3 years ago
December 18, 2022
एजेन्सी – लुसेल आइकोनिक रंगशालामा आइतबार राति फिफा विश्वकप कतार २०२२ को उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजेपछि हुनेछ ।

फ्रान्स र अर्जेन्टिना विश्वकपमा आमने सामने हुन लागेको भएपनि खेलको केन्द्रविन्दुमा लिओनेल मेस्सी र किलीयन एमबाप्पे रहनेछन् । ३५ वर्षीय मेस्सीले क्लब फुटबलमा सम्भव सबै उपाधि जित्दै कीर्तिमानी सातपटक बालोन डी’ओर अवार्ड जितेका छन् । तर उनले करिअरमा एकपटक पनि फिफा विश्वकप जित्न सकेका छैनन् ।
अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले फाइनलअघि भनेका छन्, ‘मानिसहरूले फ्रान्सलाई मनपर्ने भन्छन्, तर हामीसँग सबै समयका उत्कृष्ट खेलाडी भएको फाइदा छ । म सधैं भन्छु, हामीसँग सर्वकालीन महान खेलाडी छन् । र राम्रो डिफेन्सको साथले हामीसँग लक्ष्यमा पुग्ने धेरै मौकाहरू छन् ।’
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफ्नो देशलाई १९९८ मा विश्वकप जिताउन कप्तानी गरे । त्यसपछि, प्रशिक्षकको रूपमा चार वर्षअघि रसियामा अर्को सफलता दिलाए । यसपटक सारा विश्व मेस्सीले विश्वकप उपाधि जित्ने कामना गरिरहँदा उनले एक्लो महसुस गरेको बताए ।
‘यसपटक अर्जेन्टिना मात्र होइन, संसारभरका धेरै मानिसहरू र सायद केही फ्रान्सेली मानिसहरू, लियोनल मेस्सीले विश्वकप जित्ने आशा राखेका छन् । मैले एक्लो महसुस गरिरहेको छु । तर हामी लक्ष्य प्राप्त गर्न हरसम्भव प्रयास गर्नेछौं,’ फ्रान्सका प्रशिक्षक डेस्च्याम्प्सले भने ।

के मेस्सीले अर्जेन्टिनालाई १९८६ पछि विश्वकप जिताउन मद्दत गर्न सक्छन् ?
यसपटक विश्वकप फाइनलमा पुगेका टोलीका मुख्य खेलाडी नै गोल्डेन बुट र गोल्डेन बल जित्ने दौडमा छन् । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका केलियन एमबाप्पेले यस विश्वकपमा समान ६ खेल खेल्दा समान ५ गोल गरेका छन् । मेस्सीले ३ असिस्ट दिदा एमबाप्पेले २ असिस्ट दिएका छन् । फ्रान्सका ओलिभिएर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजले समान ४ गोल गरेर उनीहरुलाई पछ्याइरहेका छन् ।
मेस्सीले अर्जेन्टिनालाई ब्राजिलमा सन् २०१४ को फाइनलमा पुर्याउन मद्दत गरे । यद्यपि जर्मनीका मारियो गोट्जेले अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि विमुख बनाइदिए । तर पेरिस सेन्ट जर्मेनका यि मेस्सी कतारमा अर्जेन्टिनाको फाइनल यात्रामा मुख्य शक्ति बनेका छन् ।

कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियाविरुद्ध २–१ को हारमा मेस्सीले पेनाल्टीमार्फत सुरुवाती गोल गरेपनि त्यो अग्रता जोगाउन नसक्दा अप्रत्यासित हार बेहोर्न पुग्यो । तर, त्यो हारपछि अर्जेन्टिनाले लय समात्यो । मेक्सिकोलाई २–०, पोल्याण्डलाई २–०, अष्ट्रेलियालाई २–१, नेदरल्यान्ड्सविरुद्ध २–२ को बराबरीपछि अतिरिक्त समयमा ४–३ को जित सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर फाइनलमा पुग्न सफल भयो ।
अर्जेन्टिनाले सन् १९७८ मा घरेलु मैदानमा र सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप गरी दुईपटक उपाधि जित्दा आइतवार तेस्रो जितको खोजीमा छ ।
‘म पहिले नै भावुक भएको छु किनकि उनीहरूले सबै कुरा निष्ठापूर्वक दिएका छन्,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने, ‘हामीले उपाधि जित्ने आशा गरौं र यदि यो हुन सक्दैन भने पनि उनीहरूले गर्व गर्नुपर्छ, किनकि यो आनन्द लिने क्षण हो ।’
एमबाप्पेको भर र फ्रान्सलाई स्वास्थ्यको चिन्ता
२३ वर्षीय एमबाप्पेले आफ्नो दोस्रो विश्वकप सफलता पछ्याइरहेका छन् र फ्रान्सलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनले अष्ट्रेलियामाथि ४–१ को जितमा एक पटक र डेनमार्कमाथि २–१ को जितमा दुई गोल गरे । ट्युनिसियासँग १–० ले पराजित भएपनि फ्रान्स समूह विजेता बन्यो ।

एम्बाप्पेले पोल्याण्डमाथि ३–१ को जितमा २ गोल थप्दै आफ्नो गोलसंख्या ५ पुर्याए । क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ र सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दा एमबाप्पेले गोल गर्न सकेनन् । तर विपक्षी खेलाडीले उनलाई निरन्तर आफ्नो नजरमा राखेका थिए ।
सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्स २००६ मा इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो । फ्रान्सले चौथोपटक फाइनल खेल्दा तेस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ । तर फ्रान्सको उपाधि रक्षा अभियानमा स्वास्थ्यको चिन्ता थपिएको छ । मिडफिल्डर एड्रियन राबिओट र डिफेन्डर डेयोट उपमेकानो सेमिफाइनलमा अनुपस्थित रहेर प्रशिक्षणमा फर्केका छन् । डिफेन्डरद्वय राफाएल भारान र इब्राहिमा कोनाटेसँगै विंगर किङ्सले कोमानले फ्लुसँग जुधिरहेका छन् ।
‘हामीसँग फ्लू जस्तो लक्षणका केही केसहरू छन्,’ डेसचम्प्सले भने, ‘हामी अन्यत्र नफैलियोस भनेर होसियार हुन कोशिस गर्दैछौं । हामी सबै आवश्यक सावधानीहरू अपनाउँदैछौं ।’
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]