default_image

3 years ago

September 22, 2022

नेपालजस्तो ७ साता होइन, ७ वर्षअघि सुरु भएको थियो च्याम्पियन बंगलादेशको तयारी

258 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपालमा आयोजना भएको महिला साफ च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ७ साताको तयारी गरेको थियो । प्रशिक्षक कुमार थापाले टोली तयार गर्नका लागि ७ साता समय पर्याप्त रहेको बताएका थिए ।

उपाधि जित्ने लक्ष्यसाथ मैदान ओर्लिएको टोली फाइनलमा बंगलादेशसँग पराजित भयो । भारतलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको नेपाली टोली उपाधिबाट विमुख भएपछि प्रशिक्षक थापाले फाइनल सकिएलगत्तै पोस्ट म्याच कन्फरेन्समा राजीनामा दिने घोषणा गरे ।

थापाले पद छाड्ने घोषणा गरेको केहि मिनेटमा बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोनले आफ्नो लामो प्रशिक्षण यात्राको सुखद घडीको रुपमा फाइनललाई बयान गरे । सन् २०१६ मा नेपाली टोलीले साफ च्याम्पियनसिपको चौथो संस्करण खेल्दा नेपालको प्रशिक्षक कुमार थापा र बंगलादेशको प्रशिक्षक गोलाम रोब्बानी छोटोन नै थिए । फरक यो रह्यो, छोटोनमाथि बंगलादेश फुटबल महासंघले विश्वास गर्दै महिला फुटबलमा लगानी गरिरह्यो । नेपालमा भने थापापछि दुई प्रशिक्षक आएर पुन: ६ वर्षपछि उनले नै जिम्मेवारी पाए ।

सन् २०१६ साफमा थापा प्रशिक्षक रहँदा भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्नबाट चुकेको थियो । सिलिगुडीमा भएको उक्त साफ च्याम्पियनसिपमध्य २० खेलाडीमध्य थापाले ६ नयाँ खेलाडी समेटेका थिए । त्यसपछि एन्फामा कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमिति आएपछि थापाले थाहा नै नपाइ हरि खड्काले प्रशिक्षकको जिम्मेवारी पाए ।

खड्काको नेतृत्वमा नेपालले २०१८ नोभेम्बरमा ओलम्पिक छनोटको पहिलो चरण खेल्यो । तीनै खेलमा बराबरीपछि नेपाल छनोटमा अघि बढ्न सक्यो । नेपालले भारत, म्यानमार र बंगलादेश तीनै टोलीसँग १-१ को बराबरी खेलेको थियो ।

नेपालले २०१९ फेब्रुअरीमा भारतमा सम्पन्न गोल्डकपको समूह चरणमा पहिलो पटक भारतलाई हराउँदै फाइनल पुग्यो । तर उपाधि भिडन्तमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो । लगत्तै अर्को महिना नेपालले विराटनगरमा पाँचौ महिला साफ च्याम्पियनसिप खेल्यो । फाइनलमा नेपाली टोली पुन: एकपटक भारतसँग पराजित भयो । यसबीचमा उमेर समूहका प्रतियोगितामा पनि नेपालले सहभागिता भने जारी राख्यो । उमेर समूहमा भने नेपालको प्रतियोगिता पिच्छे प्रशिक्षक परिवर्तन भए ।

साफमा पराजित भएको अर्को सातामै नेपाल ओलम्पिक छनोटको दोस्रो चरण खेल्न म्यानमार पुगेको थियो । त्यहाँ समूह चरणमा म्यानमार र भारतसँग पराजित भएपछि नेपालको छनोट यात्रा समाप्त भयो । नेपालले अन्तिम खेलमा भने इन्डोनेसियालाई २-१ ले हराएको थियो ।

२०१९ सेप्टेम्बरमा खड्काकै नेतृत्वमा टोली उज्बेकिस्तानको नादेझ्दा कपमा सहभागी भयो । त्यहाँपनि टोली फाइनलमा उज्बेकिस्तानसँग नै पराजित भएको थियो । २०१९ को डिसेम्बरमा १३ औं सागमा पनि नेपाल फाइनलमा भारतसँग नै पराजित भयो । सागमा रजत पदकमा सिमित भएपछि भने खड्काले प्रशिक्षक पद त्याग्ने घोषणा गरे । तर त्यसको केही साता अघि नै उनी एन्फाको महिला विभाग प्रमुखमा नियुक्त भएका थिए । खड्काले प्रशिक्षक पद छोडेपनि महिला फुटबलको गतिविधिमा अझ बढी जिम्मेवारीमा काम गर्ने भए ।

