलाई सक्रिय राख्दै रञ्जितकारले फुटबलमै पाँच दशक बिताइसकेका छन् । उनका समकालिन अहिले फुटबलमा सक्रिय छैनन् । ६४ वर्षको उमेरमा पनि उनी आफूमा भएको ज्ञान बाँड्न चाहन्छन् ।

यस्तो थियो रञ्जितकारको सुरुवात

२०२८ सालमा पुतलीसडकमा रहेको यति क्लबबाट उनले बी डिभिजन लिग खेल्दै फुटबलमा प्रवेश गरेका थिए । नेपाली बर्मिज टोली थियो । २०२९ सालमा उनले अर्को क्लबबाट बी डिभिजन लिग खेले । अहिले उनलाई त्यसको नाम पनि सम्झना छैन । २०३१-३२ सालमा उनले पहिलो पटक ए डिभिजन लिग खेले, ठमेल ११ बाट । त्यसको दुई वर्षमा न्यूरोड टिम (एनआरटी) पुगेका रञ्जितकारले अधिकांश समय त्यहि क्लबबाट खेले ।

काठमाडौंको टेबहालमा जन्मेका रञ्जितकारले १४ वर्षको उमेरबाटै खेल्न थालेका थिए । त्यति बेला फुटबलको माहौल राम्रो थियो । फुटबल भनेपछि हुरुक्कै हुने समय थियो । टुडिखेल नजिक भएर पनि होला, त्यस वरपरका युवाहरुमा फुटबलप्रतिको मोह गज्जबको थियो ।

रञ्जितकारलाई पनि त्यो माहोलले तानेको थियो । त्यतिबेला फुटबल सौखका लागि खेलिन्थ्यो । अहिले जस्तो फुटबल आम्दानीको श्रोत भने थिएन । त्यतिबेलाको माहोलले पनि स्थानिय खेलाडी थुप्रै तयार भएका थिए । संकटा, एनआरटी, रानी पोखरी कर्नर टिम (आरसिटी) मा स्थानिय खेलाडीकै बाहुल्यता हुन्थ्यो । अहिले ती क्लबमा स्थानिय खेलाडी छैनन् भन्दा फरक पर्दैन ।

सेन्टर डिफेन्डर रञ्जितकारले सन् १९७७ देखि १९९१ सम्म राष्ट्रिय टोलीबाट खेले । सन् १९८४ मा साफ गेम्समा स्वर्ण जित्ने टोलीका सदस्य पनि रहे । सन् १९८८ मा स्वदेशमा भएको नवौं एसियन कप छनोट र त्यसअघि पाकिस्तानमा भएको काइद ए आजममा राष्ट्रिय टोलीको कप्तानी गर्ने अवसर पनि पाए । त्यति बेलाको सफल खेलाडी हुँदै टोलीको कप्तानी गर्न पाउनुलाई उनी खेलाडीको सम्मानका रुपमा लिन्छन् ।

वि.संं २०४१ सालमा पहिलो साफ खेलकुद (१९८४ साफ गेम्स) मा स्वर्ण पदक विजेता नेपाली फुटबल टोली ।

सन् १९९२ को विमान दुर्घटनापछि देशमा रेफ्रीको अभाव देखियो । १९९३ मा तत्कालिन लाइन्सम्यान (हाल फिफा सहायक रेफ्री) का रुपमा उनी नयाँ भूमिकामा प्रवेश गरे । सन् १९९४ उनी फिफा रेफ्री भए । झण्डै एक दशक (२००२) सम्म फिफा रेफ्री भएर जिम्मेवारी निर्वाह गरे । त्यसका क्रममा उनले विश्व कप छनोट, एसिया कप छनोट, ओलम्पिक छनोट खेलाए । उमेर हदका कारण उनले फिफा रेफ्रीबाट अवकाश पाएका थिए ।

