धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल सशस्त्र प्रहरी क्लब एपिएफ धनगढीमा जारी प्रथमराष्ट्रिय मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३-२ गोल अन्तरले हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।

एपिएफलाई फाइनलमा पुर्याउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल गरे । एपिएफलाई सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाईन् । ३४ औं मिनेटमा सरुले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
पहिलो हाफमा २–० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा गोल थप्यो । खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै जित नजिक पुर्याइन् । खेलको ८७ औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै अग्रता घटाईन् । अतिरिक्त समयको ९२ औं मिनेटमा आर्मीका लागि हेमा चौधरीले अर्को गोल गरिन् । त्यसपछि गोल हुन नसकेपछि एपिएफ ३–२ को जित निकाल्दै फाईनलमा पुग्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपिएफकी सरु लिम्बु प्लेयर अफ द म्याच भईन् । वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।
प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगितको उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।