default_image

3 years ago

November 20, 2022

फिफा विश्वकप फुटबल आजदेखि

447 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – कतारमा फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आज (आइतबार) देखि औपचारिक रुपमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।

उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । फाइनल ३ पुसमा हुनेछ ।

विश्वकपको इतिहासमा पहिलोपटक जाडो मौसममा विश्वकप हुँदैछ । अहिलेसम्म विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले उपाधि जितेका छन् । अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटाली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे, अर्जेन्टिना र फ्रान्सले समान पटक विश्वकप जितिसकेका छन् । इंग्ल्याण्ड र स्पेनले समान १ पटक विश्वकप जितेका छन् ।

अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन् । पाँच राष्ट्र फाइनलमा पुगेर असफल भएका छन् । चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स र क्रोएसियाले विश्वकप फाइनलमा पुगेर पनि उपाधि जित्न सकेका छैनन् ।

आयोजकको हैसियतले सोझै विश्वकप खेल्न लागेको खाडी मुलुक कतारले यसपटक चुनौतीका बाबजुद रंगशाला निर्माण सम्पन्न गरिसकेको छ । कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरिसकेको छ ।

विश्वकपको इतिहासमा पहिलोपल्ट जाडोको मौसममा विश्वकप हुँदैछ । कतारमा अत्याधिक गर्मी हुने भएकाले यसपटक जाडो याममा विश्वकप हुन लागेको हो । सबै रंगशालामा सोलार प्यानल फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ ।

विश्वकप खेलिने आठ वटै रंगशाला दोहाबाट २१ माइल (३३.७९ किलोमिटर) दूरीमा अवस्थित छन् । सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । यसले गर्दा समर्थकले धेरैभन्दा धेरै खेल हेर्न पाउनेछन् । कतार विश्वकपमा यसपटक पनि अघिल्लो संस्करणमा जस्तै ६४ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

कुनै समय एसियाली फुटबल महासंघ सम्हालेका मोहम्मद विन हमामकै कारण फिफा विश्वकप कतारमा हुने तय भयो । कतारलाई विश्वकप आयोजनाको अधिकार दिनुसम्मको घटनाक्रम लामै छ । यो १२ वर्षको अवधिमा कतारले धेरै अविश्वनीय घट्नाहरु खेपेका छन् ।

मानव अधिकार, आप्रवासी कामदार र एलजीबीटीक्यू प्लस समुदायप्रति कतारी दृष्टिकोण र व्यवहारबारे पनि उत्तिकै बहस चलिरहेको छ । विश्वकपका लागि चाहिने रंगशालाहरूको निर्माणमा हजारौं आप्रसावी कामदारले काम गरे । त्यसमध्ये धेरै त हाम्रै नेपाली नै थिए ।

कामदारमाथि अत्याधिक श्रम शोषण भएको मानिन्छ । यही कारण सयौंले ज्यान पनि गुमाए । दुघर्टनामा परेर मृत्यु हुनेको संख्या बेग्लै छ । फेरि समलिंगी सम्बन्ध त कतारमा कानुनी रूपमै प्रतिबन्धित छ । तर प्रतियोगिताको पूर्व सन्ध्यामा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कामदारको विषयमा भएका राम्रा कामको उचित अध्ययन र प्रचार नभएको बताए ।

यसपटक सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल, डिफेन्डिङ च्याम्पियन फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, जर्मनी, पोर्चुगल र स्पेनलाई मुख्य दावेदारको रुपमा हेरिएको छ ।

क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, नेयमार, लुइस सुआरेज, लुका मोड्रिच, करिम बेन्जेमा, ग्यारेथ बेल, म्यानुएल नोएर र सर्जियो बुस्केट्सको लागि विश्वकप जित्ने र खेल्ने अन्तिम खवसर हुन सक्छ ।

विश्वकपमा पहिलोपल्ट तीन महिला

महिला रेफ्रीले पहिलोपल्ट विश्वकपका खेल खेलाउने भएका छन् । यस अर्थमा महिला रेफ्रीले विश्वकपको नयाँ इतिहास बनाृनेछन् । फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता इतिहास रच्ने संघारमा रहेका तीन महिला रेफ्री हुन् ।

फिफाले अहिलेसम्म ३६ रेफ्रीको सूची जारी गरेको छ । त्यसमा तीन महिला छन् । साथै तीन महिला सहायक रेफ्री पनि छन् । ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट सहायक महिला रेफ्री हुन् । ३८ वर्षीय फ्रापार्टलाई युरोपेली फुटबलकी उदीयमान रेफ्री मानिएको छ । उनले २०१९ यता फ्रान्सको लिग वान खेलाइरहेका छन् ।

सोही वर्ष उनले महिला विश्वकप पनि खेलाइन् । २०१९ मा लिभरपुल र चेल्सीबीचको यूईएफए सुपर लिग पनि फ्रापार्टले खेलाएकी थिइन् । ३६ वर्षीय यामाशितालाई पनि एसियाली फुटबलको उदीयमान रेफ्रीको रुपमा हेरिएको छ । उनले जापानमा पुरुष फुटबल खेलाइसकेकी छिन् । ३४ वर्षीया मुकानसन्गाले यसै वर्षको जनवरीमा पुरुषको अफ्रिकी कप अफ नेसन्स खेलाएकी थिइन् ।