त्यसपछि सन् २००५ मा उनी अर्को नयाँ भूमिका रेफ्री इन्स्ट्रक्टरका रुपमा फुटबलमा सक्रिय रहे । जसको मुख्य काम रेफ्री तयार पार्नु थियो । लगावकै कारण उनी फुटबलबाट कहिल्यै अलग रहेनन् । फुटबल सँगसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पनि आबद्ध थिए । तीन दशक भन्दा (२०४१ सालदेखि २०७२ साल) लामो समय खेलकुदमा काम गरेको अनुभव उनीसँग छ । तृतीय श्रृणीको अधिकृतबाट राखेपमा प्रवेश गरेका उनले प्रथम श्रेणीको अधिकृतका रुपमा अवकाश लिएको थिए ।

रञ्जितकारको नजरमा देश भित्रको फुटबलमा देखिएको परिवर्तन

पछिल्लो ५० वर्षदेखि देशको फुटबललाई नजिकबाट नियालेका उनी भन्छन्, ‘५० वर्षमा धेरै परिवर्तन भयो । त्यो स्वभाविक पनि हो । तर, देशको सबैभन्दा ठूलो लिगका रुपमा स्थापित ए डिभिजन लिगमा भने अहिले पनि एकरुपता ल्याउन सकिएको छैन ।‘

‘त्यति बेलोदखि अहिलेसम्म पनि लिग परिक्षणमा नै चलेको छ । दुई वटा समूह बनाएर पनि लिग खेलेको अनुभव छ । त्यतिबेला मैदानको अवस्था निकै खराब थियो । त्यसमा भने अहिले सुधार भएको छ । त्यो बेलाको जस्तो फुटबलको माहोल भने अहिले छैन । आरसिटी, संकटा, एनआरटी, फ्रेन्ड्सका टोलका अधिकांश समर्थक आफ्नो टिमको खेल हेर्न दशरथ रंगशाला पुग्थे । महावीरको खेल हुँदा पूरा डिल्ली बजार बन्द हुन्थ्यो । अहिले त्यस्तो माहोल कहाँ पाउनु ।’

फुटबल रेफ्री बन्न चाहनेका लागि अहिले पहिला भन्दा सहज भएको रञ्जितकार बताउँछन् । ‘पहिला धेरै मिहिनेत गर्नुपर्थ्यो । अहिले त्यो भन्दा सहज छ । सञ्चारको सुविधा छ । प्रविधिका कारण सजिलो भएको छ’, उनले भने, ‘सिक्ने चाहनेका लागि पहिला भन्दा धेरै विकल्प छन् ।’

फुटबलको खेल्ने शैलीमा पनि आफ्नो समयमा भन्दा परिवर्तन आएको रञ्जितकार सुनाउँछन् । ‘खेल्ने शैलीमा परिवर्तन भएको छ । पहिला लङ पास खेलिन्थ्यो । अहिले तलदेखि नै बिल्डअप गरेर लगिन्छ’, उनले थपे, ‘प्राविधिक रुपमा पनि प्रतिभावान खेलाडी छन् । धेरै सिक्ने अवसर छ । प्रशिक्षकहरु पनि पढेर तयार भएका छन् । अहिले उमेर समूहबाट ग्रुम गर्दै लाने माहोल छ । त्यति बेला यू २३ र सिधै राष्ट्रिय टोली मात्र थियो ।’

के दियो फुटबलले ?

रञ्जितकार भन्छन् फुटबलले नै आफूलाई देशभर चिनाएको छ । उनी भन्छन् ‘फुटबलमा नभएको भए यो परिचय हुने थिएन ।’

फुटबलमा समय समयमा देखिने उतारचढाव अरुलाई जस्तै उनलाई पनि राम्रो लाग्दैन । ‘विवादले फुटबल विकासमा बाधा पुर्याएको छ । झगडाले कहाँ पो राम्रो गर्छ र ?, ‘अगाडि थप्छन्, ‘त्यहि देखेर पनि व्यवस्थापनमा जाँउ जस्तो लागेन । खेल जीवन सकिएपछि नै रेफ्रीमा आबद्ध भए ।’

