default_image

1 year ago

February 6, 2023

खेलाडी पलायनका बीच लिगमा विदेशी कोटा बढाउने चर्चा

288 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग सुरु हुन एक महिना भन्दा कम समय बाँकी छ । १४ ओटै ए डिभिजन क्लब यतिबेला टोली निर्माणको अन्तिम चरणमा छन् । तर राष्ट्रिय टोलीबाट खेलिसकेका झन्डै ३ दर्जन खेलाडी पलायन भएका कारण टोली निर्माण गर्न क्लबहरुलाई केहि कठिनाइ भइरहेको छ ।

तीन पटक लिगको मिति स्थगित भएपछि वर्तमान राष्ट्रिय टोलीमा रहेका खेलाडीले नै पलायनको बाटो रोजे । ए डिभिजन लिग नहुनु, मोफसलका शीर्ष प्रतियोगितालाई एन्फाले स्वीकृति नदिनु र नयाँ रुपको नेपाल सुपर लिग (एनएसएल) पनि स्थगित हुँदा खेलाडीहरु देश छोड्ने निर्णय लिन बाध्य भए । लामो कसरत पछि लिग हुने छाँटकाँट देखिँदा क्लबहरु बजारमा स्तरीय खेलाडी भने पाउन सकिरहेका छैनन् ।

ए डिभिजन लिगमा यसपटक ४ विदेशी खेलाडी समावेश गर्न पाउने नियम रहेको छ । विगतमा ४ विदेशीमध्य ए दक्षिण एसियाली खेलाडी हुनुपर्ने नियमलाई परिवर्तन गरेर ४ मध्य एक एसियाली खेलाडी हुनुपर्ने बनाइएको थियो । लिग संचालनको छलफलका क्रममा केहि महिना अघि क्लब र एन्फाबीच भएको बैठकमा विदेशी खेलाडीको कोटा बढाउनेबारे चर्चा भएको थियो । त्यसबेला कोटा बढाउने वा नबढाउने भन्ने मतदान हुँदा ७-७ मत बराबरी भएपछि ४ खेलाडी नै रहेको थियो ।

तर त्यसयता लगातार खेलाडी पलायनको सिलसिला बढेपछि अधिकांश क्लबहरु अहिले कोटा थप्ने पक्षमा छन् । विभागीय क्लबबाहेक अन्यले मौखिक रुपमा कोटा थप्नेबारे एन्फासँग सल्लाह पनि गरिसकेका छन् । क्लबहरु लिखित रुपमा एन्फासमक्ष कोटा बढाउने मागसहित प्रस्तुत हुने तयारीमा छन् । यसपटक ५ खेलाडी विदेशी राख्ने र त्यसमध्य कम्तिमा १ एसियाली र १ दक्षिण एसियाली कोटा छुट्याउनेबारे छलफल भएको बुझिएको छ । यसका लागि एन्फाको लिग संचालन समितिले निर्णय गर्नुपर्नेछ ।

एन्फा महासचिव किरण राईले गत साता भएको पत्रकार सम्मेलनमा नेपालमा लिग खेल्न खेलाडीको कमी नहुने धारणा राखेका थिए । ‘लिग खेल्न खेलाडी नपुग्ने हुँदैन । होला स्तरमा कमी आउला, तर खेलाडी नै नहुने भन्ने हुँदैन । म यहीबाट विदेशमा जानुभएका खेलाडीलाई पनि लिग खेल्नका लागि फर्कन आग्रह गर्छु,’ उनले भनेका थिए ।

तर क्लबहरु नै विदेशी खेलाडीको कोटा बढाउनुपर्छ भन्ने अवस्थामा पुगेपछि एन्फाले यसबारे कार्यसमितिमा छलफल गर्ने देखिन्छ । विगतको तुलनामा यसपटक ए डिभिजनका प्रतिनिधि कार्यसमितिमा छैनन् । त्यसैले पनि लिग संचालन समिति र सहभागी क्लबबीचको छलफल नै यसमा निर्णायक हुने देखिन्छ ।

