default_image

2 years ago

August 7, 2022

फुटबल खेलाडीको‌ नियति – खेपको‌ भर र पलायनको डर

सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीबाट खेलिरहेका र पुनः खेल्ने सम्भावना रहेका कतिपय फुटबल खेलाडी हालसालै विदेशिएका छन् । त्यसले अर्धव्यवसायिक मानिएको फुटबलबाट पनि जीविकोपार्जनको सम्भावना नदेखेर लगातार खेलाडीहरु पलायन भइरहेको बहस फेरि एकपटक छेडिएको छ । घरेलु फुटबल गतिविधि हुने नहुने अन्यौल बढेपछि शीर्ष डिभिजन लिगमा प्रभाव जमाएका झन्डै दर्जन खेलाडी पछिल्लो एक डेढ महिनामा […]

215 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

राष्ट्रिय टोलीबाट खेलिरहेका र पुनः खेल्ने सम्भावना रहेका कतिपय फुटबल खेलाडी हालसालै विदेशिएका छन् । त्यसले अर्धव्यवसायिक मानिएको फुटबलबाट पनि जीविकोपार्जनको सम्भावना नदेखेर लगातार खेलाडीहरु पलायन भइरहेको बहस फेरि एकपटक छेडिएको छ । घरेलु फुटबल गतिविधि हुने नहुने अन्यौल बढेपछि शीर्ष डिभिजन लिगमा प्रभाव जमाएका झन्डै दर्जन खेलाडी पछिल्लो एक डेढ महिनामा पलायन भइसके । चाँडै फुटबल हुन्छ भन्ने आशा बोकेर स्वदेशमै रहेका खेलाडी खेल्नका लागि भारत पसेका छन् । फुटबलको बोलीचालीको भाषामा जसलाई ‘खेप हान्ने’ भनिन्छ ।

खेप – सामान्यतया खेपको अर्थ एक पटक भन्ने बुझिन्छ । सामान ओसारपसार गर्दा एक पटकको भारीलाई एक खेप भनिन्छ । नेपाली फुटबलमा खेपको अर्थ प्रत्यक खेलको आधारमा नयाँ टोलीबाट पैसा लिएर खेल्नु बुझ्नुपर्ने हुन्छ । पछिल्लो समय देशमा फुटबल ठप्प हुँदा यही ‘खेप’ नै फुटबल खेलाडीको जीविकोपार्जन गर्ने आधार बनेको छ ।

विशेषगरी अगस्ट महिनामा नेपालको पूर्व सीमावर्ती क्षेत्रमा भारतका विभिन्न राज्यमा नकआउट प्रतियोगिता हुन्छन् । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर स्थानीय रुपमा आयोजना हुने त्यस्ता प्रतियोगितामा राष्ट्रिय टोलीका लागि कप्तानी गरिसकेका खेलाडी समेत खेलिरहेका छन् । नेपालमा फुटबल गतिविधि शून्य भएसँगै जीविकोपार्जनकै लागि अहिले सयौंको संख्यामा नेपाली खेलाडी भारत पसेका हुन् ।

भारत पुगेका खेलाडी अगस्ट १५ को फाइनलपछि स्वदेश फर्कन्छन् नै । राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी जीविकोपार्जनकै लागि छिमेकी देशका स्थानीय प्रतियोगिता खेल्न जानुपर्ने स्थितिले देशको फुटबल हेर्ने कार्यकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई गिज्याइरहेको छ ।

रञ्‍जित धिमाल, छिरिङ गुरुङ, संजोक राई र विशाल राई सबैले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

स्वदेशमै बसेका वा भनौं बस्न बाध्य भएका खेलाडीले अगस्ट महिनामा खेप खेलेर केहि पैसा कमाउछन् । तर थोरै पैसाका लागि अत्याधिक जोखिम उठाउनु परिरहेको छ । स्थानीय यस्ता प्रतियोगिता खेल्न कमै मात्र खेलाडीले व्यावसायिक क्लब भेट्छन् । खेलाडी आफू–आफू जम्मा भएर टोली निर्माण गरेर प्रतियोगिता खेल्न जाने चलन पनि छ । यस्तोमा खेलाडीलाई चोट लागेमा वा कुनै दुर्घटना भइहाले त्यसपछिको भयावह स्थिति कल्पना बाहिरको हुन्छ ।