विलियम्स दाजुभाई फरक देशबाट विश्वकप खेल्दै

हरेक फुटबल खेलाडीको चाहना विश्वकप खेल्ने र उपाधि जित्ने सपना हुन्छ । केहीको मात्र त्यो चाहना पूरा हुन्छ । तर, केही यस्ता खेलाडी हुन्छन् जो आफ्नो दाजुभाइ सँगै विश्वकप खेल्छन् ।

एकै परिवारका दुई दाजुभाई एकै पटक खेल्नु बिरलै भेटिन्छ । त्यसमा पनि एउटै परिवारका दुई दाजुभाइ फरक देशबाट विश्वकप खेल्दैछन् । विलियम्स दाजुभाइ कतार विश्वकपमा दुई फरक देशको प्रतिनिधित्व गर्दैछन् ।

दाजु इनाकी विलियम्स घानाको प्रतिनिधित्व गर्दैछन् । उनको भाइ निको विलियम्स स्पेनबाट खेल्दैछन् । २८ वर्षीय इनाकी र २० वर्षीय निको दुवै स्पानिस ला लिगा क्लब एथ्लेटिको विल्वाओबाट व्यवसायिक फुटबल खेल्छन् । यसअघि सन् २०१० र २०१४ मा बोएटिङ दाजुभाइले पनि फरक देशबाट विश्वकप खेलेका थिए ।

जेरोम बोटेङले जर्मनी र केभिन प्रिन्सले घानाबाट विश्वकप खेलेका थिए । इडेन हाजार्ड र थोर्गन हाजार्ड दाजुभाई बेल्जियमबाट खेल्दैछन् । यस्तै जोर्डन आयु र आन्द्रे आयुले घानाबाट खेल्दैछन् । लुकास हर्नान्डेज र थिएगो हर्नान्डेजले फ्रान्सबाट सँगै खेल्नेछन् ।

पेले र म्याराडोना हुने छैनन्

आधुनिक फुटबलका हस्ती ब्राजिली पेल र अर्जेन्टिनी डिएगो म्याराडोना सन् २०१७ मा रसिया विश्वकप २०१८ को ड्र निकाल्ने कार्यक्रममा सँगै देखिएका थिए । डिएगो म्याराडोनाले एक अवसरमा मुस्कान दिइरहेका पेलेलाई चुम्बन गरे । पेलेले पनि त्यस अवसरलाई ‘सेल्फी’ लिएर क्यामरामा कैद गरे ।

यी दुई फुटबल हस्तीले कुनै बेला आफूमध्ये को सबैभन्दा बढी महान् भनेर तर्क वितर्क पनि गरे । त्यतिबेला पेले आफैं ह्विलचियरमा थिए । सन् १९५८ मा पेलेले पहिलोपल्ट विश्वकप ट्रफी उचालेका थिए । त्यसयता अहिले २२औं संस्करणको विश्वकप आइपुग्दा कतारमा यी दुवै ठूला स्टार देखिने छैनन् । म्याराडोनाको सन् २०२० मा निधन भइसकेको छ । स्वास्थ्य समस्याका कारण पेले पनि कतार जाने छैनन् ।

रंगशाला क्षेत्रमा मदिरा प्रतिबन्ध

कतारमा विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले विश्वकप अन्तरगत ६४ खेल आयोजना हुने कतारका ८ स्टेडियममा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइको छ ।

फिफाले आयोजक राष्ट्रका अधिकारीहरू र फिफाबीच छलफलपछि यस्तो निर्णय गरेको फिफाले जनाएको छ । यस्तै विश्वकप रंगशाला क्षेत्रबाट बियर लगायत मदिरा बिक्री स्टेसनहरू पनि हटाइएको छ ।

गत सेप्टेम्बरमा कतारले खेलभन्दा पहिले र पछिका निर्धारित समयमा लाइसेन्सप्राप्त दर्शकहरूका लागि बियर लगायतका मदिरा किन्ने अनुमति दिने जनाएको थियो । यद्यपि बड वाइजर सहितका ‘जिरो अल्कोहल’ हुने पेय पदार्थमा भने रोक नलगाइएको बताइएको छ ।

केही तथ्य

कतार विश्वकपमा जर्मनीका युसोउफा मौकोको सबैभन्दा कान्छा खेलाडी हुनेछन् । उनी उद्घाटन समारोहको दिन १८ वर्ष पुग्दैछन् । मेक्सिकोका अलफ्रेडो तालाभेरा कतार विश्वकपको सबैभन्दा पाका खेलाडी हुनेछन् । गोलरक्षक उनी ४० वर्षका छन् ।

नेदरल्यान्ड्सका एन्ड्रिस नोपर्ट कतार विश्वकपको सबैभन्दा अग्लो खेलाडी हुनेछन् । उनको उचाई ६ फिट ६ इन्च छ । लियोनेल मेस्सी अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी सबैभन्दा धेरै विश्वकपको खेल खेल्ने खेलाडी हुन् । उनले १९ खेल खेलेका छन् ।

२२औं संस्करण सुरु हुँदा जर्मनीका थोमस मुलर विश्वकपमा सर्वाधिक गोलकर्ताको रुपमा रहनेछन् । उनी यस सिजनको विश्वकप खेल्नेमध्येबाट सर्वाधिक गोलकर्ता हुन् । उनले तीन विश्वकपमा १० गोल गरेका छन् । मुलर नै विश्वकप खेल्ने मध्येबाट सर्वाधिक असिस्टकर्ता समेत हुन् ।

यो पनि : कतार विश्वकपबारे उत्साहित हुने २२ कारण

विश्वकपको सम्पूर्ण जानकारी यहाँ पाउनुहोस्

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.