default_image

12 months ago

March 23, 2023

अनेसेको विजयी सुरुवात, अब प्रतीक्षा प्रदर्शनको

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको नेतृत्वमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा बुधबार नेपालले लाओसलाई २-० ले हराएको हो । नेपालका लागि पहिलो हाफमा अनन्त तामाङ र दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गरेका थिए । अनन्तले नविन लामाको कर्नरबाट हेडरमार्फत गोल […]

100 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीले नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको नेतृत्वमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा बुधबार नेपालले लाओसलाई २-० ले हराएको हो ।

नेपालका लागि पहिलो हाफमा अनन्त तामाङ र दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गरेका थिए । अनन्तले नविन लामाको कर्नरबाट हेडरमार्फत गोल गरेका थिए । त्यस्तै नवयुगले गोलरक्षकले खेलेको लामो पासलाई लाओसको हाफको मध्यभागमा नियन्त्रण गर्दै भलीमार्फत दर्शनीय गोल गरे । दुवै गोलबाहेक नेपाली टोलीले विपक्षी गोलरक्षकलाई कमै चुनौती दियो । दोस्रो हाफमा आयुष घलानले सुवर्ण अवसर खेर फाल्दा अग्रता बढ्न सकेको थिएन ।

नेपालले खेलको सुरुवातमा केहि आक्रामक मुभ निर्माण गरेको थियो । मिडफिल्डबाट लेफ्ट विंगमा रहेका आयुषबाट पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्ने नेपालको पटक पटकको प्रयास पेनाल्टी क्षेत्र भित्र भने पुग्न सकेन । राइट विंगमा भरत खवासले लगातार दबाब सिर्जना गरेपनि बलमा हुँदा भने खास प्रभाव जमाउन सकेनन् । त्यसैले पनि दोस्रो हाफमा प्रशिक्षक अनेसेले मनिष डाँगीलाई उनको स्थानमा खेलाए ।

नेपालले खेल अवधिभर नै विपक्षीसँग बल हुँदा आफ्नो डिफेन्सिभ सेपमा बढी ध्यान दियो । काउन्टर अट्याकमा केहि छरितो हुने प्रयास गरेपनि खेलाडीबीच समन्वय अभाव हुँदा त्यसले राम्रो प्रतिफल दिन सकेन । खेलपछि प्रशिक्षक अनेसे आफैंले पनि पर्याप्त समय नभएको र खेलाडीहरुले सोचेजस्तो छरितो खेल्न नसकेको बताए ।

डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी पुन: एकपटक बलियो प्रदर्शन गर्न सफल रहयो । कप्तान किरण चेम्जोङसम्म कमै मात्र बल गयो । तर लाओसले पटक पटक गरेको प्रयासमा कप्तान किरण चनाखो देखिन्थे । विंग ब्याकमा भने प्रशिक्षक अनेसेले नयाँ प्रयोग गरे । सनिश श्रेष्ठलाई डेब्यु दिँदा विकास खवासले लेफ्ट ब्याकमा खेले । दुवै खेलाडी क्लब फुटबलमा सेन्टर ब्याकमा पनि खेल्ने गर्छन् । रक्षात्मक रुपमा निकै भरपर्दा यी दुवै आक्रमणमा भने खास व्यस्त हुन पाएनन्, वा भनौं गएनन् ।

मिडफिल्डमा नेपालले बल पोसेसन राख्न नसक्नुमा खेलाडीबीच समन्वयको अभाव प्रष्ट देखिन्थ्यो । सामान्यतया खेलिने वन-टु पास साटफेरमा पनि खेलाडीबीच तालमेल नमिलेको देखिन्थ्यो । त्यसबाहेक आफ्ना आक्रमणका खेलाडीले बनाएका रन बिहाइन्डमा योजना अनुसार पास खेलिएको थिएन । प्रशिक्षक अनेसेले मात्र २ दिन पूर्ण प्रशिक्षण भएकाले आजको खेलमा प्रदर्शन भन्दापनि नतिजा सुखद पाटो रहेको अभिव्यक्ति दिए ।

‘हामी लामो समयपछि एकसाथ आयौं । २ दिनको पूर्ण प्रशिक्षणमा आएको नतिजा हो यो । मेरो लागि पहिलो खेलको नतिजा मेरो यात्राका लागि पनि महत्त्वपूर्ण थियो । हामी ट्रान्जिसन र काउन्टर अट्याकमा केहि सुस्त देखियौं । टोलीमा धेरै युवा खेलाडी छन् त्यसैले सुधार गर्ने ठाउँ छ,’ उनले भने ।

अनेसेले खेलाडीबाट अपेक्षा गरेअनुसार नतिजा आएको बताए । ‘रणनीतिको हिसाबले मैले सोचेजस्तो प्रदर्शन भएको छ । काउन्टर अट्याकमा केहि सुधार गर्न आवश्यक छ । आक्रमणमा दायाँ र बायाँ दुवैबाट दबाब दिनुपर्छ । यो सबै हामी आउने दिनमा काम गर्नेछौं र अब अर्को खेलअघि पनि समय छ,’ उनले भने ।