‘खेप’ हान्ने प्रतियोगिता हुने खराब मैदान हेर्दा आङ सिरिंग हुने खालका हुन्छन् । स्थानीय प्रतियोगिता भएकाले कतिपय ठाउँमा खेलाडीले बसोबासकै लागि निकै कठिनाइ भोग्नुपर्छ । प्रतियोगिता जितेको अवस्थामा पैसा त आउँछ, तर टोली हार्यो भने रित्तो हात फर्कनुपर्ने डर पनि उस्तै हुन्छ ।

पुजन उपरकोटीले राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए भने दिलन बन्द प्रशिक्षणमा परेका खेलाडी हुन् ।

राष्ट्रिय टोलीबाट समेत खेलिसकेको एक खेलाडी ‘खेप’ हान्न बाध्यताले अघिल्लो साता छिमेक पसेको बताउँछन् । ‘विकल्प नै छैन । घर बस्न पनि त दैनिक खर्च त चाहियो । क्लबले सम्झौता गरेको छैन । घर त चलाउनै पर्यो । त्यसैले यता आएँ,’ उनले भने ।

ती खेलाडीका अनुसार नेपालमा क्लबसँग सम्झौता भएपनि नियमित पारिश्रमिक पाइदैन । स्वदेशमा फुटबल नै नभएको अवस्थामा दुई साता खेलेर प्रतियोगिता जिते केही महिना घर चल्ने बताए । ‘यहाँ आएर पैसा त्यस्तो धेरै त छैन । तर फाइनल जित्न सक्यो भने, प्रतियोगिता जितेको भन्दापनि यहाँ शुभचिन्तक र क्लबले राम्रो पैसा दिन्छन् । त्यसले २–३ महिना घर खर्च टर्छ । नेपालमा क्लबले दिएजति त हुँदैन, तर जानेको खेल्न हो । पैसा त कमाउनै पर्यो,’ उनले थपे ।

राजेन्द्र रावल, अन्जन विष्ट, आदित्य चौधरी र अभिषेक रिजालले राष्ट्रिय टोलीबाट खेलेका छन् ।

नेपालको पूर्वी क्षेत्रमा नाम चलेका एक खेलाडी सीमावर्ती क्षेत्रमा हुने अगस्ट कपमा नेपाली खेलाडीको संख्या यस पटक अस्वभाविक रुपमा बृद्धि भएको सुनाउँछन् । उनले भने ‘मैले अगस्ट कपमा टिम निर्माण गरेर जान थालेको एकदशक बढी भइसक्यो । तर यसपटक जस्तो खेलाडी देखेको पहिला देखिएको थिइनँ । राष्ट्रिय टोलीका खेलाडी समेत खेल्न आएका छन् ।’

यस्ता प्रतियोगिताको पुरस्कार राशी निकै कम हुने भएपनि जित हासिल गरे खेलप्रेमी र क्लबले सम्मान गर्दा राम्रो कमाइ हुने उनले बताए । ‘प्रतियोगिता जितेर त खासै पैसा हुन्न । आयोजकले त्यस्तै २–३ लाख भारतीय रुपैयाँ को प्रतियोगिता गर्ने हो । तर आफ्नो खेल दर्शक र क्लबका मान्छेले मन पराए भने दिल खोलेर नगदसहित सम्मान गर्छन् । मैदान त अब त्यस्तै हो, जसो तसो राम्रो खेल्नुपर्छ,’ उनले भने ।

१ सय ६२ दिन । दशरथ रंगशालामा नेपाल एपीएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको पनि ५ महिना बढी भइसकेको छ । लिग सकिएको यति लामो समय बितिसक्दा पनि एन्फाले अर्को लिगको मिति त परै जाओस् क्लबहरुसँग बैठक समेत गर्न सकेको छैन । एन्फाको नयाँ कार्यसमितिको दोस्रो बैठक समेत बस्ने सकेको छैन भने क्लबहरुसँगको बैठक त परकै विषय भयो । यसले लिग हुने नहुने अन्यौलता झन् बढ्दो छ ।

