एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि पउल पोग्बाले फ्रि ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्स फर्कने तयारी गरेका छन् ।

२९ वर्षीय फ्रान्सेली मिडफिल्डरले आफ्नो स्थानान्तरण पूरा गर्न यसै साता मेडिकल गर्ने बुझिएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाटै ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा युनाइटेड आएका थिए ।
युनाइटेड र पोग्बाबीच नयाँ सम्झौतामा सहमत हुन असफल भएपछि क्लबले जुनको सुरुमै पोग्वाले क्लब छाड्ने पुष्टि गरेको थियो । पोग्बाले युभेन्टसको अमेरिका भ्रमणअघि नै अर्को हप्ता युभेन्टससँग प्रशिक्षण सुरु गर्ने बुझिएको छ । अमेरिका भ्रमणमा युभेन्ट्सले २७ र ३० जुलाईमा बार्सिलोना र रियल म्याड्रिडसँग खेल्ने तालिका छन् ।
युभेन्ट्स लगातार दोस्रो सिजन च्याम्पियन एसी मिलानभन्दा १६ अंकले पछि रहँदै यो सिजन सिरी ए मा चौथो स्थानमा रह्यो । त्यस सिजनभन्दा अघि युभेन्ट्स इन्टर मिलानसँग पछि परेको थियो । त्यसअघि युभेन्ट्स लगातार ९ सिजन च्याम्पियन बनेको थियो ।
पोग्बाले २०१२–१३ को सिजनदेखि २०१५–१६ को सिजनसम्म युभेन्ट्सले सिरी एको उपाधि जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए । उनले आफ्नो अघिल्लो स्पेलमा १७८ खेलमा ३४ गोल गरेका थिए । पोग्वा २०१२ मा युनाइटेडको एकेडेमीबाट निशुल्क नै समावेश भएका थिए ।
ओल्ड ट्राफोर्डमा आफ्नो पहिलो सिजनको दौडान, पोग्बाले युनाइटेडलाई इएफएल कप र युरोपा लिग जिताउन मद्दत गरेका थिए । तत्कालीन प्रबन्धक जोसे मोरिन्होसँगको असहमतिपछि उनले युनाइटेडको उपकप्तान पद गुमाउन पुगेको थियो । चोटका कारण पनि उनी केही समय मैदान बाहिर रहे ।
सन् २००९ मा १६ वर्षको उमेरमा ले हाभ्रेबाट युनाइटेड एकेडेमीमा भर्ना भएका पोग्बाले फ्रान्सले २०१८ मा रूसमा भएको विश्वकप जित्दा टोलीका सदस्य थिए । २०१८–१९ मा युनाइटेडका लागि १६ गोल गरेका उनले त्यसपछि आफ्नो लयलाई निरन्तरता दिन सकेका छैनन् ।
पछिल्लो तीन सिजनमा उनले ९१ खेलमा ८ गोल गरेका छन् । पोग्बाले क्लबमा आफ्ना दुई स्पेलमा २३३ खेलमा ३९ गोल गरेका छन् ।