लिगमा लामो समयदेखि आवद्ध रहेका प्रशिक्षक मेघराज केसी विदेशी खेलाडीको कोटा थप्दा खेलको स्तरमा सुधार आउने भएपनि यो दीर्घकालीन समाधान नरहेको तर्क राख्छन् । ‘अहिलेको अवस्थामा खेलाडी पलायन भएका कारण विदेशी खेलाडीको कोटा थप्नु राम्रो सुनिन्छ । यसले खेलको स्तरमा सुधार पनि ल्याउला । तर यो दीर्घकालीन समाधान पक्कै होइन,’ उनले थपे, ‘अहिले एक विदेशी थप्ने भनौला, भोली अर्को थपौं भन्न सक्छन् । यसरी समस्या सुल्झदैन । हामीले खेलाडी कमी भएको समस्या थप अवसर दिएर, मोफसलमा भएका प्रतियोगिताबाट नयाँ खेलाडी खोजेर समाधान गर्नेतर्फ पनि ध्यान दिनुपर्छ ।’

गत सिजन सातदोबाटो युवा क्लबमा प्रशिक्षक रहेका केसी पुन: पाटने क्लब थ्री स्टार फर्केका छन् । खेलाडी पलायन हुनुमा खेलाडी आफैं भन्दापनि राज्यको बढी जिम्मेवारी रहने उनको बुझाइ छ । ‘खेलाडी पलायन हुनु उनीहरुको बाध्यता हो । अहिलेको वातावरणमा उनीहरुले आफ्नो व्यक्तिगत निर्णय लिए । यसमा आ-आफ्नो तर्क हुन सक्छ । तर उनीहरुलाई यहाँ बस्ने वातावरण सिर्जना गर्ने दायित्व राज्यको होइन र?,’ केसीले प्रतिप्रश्न गरे ।

‘राज्य भन्नाले सरकार, एन्फा र सम्बन्धित निकाय सबै हुन् । खेलाडीले खेल्ने नै वातावरण पाएन भने यहाँ के गर्ने ? जीविकोपार्जन त गर्नैपर्यो । यस्तै वातावरण रहयो भने त हामीले पनि फुटबल छाड्ने अवस्था आउन सक्छ । सबै पक्षले गम्भीर भएर सोच्ने समय आइसकेको छ,’ केसीले थपे ।

एएफसीको नियम अनुसार हाल एसियाको क्लब प्रतियोगितामा हरेक टोलीले ४ विदेशी खेलाडी खेलाउन पाउँछ । जसमध्य कम्तिमा १ जना एसियाको हुनुपर्छ । तर विश्व फुटबलका अन्य लिगमा विदेशी खेलाडी समावेश गर्न दिइएको छुटलाई ध्यानमा राख्दै एएफसीले पनि विदेशी खेलाडीको कोटा थप्ने तयारी गरिरहेको छ । २०२३-२४ सिजनबाट हरेक टोलीले ६ विदेशी खेलाडी राख्न पाउनेछन् जसमा एक अनिवार्य एसियाली खेलाडी हुनुपर्नेछ ।

त्यसो त विदेशी खेलाडी मात्र राख्दा देशको फुटबलमा प्रतिकुल असर पर्ने डर हुन्छ । त्यसैले पनि विश्वभरका लिगमा देश अनुसार विभिन्न नियम राख्ने प्रचलन रहेको छ । प्रिमियर लिगमा कम्तीमा ८ खेलाडी इंग्ल्यान्डकै हुनुपर्ने (एकेडेमीबाट आएमा बेलायतको पनि मान्य हुने) नियम छ । विदेशी खेलाडी समावेश गर्दा विशेष नियम राख्ने चलन अनुसार चीनले आफ्नो लिगमा गोलरक्षक पोजिसनमा विदेशी खेलाडी राख्न नपाइने नियम बनाएको छ ।