कोभिड महामारीपछि नेपाली महिला फुटबल टोलीले २०२१ मा एसियन कप छनोटको तयारीका लागि बंगलादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भयो । एन्फाले त्यसबेला टेक्निकल डाइरेक्टरका रुपमा कार्यरत अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई प्रशिक्षकको जिम्मेवारी सुम्पियो । एएफसी परियोजना अन्तर्गत टेक्निकल डाइरेक्टर बनेका उनले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा एक जित र एक हारको नतिजा निकाले ।

तर निकै महत्त्वका साथ हेरिएको एसियन कप छनोटमा भने नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । छनोटको पहिलो खेलमा फिलिपिन्सलाई दबाबमा राख्दै अग्रता लिएको अवस्थामा इन्ज्युरी समयमा दुई गोल खाएपछि नेपाल पराजित भयो । अन्ततः सोही हार नेपालको एसियन कप यात्राको तगारो बन्यो । नेपाल घर फर्कंदा फिलिपिन्स २०२२ जनवरीमा भारतमा सम्पन्न एसियन कपको सेमिफाइनलमा पुग्दै विश्वकपमा स्थान बनाउन सफल रहयो । नेपाल नयाँ प्रशिक्षकको खोजीमा रहँदा फिलिपिन्स अर्को वर्ष हुने विश्वकपको तयारीमा रहेको छ ।

साफले सन् २०१० मा महिला च्याम्पियनसिपको सुरुवात गर्दा प्रशिक्षक गोलाम रोब्बानी छोटोन थिए । उनै छोटोन रंगशालामा सोमबार भएको फाइनलमा टोलीको प्रशिक्षण सम्हालिरहेका थिए । छोटोन आफ्नो टोलीको भाग्य भने सन् २०१६ मा फेरिएको बताउँछन् । थाइल्याण्डमा भएको एएफसी छनोटमा सफल भएपछि बंगलादेशले उक्त टोलीलाई एक वर्ष क्याम्पमा राखेर प्रशिक्षण दियो ।

सन् २०१७ मा भिएतनाममा सम्पन्न एएफसी यू-१६ च्याम्पियनसिपमा बंगलादेश एसियाली पावरहाउस उत्तर कोरिया, जापान र अष्ट्रेलियाको समूहमा थियो । पहिलो खेलमा कोरियासँग ९-० ले पराजित भएपछि टोलीले दोस्रो खेलमा जापानसँग ३-० को हार बेहोर्यो । तेस्रो खेल भने केही फरक रहयो । अष्ट्रेलियाविरुद्ध नवौं मिनेटमा गोल खाएपनि बंगलादेशले ४५ औं मिनेटमा साम्सुनाहारको गोलमा बराबरी गर्यो । मोनिका चक्माले ५१ औं मिनेटमा अग्रता पनि दिलाइन् । तर खेलको अन्तिम समयमा दुई गोल खाएपछि टोली पराजित हुन पुग्यो ।

प्रशिक्षक छोटोन उक्त प्रतियोगितापछि बंगलादेश फुटबल महासंघले महिला फुटबलको सम्भावना देखेर लगानी गर्न थालेको बताउँछन् । ‘हामीले एएफसीको त्यो प्रतियोगितामा हार बेहोर्यौं । तर जापान र अष्ट्रेलिया, एसियाका बलिया टोलीविरुद्ध हाम्रो खेलाडीले गजबको प्रदर्शन गरे । त्यसपछि अध्यक्ष (काजि सलाउद्दीन) ले महिला फुटबलमा सम्भावना देखेर नै उमेर समूहमा लगानी गर्ने निर्णय लिनुभयो । त्यसपछि हामीले साफको उमेर समूह प्रतियोगिता निरन्तर जित्दै आएका छौं,’ उनले भने ।

हुन पनि बंगलादेशले युवा फुटबलमा गरेको लगानीको प्रतिफल साफ च्याम्पियनसिपमा प्रत्यक्ष देखियो । अष्ट्रेलियाविरुद्ध २०१७ मा गोल गरेका साम्सुनाहार र मोनिका नेपालविरुद्ध फाइनल खेलको पहिलो गोल गर्न सफल भए । मोनिकाकै क्रसमा साम्सुनाहारले सुरुवाती अग्रता दिलाएकी थिइन् ।