हाल राष्ट्रिय टोलीमै रहेका केहि खेलाडी गत महिना अष्ट्रेलिया पुगे । स्वदेशमा तत्काल फुटबल हुने सम्भावना नदेखेपछि त्यसअघि पनि केही खेलाडी अष्ट्रेलिया पुगेका थिए । विंगर जगजित श्रेष्ठ पनि लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका छन् । फुटबल सिजन चल्दा खेल्न स्वदेश आउँछन् र अफ सिजनमा फर्कन्छन् । तर पछिल्लो समय घरेलु फुटबल नै नभएपछि उनले सामाजिक संजालमार्फत आफ्नो अभिव्यक्ति दिँदै आएका छन् ।

‘लाग्छ फूटबल करीयरलाई साँझ बनाइदिउँ ।
अनि‘ बत्तीहरु सबै निभाइदिउँ ।
अँध्यारोमा जर्सी र बुटमा पेट्रोल छरेर ,
खेल नगराउनेको हातमा सलाइ दिउँ ।
अनी जलाइदिउ ।’

जगजितले लेखेको माथिको पंक्तिले पनि फुटबल नहुँदा खेलाडीमा कस्तो असर परेको छ भन्ने उदाहरण हो । जगजितलाई नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनका लागि काठमाडौं रेजर्सले खरिद गरेको थियो । उनले पछिल्लो पटक मौरिससविरुद्ध भएको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीबाट पूनरागमन पनि गरेका थिए । ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबबाट प्रभाव जमाएपछि उनी राष्ट्रिय टोलीमा फर्केका थिए ।

जगजितजस्तै हाल विदेश पलायन भएका खेलाडी पनि लिग फुटबल नियमित भएको अवस्थामा स्वदेश फर्कने सम्भावना रहन्छ । राष्ट्रिय टोलीमा रहेकै बेलामा हेमन गुरुङ, एलन न्यौपाने, विमल बस्नेत लगायत खेलाडी दुई वर्षअघि पलायन भएका थिए । यसपटक राष्ट्रिय टोलीमा रहेका दर्शन गुरुङ, सन्तोष तामाङ, नविन गुरुङ, हेमन्त थापामगर, विमल राना लगायत खेलाडी अष्ट्रेलिया पुगेका छन् । थप केही खेलाडीले भिसा प्राप्त गरिसके त कति आवेदन भरेर भिसा पर्खाइमा छन् ।

नयाँ नेतृत्व आएपछि एन्फाले प्रतियोगिता गर्ने छाँटकाँट छैन । आफ्नो आयोजना त छैन नै, नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टसँग सम्झौता गरेर एक संस्करण आयोजना भएको एनएसएल पनि गर्न दिइरहेको छैन । चैतमा गर्ने भनेर तालिका निर्धारण गरिएको लिग एन्फाको चुनावी माहोलका कारण स्थगित भएको थियो । त्यसबेला एन्फाको चुनाव सकिएपछि भदौंमा गर्ने प्रारम्भिक मिति पनि दिएको थियो । तर एन्फा निर्वाचन सकिएर कार्यसमितिको बैठक बस्न नसक्दा एनएसएल पनि अन्यौलमा परेको छ ।

केही महिनाअघि न्युजिल्यान्ड पुगेका डिफेन्डर निरज बस्नेतले सामाजिक संजालमा वर्तमान परिस्थिति झल्काउने स्ट्याटस लेखे । उनले लेखेका थिए, ‘म भन्छु विदेश जानु पर्छ , म लगायत जति पनि जानु भयो खेलाडी साथीहरु राम्रो गर्नु भयो किनभने घर चलाउन व्यावसायिक हुनुपर्यो । पैसा चाहियो, जादु मन्त्रले घर चल्दैन । साँच्चिकै आवाज उठाउन राम्रो हो तर देश को खेलकुदको स्थिति हेर्दा आवाज हैन खेलाडी साथीहरु पासपोर्ट उठाउँदा राम्रो हो । जो नै म गर्छु भनेर आएपनि पदमा पुगेपछि सबै गजिनी हुन्छन् ।’

