2 years ago
April 9, 2023
सुबास हुमागाईं, काठमाडौं
त्रिभुवन आर्मी क्लब नेपालको लिग फुटबलमा बलियो डिफेन्सको पर्याय नै मानिन्छ । पटक पटक लिग उपाधिमा बलियो दावेदारी प्रस्तुत गर्दै आएको आर्मीको मुख्य पाटो कन्जुस रक्षापंक्ति रहँदै आएको छ । तर यसपटक भने आर्मीको डिफेन्समा ‘संकट’ आउँदा त्यसको प्रत्यक्ष असर लिगमा परेको छ ।
विगतमा शारीरिक रुपमा निपुण, गतिमा छरितो र स्टामिनाले भरपुर आर्मीको डिफेन्स लाइनले उपाधि दिलाउन पटक पटक प्रयास गरेपनि कमजोर आक्रमण नै निर्णायक बनेको थियो । तर यसपटक भने ठिक विपरित अवस्था देखिएको छ । अग्रपंक्तिमा गोल निस्किएको छ, तर त्यसलाई जोगाउन डिफेन्स लाइनले सकिरहेको छैन । तथ्यांकलाई मात्र आधार मान्ने हो भने आर्मीले सहिद स्मारक ए डिभिजन लिगमा एक दशकयता हरेक सिजन अवधिभर नखाएको गोल यसपटक ७ खेलमा खाइसकेको छ ।
आर्मी ८ खेलमा २ जित, ३ बराबरी र २ हारका साथ ९ अंक जोड्दै सातौं स्थानमा छ । लिगमा अन्य टोली पनि लय समात्न संघर्षरत रहँदा आर्मीको उपाधि जित्ने लक्ष्यमा खासै ठूलो धक्का त लागेको छैन । तर आर्मीको परम्परागत रक्षात्मक प्रदर्शनले बाटो बिराउँदा टोलीलाई चिन्ताले सताएको छ । लिगको ७ खेलमा आर्मीले १० गोल गर्दा ९ गोल खाएको छ ।
आर्मीले २०६९ सालयता ए डिभिजन लिगमा ११ गोलभन्दा बढी खाएको छैन । तर यसपटक भने टोलीले लिगको एक चौथाइमा आइपुग्दा ९ गोल खाएको छ । यसपटक डबल राउन्ड लिग हुँदा विगतभन्दा बढी गोल खानु स्वाभाविक हो, तर प्रति खेल गोल खाएको औसत हेर्ने हो भने अधिकांश लिगभन्दा झन्डै दोब्बर खराब नतिजा देखिन्छ ।
जारी लिगमा आर्मीको डिफेन्स लाइन हेर्ने हो भने विकास खवास मात्र पछिल्लो सिजनको पहिलो रोजाइको डिफेन्सको रुपमा नियमित छन् । गत सिजन राइट ब्याक पोजिसनमा १२ खेल खेलेका गौतम श्रेष्ठ अष्ट्रेलिया प्रस्थान गरिसकेका छन् । गौतमले आर्मीबाट उच्च प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पनि स्थान पक्का गरेका थिए । उनको स्थानमा अनुभवी दिपक गुरुङले अवसर पाएका छन् । तर उनी नियमित खेल्न पाइरहेका छैनन् ।
लेफ्ट ब्याक सुमन अर्याल पनि गत सिजन टोलीका लागि ८ खेल सुरुवात गरेका थिए । उनी पनि अष्ट्रेलिया पुगिसकेका छन् । राष्ट्रिय टोलीको पहिलो रोजाइमा खेल्दै आएका उनको कमीले अहिले आर्मी निकै पिरोलिएको छ । टोलीले आफ्नो पहिलो रोजाइको लेफ्ट ब्याक छनोट गर्न सकेको छैन ।
गत सिजन खेलेका सेन्टर डिफेन्स विकास तामाङ पनि घुँडाको चोटका कारण पूरा सिजन बाहिर रहने पक्का भइसकेको छ । सातदोबाटोविरुद्ध खेलमा दर्शक दिर्घाबाट खेल नियाल्दै गर्दा उनी आफ्नो डिफेन्स लाइनमा पछि झर्न भनिरहेका थिए । दुई महिनाअघि शल्यक्रिया गरेका उनी मैदान फर्कन अझै ६-७ महिना लाग्नेछ ।
गत सिजन ९ खेल खेलेका अर्का डिफेन्डर विमल पाण्डे पनि पूर्ण फिट छैनन् । त्यस्तै भेट्रान युद्ध शाहीले आवश्यक परेको अवस्थामा टोलीको डिफेन्स सम्हालेका छन् । तर खेल तालिका हेर्दा १/२ दिनको अन्तरमा खेल्ने हुँदा उनीबाट पूर्ण रुपमा भर गर्ने अवस्था छैन ।