खेलको प्लेयर अफ द म्याच अनन्त तामाङले पनि टोलीमा सुधारको आवश्यकता रहेको बताए । ‘आज त्यति सन्तोषजनक प्रदर्शन थिएन । हामीसँग तयारीका लागि पर्याप्त समय पनि थिएन । टोलीमा नयाँ खेलाडी भएकाले पनि केहि असहज भएको हो । विपक्षीले बल पोसेसन धेरै राख्दा हामी रक्षात्मक रुपमा साँघुरो भएर खेल्यौं,’ उनले भने ।

भुटानविरुद्ध खेलअघि टोलीले अझै मिहिनेत गर्नुपर्ने अनन्तको बुझाइ छ । ‘हामीले आक्रमणमा खासै समस्या दिन सकेको छैनौं । त्यसका लागि खेलाडीबीच समन्वय गर्न जरुरि छ । हामीसँग अब अर्को खेलअघि समय पनि छ । भाग्यवश हामीले आज दुई गोल गर्यौं, तर यसले पुग्दैन । तर बल पोसेसन राख्ने र आक्रमणमा सुधार गर्न आवश्यक छ,’ उनले भने ।

लाओसका प्रशिक्षक माइकल वाइसले पनि नेपालले सतर्क भएर खेल्दै काउन्टर अट्याकमा बढी ध्यान दिएको बताए । ‘घरेलु टोली भएपनि अलि सतर्क भएर खेल्यो । आक्रमण गर्न काउन्टर अट्याकमा बढी भर परेको थियो । नेपालको प्रशिक्षकका लागि राम्रो सुरुवात हो, तर आज हामी कम्तिमा बराबरीको हकदार थियौं,’ उनले भने ।

‘त्यसो त हामीले एक दिन प्रशिक्षण गरेर यो प्रदर्शन गरेका छौं । हामीले पाएको अवसर प्रयोग गर्न सकेनौं । यता नेपालको प्रदर्शन राम्रो भन्न सकिन्न । हामी पनि अब फाइनल पुगेर फेरी नेपालको सामना गर्न चाहन्छौं,’ वाइसले थपे ।

प्रशिक्षक अनेसेले ए डिभिजनको प्रदर्शनलाई आधार मान्दै टोली छनोट गरेका थिए । यसक्रममा उनले आफैं मैदान पुगेर देखेका खेलाडीलाई प्राथमिकतामा राखेको बताएका थिए । लाओसविरुद्ध उनले उतारेको सुरुवाती ११ मा पनि अनुभवी खेलाडीकै बाहुल्यता थियो । तर उनले आफ्नो योजनासँगै बिस्तारै टोलीमा परिवर्तन गर्ने भने आशा गर्न सकिन्छ ।

खेलको दोस्रो हाफमा मनिष डाँगीलाई प्रयोग गरेका अनेसेले दोस्रो हाफ चल्दा थप तीन खेलाडीलाई डेब्यु दिए । उनले पहिलो पटक पत्रकार सम्मेलनमा नै युवा खेलाडीमा अनुभवको कमी रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने बताएका थिए । सोहिअनुसार अनेसेले आज लगातार खेलाडी परिवर्तन गर्दै नयाँ अनुहारलाई अन्तर्राष्ट्रिय अनुभव दिए ।

आक्रामक फुटबल खेल्ने बताएका अनेसेले आज टोलीलाई काउन्टर अट्याक र रक्षात्मक रुपमा बलियो रहन बताएका थिए । अझ अग्रता लिएपछि नेपालको खेल शैलीले पनि नेपाल गोल थप्नभन्दा अग्रता जोगाउन केन्द्रित रहेको प्रष्ट देखिन्थ्यो । नयाँ टोलीलाई आफ्नो योजनामा ढाल्न अनेसेसँग पर्याप्त समय छ । भुटानविरुद्ध मंगलबार हुने खेलअघि टोलीले ५ दिन प्रशिक्षण गर्नेछ । विहीबारलाई भने उनले विश्राम दिने निर्णय लिएको जानकारी दिएका छन् ।

पहिलो खेलमा सुखद नतिजाले आफ्नो यात्रालाई राम्रो सुरुवात मिलेको अनेसेले बताएका छन् । उनले टोलीले आफूले अपेक्षा गरे अनुसार रणनीति अपनाएको पनि बताए । अनेसेको भनाइ मान्ने हो भने भुटानविरुद्ध नेपालले आफ्नो खेलशैलीमा परिवर्तन गर्ने अपेक्षा सकिन्छ । पूर्ण रुपमा योजना अबलम्बन नहुँदा जित दिलाएका अनेसे अब भने आफ्नो योजना अनुसार उत्रने सुरमा हुनेछन् । लाओसविरुद्ध गरिएको प्रयोग र प्रदर्शनको नतिजाले भुटानविरुद्ध अनेसेको असली प्रदर्शन देखिने अपेक्षा रहेको छ ।

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.