निरजको भनाइ अधिकांश खेलाडीको भोगाई हो । संकटा क्लबका लागि नियमित रुपमा खेल्दै लिगमा प्रभाव जमाएपनि उनी राष्ट्रिय टोलीको हिस्सा हुन सकेनन् । फुटबल खेलाडीका रुपमा नियमित तलब बुझ्न कि विभागमा जानुपर्छ कि त राष्ट्रिय टोलीमा पर्नुपर्छ । त्यो अवस्थामा मात्र नियमित तलब आउँछ । नत्र क्लबले लिगको बेलामा गर्ने सम्झौता लिग अवधिपछि लागु हुँदैन । संकटामा उनले उच्च प्रदर्शन गरेपनि सेन्टर ब्याकको कमी भएको राष्ट्रिय टोलीमा नपर्ने प्रष्ट भए । नतिजा उनले पनि पलायनकै बाटो रोजे ।

त्यसो त अहिले पनि राष्ट्रिय टोलीमा रहेका खेलाडीले पलायन रोजेका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनपछि राष्ट्रिय टोलीमा हलचल मच्चिएको छ । उनले सिनियर १० खेलाडीलाई एन्फा चुनावअघि विवादमा तानेर टोलीबाट बाहिर निक्लिन बाध्य पारे । तत्कालिन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र व्यवस्थापनसँग मिलेर खेलाडीलाई मानसिक रुपमा निकै दबाबमा राखे । चुनावी समिकरणलाई खेलाडी प्रयोग गरेर नाप्न खोज्दा राष्ट्रिय टोली नै दुर्घटनामा पर्यो भन्दा दुइमत नहोला ।

एन्फा चुनावमा शेर्पा पराजित हुनुको मुख्य कारणमध्य अलमुताइरी र खेलाडीबीच विवाद पनि एक मानिन्छ । देशका लागि वर्षौं योगदान दिएका खेलाडीको कदर गर्न नसकेका भन्दै केहि मताधिकार भएका क्लबले पंकज विक्रम नेम्बाङलाई समर्थन गरे । तर दुर्भाग्य, नयाँ नेतृत्वले पनि खेलाडीको समस्याको सम्बोधन अहिले सम्म गर्न सकेको छैन ।

अलमुताइरी सामाजिक संजालमा नेपाली फुटबललाई लिएर आफ्नो धारणा राखिरहेका छन् । उनी सम्झौता अनुसार नेपालको प्रशिक्षक पदमा छन् । छानविन समितिको निर्णयले उनको विकल्प खोज्न एन्फालाई निर्देशन दिइसकेको छ । त्यसै प्रतिवेदन अनुसार खेलाडीले आफ्नो कारवाहीस्वरूप एसियन कप छनोट गुमाइसके । तर अलमुताइरीको सामाजिक संजालमा समर्थकसामू प्रस्तुति हेर्दा लाग्छ, उनी नेपालको फुटबलमा अझै फर्कनेछन् । उनले आफैं अर्को महिना एएफसी यू–२० छनोटका लागि बहराइन जाने बताएका छन् । तर उनको विषयमा एन्फा मौन छ ।

अलमुताइरीको सामाजिक संजालको गतिविधिलाई लक्षित गर्दै अनुभवी डिफेन्डर रंजित धिमालले सामाजिक संजालमार्फत नै असन्तुष्टि व्यक्त गरेका छन् । अंग्रेजीमै आफ्नो अभिव्यक्ति दिने क्रममा उनले एनएसएल रोक्न प्रशिक्षक अलमुताइरीको पनि भूमिका रहेको आरोप लगाएका छन् ।