आर्मीले यस सिजन ७ खेल खेल्दा सेन्टर डिफेन्डर विकास खवासले मात्र पूरा ६ सय ३० मिनेट मैदानमा बिताएका छन् । राइट ब्याक दिपक गुरुङले ६ खेल सुरुवात गर्दा अन्य पोजिसनमा भने लगातार परिवर्तन गर्नुपरेको छ । भरत चौधरी, जितेन्द्र कार्की, सुरज बस्नेत र सन्तोष केसी लगायत खेलाडी फरक फरक खेलमा प्रयोग भएका छन् । टेक बहादुर बुढाथोकीले पनि डिफेन्समा झरेर खेलेका छन् । तर कसैले स्थान पक्का गर्न सकेका छैनन् ।
त्यसो त डिफेन्सको कमजोर प्रदर्शनले गोलरक्षक विकेश कुथुमाथि पनि दबाब परेको छ । विकेश आफैं अस्वस्थताका कारण पूर्ण रुपमा फिट भएर खेल्न सकेका छैनन् । उनी थ्री स्टारविरुद्ध पछिल्लो खेलमा बेन्चमा उपस्थित हुन नसक्दा आर्मीले समित श्रेष्ठलाई डेब्यु दिँदै गान्दिप खड्कालाई बेन्चमा राखेको थियो । समित भद्रपुर गोल्डकपमा घाइते हुँदा खेल्न सक्ने अवस्थामा थिएनन् । तर विकेश अस्वस्थ हुँदा आर्मीले उनलाई पहिलो पटक लिगमा दर्ता गराएर खेलाएको थियो ।
प्रशिक्षक नविन न्यौपाने पनि टोलीको डिफेन्स लाइन कमजोर हुँदा नतिजामा असर परेको स्वीकार्छन् । ‘हाम्रो डिफेन्समा अनुभवको कमी छ । कठिन प्रतिद्वन्द्वीविरुद्ध खेल्न अनुभव नहुँदा असर परेको छ । डिफेन्सले एकतृत भएर खेल्न संघर्ष गर्दा समस्या देखिएको हो । नयाँ खेलाडीलाई प्रयोग गरेर खेल्नुपर्ने बाध्यता पनि छ,’ उनले भने ।
विभागीय टोलीमध्य आर्मी पछिल्लो समय उच्च प्रदर्शन गर्ने टोली हो । मोफसलमा उपाधिसँगै आर्मी लिगको उपाधि दावेदारको रुपमा पनि रहेको छ । गत सिजन एपिएफले रेलिगेसनमा पर्ने डर बढेपछि विदेशी खेलाडी अनुबन्ध गर्दै उत्कृष्ट पुनरागमन गर्यो । यसपटक पुलिसले पनि रेलिगेसनको डर बढेपछि बजारमा रहेका विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ । तर आर्मी भने पटक पटक उपाधिनजिक पुग्दा पनि त्यो लक्ष्य पूरा गर्न विदेशी खेलाडी अनुबन्ध गर्ने रणनीतिमा छैन ।
उपाधि जित्ने लक्ष्य बोकेको आर्मी यसपटक मध्य तालिकामा संघर्ष गरिरहेको छ । कमजोर डिफेन्सलाई सुल्झाउन विदेशी खेलाडी ल्याउनेबारे प्रश्नमा प्रशिक्षक न्यौपानेले संस्थाको त्यस्तो सोच नरहेको बताए । ‘विदेशी खेलाडी टोलीमा आवश्यक छ । तर हाम्रो आर्मीको खेलकुद वातावरणमा नेपाली खेलाडीलाई नै प्राथमिकता दिने रणनीति छ । यसपटक भन्दापनि गत सिजन गोल्डेन एरामा विदेशी खेलाडी ल्याउने सोचेका थियौं,’ उनले भने ।
‘गत सिजन ८ बराबरी खेल्दा हाम्रो रक्षापंक्ति बलियो थियो । हाम्रो डिफेन्स लाइन एकरूपमा खेलेको थियो । यसपटक त्यो साझेदारी तोडिन पुग्दा असर भएको हो । हामीले माथिल्लो निकायमा उपाधि जित्नका लागि विदेशी खेलाडी आवश्यक रहेको बताएका छौं । तर यो टोलीले हामीलाई उपाधि जित्ने लक्ष्य जोगाउन गार्हो देखिन्छ,’ न्यौपानेले भने ।