यसबाहेक भारतको आइएसएलमा ६ खेलाडी अनुबन्ध गर्न पाइने भएपनि एक खेलमा अधिकतम ४ खेलाडी मात्र उतार्न पाइन्छ । विदेशी खेलाडी कोटामा कडाइ गर्नुले नै भारतीय लिग र भारतीय टोलीको स्तरमा परिवर्तन आएको देखिन्छ ।

लिग च्याम्पियन मछिन्द्रका कप्तान सुजल श्रेष्ठ पनि नेपालमा खेलाडी पर्याप्त रहेकाले विदेशी खेलाडी थप्नु समाधान नरहेको बताउँछन् । ‘विभागीय टोलीबाहेक ११ टोलीले नियमित विदेशी खेलाडी राख्छन् । अझै एक विदेशी कोटा थप्ने हो भने ११ जना नेपाली खेलाडीले अवसर नपाउने भए नि । अब अहिले बी र सी डिभिजन खेलेका खेलाडी ए डिभिजनमा आउने वातावरण बनेको छ, समय लाग्ला तर हामीले उनीहरुलाई अवसर दिनुपर्छ,’ उनले भने ।

सुजल विदेशी कोटा थप्दा पैसा हुने क्लबलाई मात्र फाइदा पुग्ने र खेलाडी पलायन भएको अवस्थामा अब बल्लतल्ल हुन लागेको लिगमा नेपालमै उपलब्ध खेलाडी प्रयोग गर्नुपर्ने बताउँछन् । ‘अब विदेशी खेलाडी थप्ने हो भने त पैसा हुने क्लबलाई मात्र फाइदा पुग्छ । मलाई लाग्छ नेपालमा खेलाडीको कमी छैन, तर अवसर दिनुपर्ने आवश्यकता हो । पक्कैपनि राष्ट्रिय टोलीमा खेलेका खेलाडी नै पलायन हुँदा लिगको स्तर घट्छ भन्ने डर होला । तर हामीले अवसर नै दिएनौं भने त कसरी खेलाडी तयार पार्ने,’ सुजलले थपे ।

ए डिभिजनको नवप्रवेशी खुमलटार युवा क्लबले यसपटक खेलाडी अनुबन्धनमा आक्रामक सुरुवात गर्यो । नेपालमा प्रमाणित गरिसकेका विदेशी खेलाडी मेसुके अ‍ोलोमोउ र स्टेफन बिनोङलाई भित्र्याएको क्लबले नेपाली खेलाडी पनि अनुबन्ध गरेको छ । उमेर‌ समूहमा राष्ट्रको प्रतिनिधित्व गरेका खेलाडी खुमलटारको रोजाइमा परेका छन् ।

क्लबका अध्यक्ष मणिराज विष्ट क्लबले ए डिभिजनमा आएपछि क्लबले उपाधि जित्ने महत्वाकांक्षा राखेको बताउँछन् । ‘हामी जुन डिभिजनमा खेल्दा पनि पहिलो हुने लक्ष्य लिएर अघि बढ्यौं । अब शीर्ष लिगमा आएपछि त्यसै अनुसार तयारी गरेका छौं । अरुभन्दा केहि अघि खेलाडी अनुबन्ध गरेको भएर आक्रमक‌ देखिएको होला । तर हामी लिग जित्ने नै लक्ष्यमा छौं,’ विष्टले भने ।

विष्टले विदेशी खेलाडी कोटा थप्नेबारे अझै दुविधा रहेको स्विकारे । ‘हामी अष्ट्रेलिया पुगेका खेलाडी फर्काउने प्रयास पनि गरिरहेका छौं ‌‌। अब कति सम्भव हुन्छ हेरौं । लिग त सकेसम्म राम्रो भएको हेर्ने इच्छा हो । अन्य क्लबमा पनि विदेशी कोटा थप्ने चर्चा छ, अब सबै मान्छन् भने हामी पनि नाइ भन्दैनौं,’ उनले थपे ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.