त्यसो त राष्ट्रिय टोलीमा रहेका खेलाडी विदेश पलायन हुनुले एन्फामाथि ठूलो प्रश्न खडा भएको छ । स्थायी जागिर भएको र राष्ट्रिय टोलीमा रहेका खेलाडीले देश छोड्नुपर्ने अवस्थाले आउने पिंढीलाई राम्रो संदेश जाँदैन । पछिल्लो समय राष्ट्रिय टोलीभित्र अनावश्यक राजनीतिकरणले पनि खेलाडी पलायन भएको आँकलन गर्न सकिन्छ । राष्ट्रिय टोलीमा लामो समय खेलेका खेलाडीलाई जुन किसिमको व्यवहार गरियो, त्यसले पक्कैपनि नयाँ पुस्तामाझ राम्रो संदेश गएको छैन ।

प्रशिक्षक अलमुताइरीले पछिल्लो समय युवा खेलाडी समेट्दै भविष्यका लागि टिम बनाउने भनिरहेका छन् । तर जुन खेलाडीलाई उनले राष्ट्रिय टोलीबाट निकाले, उनीहरु निकै कम उमेरमा सिनियर टोलीमा प्रवेश गर्दै उच्च विन्दुमा खेलिरहेका थिए । सधैं युवा युवा मात्र भनिरहने हो भने अनुभवी खेलाडीले के घरेलु लिग मात्रै खेल्ने हो ? खेलाडीको स्तर हेर्दा विदेशी टोलीले अनुबन्ध गरिरहेका खेलाडी नेपाली टोलीका लागि लायक छैनन त भन्न मिल्दैन ।

रञ्जितले लेखेको आधारमै भन्दापनि टोलीभित्र अनावश्यक द्वन्द्व पैदा गर्दै खेलाडीबीच समस्याको विजारोपण गरेको भन्न सकिन्छ । प्रशिक्षकले खेलाडी भन्दा पनि आफ्नो बारेमा बढी सोचेको बुझ्न कठिन छैन । तत्कालिन एन्फा नेतृत्व र प्रशिक्षक अलमुताइरीबीच गहिरो र मजबुत सम्बन्ध कसैबाट लुकेको थिएन । त्यसैको मार निर्वाचनमा पुरानो नेतृत्वलाई पर्यो । त्यसको फाइदा अर्को पक्षलाई भयो । जुन पक्षले अहिले एन्फामा नेतृत्व गरिरहेको छ । तर नयाँ नेतृत्व आइसक्दा पनि राष्ट्रिय टोलीभित्रको समस्या कसरी सुल्झन्छ भन्ने आँकलन गर्न सकिन्न ।

अनुभवी खेलाडी र पछिल्लो पटक टोलीमा परेका युवा खेलाडीबीच आन्तरिक द्वन्द्वको अवस्था सिर्जना भएको छ । सामाजिक संजालमा पनि खेलाडी र प्रशिक्षकहरु गुटमा बाँडिएका छन् । समर्थकहरुमा झनै स्थिति भयावह छ । कतिपय समर्थक अलमुताइरीको पक्षमा देखिन्छन् त कति विरुद्धमा । समर्थकबीचनै द्वन्द्वको स्थिति हुनु सामान्य होइन । एकताको प्रतिक मानिने खेलकुदले अहिले सबैलाई विभाजित परेको अवस्था छ ।

विगतमा एन्फाले आधिकारिक फुटबल गतिविधिमा पनि समस्या थियो । लिग निरन्तर नहुनु पुरानै समस्या थियो, जुन बिस्तारै सुधारोन्मुख देखिएको थियो । लिग नभएको अवस्थामा पनि मोफसल प्रतियोगिता हुने गर्दथे र राष्ट्रिय टोलीमा खेलाडी छान्नका लागिसमस्या थिएन । तर अहिले एन्फाले न मोफसल लिग गर्न दिएको छ न आफ्नो कुनै योजना छ । नयाँ प्रयोगका रुपमा आएको एनएसएल पनि अघि बढेको छैन ।

अझ देशकै प्रतिष्ठासँग जोडिएको राष्ट्रिय टोलीको अवस्था के छ भन्ने नै प्रष्ट छैन । यस्तो अवस्थाले खेलाडी भविष्य सुनिश्चित गर्न पलायनको बाटो रोज्न बाध्य भएका हुन् । यसमा जति एन्फाको वर्तमान नेतृत्व दोषी छ त्यति नै दोष पछिल्लो कार्यसमितिलाई पनि जान्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.