default_image

3 years ago

June 26, 2022

कलिलो आयुषको बलियो उडान

480 views

0 Bookmark

उत्सव शाक्य, काठमाडौं

नेपाली फुटबलमा पछिल्लो समय उदीयमान खेलाडीका रुपमा आयुष घलानको चर्चा चुलिएको छ । छोटो समयमा नै राष्ट्रिय टोलीमा आफ्नो स्थान स्थापित गर्न सफल १८ वर्षीय आयुष भर्खरै कुवेतमा सम्पन्न एसियन कप छनोटको तेस्रो चरणमा गरेको प्रदर्शनका कारण अहिले निकै चर्चामा छन् ।

हेटौंडा फुर्के चौरका स्थायीबासी आयुषको जन्म काठमाडौंमा भयो र उनी राजधानीमा नै हुर्के बढे । फुटबलमा निकै रुचि भएका उनलाई नयाँबजारस्थित समाज कल्याण खेलकुद केन्द्रमा प्रशिक्षण गर्ने अवसर मिल्यो । प्रतिभाशाली खेलाडीलाई सानो उमेरदेखि नै निशुल्क प्रशिक्षण दिँदै आएको समाज कल्याणमा होमिनु उनको फुटबल करिअरको लागि सुखद सावित भयो ।

सन् २०१५ मा प्रशिक्षक यम गुरुङको नेतृत्वमा फुटबल फेस्टिभलमा सहभागी हुन नेपाल यू – १२ टोली दक्षिण कोरियामा जाने कार्यक्रम थियो । राष्ट्रिय स्तरमा भएको वृहत छनोटपछि घलान पनि टोलीमा समेटिए । औपचारिक प्रतियोगिता नभएपनि पहिलो अन्तर्राष्ट्रिय यात्रामा नै आयुषले अब्बल खेल प्रस्तुत गरे ।

कलिलो उमेरमा नै उत्कृष्ट बल नियन्त्रण र फुटबल सेन्स भएका उनलाई व्यावसायिक फुटबल करियर सुरुवात गर्ने अवसर पनि समाज कल्याण खेलकुद केन्द्रले नै जुरायो । सन् २०१८ मा काठमाडौं जिल्ला लिग र त्यस लगत्तै २०१८/१९ सिजनको सहिद स्मारक सी डिभिजन लिग खेल्दै उनले अधिकारिक लिगमा आफूलाई भित्र्याए ।

समाज कल्याण बढुवा हुन नसकेपछि अर्को सिजन उनले बी डिभिजन क्लब खुमलटारसँग सम्झौता गरे । खुमलटार ए डिभिजनमा चढ्न नसकेपनि प्रशिक्षक राजेश शाही भने उनको खेलबाट निकै प्रभावित भए । त्यसो त प्रशिक्षक शाहीले अघिल्लो वर्ष जिल्ला लिगकै दौरान आयुषलाई देखेका थिए । उक्त प्रतियोगितामा शाहीको टोलीविरुद्ध घलानले शानदार गोल गरेका थिए ।

‘आयुषले हाम्रो टोलीविरुद्ध खेल्दा उनको खेलबाट म निकै आकर्षित भएँ । सो लिगमा हाम्रो भेटपछि मेरो निमन्त्रणामा उ सामाखुसीस्थित मेरो फुटसलमा पनि आउन थाल्यो । त्यसबेला उनको खेल देखेर प्रतिभा अझै निखार्न सक्छु भन्ने मलाई महसुस भयो र उसलाई मैले बी डिभिजन लिगका लागि खुमलटारमा आबद्ध हुन प्रस्ताव गरें,’ शाहीले आयुषसँगको पहिलो भेट र खुमलटारमा आबद्ध गर्दाको क्षण सम्झे ।

आयुषकै प्रभावले खुमलटार बी डिभिजनमा दोस्रो हुन सफल भएको प्रशिक्षक शाहीको अनुभव छ । ‘मैले आयुषबाट जे खोजेको र चाहेको थिएँ, उसले मैदानमा ठीक त्यही दियो । लिगमा उसले ठ्याकै कति गोल गर्यो त सम्झन सकिन तर ७ वटा एसिस्ट थियो । उनलाई नै पेनाल्टी क्षेत्रभित्र फाउल गर्दा टोलीले ५ पेनाल्टी पनि पाउन सफल भएको थियो । आक्रमणमा उनको प्रभावशाली प्रदर्शनले नै हामी लिगमा दोस्रो हुन सफल भएका थियौं भन्नेमा कुनै दुइमत छैन,’ बी डिभिजन लिग स्मरण गर्दै शाहीले भने ।

विंगमा खेल्न मन पराउने उनको फुटवर्क निकै राम्रो छ । विपक्षी डिफेन्सलाई उनको सामना गर्न निकै गाह्रो पर्दछ । शारीरिक रुपमा झट्ट हेर्दा कमजोर बनोट देखिने भएपनि उनको फुर्तिलो र निडर स्वभावले खेललाई पनि निकै सहयोग पुगेको छ ।