राखेपमा जागिर भएकाले पनि उनलाई फुटबलमा लागि राख्न आर्थिक रुपमा सहज भयो । राखेपमा हुँदा पनि उनले अलग अलग जिम्मेवारी निर्वाह गरे । पौडी, सुटिङ लगायत खेलमा बसेर पनि काम गरे । भिम थापा राखेपमा आएपछि भने उनी अधिकांश समय तालिम विभागमा रहे । पुराना दिन सम्झदै रञ्जिकारले भने, ‘त्यसले पनि मलाई फुटबल बाट टाढा हुन दिएन । सजिलो त केहि पनि छैन ।’

फरक फरक भूमिकामा फुटबलमै ५० वर्ष बिताउँदा रञ्जितकार गर्वको अनुभुती गर्छन् । ‘गर्व महसुस हुन्छ । सबैले सम्मान दिनुहुन्छ । यो उमेरमा पनि आराम गरौं भन्ने हुन्न । सकेको गर्ने हो’, उनको चिन्ता छ, ‘रेफ्रीलाई पढाउनेको हामी कहाँ अहिले पनि समस्या छ । हामी कोशिस गरिरहेका छौं ।’

गत महिना सम्पन्न ए डिभिजन लिग र हाल जारी बी डिभिजन लिगमा उनी रेफ्री एसेसरको रुपमा काम गरिरहेका छन् । भन्छन् , ‘खेल नभएको समयमा अघिल्ला खेलहरुको समिक्षा गछौं । विश्लेषण गर्छौ र त्यसले आउने दिनमा कसरी अघि बढ्ने योजना बनाउन सहज हुन्छ।’

रेफ्री एसेसर वोर्कसपमा रञ्जितकार (बसेको दायाँपट्टि)

लिगका निर्देशक सञ्जिव मिश्रले रञ्जितकारको फुटबलमा सबै खाले भूमिका निकालेका छन् । मिश्रका नजरमा उनी खेलाडीका रुपमा लडाकु र अनुशासित थिए । मिश्रले सम्झिए, ‘देवनारायण चौधरी अघि बल क्लियर गर्न माहिर सेन्टर ब्याक उनै थिए । सुरेश पन्थीको जोडीको रुपमा झण्डै एक दशक राष्ट्रिय टोलीबाट खेलेका राम्रो खेलाडीमध्ये एक हुन् ।’

रञ्जितकारलाई अनुशासन र मिहिनेतले नै सफल बनाएको मिश्रको बुझाई छ । ‘अनुशासित रेफ्री । हत्तपत्त नरिसाउने । रेफ्री, रेफ्री इन्स्ट्रक्टरका रुपमा पनि समर्पित’, रञ्जितकारका बारेमा आफ्नो बुझाए मिश्रले सुनाए, ‘आफ्नो जिम्मेवारी विवाद रहित रुपमा निर्वाह गर्नुहुन्छ। अहिले देशमा भएका अधिकांश रेफ्री उहाँ र बुद्धि गुरुङका उत्पादन हुन् । उहाँ कुशल खेलाडी, रेफ्री, एन्ट्रक्टर र एसेसर हो । उत्तिकै भलाद्मी पनि ।’

व्यक्तिगत स्वभाव, फुटबलमा गरेको मेहनत र प्यासनले रञ्जितकारको नेपाली फुटबलमा अलग पहिचान बनेको छ । नयाँ पुस्ताले उनीबाट सिक्ने धेरै विषय छन् । उनी फुटबलका उदाहरण र प्रेरणाका श्रोत हुन् ।

October 23, 2024

आर्मी र ठमेल टुरिजम क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रा खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम दिन बुधवार जित निकाल्दै आर्मी र ठमेल टुरिजम अन्तिम ८ मा पुगेका हुन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको मैदानमा भएको खेलमा आर्मीले सानोगौचरण नाइटकिङ (एसएनकेसी) लाई […]

October 23, 2024

भारतलाई हराउँदै बंगलादेश समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा सम्पन्न समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल रह्यो । यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि […]

October 23, 2024

नेपाली फुटबल टोलीले थ्री नेसन्स खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ। ताजिकिस्तानमा हुने थ्री नेसन्समा नेपाल र अफगानिस्तान को सहभागिता रहनेछ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाइएका […]

Success

Thank you for your time.