मिडफिल्डर सन्तोष तामाङ प्रस्थान गर्दा टोलीको आक्रमणमा पनि असर गरेको उनी बताउँछन् । ‘हाम्रो मिडफिल्डबाट आक्रमणमा बल नपुग्दा पनि केहि कठिनाइ भएको छ । सन्तोषले जुन बल दिने गर्थ्यो, त्यो देखिएको छैन । हामीले त्यसैले विंगबाट आक्रमण बुन्ने प्रयास गरेका छौं । जगजित श्रेष्ठ र जगजित श्रेष्ठले त्यो जिम्मेवारी लिएका छन्,’ न्यौपानेले आफ्नो नयाँ रणनीतिबारे प्रकाश पारे ।
आर्मीको रक्षात्मक रणनीतिमा संकट आउँदा आक्रमणमा भने सुधार आएको छ । पछिल्लो सिजन नम्बर १० लगाएर खेलेका जर्जप्रिन्स कार्कीका भाइ जिलेस्पी जंग कार्कीले ४ खेलमा ३ गोल गरेका छन् । डिफेन्डर दिपक गुरुङले पनि राइट ब्याकमा खेलेरै ३ गोल गरिसकेका छन् । नवयुग श्रेष्ठले पनि २ गोल गरेका छन् ।
पूरा समय मैदानमा रहेका दिनेश हेन्जन र सुदिल राइको नाममा १-१ गोल छ । मिडफिल्डमा जगजित श्रेष्ठ विंगमा चलायमान देखिएका छन् । भरत खवासले पनि आफ्नो दबाबमूलक खेल आवश्यक पर्दा देखाएका छन् । तर डिफेन्समा कमजोर प्रदर्शन हुँदा टोलीको समग्र नतिजामा असर परेको छ ।
प्रशिक्षक न्यौपाने दोहोरो लिग भएकाले दोस्रो चरणमा आर्मीलाई शारीरिक अवस्थाले फाइदा हुनेमा सकारात्मक छन् । ‘यो दोहोरो लिग हो । मलाई लाग्छ हामी पहिलो चरणमा सेट भयौं भने दोस्रो चरणमा केहि सहज हुन्छ । नियमित प्रशिक्षण भएकाले शारीरिक रुपमा खेलाडी फिट छन् । अनुभव बटुल्दै अघि बढ्दा टोली बलियो हुने अपेक्षा छ,’ उनले आशा व्यक्त गरे ।
तथ्यांक मात्र होइन मैदानको प्रदर्शनले पनि पलायन र चोटले आर्मीको रक्षापंक्ति तहसनहस भएको प्रष्ट देखाउँछ । कुनै समय सबैभन्दा कम गोल खाने परिचय बनेको आर्मीको खेलमा गोलवर्षा हुन थालेको छ । संकटको यो अवस्था आउने दिनमा अझ समस्याग्रस्त बन्ने देखिन्छ ।
अन्य टोलीले विदेशी खेलाडी प्रयोग गर्दै नेपाली खेलाडी अनुबन्धमा तीव्रता दिँदा आर्मी मुकदर्शक भएर बस्नुपरेको छ । व्यावसायिक फुटबलमा दत्तचित्त भएर बढ्ने भन्दै विभागमध्यमा आर्मी नै एएफसीको क्लब लाइसेन्स पूरा गर्ने पहिलो क्लब बनेको थियो । त्यसकै आधारमा आर्मीले एएफसी कपमा पनि प्रतिस्पर्धा गर्यो । तर घरेलु मैदानमा पहिलो चरण जितेपछि विना विदेशी खेलाडी एएफसी कप खेल्न भारत पुगेको आर्मी फराकिलो हार बेहोर्दै फर्किएको थियो । त्यसले पनि आर्मीले अब विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने संकेत दिएको थियो ।
खेलाडी पलायन भएपछि आर्मीले उपाधिमा दावेदारी कायम राख्न खेलाडी अनुबन्धन गर्नुपर्ने थियो । तर आन्तरिक रुपमा आफ्नो गणकै खेलाडीमा भर पर्ने आर्मीको रणनीति बिस्तारै असफल हुँदै गएको देखिन्छ । लिगको एक चौथाइमै संघर्ष गरिरहेको आर्मीको रक्षापंक्ति खेल अघि बढ्दै जाँदा थप समस्यामा पर्न सक्छ । खेलाडी पलायन, चोटको बढ्दो समस्या र लगातार खेलका कारण कम विश्रामले कुनै समय मुख्य हतियार मानिएको आर्मीको रक्षापंक्ति नै यसपटक आर्मीको उपाधि दावेदारीमा बाधक बन्ने संघारमा छ ।
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]