एजेन्सी – क्रोएसिया र स्वीट्जरल्यान्डले युरो २०२४ को छनोटमा सफलता हात पारेका छन् । क्रोएसियाले घरेलु टोली टर्कीलाई २–० ले पराजित गरेको हो ।

क्रोएसियाको जितमा दुवै गोल माटियो कोभासिसले गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बुर्सा टर्कीमा मंगलबार राति भएको खेलको २०औं मिनेटमा माटियो कोभासिसको गोलबाट क्रोएसियाले १–० को अग्रता लिन सफल भयो । उनले मारियो पासालिसको पासमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कोभासिसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा क्रोएसिया विजयी हुन सफल भयो ।
यस जितसँगै पहिलो जित दर्ता गरेको क्रोएसिया २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित टर्की ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूह ‘डी’ को अर्काे खेलमा वेल्सले लात्भियालाई १–० ले पराजित गरेको छ । वेल्सको जितमा काइफर मुरले गरेको गोल नै निर्णायक बन्यो । उनले ४१औं मिनेटमा ड्यानियल जेम्सको पासमा गोल गर्न सफल भएका थिए । यस जितसँगै अपराजित रहेको वेल्स २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लात्भिया पुछारमा छ ।
अर्काे खेलमा स्वीट्जरल्यान्डले इजरायललाई ३–० ले पराजित गरेको छ । स्वीट्जरल्यान्डको जितमा रुवेन भर्गास, जेकी एमडोउनी र सिल्भान विडमेरले गोल गरे ।
यस जितले स्वीट्जरल्यान्ड समूह ‘आई’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इजरायल १ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा रोमानियाले बेलारुसलाई २–१ ले पराजित गरेको छ । अर्काे खेलमा कोसोभो र एन्डोराले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।