आयुषले व्यावसायिक करिअरमा एकपछि अर्को फड्को मार्दा शाहीको ठूलो भूमिका छ । बी डिभिजन लिग लगत्तै नेपाल सुपर लिगमा आयुषले अर्को फड्को मारे । ए डिभिजन र राष्ट्रिय टोलीका खेलाडी नै छनोटमा नपरेको अवस्थामा आयुषले ट्यालेन्ट हन्टमार्फत शाही सहायक प्रशिक्षक रहेको पोखरा थन्डर्समा अवसर पाए ।

प्रतियोगिता सुरु हुने मुखैमा मुख्य प्रशिक्षक नविन न्यौपानेमा कोभिड -१९ को संक्रमण देखिएपछि शाहीले नै कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निर्वाह गरे । शाहीले आयुषलाई एनएसएलको पहिलो खेलमा सुरुवाती ११ मै मौका दिए, तर सोचेजस्तो प्रदर्शन हुन सकेन ।

‘एनएसएलको पहिलो खेलमा हामीले सुरुवाती ११ मा नै मौका दियौं । शीर्ष श्रेणीको फुटबलमा पहिलो पटक भएर होला हामीले सोचे अनुरूप प्रदर्शन भएन । अरु खेलमा हामीले दोस्रो हाफमा मैदान उतार्यौं र योजना अनुसार प्रभाव पनि देखियो,’ शाहीले भने ।

एनएसएलमा कम समय खेलेपनि आयुषको प्रदर्शन र प्रतिभाबाट राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षणमा समावेश गरे । त्यसयता उनले डेब्यु गर्दै टोलीमा नियमित स्थान बनाए । सिनियर खेलाडी अनुपस्थित भएपछि त पछिल्लो प्रतियोगितामा उनले सुरुवाती रोजाइमा नै खेले ।

आयुषको सफलतामा शाही निकै हर्षित छन् । ‘आयुषको मिहिनेतकै कारण यो यात्रा सम्भव भएको हो । व्यावसायिक फड्कोमा साथ दिएको खेलाडी राष्ट्रिय खेलाडी हुँदा र यसमा मेरो नाम जोडिंदा असाध्यै खुसी लाग्छ । प्रशिक्षकको रूपमा चिनिन पाउँदा मेरो लागि र मैले रोजेको पेशा प्रति गर्वको कुरा हो । आगामी दिनमा अझै राम्रो गर्दै जानेमा आशावादी छु,’ शाहीले भने ।

आयुषले सन् २०२१ जुनमा फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले त्यसपछि माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय गोल गरे । आयुष पहिलो गोल गर्दाको क्षण अझै सम्झन्छन् ।

‘युवा भएपनि टोलीमा सबैले एकदम विश्वास गर्नुभएको थियो । उहाँहरूको विश्वास मलाई तोड्नु थिएन । मैले टोलीको लागि गोल गर्नुपर्छ भन्ने भावनाका साथ मैदान प्रवेश गरेको थिएँ र गोल गर्न सफल पनि भएँ । गोल गरेपश्चात् प्रशिक्षक, व्यवस्थापक र सम्पूर्ण टोलीको विश्वास तोडिएन भन्ने कुराले निकै खुसी लाग्यो । देशको निम्ति पहिलो गोल गर्दा गौरव महसुस पनि भयो,’ उनले भने ।

आयुषको अबको योजना भने विदेशी लिग खेल्ने रहेको छ । ‘अझै धेरै मेहेनत गर्दै जानेछु । देशको लागि धेरै योगदान दिन बाँकी छ । आफ्नो खेलमा अझ सुधार गर्दै विदेशी लिग खेल्न जान मन छ । त्यसका लागि शत प्रतिशत मेहेनत गर्नेछु । समग्रमा भन्नुपर्दा विदेश बाट सिकेका कुरा यहाँ उपयोग गरेर देशको झन्डा अझै उचाइमा फरफराउने इच्छा छ,’ उनले थपे ।

आयुषले पछिल्लो सिजन थ्री स्टार क्लबबाट खेलेका थिए । मोटो रकममा अनुबन्धित उनले सोचे अनुरुप प्रदर्शन गर्न भने सकेनन् । लिग अवधिभर एक गोल मात्र गरेका उनले चोटका कारण पनि संघर्ष गर्नुपर्यो । लिगको पहिलो अनुभव सुखद नरहेपनि उनलाई आफ्नो कमजोरी सुधार्ने ठाउँ थाहा छ । आउने दिनमा आफ्नो प्रदर्शन सुधार्दै आफ्नो क्लबबाट थप सफलता हासिल गर्ने आयुषको लक्ष्य छ ।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.