त्यसो त सन् २०१५ मा नेपालमा सम्पन्न एएफसी यू-१४ रिजनल च्याम्पियनसिपको फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसबेला फाइनलमा नेपाल १-० ले पराजित भएको थियो । सोहि टोलीका प्रशिक्षक छोटोनसहित ८ खेलाडी हाल सिनियर टोलीमा छन् ।

सन् २०१५ मा १-० ले जितेको बंगलादेशले सन् २०१६ मा ताजिकिस्तानमा सम्पन्न यू-१४ प्रतियोगितामा नेपाललाई ९-० ले हराएको थियो । उक्त प्रतियोगिताको फाइनलमा बंगलादेशले भारतलाई ४-० ले हराउँदै उपाधि जितेको थियो ।

सन् २०१६ को एएफसी यू-१४ मा भारतकी प्रिया पारथी, बंगलादेशका गोलाम रोब्बानी र नेपालका विनोद लामा ।

सन् २०१७ मा बंगलादेशले साफ यू-१५ च्याम्पियनसिपको उपाधि जित्यो । २०१८ मा युवा टोलीले हङकङमा अर्को अन्तर्राष्ट्रिय युथ प्रतियोगिता जित्यो । सन् २०१८ मा भुटानमा सम्पन्न यू-१८ च्याम्पियनसिपमा बंगलादेशले नेपाललाई नै फाइनलमा १-० ले पराजित गर्दै उपाधि जित्यो । सन् २०२१ मा बंगलादेशले पुन: साफ यू-१९ को फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जित्यो ।

त्यसो त साफ च्याम्पियनसिप खेल्नुअघि बंगलादेशले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि खेलेको थियो । जुन महिनामा मलेसियालाई निम्तो दिएर दुई मैत्रीपूर्ण खेल खेल्दै बंगलादेशले राम्रो तयारी गरेको थियो । त्यसबेला नेपाली टोलीका खेलाडी महिला लिगको दोस्रो चरण सुरु हुने वा नहुने भन्ने दुविधामा थिए । गत चैतमा सुरु भएको महिला लिगको दोस्रो चरणबारे अहिले कुनै चर्चा छैन ।

बंगलादेश फुटबल महासंघका अध्यक्ष काजी सलाउद्दीनले बंगलादेशले साफ च्याम्पियनसिपको उपाधि जितेपछि विमानस्थलमा आफू नजाने घोषणा गरे । कारण उनले खेलाडीले मिहिनेत गरेर जितेको यस क्षणमा विजेता खेलाडी नै सबैको केन्द्रमा रहनुपर्ने बताए । उनले मिडियालाई पनि खेलाडीलाई विशेष स्थान दिन आग्रह गरे । उनले सन् २०२४ को साफ च्याम्पियनसिपमा उपाधि जित्ने अपेक्षा राखेको भएपनि दुई वर्षअघि नै उपाधि दिलाएकोमा खुसी व्यक्त गरे । बंगलादेशमा अहिले विभिन्न व्यक्ति र क्षेत्रबाट फुटबल संघमार्फत खेलाडीलाई सम्मान र पुरस्कार घोषणा हुन थालिसकेको छ । अध्यक्ष सलाउद्दीनले भने अब बंगलादेशको लक्ष्य एसियाली क्षेत्रमा राम्रो गर्ने रहेको बताएका छन् ।

साफका लागि नै बंगलादेशको तयारी निकै राम्रो थियो । लामो समय नियमित खेल्दै आएको टोलीले साफ च्याम्पियनसिपको सबै ५ खेलमा आफ्नो सुरुवाती ११ परिवर्तन गरेन । परम्परागत फुटबलझैं सुरुवाती ११ मा खेल्ने खेलाडीको जर्सी नम्बर १ देखि ११ सम्म नियमित थियो । प्रशिक्षक छोटोनले आफ्नो टोलीमाथि एकदम विश्वास गरेर साफमा आएका थिए । जसको प्रतिफल हरेक खेलमा उत्कृष्ट प्रदर्शनसहित विजयी नतिजाले दियो ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.