एजेन्सी – युक्रेन यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को छनोट नजिक पुगेको छ । युरोपेली विश्वकप छनोट अन्तरगत सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै युक्रेन प्ले अफको फाइनलमा प्रवेश गर्दै छनोट नजिक पुगेको हो ।

अब युक्रेनले फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ । यस खेलमा सफलता हात पार्ने विश्वकपमा छनोट हुनेछ ।
कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेको अब वेल्स र युक्रेन, अष्ट्रेलिया र युएईविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ ।
हाम्पडेन पार्क ग्लास्गोमा बुधबार राति भएको खेलमा युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टिा डोभ्यकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए ।
खेलको ३३औं मिनेटमा एन्ड्री यार्माेलेन्कोले रुस्लान मालिनोभ्स्कीको पासमा गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाए । ४९औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर पारे । उनले एलेक्सान्डर काराभाइवको पासमा गोल गर्न सफल भएका थिए । ७९औं मिनेटमा कलुम म्याकग्रेगरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अर्टिमले ओलेक्सन्डर जिनचेन्कोको पासमा गोल गर्दै युक्रेनलाई सहज जित दिलाए ।
युक्रेनसँगको हारसँगै स्कटल्यान्डको विश्वकप खेल्ने सपना समाप्त भएको छ । यो खेल गत मार्चमै हुनुपर्ने भएपनि रसियाले युक्रेनमाथि आक्रमण गरेपछि खेल स्थगित गरिएको थियो ।